दरबारमार्ग महोत्सव : कोरोना सकिएको सन्देश, २ वर्ष यताकै ठूलो कार्यक्रम

काठमाडौं । १५औं दरबारमार्ग महोत्सव सुरू भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम सुरु भएको हो । कार्यक्रमको मुख्य प्रायोजक एनसेल बनेको छ । विगत २ वर्षदेखि थला परेको आन्तरिक र बाह्य पर्यटन प्रबर्द्धन र कोभिडले थलिएको उद्योग व्यवसायलाई पुनरुत्थान गर्ने लक्ष्यसहित महोत्सव सुरू भएको महासंघले जनाएको छ । महोत्सवको औपचारिक कार्यक्रममा प्रमुख अतिथि रहेका महासंघका अध्यक्ष शेखर गोल्छाले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न र विदेशी पर्यटकलाई नेपाल ल्याउनका लागि यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले महोत्सवमा साना तथा मझौला उद्यमीहरुलाई प्रोत्साहन गर्न स्वदेशी वस्तुमा प्रयोग गर्न पनि अनुरोध गरे । पछिल्लो साढे दुई वर्ष कोरोनाको कारण सहज नभएको बताउँदै उनले अब सबैले मिलेर स्वेदशी उत्पादन प्रयोग गरी सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने धारणा राखे । ‘पछिल्लो साढे दुई वर्ष कोरोनाको कारण सहज थिएन, हामी असहज अवस्थामा थियौं, त्यतिखेर नेपालमा ३० लाख पयर्टटक भित्र्याउने तयारी गरिरहेका थियौं तर, त्यो सम्भव भएन, अब हामीले सकारात्मक ढंगले अगाडि बढ्न आवश्यक छ, त्यसको सन्देश प्रवाह गर्न दरबारमार्ग महोत्सवमा सुरु गरिएको हो, जुन पछिल्लो साढे दुई वर्ष यताकै हामीले गरेको ठूलो कार्यक्रम हो,’ उनले भने । उनले स्वदेशी उत्पादन प्रयोग नगर्यो भने व्यापार घाटा, शोधान्तर स्थिती र तरलताको संकट जहिल्यै व्यहोर्नु पर्ने बताउँदै अब स्वदेशी उत्पादनमा प्राथमिकता दिनु पर्ने धारणा राखे । यस्तै, कार्यक्रममा महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले पनि दरबारमार्ग महोत्सवले अब कोरोना सकिएको र पर्यटनका हिसावले नेपाल खुला भएको सन्देश दिएको बताइन् । ‘यस्ता कार्यक्रमले पर्यटनको विकास, अर्थतन्त्र चलायमान गर्ने हाम्रो विश्वास छ, महासंघले विभिन्न प्रदेश र अन्तर्राष्ट्रिय रुपमा पनि यस्त खालका कार्यक्रम गर्दै आएको छ, यस्ता कार्यक्रमले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न टेवा पुग्छ,’ उनले कार्यक्रममा भनिन् । महोत्सवमा सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुति भइरहेको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना भएको हो । महासंघले महोत्सवको मूल नारा सहकार्य ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ रहेको जनाएको छ । महोत्सवमा गीत संगीत, विभिन्न नेपाली खानाका परिकारका साथै विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू र महोत्सव आयोजना हुने क्षेत्रमा अन्य रमाइला गतिविधिहरु सहित यो महोत्सव बेलुका ८ः १५ बजेसम्म आयोजना गरिनेछ । महोत्सवमा शारीरिक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तु तथा सामाग्रीहरु पनि प्रदर्शनीमा राखिएका छन् । महिला उद्यमीसहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रदर्शनीमा छन् । महोत्सव स्थलमा ६० वटा स्टल छन् ।

पान र गुट्खा व्यापारी भन्छन्: सुपारी नहुँदा उद्योग बन्द गर्नुपर्ने भयो

काठमाडौं । पान तथा गुट्खा उद्योगीले सुपारी नहुँदा उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योगीले सुपारी नहुँदा उद्योग नै बन्दगर्नुपर्ने अवस्था आएको बताएका हुन् । समितिको छलफलमा श्रीराम टोबाको उद्योगका म्यानेजर रघु घिमिरेले पर्याप्त मात्रामा उद्योगसँग सुपारी नहुँदा समस्या भएको र उद्योगसँग सुपारी नहुँदा क्षमताभन्दा कम मात्रामा मात्र गुड्का उत्पादन गर्न बाध्य भएको बताए । ‘हामीसँग १० दिनका लागि पुग्ने मात्र सुपारीको मौज्दात छ, तत्काल सुपारी आयातको अनुमति नपाए उद्योग नै बन्द गर्नुपर्ने अवस्था आयो’, उनले भने, ‘नेपाली उद्योगलाई जोगाएर भारतीय गुड्का विस्थापित गर्नेहो भने उद्योगलाई आवश्यक कच्चापदार्थ (सुपारी) को सहज रुपमा आपूर्ति हुनुपर्याे ।’ उनले श्रीराम उद्योगले गत वर्षमात्र ६ अर्ब ४० करोड राजश्व सरकारलाई बुझाएको जानकारी गराए । उनका अनुसार उक्त उद्योगले चैत मसान्तसम्म ६ अर्ब बढी राजश्व सरकारलाई भुक्तानी गरिसकेको छ । उनले उद्योगलाई आवश्यक पर्ने सुपारी आयात गर्न नपाउँदा झापाका किसानको घरघरमा गएर सुपारी संकलन गर्नुपर्ने अवस्था आएको पनि बताए । ‘हामीले सरकारलाई वार्षिक रुपमा राजश्व मात्र ७ अर्ब हाराहारीमा बुझाउँदै आएका छौं, सुपारी नभएर उद्योगबन्द गर्नुपर्ने अवस्था आयो भने सरकारको राजश्वसँगै धेरै श्रमिक बेरोजगार बन्छन ।’ उनले भारतीय बजारबाट अवैध रुपमा आयात हुने गुट्खा रोक्न १५ वर्षअगाडी श्रीरामले गुट्खा उत्पादन सुरु गरेको दाबी गरे । ‘अहिले सुपारी नभएर स्वदेशी पान तथा गुट्खा उद्योग बन्द गर्नुपर्ने अवस्था आयो भने सरकारलाई ठूलो नोक्सानी हुन्छ, हाम्रो उद्योग १० दिनमात्र बन्द भयो भने नेपाली बजारमा अवैध रुपमा भारतीय गुट्खा भित्रन्छ’, उनले भने । देउती गुट्खा उद्योगका म्यानेजर टोपवहादुर शाही स्वदेशी उद्योगले आवश्यकता अनुसारको कच्चापदार्थ सहज रुपमा आयातको व्यवस्था हुनुपर्ने माग राखे । उनका अनुसार गुट्खा उद्योगका लागि ८० प्रतिशत सुपारी आवश्यक पर्छ । ‘सुपारी नहुँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन्, १० दिनमात्र उद्योग बन्द भयो भने भारतीय गुड्काले नेपाली बजार भरिन्छ, अर्काे ब्राण्डका गुट्खा प्रयोग गर्ने बानी भयो भने हाम्रो उत्पादन बिक्री हुँदैन्,’ उनले भने । रोजगार सरकारका कारण गुम्ने पान व्यवसायी संघका अध्यक्ष टेकबहादुर अधिकारी सरकारका कारण पान व्यवसायीको रोजगारी गुम्ने खतरा बढेको बताउँछन् । उद्योग समितिमा उनले आफै स्वरोजगार बनेका पान व्यवसायी तथा पान व्यवसायमा आवद्ध श्रमिकको रोजगारी सरकारले सुपारी आयात गर्न नदिएर गुम्ने खतरा थपिएको उनले बताए । उनले पान पसलसँगै हिन्दुहरुको संस्कारमा सुपारीको आवश्यक पर्ने भन्दै पान व्यवसायीलाई पनि सुपारी आयातको अनुमति दिनुपर्ने माग राखे । ‘मैले व्यवसाय सुरु गर्दा (२०४६ सालतिर) २० रुपैयाँ किलो सुपारी पाइन्थ्यो, अहिले त्यही सुपारी १५ सय रुपैयाँ किलो पनि पाइन छाड्यो, पान पसलबाटै गुजारा चलाउने न्यून वर्गका श्रमिकको रोजगारी गुम्य यसको जवाफदेही को हुन्छ’, उनले प्रश्न गर्दै भने, ‘सरकारले रोजगारी दिन सकेको छैन््, आफै स्वरोजगार बनेका श्रमिकको पनि सरकारकै कारण रोजगारी गुम्ने खतरा बढ्यो ।’ पान तथा गुट्खा उद्योगीका कुरा सुनेपछि समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग स्वयमलाई मागको आधारमा आयातको अनुमति दिनुपर्ने निष्कर्ष समितिकोे रहेको जनाएका थिए । यसअघि सिमित व्यक्तिको स्वार्थमा सिमित व्यक्तिलाई मात्र सुपारी आयातको अनुमति दिईएको भन्दै विरोध भएपछि सरकारले औद्योगीक प्रयोजनका लागि मात्र सुपारी आयातको अनुमति दिएको थियो । सरकारले दिएको अनुमति पारदर्शी नभएको भन्दै समितिले गत साता उद्योगको निरीक्षण गरेर मात्र अनुमति दिनेभन्दै आयातको अनुमति रोक्न उद्योग तथा वाणिज्य विभागलाई निर्देशन दिएको थियो । समितिको निर्देशन पश्चात हाल सुपारी आयातको अनुमति रोकिएको छ ।

काठमाडौं र ललितपुरका ठेकदारलाई यूनाइटेड सिमेन्ट्सले दियो प्रशिक्षण

काठमाडौं । यूनाइटेड सिमेन्ट्सले काठमाडौं तथा ललितपुरको विभिन्न स्थानमा ठेकेदार तथा मिस्त्रीहरुलाई प्रशिक्षण दिएको छ । कम्पनीले ठेकदारहरुलाई सिमेन्टको बारेमा जानकारी तथा गुणस्तरिय निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएको हो । निर्माणकर्मी विगतका अनुभवको आधारमा मात्रा काम गर्दै आएको र सहि निर्माण कसरी गर्ने भन्ने बारेमा प्राविधिक ज्ञानको कमी देखिएकोले उक्त तालिमाको सुरुवात गरेको कम्पनीले जनाएको छ । कम्पनीले हालसम्म ४ ओटा स्थानमा सयौं निर्माणकर्मीलाई प्रशिक्षण दिइसकेको छ भने हजारौं निर्माणकर्मीलाई प्रशिक्षण दिने कम्पनीको लक्ष्य रहेको जनाएको छ। प्रशिक्षणमा सिमेन्ट के हो र कसरी बन्छ भन्ने प्राविधिक जानकारीको साथै राम्रो गुणस्तरको सिमेन्ट मसला बनाउने तरिका, डण्डी बाध्ने सहि तरिका, कंक्रिटका विभिन्न ग्रेड तथ पानीको मात्रा र यसको असर आदि विषयमा सो जानकारी दिइएको थियो । ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुन ढुंगा प्रयोग गरि, आफै क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले विगत ७ वर्षदेखि नौबिसेमा रहेको आफ्नो कारखानाबाट सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले ५३ ग्रेड तथा ४३ ग्रेड को ओपीसी। सिमेन्ट बनाउँदै आएको छ ।