नाफाको सुनिश्चिततासहित विदेशी लगानी ल्याउनु पर्छ : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नाफाको सुनिश्चिततासहित विदेशी लगानी ल्याउनु पर्ने बताएका छन् । सोमबार महासंघले आयोजना गरेको आर्थिक वर्ष २०७९/0८० पुर्व बजेट अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नाफाको सुनिश्चितता नभई विदेशी लगानी नआउने भएकोले सरकारले बजेट मार्फत विदेशी लगानीको सुनिश्चितता गर्नु पर्ने बताए । यस्तै, उनले सरकारले राजश्व संकलन नै सफलताको मानक मानेको तर त्यसको सदुपयोग र सेवा तथा सुरक्षामा ध्यान नदिएको धारणा राखे । राजश्वलाई सेवा सुरक्षा र लगानी गर्नमा प्राथमिकता दिनु पर्नेमा उनले जोड दिए । सामाजिक सेवा विस्तार भन्दा गुणस्तरीयतामा प्राथमिकता दिनु पर्ने उनको धारणा थियो । सरकारले निजि क्षेत्रलाई राजश्व संकलन गर्ने माध्यम मात्रै लिएको बताउँदै उनले विकासको साझेदारको रुपमा नलिएको धारणा राखे । अबको बजेट पुर्वाधार र विदशी लगानीमा ध्यान दिनु पर्ने बताउँदै उनले व्याजदर लागत बढाउने सरकारको एकतर्फी निर्णयले कसैको भलो नहुने बताए । सरकारले पुँजीगत खर्च गर्न नसकेकोप्रति पनि उनले चिन्ता व्यक्त गरेका छन् । यस्तैगरी, उनले नेपाल विद्युत प्राधिकरण अघोषित लकडाउन गरेको बताउँदै यसले उद्योगहरुलाई धेरै नोक्सान भएको बताए ।

पछिल्लो ३६ घण्टा यता उद्योगहरुमा बिजुली छैन, काम ठप्प हुँदा उद्योगी चिन्तित

काठमाडौं । अनियमित विद्युत् आपूर्तिका कारण विभिन्न औद्योगिम क्षेत्रका समस्यामा समस्या देखिएको छ । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा नियमित विद्युत नदिँदा उद्योगहरु ठप्प भएका छुन् । विद्युत नियमित आपुर्ति नहुँदा उद्योगिक क्षेत्रका व्यवसायी समस्यामा परेका छन् । उद्योग क्षेत्रमा विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्याले उत्पादनमा कटौती भएपछि उनीहरु चिन्तित भएका हुन् । सरकारले लोडसेडिङ अन्त्य भएको जनाए पनि औद्योगिक क्षेत्र र लुम्बिनी करिडोर क्षेत्रसहित जिल्लाका उद्योगमा विद्युत् सेवा अनियमित भएको हो । करिब एक महिनदेखि विद्युत् आपूर्ति नियमित नभएपछि उद्योग सञ्चालनमा कठिनाइ भएको छ । पछिल्लो ३६ घण्टा यतादेखि भने उद्योगहरुमा विद्युत नै पठाइएको छैन । जगदम्बा सिमेन्ट उद्योगका महाप्रबन्धक विदुर ढुङ्गानाले भने पछिल्लो १५ दिनदेखि विद्युत् आपूर्ति नै नभएपछि उद्योगमा उत्पादन बन्द भएको जानकारी दिए । ‘अहिले सिमेन्ट उत्पादनका लागि उपयुक्त समय हो, यो समयमा उत्पादन हुन नसके भारतीय सिमेन्टले बजार लिन्छ । हाम्रो बजार बिग्रिन्छ र यसले दीर्घकालसम्म समस्या हुन्छ’, उनले भने । उद्योगमा उत्पादन बन्द हुँदा कर्मचारीलाई दिनुपर्ने मासिक तलब र बैंकको ब्याज भुक्तानी गर्नसमेत नसक्ने अवस्था सिर्जना हुन लागेको उनको गुनासो छ । विद्युत् आपूर्ति बन्द हुँदा लुम्बिनी करिडोरका मात्रै १२ सिमेन्ट र अन्य ठूला उद्योगको उत्पादन ठप्प भएको छ । अघोषित लोडसेडिङले १० दिनदेखि बृज सिमेन्टको उत्पादन पनि बन्द छ । बृज सिमेन्टका प्रबन्धक नुमेन्द्र पौडेलका अनुसार दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको उद्योगमा विद्युत् आपूर्ति रोकिएपछि प्लान्ट सञ्चालन गर्न सकिएको छैन । अनियमित विद्युत् आपूर्ति र लो भोल्टेजको समस्या पुरानै भएपछि अहिले अघोषितरूपमा २४ घण्टा विद्युत् कटौती गर्दा ठूला उद्योग सञ्चालनमा समस्या भएको उहाँको भनाइ छ । उद्योगीले विद्युत् आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकारणसँग पटक–पटक आग्रह गर्र्दै आए पनि समस्या समाधान हुनसकेको छैन । प्राधिकरणले समयतालिका बनाएर उद्योग क्षेत्रको विद्युत् आपूर्ति नियमित गर्नुपर्ने माग उनीहरुकोे छ । ‘प्राधिकरण नेतृत्वको असक्षमताका कारण पटक–पटक उद्योगीहरूले पीडा भोग्नुपरेको छ, हाल विद्युत् आपूर्तिमा देखिएको समस्या नियोजित हो’, उद्योगी बाबुराम बोहोरा भन्छन्, ‘समस्या सामाधानमा छिट्टै कदम नचालिए सङ्घ चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछौँ ।’ विद्युत् नियमित नहुँदा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उद्योगी बताउँछन् । यस्तो अवस्था आउँदा पनि विद्युत् प्राधिकरण जिम्मेवार बन्न नसकेको गुनासो उनीहरूको छ । आपूर्तिको समस्या समाधान गर्न ढिलाइ गरिए आफूहरु उद्योगमा ताला लगाएर सडकमा आउने उद्योगीहरुको चेतावनी छ । रुपन्देही उद्योग सङ्घ, उद्योग वाणिज्य सङ्घ र सिद्धार्थ उद्योग वाणिज्य सङ्घले विद्युत् प्राधिकरणको कार्यालयमा पुगेर धेरै पटक ध्यानाकर्षण गराउने काम गरे पनि नियमित विद्युत् आपूर्ति हुन नसकेको उद्योगीहरूको गुनासो छ । कोभिड महामारीका कारण थला परेका उद्योग विस्तारै उठ्न थाले पनि विद्युत्का कारण धरासायी हुने अवस्थामा छन् । रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेलले प्राधिकरणले बिनासूचना विद्युत् आपूर्ति बन्द गर्ने र नियमित विद्युत् नदिएका कारण उद्योगहरूले ठूलो क्षति व्यहोर्नुपरिरेहको बताए । विद्युत् वितरणमा भइरहेको समस्यालाई तत्काल समाधान गर्न उनको आग्रह छ । औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेका छन् । नेपाल उद्योग वाणिजय महासंघले चर्को लोडसेडिङले अब उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउँदै अविलम्ब समस्या समाधानमा सहयोग गर्न आग्रहसहित सयौं उद्योगहरूबाट अनुरोध पत्र आएको बताएको छ । लामो समय विद्युत कटौती, ट्रिप्लिङ, लो भोल्टेज लगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने स्थिति श्रृजना भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । अपर्झट विद्युत आपूर्ति बन्द हुँदा करोडौं पर्ने मेसिनहरूमा क्षति पुग्ने र उद्योग सञ्चालन नहुँदा कामदार कर्मचारीको तलब ज्याला लगायतका समस्या उत्पन्न हुन थालेको बताइएको हो । प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनि विगतमा पटक–पटक गरेको प्रतिवद्धताको महासंघले स्मरण समेत गराएको छ । यसले मुलुकको औद्योगिकरणको यात्रामै गम्भीर धक्का दिने महासंघको भनाइ छ । विद्यमान समस्याको तत्काल समाधानका लागि कुटनीतिक माध्यमबाट भारतसँग छलफल गरी नेपाललाई दिँदै आएको बिजुली नियमित आपूर्ति गर्नेतर्फ अविलम्ब पहल गर्न महासंघले आग्रह गरेको छ । त्यस्तै उद्योगहरूमा विद्युत कटौती हुने तालिका सार्वजनिक गर्न र विजुली दिन्छु भनेको समयमा निर्वाध विद्युत आपूर्तिको सुनिश्चिता दिलाउन समेत महासंघले माग गरेको छ ।

मोरङ व्यापार संघद्वारा प्रहरीलाई रोड डिभाइडर हस्तान्तरण

विराटनगर । मोरङ व्यापार संघले ट्राफिक प्रहरी कार्यालय विराटनगरलाई १०० थान रोड डिभाइडर हस्तान्तरण गरेको छ । आज भएको एक कार्यक्रमका बीच ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउने जनचेतनामुलक सन्देश सहितको स्टीकर टाँसिएका उक्त डिभाइडर हस्तान्तरण गरेको हो । मोरङ व्यापार संघको महिला उद्यम समितिकी संयोजक वन्दना जैनको संयोजकत्वमा विराटनगर बजारमा आज आयोजित स्वदेशी बजार संरक्षण एवं ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तरगत संघका अध्यक्ष नवीन रिजालले प्रहरी उपरीक्षक शान्तिराज कोइरालालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।