विद्युतीय कार उत्पादन गर्न उद्योग खोले घिमिरेले, साझेदारीका लागि तीन देशका कम्पनीसँग छलफल

काठमाडौं । एलपी ग्यास तथा पेट्रोलियम व्यवसायीका रुपमा परिचित व्यवसायी शिवप्रसाद घिमिरेले नेपालमै विद्युतीय सवारी साधान एसेम्बल गर्ने उद्योग खोल्ने भएका छन् । घिमिरेले एकल लगानीमा गत जेठ १७ गते उद्योग विभागमा एसजी अटोक्राफ्ट नामक उद्योग दर्ता गरेका हुन । उनले देशभित्रै दुई पांग्रेदेखि ६ पांग्रेसम्मका विद्युतीय र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी एसेम्बल गर्नका लागि नयाँ उद्योग दर्ता गरेका हुन् । घिमिरेले ३ अर्ब रुपैयाँ लगानीमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ११ मा उद्योग रहने जानकारी दिए । उनले उद्योग दर्ता गरेर आवश्यक तयारी थालिएको बताए । ‘अहिले उद्योग दर्ता मात्रै भएको हो, आवश्यक तयारीमा नै छौँ, उत्पादन नै सुरु भएको होइन, उद्योग विभागमा दर्ता गरेर आवश्यक तयारी थालेको हो’, उनले भने । उनले उद्योगका लागि आवश्यक पर्ने कानुनीदेखि लागत, साझेदार भित्र्याउने विषयमा विदेशी कम्पनीहरुसँग परामर्श भैरहेको बताए । ‘भारत, चीन र कोरियामा रहेका विद्युतीय गाडी उत्पादन गर्ने कम्पनीहरुसँग साझेदारीको कुराहरु भैरहेको छ, कुन देशको कुन कम्पनीसँग साझेदारी गर्ने भन्ने विषय टुङगिसकेको छैन, हामीसँग अटो उत्पादनको अनुभन छैन, विद्युतीय गाडी उत्पादन गरेका मल्टी नेशनल कम्पनीसँग जोइन्ट भेन्चरमा उद्योग सञ्चालन गर्ने योजनाका साथ कुरा हुँदैछ,’ उनले भने । उनले राम्रो कम्पनीसँग साझेदारी गर्न सकिए नेपालसँगै छिमेकी देशमा गाडी निर्यात गर्न सकिन्छ कि भन्ने योजना सहित तयारीका कामहरु भैरहेको बताए । ‘विद्युतीयसँगै डिजेट तथा पेट्रोलियम पदार्थका गाडीहरु समेत उत्पादन गर्ने गरी उद्योग दर्ता गरिएको छ, तर हाम्रो टार्गेट डिजेल पेट्रोलका गाडीभन्दा पछि विद्युतीय गाडी उत्पादन गर्ने हो, विश्वका विकसित देशले २०३० भित्रमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी विस्थापन गरी विद्युतीय बनाउने उद्घोष नै गरिसकेका छन्, सोही अनुसार हाम्रो टार्गेट पनि विद्युतीय गाडी नै हो’, उनले भने । आफू विगत ३० वर्षदेखि उर्जा क्षेत्रमा नै आवद्ध भएको र सोही क्षेत्रमा आफ्नो अनुभव भएकोले अनुभव अनुसार नै नेपालमा विद्युतीय गाडी उत्पादन गर्ने गरी उद्योग दर्ता गरेको घिमिरेले बताए । उनले एकै उद्योगबाट विद्युतीय, चार पाङग्रे सवारीदेखि मोटसाइकल तथा आइसी इन्जिनयुक्त सवारी उत्पादन गर्ने गरी उद्योग दर्ता गरेका छन् । उनले उद्योगका लागि बारामा ३२ बिघा जग्गा खरिद गरिसकेको बताए । घिमिरेले हाल तारो र मोटरहेड ब्रान्डका मोटरसाइकलको व्यापार गर्दै आएका छन् । उनले एलपी ग्यास, अक्सिजन ग्यास तथा जलविद्युत क्षेत्रमा लगानी गरेका छन् । उनले उद्योग विभागमा दर्ता गराएको विवरण अनुसार एसजी अटोक्राफ्टले वार्षिक विद्युतीय मोटरसाइकल तथा स्कुटर २१ सय थान, विद्युतीय तीनपांग्रे १२ सय थान, विद्युतीय कार–जिप ६ सय र इ–बस १२० युनिट उत्पादन गर्नेछ । यस्तै, इन्टरनल कम्बसन इन्जिन (आइसिई) मोटरसाइकल तथा स्कुटर १० हजार पाँच सय युनिट, आइसिई तीनपांग्रे रिक्सा १५ सय युनिट, आइसिई फोर ह्विलर्स (कार, एसयुभी, जिप) ६ सय युनिट र आइसिई सिक्स ह्विलर्स गाडी सात सय ५० युनिट उत्पादन गर्नेछ । उद्योग सञ्चालनमा आउँदा चार सय ३१ जनाले रोजगारी पाउनेछन् भने उद्योग सञ्चालन गर्न २५ सय केभिएको विद्युत् आवश्यक पर्नेछ ।

नेपाल चेम्बर एक्स्पो असार २ गतेदेखि राजधानीमा हुने

काठमाडौं । नेपाली उत्पादनहरुको बजारीकरण, व्यापारीक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदानमा विशेष जोड दिंदै पाँचौं संस्करणको ुनेपाल चेम्बर एक्स्पो २०२२ु को आयोजना गरिने भएको छ । नेपाल चेम्बर अफ कमर्शले वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आगामी असार २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप प्रदर्शनी कक्षमा एक्स्पो आयोजना गर्न लागेका हो । राष्ट्रको सर्वाङ्गिण विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेकाले एक्स्पो आयोजना गरिँदै आइएको चेम्बरले जनाएको छ । पछिल्ला चार संस्करणहरूको सफलता पुर्वक आयोजना गरीसके पछि चेम्बरले मेलाको पाँचौ संस्करणमा व्यापारीक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको जनाएको छ । चेम्बरको अनुसार एक्सपोमा अन्तराष्ट्रिय व्यापारीक समुदायको प्रत्यक्ष सहभागिताले अन्तराष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने छ । बंगलादेश पार्टनर कन्ट्री रहेको यस वर्ष वाणिज्य मन्त्रालय र इपीबी बंगलादेशको सहकार्यमा उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने भएका छन् । एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम एप्लाइन्सेस, फेसन वेयर एण्ड एसेसरिज, गार्मेन्ट एण्ड टेक्सटाइल, मोबाइल एण्ड ग्याजेट्स, एफएमसिजी, हाइड्रो, लजिस्टिक, ह्याण्डिक्राफ्ट एण्ड ह्याण्डलुमस, सुज एण्ड लेदर आइटम, कस्मेटिक्स, फुड एण्ड डेरी प्रडक्ट्स आदि सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको चेम्बरले जनाएको छ । ुनेपाल चेम्बर एक्स्पो २०२२ु को गोल्ड स्पोन्सर हुलास हिप्को सुपरबिल्ड रहेको छ । यस्तै मेलाको अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्स रहेको छ र लर्निङ पार्टनरको रुपमा ब्रोडवे इफोसिस रहेको छ भने एक्स्पोको सम्पुर्ण व्यवस्थापनको जिम्मा इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले लिएको छ । एक्स्पोमा १५० वटा स्टलहरू रहने र एक्स्पोमा नेपाललगायत भारत, पाकिस्तान, बङ्गलादेश तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू पनि रहने आयोजक पक्षले जनाएको छ ।

डेढ अर्ब लगानीमा प्राधिकरणको अन्तर्राष्ट्रियस्तरको विद्युत वितरण केन्द्र बन्दै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत वितरणतर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रियस्तरको वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र निर्माण गरिरहेको छ । प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न सुविधा सम्पन्न केन्द्र निर्माण गरिरहेको जनाएको छ । काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको केन्द्र निर्माणाधीन छ । केन्द्रको निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरण जानकारी दिएको छ । केन्द्रमा काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालीलाई स्वचालित गराउन निर्माणाधीन भूमिगत वितरण प्रणालीको नियन्त्रण कक्ष रहने र यसमा उपत्यकाका सबस्टेसन तथा स्वीचिङ स्टेसनहरु जोडिने प्राधिकरणले जनाएको छ । प्राधिकरणको अनुसार सो केन्द्रबाटै ११ केभीभन्दा मूनिको ग्राहकको घरसम्म पुग्ने विद्युत वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिनुको साथै त्यहाँ प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डाटाहरु एकीकृत रुपमा रहने छन् । ‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिने वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र भवनको सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएको छ । प्राधिकरणको अनुसार तीन तलाको भवनमा डाटा सेन्टर, नियन्त्रण कक्ष र कार्यालय रहने छन् । यस्तै सिभिल संरचनाको निर्माण सम्पन्न भएकोले अब केन्द्रमा राखिने उपकरणको जडान सुरु हुने र यसका लागि २र३ महिना लाग्ने बताइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण कार्यको स्थलगत अनुगमन गरी प्राधिकरणको सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रियस्तरको बनाउन आयोजना महत्वपूर्ण भएकोले तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरे । केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिकसँग जुलाई २०२१ मा ठेक्का सम्झौता भई नेभेम्बरबाट काम सुरु भएको थियो । नेपाल सरकारको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब एक करोड २० लाख अमेरिकी डलर रहेको छ । वितरण प्रणाली तथा विद्युतीय सेवालाई आधुनिकरण गर्ने क्रममा पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका करिब ९८ हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान गरसकेको छ ।