गोर्खाकी मिनाले बनाउँछिन ८ हजार पर्ने टोपी, २० हजार पर्ने सारी

काठमाडौं । १४ वर्ष अगाडि गोरखा सिरानचोककी मिना गुरुङको जिन्दगी गाउँघरमा घाँस दाउरा गर्दै चल्दै थियो । मेलापात गर्दै उनले आफ्नो जीविकोपार्जन गर्थिन् । छोराहरु हुँर्कदै थिए । अब छोराहरुलाई पढाउने बेला पनि भयो भनेर विद्यालय नजिक पर्ने गोरखा नगरपालिकामा झरिन् । समय आफ्नो रफ्तारमा अगाडि बढ्दै थियो । उनले एक दिन अचानक सुनिन् कि उनको श्रीमानले दोस्रो विवाह गरे । तर, मिनाले उनको श्रीमानको दोस्रो विवाहलाई खासै ठूलो रुपमा लिइनन् । उनले आफूमाथि जिम्मेवारी थपिएको आभास गरिन् । ‘हुन त श्रीमानले अर्को विवाह गरेको कसलाई पो राम्रो लाग्छ र, मलाई पनि राम्रो लागेन तर गर्न सकिने केही थिएन, थप जिम्मेवारी थपियो भन्ने महसुस गरेँ, छोराहरुरलाई जसरी भएपनि पढाउनु पर्छ भन्ने अठोटका साथ अगाडि बढेँ,’ उनले भनिन् । छोरालाई स्कूल पुर्याउने र उनीहरूलाई ल्याउने, खाना पकाएर खुवाउमै उनको दैनिकी बित्न थाल्यो । छोराहरू विद्यालय गएको बेला उनी दिनभर खालि हुन्थिन् । घरको आर्थिक अवस्था कमजोर नै थियो । उनमा अब केही न केही काम गर्नु पर्छ भन्ने अठोट पलायो । नयाँ ठाउँमा कुन काम गर्ने भनेर उनी अलमलमा थिइन् । गाउँबाट भर्खर शहर झरेको न हातमा कुनै सीप, न धेरै कुरा बुझको । अलमल नै अलमलको बीचमा उनले उद्योग वाणिज्य संघ र साना तथा घरेलु उद्योगले सहकार्य गरी ढाका बुनाइको तालिम प्रदान गर्ने गरेको सुनिन् । नभन्दै उनलाई सो ठाउँमा गएर सीप सिक्ने अवसर मिल्यो । छोराहरूलाई विद्यालयमा पुर्याई दिनको समयमा ढाकाको टोपी, सल, सारी आदि बनाउन सिक्न थालिन् । त्यतिकैमा तालिम सकियो । प्रविधि हस्तान्तरण भन्नेर ८० प्रतिशत छुटमा सो तालिम सिकेकाहरूलाई तानका सामानहरू दिने भयो । उनले पनि एउटा तान किनिन् । त्यो तानबाट उनले घरेलु उत्पादन सल, टोपी बनाउँदै बिक्री गर्दै घर खर्च चलाउन थालिन् । एउटा सटर खोजेर तानका सामानहरू खरिद गरी आफैले नै पसल खोल्ने योजना बनाइन् । योजना त बन्यो तर पैसा भएन । पैसाको खोजी गर्दा सीपमूलक तालिम सिकेको भएर उनलाई ग्रामीण विकास बैंकले ऋण दियो । सो बैंकबाट लिएको २५ हजार रुपैयाँबाट उनको व्यावसायिक यात्रा सुरु भयो । पहिले सीप थिएन, सीप सिकेपछि पैसा भएन, पछि सीप सिकेको भएर पनि होला ग्रामिण विकास बैंकले २५ हजार ऋण पत्यायो,’ त्यहीँबाट मैले व्यवसायिक यात्रा सुरु गरेँ,’ उनले भनिन् । मिनाले २०६७/६८ मा उद्योग दर्ता गरी ढाका पसल व्यावसायिक यात्रामा सुरु गरिन् । पसल सञ्चालन गरेको केही महिना देखिनै व्यापार पनि राम्रो हुन थाल्यो । त्यहाँ बनाएको सामान बजारमा पनि माग बढ्न थाल्यो । उनले केही महिला दिदिबाहिनिहरुलाई सहयोगीको रूपमा राखेको पनि बताइन् । चार जनालाई भने रोजगारी दिएकी छन् । ‘२५ हजारबाट सुरु गरेको ढाका पसल अहिले १६ लाख रुपैयाँको पुर्याएको छु, मैले दुःख गरे अनुसार छोराले पनि राम्रो पढ्दैछन्, ठूलो छोराले अहिले कक्षा १२ र कान्छो छोराले ८ कक्षामा पढ्दैछ, पहिले धेरै दुःख गरियो, अहिले खासै त्यस्तो दुःख छैन,’ उनले भनिन् । कोरोना भाइरस संक्रमणपछि व्यापारमा केही गिरावट आएको उनको भनाइ छ । कोभिड अगाडि दिनको ४० हजार रुपैयाँको सामान बिक्री हुन्थ्यो भने अहिले २० हजारको मात्र हुन थालेको छ । उनका अनुसार अहिले मासिक २ लाख रुपैयाँ सम्मको कारोबार हुन्छ । उनको पसलबाट २ सय जनाले सीपमूलक तालिम लिएको उनी बताउँछिन् । ढाकाको कपडा बनाउँदा मिहिनेत र समय लाग्छ । परम्परागतदेखि नै चलिआएका तथा गाउँघरमा प्रयोग गर्ने तानबाट कपडा निर्माण गर्दा यसको मूल्य पनि बढी नै पर्छ । अहिले उनको पसलबाट उत्पादन भएको सामाको उच्च माग छ । तर, माग अनुसारको आपूर्ति र उत्पादन गर्न नसकेको पनि गुरुङले बताइन् । मिना अहिले गाउँमै सफल उद्यमीको उपमाले परिचित छिन् । सफल उद्यमी बनेको नै कारण उनलाई विभिन्न संघसंस्थाबाट सम्मान मिलेको छ । भाडाको सटरबाट सुरू भएको उनेको व्यापार उद्योगमा परिणत भइसकेको छ । मिना हाल गोरखा नगरपालिकाको शक्ति चोकमा बसोबास गर्दै आएकी छन् । व्यापार राम्रो भयो भने आफ्नै जग्गामा उद्योग सञ्चालन गर्ने तयारीमा उनी छन् । २ रोपनी जग्गा ढाका पसल सञ्चालन गरेर नै २ रोपनी जग्गा जोडेको मिनाले बताइन् । गोरखाको पालुङटारमा उनले विगत ४ वर्ष अगाडि ३२ लाख रुपैयाँमा जग्गा किनेकी छन् । व्यापार सञ्चालन गर्नको सो जग्गालाई धितो राखेर ५ प्रतिशत ब्याजदरमा एनएबी बैकबाट १५ लाख रुपैयाँ ऋण पनि लिएकी गुरुङले बताइन् । ‘हाल ६ लाख रुपैयाँमात्र ऋण तिर्न बाँकी छ,’ कोभिड नभएको भए सो ऋण पनि तिरी सक्थेँ, सो बैंकको ऋण तिरेर फेरी जग्गा किन्ने तयारीमा छु,’ उनले भनिन् । यस्तै, उनले उत्पादन गरेको एउटा ढाकाको टोपीको मूल्य १ सयदेखि ८ हजार रुपैयाँसम्म पर्छ । मिनाका अनुसार यसको गुणस्तर हेरेर मूल्यको निर्धारण गरिन्छ । ‘८ हजार रूपैयाँ टोपी बनाउन एक हप्ता लाग्छ, यसको मूल्य यति नै पर्छ भन्न सकिँदैन, यसको गुणस्तरअनुसार मूल्य हुन्छ । बढि मिहेनेत र आकर्षक छ भने बढी नै मूल्य हुन्छ,’ उनले भनिन् । यस्तै, एउटा सारीको मूल्य ६ हजारदेखि २० हजार रुपैयाँसम्म पर्छ । सो सारी नेपाली बजारमा पनि बिक्री हुने र विदेशीमा पनि निर्यात हुँदै आएको उनले बताइन् ।

चीनतर्फकोे नाका खोल्न व्यवसायीको आग्रह, सेयर बजारको समस्या समाधान गर्न माग

फाइल फाेटाे काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले चीनसँग पहल गरेर तत्काल तातोपानी र रसुवा नाका सुचारु गर्नुपर्ने बताएका छन् । शनिवार नेपाल हिमाल सिमापार वाणिज्य संघको २२ औं वार्षिक साधरण सभामा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले रसुवा तथा तातोपानी नाका बन्द हुँदा व्यवसायीहरुले भारतको कोलकत्ता हुँदै सामान आयात गर्नुपर्ने अवस्था रहेको बताए । उपाध्यक्ष श्रेष्ठले दुवै नाकामा पूर्वाधार, गोदाम घर,सडक तथा पुलको समस्या रहेकाले सरकारले त्यसको समाधान गर्नुपर्ने बताए । उनले लार्चामा खुलेको सुक्खा बन्दरगाह सञ्चालनको विषयमा पनि सरकारले चीन सरकारसँग आवश्यक पहल गर्नुपर्ने माग राखे । वाणिज्य महासंघको नेपाल चीन फोरमले पनि नाकाका समस्या समाधानको लागि पहल गर्ने उपाध्यक्ष श्रेष्ठले बताए । उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा व्यापार व्यवसाय र विशेष गरेर उद्योगहरुलाई केही प्रोत्साहन दिने भनेपनि केही व्यक्ति विशेष र केही समूहलाई मात्रै प्रात्साहन हुनेगरी बजेट आएको बताए । सरकारले उद्योगी व्यवसायीहरुलाई पक्षपात ढङ्गले बजेटमार्फत कर तथा अन्तःशुल्क कायम गरेकाले व्यवसायीहरु सडक आन्दोलनमा रहेको श्रेष्ठको भनाइ छ । उनले बजेटपछि उद्योग व्यवसायी र सेयर लगानीकर्ता सडक आन्दोलनमा रहेकाले देशका शासक प्रशासकहरु नीति, विधि पद्धतीबाट विखलन भएर गएका हुन्की भन्ने महशुस भएको बताए । यस्तो अवस्थाले व्यवसायीहरुलाई प्रात्साहन नहुने तथा व्यवसायीहरु नै पलायन हुने स्थिति आउने भन्दै शंका व्यक्त गरे । यस्तै, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले आयात नियन्त्रण वर्तमान समस्याको समाधान नभएको बताए । उनले सरकारले आयातलाई नियन्त्रण नभएर व्यवस्थापन गर्नुपर्ने बताए । सरकारले उपभोक्ताहरुलाई गुणस्तरीय सामान सस्तो र मूल्यमा प्रतिष्पर्धी वातावरणमा खरिद गर्ने सर्वमान्य अधिकार आयात नियन्त्रण गरेर हनन् गर्न नमिल्ने दाबी वरिष्ठ उपाध्यक्ष अग्रवालले गरे । उनले आयात प्रतिस्थापन तत्काल छोटो अवधिमा सम्भव नभएको भन्दै दीर्घकालिन ठोस नीति र प्रतिस्पर्धि वातावरणले मात्रै आयात प्रतिस्थापन सम्भव भएको बताए । पछिल्लो समय आयात नियन्त्रण गर्ने सरकारको नीतिले धेरै व्यवसायीहरुको मनोबल कमजोर बन्दै गएको उनको भनाइ छ । वरिष्ठ उपाध्यक्ष अग्रवालले सरकारको आर्थिक नीति र राष्ट्र बैंकको मौद्रिक नीति दुवैले आयात व्यवसायलाई अनुत्पादक क्षेत्रको जस्तो व्यवहार गरेको गुनासो गरे । उनले ब्याजदरमा विदेशी ऋण लिएर पूर्वाधारको विकास गर्नु भनेको श्रीलंकाको अवस्थामा जाने भन्दै ब्याजदरमा विदेशी ऋण लगानीले प्रतिफल नदिने बताए । त्यस्तै नेपाली काँग्रेसका नेता मोहन बस्नेतले २०७२ सालको भूकम्पपछि बनेका कुनैपनि सरकारले नाकाको बारेमा उचित पहल गर्न नसकेको दाबी गरे । सरकारले नै चीन सरकारसँग कुटनीतिक पहल गर्न नसक्दा चीन नाकामा व्यवसायीहरुलाई सामान आयातमा समस्या रहेको बताए । ‘२०७२ सालको भूकम्पपश्चाद् चीन सरकारलाई जुन तरिकाले नेपाल सरकारले कुटनितिक तरिकाबाट पहल गरेर चीनका नाकालाई व्यवस्थित गर्नुपर्ने हो, यो विषमा कुनैपनि सरकार पूर्णरुपमा सफल भएको छैन, त्यो काँग्रेसको सरकार होस् वा एमालेको सरकार होस् वा चाँहे माओवादी वा नेकपाको सरकारले यो कुराको व्यवस्थित गर्न सकेको छैन, छोटो दूरीबाट हुनसक्ने व्यापारका लागि भाडादर समेत महँगो हुने गरेर समान ल्याउनुपर्ने कुरा हामीले बुझेका छौं,’ उनले भने । नेता बस्नेतले नाका व्यवस्थित र सञ्चालनमा आउन नसक्दा महँगो भाडा तिरेर भारत हुँदै सामान आयात गर्नुपर्ने अवस्था व्यवसायीहरुको रहेको बताए ।

व्यवसायीलाई अप्ठ्यारो पार्ने हाम्रो नीति होइन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले उद्योगी व्यवसायीलाई अप्ठ्यारोमा पार्ने सरकारको नीति नभएको बताएका छन् । शुक्रबार पूर्वका उद्योगी, व्यवसायीसँगको भेटमा उनले सो बताउँदै बजेटमार्फत सबै पक्षलाई समेट्ने प्रयास गरिएको बताएका हुन् । ‘बजेटमार्फत हाम्रो उदेश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न खोजिएको होइन’ उनले भने, ‘हाम्रो नीति त्यस्तो पनि छैन । सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको छ ।’ बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुक भित्रै औद्योगिकरण बिस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको उनको भनाई छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक वर्ष ०७९-८० को बजेटले वायर, घिउतेल र स्यानीटरी उद्योगमा पारेको प्रभावका बारेमा अर्थमन्त्री शर्मा समक्ष गुनासो राखेका थिए । आम महिलावर्गलाई राहत हुने गरी स्यानिटरी प्याड आयातमा ठूलो भन्सार छुट उपलब्ध गराएको र यस्तो छुटले स्वदेशी उद्योगलाई केही समस्या भएको पाए समाधान निकाल्न तयार रहेको पनि अर्थमन्त्री  शर्माले जानकारी गराए । कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सृजना गर्नेलाई बजेटले सम्बोधन गरेको उनले प्रष्ट पारे । बजेटमार्फत स्वदेशी उद्योगलाई संरक्षण गरेर लैजाने नीति लिएको बताउँदै उनले भने ‘बजेट तपाईहरु (व्यवसायी) का लागि गरेको हो । देशका लागि गरेको हो, हामीले स्वदेशी उद्योगलाई राम्रो गर्ने भनेर बजेटमा विभिन्न व्यवस्था गरेको हो ।’ छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष नबिन रिजालले सरकारी नीति आउँदा आत्मसाथ गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् । ‘हामी (व्यवसायी) लाई पनि पोलिसीले साथ दिनुस्, हामीले पनि बजेट आउँदा मुक्तकण्ठले प्रशंसा गर्ने स्थिति आओस्’ उनले भने ।