एउटै सेगमेन्टमा प्रतिस्पर्धा गर्दै चौधरी दाजुभाई
काठमाडौं । लुनकरण दास चौधरीका छोरा र नातीहरुबीच व्यवसायिक प्रतिस्पर्धा शुरु भएको छ । चौधरीका तीन छोराहरु विनोद, बसन्त र अरुणले छुट्टाछुट्टै व्यवसाय गर्दै आएका छन् । अलग अलग आ–आफ्नो व्यवसाय गर्दै आएका चौधरी दाजुभाई पहिला फरक प्रकृतिका व्यवसायमा संलग्न थिए । तर लुनकरण दासको निधनपछि छोरा र नातीहरु समान प्रकृतिको व्यवसायमा प्रतिस्पर्धा गर्न थालेका छन् । गत साता मात्र विनोद चौधरीका छोरा निर्माण चौधरीले निटा ब्राण्डको गाडी व्यापार शुरु गरे । उनले यसलाई शुरुवात मात्र भने र आगामी दिनमा अटोमोवाइल क्षेत्रमा नयाँ नयाँ गाडी ल्याउने र ठूलो लगानी गर्ने बताए । निर्माणको उक्त घोषणाभएको दुई साता पनि नवित्दै अरुण चौधरीका छोरा करण चौधरीले ‘काठमाडौं’ ब्राण्डको वियर बजारमा ल्याउने घोषणा गरे । उनले ३३० मिलिलिटर बोटलमा उच्च गुणस्तरयुक्त वियर बजारमा ल्याउन पाउँदा खुशी लागेको बताएका छन् । मदिरा व्यापारमा चौधरीका तीनै भाई प्रतिस्पर्धामा होमिएका छन् । विनोद चौधरीको गुप अफ कम्पनी अन्तरगतको ‘सीजी चौधरी ग्रुप’ले नेपाल आइस ब्राण्डको वियर उत्पादन गर्दै आएको थियो । अरुण चौधरीको ग्रुप अफ कम्पनी ‘सीजी होल्डिङ’ले काठमाडौं वियर वाहेक भोड्का, जीन, भर्जिन जस्ता मदिराको उत्पादन थालेको छ । विनोदका अर्काभाई बसन्त चौधरीले पनि दुई वर्षअघि खुकुरी रममा लगानी गरेका छन् । उनले लगानी गरेपछि यो कम्पनीले आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ । यसअघि तीन भाइका तीन परिवारले फरक फरक विधामा व्यवसाय गर्दै आएका थिए । चौधरी ग्रुपको नाममा विनोद चौधरीको परिवारले यसअघि नुडल्स, वियर, सिमेन्ट लगायत उद्योग चलाउदै आएको थियो भने व्यापारमा एलजी, टीसीएल, गोदरेज ब्राण्डका विद्युतीय उपकरणको व्यापार गर्दै आएको थियो । सेवा क्षेत्रमा बैकिङ र बीमा व्यवसाय गर्दै आएका थिए । चौधरी ग्रुपले घरजग्गा, जलविद्युत क्षेत्रमा पनि लगानी गरेको छ । विनोदका माइलाे भाई बसन्त चाैधरीले विएलसी हाेल्डिङ कम्पनीकाे नाममा विजनेश गर्दै आएका छन् । नर्भिक इन्टरनेशनल हस्पिटललाई मुख्य विजनेश बनाउदै आएका बसन्त चौधरी विस्कुट, मैदा लगायत खाद्यन्य व्यापारमा सक्रिय छन् । उनले नेतृत्व गरेको यूनाइटेड फाइनान्स गत वर्ष मात्र नबिल बैंकमा मर्ज भएको थियो । विनोदका कान्छाे भाई अरुण चौधरीले सिजी होल्डिङ्स अन्तरगत विभिन्न कम्पनी चलाएका छन् । उनको सबैभन्दा ठूलो व्यवसाय गाडी व्यापारा हो । विगत तीन दशकदेखि अरुणले मारुती सुजुकी ब्राण्डका कार, भ्याज,जीप आयात तथा बिक्री वितरण गर्दै गर्दै आएका छन् ।यस ग्रुपले लुब्रिकेन्ट, खाने तेल उत्पादन गर्दै आएको थियो । यस ग्रुपले स्कूल तथा कलेज,, होटल तथा रिसोर्ट लगायत सेवा क्षेत्रमा लगानी विस्तार गरेको छ । लुनकरण दासका छाेरा पुस्ताबीच फरक व्यवसायमा जुन हार्दिकता थियाे, नाति पुस्तामा त्याे खस्किएकाे र उनीहरूबीच समान विजनेशनमा प्रतिस्पर्धा शुरू भएकाे जानकारहरू बताउँछन् ।
उद्योगको आयमा २७ प्रतिशतले वृद्धि तर कर्जा ११ प्रतिशतले घट्यो
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको तेस्रो अङ्क सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ । यस प्रतिवेदनले उक्त अवधिमा उद्योगहरुले आफ्नो कुल उत्पादन क्षमताको ७१ प्रतिशत क्षमता उपयोग गरेको देखाएको छ । प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्ष सोही अवधिमा उद्योगको आय वृद्धिदर २७.१ प्रतिशत बढेको देखाएको छ । प्रतिवेदन अनुसार व्यवसायको क्षमता उपयोग सुधारोन्मुख रहेको देखिन्छ । अध्ययन भएको अवधिमा उत्पादनमूलक उद्योगले औषतमा ९.४ प्रतिशत (गत वर्षको सोही अवधिमा ८.६ प्रतिशत थियो) र सेवा क्षेत्रका उद्योगले औषतमा ९.१ प्रतिशत ब्याज तिरेका छन् । उत्पादनमूलक उद्योगहरुले आफ्नो चालु पूँजीको ४३.८ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ५४.१ प्रतिशत ऋण लिएका थिए । प्रतिवेदनमा उद्योगले ११ प्रतिशत कम कर्जा प्रयोग गरेको देखिएको छ । अध्ययनमा सहभागी मध्ये ६५.५ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि तयार रहेको बताएका छन् । विद्युतको आपूर्तिमा आउने समस्याका कारण अझै पनि ६४.४ प्रतिशत उद्योगले जेनेरेटर प्रयोग गरिरहेको अध्ययनले देखाएको छ । यस अङ्कको औद्योगिक अवस्थिति प्रतिवेदन नेपाल सरकारको बजेटलाई केन्द्रित गरेर तयार गरिएको छ । प्रतिवेदनमा बजेट निर्माण र कार्यान्वयन प्रक्रिया, तुलनात्मक अध्ययन, नेपाल उद्योग परिसंघले चालु आर्थिक वर्षको बजेटमा दिएका प्रमुख सुझाव समेत समावेश छन् । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले निजी क्षेत्रले थिंक ट्यांकको रुपमा कसरी काम गरिरहेको छ भन्ने यो प्रतिवेदनले पनि देखाएको बताए । परिसंघले सुझाव मात्रै दिने नभइ उद्योगको यथार्थ चित्रण समेत यो प्रतिवेदन मार्फत प्रस्तुत गर्न खोजेको उनले उल्लेख गरे । अध्यक्ष अग्रवालले परिसंघले औद्योगिक क्षेत्रको विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले थप क्षेत्रलाई अध्ययनमा समेट्दै विस्तृत बनाउँदै लैजाने बताए । परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले प्रतिवेदनले उद्योगको अवस्थाबारे जानकारी दिने र यसलाई हरेक त्रैमासमा प्रकाशन गर्दै लगिने बताए । यस्ता प्रतिवेदनले निजी क्षेत्रमाथिको विश्वसनीयता अभिवृद्धि गर्न सहयोग गर्ने उनको भनाइ छ । नेपालको औद्योगिक क्षेत्रको आवधिक तथ्यांक नभएको अवस्थामा परिसंघले पहिलो पटक यस्तो प्रतिवेदन तयार गरेको हो । परिसंघअन्तर्गतको रिसर्च सेलले उद्योगहरुसँगको सर्वेक्षणको आधारमा प्रतिवेदन तयार पारेको हो । यो प्रतिवेदनले नेपालमा तथ्यमा आधारित नीति निर्माणका लागि सहयोग गर्ने परिसंघको विश्वास छ । नीति निर्माता लगायत उद्योगसँग चासो राख्ने सम्पूर्ण सरोकारवालाका लागि प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्रीको रुपमा उपयोगी हुने विश्वास परिसंघको छ ।
ऊर्जा दक्षता बढाउन सीएनआई र राष्ट्रिय ऊर्जा दक्ष केन्द्रबीच सम्झौता
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र राष्ट्रिय ऊर्जा दक्ष केन्द्रबीच उर्जा सम्बन्धी कार्यमा सहकार्य गर्न समझदारी भएको छ । ऊर्जा दक्षता, ऊर्जा लेखापरीक्षण, क्षमता अभिवृद्धि र उद्योगहरूको ऊर्जासम्बन्धी सेवाहरूको विकास र कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा परिसंघका महानिर्देशक दीपकराज जोशी र केन्द्रका प्रबन्ध निर्देशक अमृत अभामणि ढकालले हस्ताक्षर गरेका हुन् । उक्त समझदारी अनुसार उद्योगहरूमा ऊर्जा दक्षता र ऊर्जा परीक्षणको जागरूकता बढाउन दुबै संस्थाले उद्योगहरूको ऊर्जा क्षेत्रमा ऊर्जा दक्षता, ऊर्जा परीक्षण र क्षमता विकासका गतिविधिमा मद्दत गर्नेछन् । परिसंघले सन् २०१९ देखि उद्योगहरूमा ऊर्जा दक्षता प्रवद्र्धन गर्दै आएको छ भने केन्द्रले हरितगृह ग्याँस उत्सर्जन घटाउने, रोजगारी सिर्जना गर्ने, बढ्दो ऊर्जाको माग पूरा गर्ने उद्देश्यका साथ हरित ऊर्जा र ऊर्जा दक्षता क्षेत्रमा काम गरिरहेको छ ।