पचास उद्योगले पाए नेपाल गुणस्तर इजाजतपत्र
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले ५० उद्योगलाई नेपाल गुणस्तर इजाजतपत्र प्रदान गरेको छ । विभागले सरकारले नेपाल गुणस्तर लिन अनिवार्य गरेका वस्तुका साथै अन्य वस्तु तथा उद्योगलाई इजाजतपत्र प्रदान गरेको हो । विभागले चालु आर्थिक वर्षमा सिमेन्ट, टीएमटी छड, रङ, एचडीपीई पाइप, सीपीभीसी पाइप, यूपीभीसी पाइप, जस्मिन हाइजिन सेनिटरी पाइप, पेभर्स लकलगायतलाई नेपाल गुणस्तर चिह्न प्रदान गरेको हो । विभागका महानिर्देशक दिनानाथ मिश्रले पछिल्लो समयमा गुणस्तर चिह्नप्रति उद्योगी व्यवसायीको भरोसा बढेको बताए । ‘अघिल्ला वर्षको तुलनामा यसवर्ष नेपाल गुणस्तर इजाजतपत्र लिनेको सङ्ख्या बढेको छ’, उनले भने । चालु आवमा रङ, सिमेन्ट, पाइपलगायतका वस्तुमा नेपाल गुणस्तर चिह्न लिने उद्योगी व्यवसायीको सङ्ख्या बढेको महानिर्देशक मिश्रको भनाइ छ । सरकारले सिमेन्ट, छड, एलपीजी सिलिण्डर, रेगुलेटर, ग्यास पाइप, जीआई वायर, पीभीसी केबुललगायत १५ वस्तुमा नेपाल गुणस्तर अनिवार्य गरेको छ । विभागले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन, २०३७ अनुसार इजाजतपत्र प्रदान गर्दै आएको छ । विभागको कार्यक्षेत्र धेरै भए पनि कर्मचारी कम हुँदा काम गर्न समस्या भएको विभागले जनाएको छ । ८९ कर्मचारीको दरबन्दी रहेको उक्त विभागमा हाल ६५ जना कार्यरत छन् । विभागमा हाल विभिन्न वस्तुको गुणस्तर मापन गर्नका लागि केमिकल, फिजिकल र टेक्साइल प्रयोगशाला छन् । पछिल्लो समय नेपाल गुणस्तर प्रमाण चिह्न लिने उद्योगी व्यवसायीको सङ्ख्या बढे पनि कामदारको सङ्ख्या कम हुँदा काममा समस्या भइरहेको विभागका प्रवक्ता एवं सहसचिव ज्योति जोशी भट्टले बताइन् । यो बाहेक सरकारले नापतौल, मिटर ट्याक्सीको भाडा समायोजनलगायत काम गर्दै आएको छ ।
महासंघको स्टार्टअप कार्यक्रम : मुरारका समूहको रासन टेकमा लगानी
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ५० विजनेश ५० लगानीकर्ता कार्यक्रम अन्तरगत सम्भावित लगानीकर्ताहरू समक्ष २० युवा उद्यमीले आफ्नो नविनतम उद्यमको बारेमा प्रस्तुती गरेका छन् । महासंघको यस कार्यक्रम अन्तर्गत मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणा समेत गरेको छ । मुलुकभित्र नविनतम सोंच भएका नवप्रवर्तक स्टार्टअपलाई सम्भावित लगानीकर्ता जुटाई दिने उद्देश्य अनुरूप महासंघले यो कार्यक्रम शुरु गरेको हो । कार्यक्रममा महासंघका करिब २५ जना सम्भावित लगानीकर्ताहरूको उत्साहपूर्वक सहभागिता थियो । प्रस्तुुत योजनामा लगानीकर्ताले रूची देखाएमा महासंघको स्टार्ट अप एण्ड इनोभेसन समितिले दुवै पक्षबीच सहजीकरण गर्नेछ । महासंघ आफैले आवेदन मार्फत छनौट गरेका र महासंघको सहकार्यमा व्यवसायिक संघ÷संस्थाले विभिन्न समयमा गरेका स्टार्टअपसंग सम्बन्धित कार्यक्रममा उत्कृष्ट ठहरिएका स्टार्टअपहरूले पिचिङ शेशनमा भाग लिएका थिए । महासंघले यस कार्यक्रममा सहभागिताका लागि विभिन्न समयमा स्टार्टअप व्यवसायीसंग आवेदन समेत माग गरेको थियो । पिचिङ शेशनमा कृषि, उत्पादनमुलक, खानपीन, सूचना प्रविधि, सेवासंग सम्बन्धित विजनेश योजना प्रस्तुुत भएका थिए । महासंघको स्टार्टअप एण्ड इनोभेसन समितिले गत बर्ष चैत्र ९ गते ५० विजनेश/५० लगानीकर्ता कार्यक्रमको घोषणा गरेको थियो । पिचिङ शेशनमा आमा एग्रो प्रा.लि., रासन टेक प्रा.लि., नेपाल एग्रो इन्पुट्स मार्केटिङ एण्ड इन्टरप्रेनुअरशिप सर्भिस(नेम्स),अन्सु टेक्नोलोजि प्रा.लि., लुक्ला आउटडोर,पिक एण्ड ड्रप, एक कल होम सोलुसन्स, वेदा, अर्वान्स नेपाल, खानपीन, स्वीट फिक्स,बिहे नेपाल,सारङ,कारखाना,ग्लोकल एकेडेमि अफ स्कील, ह्यापी माइण्डस, टेका, बोआफ्रेश,ज्वाला कृषि तथा पशुपालन उद्योग, निन्जा इन्फोसीस छन् । महासंघले पहिलो पटक स्टार्टअप एण्ड इनोभेसन समिति नै गठन गरी यो क्षेत्रको प्रवद्र्धनमा काम गर्दै आएको छ । महासंघले अगाडि सारेको भिजन पेपरले पनि स्पार्टअप व्यवसायलाई मुख्य प्राथमिकतामा राखेको छ । यूवा उद्यमशीलता विकास र नवप्रवर्तन गर्न स्टार्टअप व्यवसायलाई सहयोग गर्नुपर्र्ने महासंघको निरन्तर पहलमा स्टार्टअप व्यवसायलाई सहयोग गर्ने विभिन्न कार्यक्रमहरू जस्तो ठूला उद्योगसंगको अग्र तथा पृष्ठ अन्तर सम्बन्ध कायम गर्ने, च्यालेन्ज फण्डको स्थापना, इन्कुवेशन केन्द्र संचालन लगायतका कार्यक्रमहरू संघीय सरकारको बजेटमा आएका छन् । महासंघको यस कार्यक्रममा एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आइरहेका र कम्तिमा पनि एक वर्षको लेखा परिक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता भएका स्टार्टअप व्यवसाय यसका लागि योग्य मानिने छन् । महासंघका अध्यक्ष शेखर गोल्छाले पिचिङ सेसनको औपचारिक शुुभारम्भ गर्दै महासंघको यो कार्यक्रमले नविनतम सोच भएका र लगानीको अभावमा आफूलाई विस्तार गर्न नसकेका स्टार्टअपहरूलाई लगानी जुटाउन सहयोग पुुुरयाउने विश्वास प्रकट गरे । महासंघको आर्थिक रुपान्तरण २०३० (भिजन पेपर) ले पनि स्टार्टअप व्यवसायलाई जोड दिएको र अहिले सरकारले पनि हाम्रै सल्लाहमा यो क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । स्टार्टअप एण्ड इनोभेसन समितिका सभापति रंजितराज आचार्यले महासंघको यो प्रयासले मुलुकभित्र स्टार्टअप व्यवसायमा नयां आयाम थप्ने विश्वास प्रकट गरे । सभापति आचार्यले समितिले स्टार्टअप व्यवसायका क्षेत्रमा नीति निर्माणमा समेत गृहकार्य गरी सरकारलाई पेश गरेको र यस क्षेत्रको भविष्य निकै राम्रो रहेको बताए । कार्यक्रममा महासंघका पदाधिकारीहरू, पूर्व अध्यक्ष, कार्यकारिणी समितिका सदस्यहरू, स्टार्टअप एण्ड इनोभेसन समितिका पदाधिकारी, सदस्यहरू, सल्लाहकारहरू, स्टार्टअप व्यवसायीहरू लगायतको उपस्थिति थियो ।
नेपाल स्टार्टअप फेस्ट २०२२ हुँदै, ५० करोडको लगानी प्रतिवद्धता गरिने
काठमाडौं । नेपाल उद्योग परिसंघले आउँदो शनिवार काठमाडौंमा नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । परिसंघको युवा उद्यमी मञ्चले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्दश्यले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्न लागेको बताएको छ । असार ११ गते काठमाडौंको सोल्टी होटलमा हुने स्टार्टअप फेस्टमा राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदुतावासको सहयोग रहेको छ । स्टार्टअप फेस्टमा छनोट भएकामध्ये १० वटा प्रश्तावलाई प्रस्तुती गर्ने अवसरका साथै पुँजी लगानीको अवसर पनि दिने आयोजकले बताएको छ । यसअघि स्टार्टअपहरुलाई लगानीका लागि आवेदन पेश गर्न जेठ २७ गतेसम्मको समय अवधि दिएकोमा देशभरबाट ३ सय बढी परियोजना प्रस्ताव आएको थियो । जसमध्ये १० वटालाई प्रस्तुती गर्ने अवसरका साथै पुँजी तथा प्रविधिक सहयोग गर्ने तथा लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानीको अवसर दिने आयोजक नेपाल उद्योग परिसंघले बताएको छ । स्वदेशमै नयाँ उद्यम गर्न चाहने युवाहरुलाई व्यवसायमा ल्याउने विश्वासका साथ आयोजना गर्न लागिएको मेलामार्फत करिब ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता गरिने पनि आयोजक परिसंघले बताएको छ । कार्यक्रममा स्वदेशी एवं विदेशी विज्ञहरुबाट स्टार्टअप विषयमा प्रश्तुती हुनुका साथै प्यानल डिस्कशन, रोबोटिक फुटबल, लाइभ म्युजिक कन्सर्ट पनि हुनेछ । यसका साथै, ४० बढी स्टार्टअप्सले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्नेछन् ।