‘अब बैंकहरु मात्रै होइन सरकार पनि जोखिममा पर्न सक्छ, हातेमालो गरौं’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका शेखर गोल्छाले निजी क्षेत्रसँग सरकारले सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताएका छन् । बिहीबार नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एंवम् नेपाल उद्योग वाणिज्य महासंघबीच समझदारी पत्र हस्ताक्षर समारोहमा आफ्नो धारणा राख्दै उनले बैंकहरु र सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नु पर्ने धारणा राखेका हुन् । ‘बैंकहरुले अहिले ब्याज बढाएका छन्, पहिले मैले बैंकहरूलाई मिलेर जोखिम मोलौं भनेको थिए तर, हामी मात्रै जोखिममा पर्यौं, अब बैंकहरु मात्रै होइन सरकार पनि जोखिममा पर्न सक्छ, अब सहकार्य गरेर गरेर अगाडि बढ्न आवश्यक छ,’ उनले भने । यस्तै, उनले बजेटमा उल्लेख भएका कतिपय कार्यक्रम कार्यान्वयनमा गइसकेको बताए । सन् २०३० सम्ममा १ सय अर्ब डलर पुर्याउने र २२ लाख नयाँ रोजगारी सिर्जना हुने उनको भनाइ छ । यो सहमतिले अब सरकार र महासंघ एक भएको उनको भनाइ छ । ‘अब महासंघ थप सक्रिय भएको छ, मिलेर लगानीको वातावरण सिर्जना गरौं, निजी क्षेत्रले सम्मानजनक व्यवसाय गर्न पाउनु पर्छ, यसलाई एक प्रकारको आर्थिक रुपान्तरणका लागि अभियान नाम दिएका छौं,’ उनले कार्यक्रममा भने । समझदारी पत्रमा उद्योग मन्त्रालयका सहसचिव नारायण दुवाडी र अध्यक्ष गोल्छाले हस्ताक्षर गरेका छन् ।
मौद्रिक नीतिबाट व्यवसायी तथा बैंकर्सहरु निराश हुनुपर्दैन : डेपुटी गभर्नर मिश्र
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिपछि उद्योगी व्यवसायी तथा बैंकर्सहरु निराश हुनुपर्ने अवस्था नभएको बताएका छन् । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन् । उद्योगी व्यवसायी तथा बैंकर्सहरुले मौद्रिक नीतिपछि सबै क्षेत्र खत्तम भयो भन्ने स्थिती नभएको बताए । एक जना मान्छे सामान्य बिरामी भएर अस्पतालमा गयो भन्दैमा आइसियुमा हाल्न नहुने बताउँदै उनले उद्योगी, व्यवसायी र बैंकर्सहरुलाई अहिलेको मौद्रिक नीतिलाई नराम्रो तरिकाबाट नहेर्न आग्रह गरे । डेपुटी गभर्नर मिश्रले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा सबै क्षेत्रका सुझाव लिएर सुझावको आधारमा नै नीति ल्याएको दाबी गरे । उनले मौद्रिक नीति वर्तमान अर्थतन्त्रमा देखिएको समस्याको शतप्रतिशत समाधान गर्ने सञ्जीवनी बुटी नभएको बताए । मिश्रले अर्थतन्त्र बुझेको विज्ञहरुले सिआरआर अनुपात ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत बनाउँदा राष्ट्र बैंकले मार्न खाज्यो भन्नु बुझेर पनि नबुझेको जस्तो गरेको देखिएको बताए । ‘उद्योगी तथा बैंकर्सहरुकोले एकदमै निराश हुने कथनहरु आए मौद्रिक नीति आएपछि निराश हुनुपर्ने अवस्था छैन, बैंकर्स संघका अध्यक्षले मसँग एक पैसा पनि छैन, म पैसा दिन सक्दिन, उद्योग परिसंघले हामी खतम भयौं भन्ने, अटोमोवाईल्स नाडाका अध्यक्षले हामी बर्बाद भयौं भन्ने, चेम्बरका अध्यक्ष रिसाउने, यस्तो निराश हुनुपर्ने स्थिति छैन, एउटा मान्छे अस्पतालको ओपीडिमा बिरामी भएर गयो भन्दैमा सिधै आइसियुमा हाल्ने काम नगरौं । यो कुरा अनुरोध गर्न चाहन्छु, यो कार्यक्रममा भेला भएर धेरै बिरामी भएर अस्पताल गएको मान्छेलाई सिधै आइसियुमा लगेर सलाइन पानी चढाउन थाल्ने काम उद्योगी, व्यवसायी, बैंकर्सहरुले नगरौं, सञ्जीवनी बुटी मौद्रिक नीतिमा सतप्रतिशत निस्कन सक्ने अवस्था छैन, राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा सबै क्षेत्रका सुझाव लिएका थियौं, अन्तर्राष्ट्रिय रुपमा भएको मूल्यवृद्धि, घरजग्गा कारोबारमा भएको वृद्धिको अवस्थामा अब विश्व बैंकले समेत घट्दै जान्छ भनेको अवस्था थियो, हामीले सबै बुद्धिजीविहरुलाई राखेर सुझाव लिएर ३ प्रतिशतबाट ४ प्रतिशत सिआरआर अनुपात बढाएको भएर मार्न खोजेको हो, भनेर भन्न थालेपछि यो बुझेर पनि नबुझेको जस्तो देखिएको छ,’ उनले भने । त्यस्तै, कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिले ७ प्रतिशत मूल्यवृद्धि कायम राख्न असम्भव रहेको बताए । उनले मौद्रिक नीतिमा ८ प्रतिशतको ग्रोथ रेट र मूल्यवृद्धिलाई ७ प्रतिशतमा सिमति राख्ने लक्ष्य महासंघलाई वास्तविक नलागेको बताए । अध्यक्ष गोल्छाले मौद्रिक नीतिले बैंकको ब्याजदर वृद्धि हुने भएकाले कर्जाको माग कम हुने बताए । ‘अहिले आएको मौद्रिक नीतिमा ८ प्रतिशतको ग्रोथ रेट र मूल्यवृद्धिलाई ७ प्रतिशतमा लिमिट राख्ने कुरा आएको छ, मलाई लाग्छ यो जनता र राजनीतिक भ्यु हो जस्तो लाग्छ, किनकी संकुचित हुने मौद्रिक नीति अर्कोतिर ग्रोथ रेट ८ प्रतिशत र वाह्य कारण पनि मूल्यवृद्धि ७ प्रतिशत कायम राख्नु यो असम्भव हो, यो बाझिएको छ, मौद्रिक नीतिले जुन लक्ष्यहरु हासिल गर्ने प्रयास गरेको छ, जिडिपी ग्रोथ रेट र मूल्य वृद्धिको लक्ष्य लिएको छ, त्यो वास्तविक हामीलाई लागेन, हामी बुझ्नसक्छौं, नीति तथा कार्यक्रमले एउटा कुरा बोलेको थियो, मौद्रिक नीतिले ब्याजदर बढाउनेछ । ब्याजदर बढेपछि पैसाको माग कम हुनेछ । अहिले अर्थतन्त्रमा आएको समस्या समाधान हुनेछ भन्ने कुरा बुझ्नसक्छौं,’ उनले भने । अध्यक्ष गोल्छाले मौद्रिक नीतिले जिडिपी ग्रोथ रेट र मूल्य वृद्धिको लक्ष्य लिएपनि त्यो निजी क्षेत्रलाई वास्तविक नलागेको बताए ।
दार्चुलाका अल्लो उद्यमीलाई मन्त्री बडुले हस्तान्तरण गरे प्रविधि
दार्चुला । स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले दार्चुलामा तीन जना अल्लो उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरिएको छ । दार्चुला सदरमुकाम खलंगामा आज आयोजित एक कार्यक्रममा प्रविधि हस्तान्तरण गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले ग्रामीण क्षेत्रका घरेलु, साना तथा मझौला उद्योगहरुको प्रवर्द्धन, उद्यमीहरुलाई प्रोत्साहन र गुणस्तरीय उत्पादनका लागि प्रविधि हस्तान्तरण गरिएको बताए । उनले साना तथा मझौला उद्योग अर्थतन्त्रको मेरुदण्ड भएकाले सरकारले यस्ता उद्योगलाई प्राथमिकतामा राखेर सहयोग गरिरहेको बताए । ‘सरकारले घरेलु, साना तथा मझौला उद्योगका लागि उपयुक्त वातावरण निर्माण गरि देशका ७५३ वटै स्थानीय तहमा ओैद्योगिक ग्राम बनाउने नीति लिएको छ,’ मन्त्री बडूले भने, ‘स्थानीय उद्यमी र उत्पादनको संरक्षण एंव विकासका लागि तीनै तहका सरकारले आवश्यक समन्वय र सहकार्य गरि यसको उपयोग गर्न जरुरी छ ।’ मन्त्री बडूले ओैद्योगिक ग्राम बनाउन सरकारले तीन करोड रुपैयाँ लगानी दिने गरेकोले जनताको जिवनस्तर उकास्नका लागि दार्चुलाका स्थानीय तहलाई यसबाट लाभ लिन आग्रह गरे । मेशिन पाएपछि अल्लो व्यवसायीहरुले पनि व्यवसायको विकास, स्तरोन्नती र गुणस्तरीय सामान उत्पादन गर्न सहज हुने बताए । अल्लो उद्यमी गणेश दत्त जोशीले २०४४ सालदेखि आवश्यक प्रविधिका लागि सरकारलाई आग्रह गरे पनि मन्त्री बडूको पहलमा अहिले अल्लो प्रशोधन मेसिन प्राप्त गरेकोमा खुशी व्यक्त गरे । ‘२०४४ सालदेखिको सपना आज पूरा भयो । अहिलेसम्म प्रायः सबै प्रधानमन्त्री, मन्त्रीज्यूलाई माग गरे तर आश्वासनबाहेक केही पाएन,’ उनले भने, ‘आज विकासप्रेमी नेता उद्योग मन्त्री भएपछि मैले मेसिन पनि पाए । अब मेरो भावी पुस्ताले यसबाट भरपूर लाभ लिनेछ ।’ मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा महाकाली नगरपालिका, मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकाका एकरएक जना गरि ३ जना अल्लो उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको हो ।