औद्योगिक क्षेत्रको निर्माणले मात्र देश समृद्ध बन्छ- राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले औद्योगिक क्षेत्रको निर्माणले मात्र देश समृद्धिको बाटोमा जाने बताएका छन्। उद्योग, कलकारखाना स्थापनापश्चात् देश आत्मनिर्भर हुने, देशमै रोजगारीको सिर्जना हुने भएकाले उद्योग र औद्योगिक क्षेत्रको स्थापनाबिना देशमा समृद्धिको परिकल्पना गर्न नसकिने उनले बताए । कालिका नगरपालिकाद्वारा आज आयोजित औद्योगिक क्षेत्र स्थापना तथा शक्तिखोर–मझिमटार सुरुङमार्ग निर्माणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले शक्तिखोर औद्योगिक क्षेत्र र शक्तिखोर–मझिमटार सुरुङ मार्ग चितवनको गहना भएको बताए । उनले भने ‘शक्तिखोर–मझिमटार सुरुङमार्ग निर्माणले शक्तिखोरमा स्थापना हुने औद्योगिक क्षेत्रको विकास र देशको यातायातको पूर्वाधारमा महत्वपूर्ण भूमिका रहने छ ।’ कार्यक्रममा चितवन क्षेत्र नं २ का सांसद तथा प्रतिनिधिसभा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले देशमा उद्योग कलकारखाना बिनाको समृद्धि सम्भावना नभएको भन्दै पार्टीभन्दा माथि उठेर देशको समृद्धिमा सबै लाग्नुपर्ने बेला आएको बताए। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले देशको विकास र समृद्धिको लागि सडक, उद्योग कलकारखाना प्रमुख हुने बताए । स्थानीयको समस्याको पहिचान र समाधान गरी औद्योगिक क्षेत्रको स्थापना गर्नुपर्ने उनको भनाइ थियो । शक्तिखोरमा बन्ने औद्योगिक क्षेत्र देशकै मध्य भागमा रहेकाले यसको बढी महत्व रहेको भन्दै स्थानीयलाई रोजगारीको सिर्जना गरी औद्योगिक क्षेत्रको विकास गर्नसके नेपाली विदेशिने क्रमलाई कमी ल्याउन मद्दत पुग्ने बताए ।

बैतडीमा महिलाका नाममा पाँच सय उद्योग

बैतडी । पछिल्लो समय बैतडीमा महिलाको नाममा उद्योग दर्ता हुने क्रम बढेको छ । राजश्व कम लाग्ने भएकाले महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको हो । दुई वर्षमा मात्रै यहाँ महिलाका नाममा पाँच सय आठ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी लक्ष्मण साउँदका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सात सय ५४ उद्योग दर्ता भएकामा दुई सय ७१ उद्योग महिलाका नाममा दर्ता भएका भएका छन् । यस्तै २०७७/७८ मा पाँच सय ९४ साना उद्योग दर्ता भएकामा दुई सय ३७ उद्योग महिलाका नाममा दर्ता भएका छन् । महिलाका नाममा उद्योग दर्ता भए ५० प्रतिशत राजश्व छुट हुने, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले सहुलियतमा कर्जा दिने भएकाले पनि महिलाका नाममा अहिले उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको हो । दोगडाकेदार गाउँपालिका–३ की लक्ष्मी भट्टले राजश्व छुटका साथै महिला पनि उद्योग चलाउन सक्षम छन् भन्ने देखाउनका लागि आफ्नो नाममा उद्योग दर्ता गराएको बताए । बैतडीमा हालसम्म तीन हजार पाँच सय ९० उद्योग दर्ता भएका छन् ।

तनहुँमा वेदव्यास मल्टिपर्पोज उड एन्ड काष्ठ इन्डष्ट्रिज स्थापना, सय बढीलाई रोजगारी प्रदान

तनहुँ । चार व्यक्ति मिलेर व्यास नगरपालिका–११ स्थित दुम्सीमा वेदव्यास मल्टिपर्पोज उड एन्ड काष्ठ इन्डष्ट्रिज सञ्चालनमा ल्याइएका छन् । उद्योग सञ्चालनमा ल्याएसँगै स्थानीय मानिससहित एक सय बीसजनाले प्रत्यक्ष रोजगारी पाएका छन् । गण्डकी प्रदेशकै दोस्रो ठूलो भनी जिकिर गरिएको उद्योग जिल्लामा स्थापना भएसँगै युवायुवतीलाई आत्मनिर्भर बन्न सहयोग मिलेको छ । उद्योगमा आवश्यक पर्ने सबै उपकरण ल्याएपछि उत्पादन सुरु भइरहेको उक्त इन्डष्टिजका अध्यक्ष सूर्य तामाङले जानकारी दिए। सो उद्योगमा अहिले दैनिक पाँच सय थान प्लाइ, एक सयभन्दा बढी थान ढोका र ५० थान चौकोसलगायत सामान उत्पादन भइरहेको छ । स्थानीय सूर्य तामाङ, बाबुराम उप्रेती, बाबुराम पुरी र भुपाल आलेको करिब रु १२ करोडको सामूहिक लगानीमा उद्योग सञ्चालन गरिएको हो । अहिले उद्योगमा उत्पादित वस्तु जिल्लाभित्रै खपत हुँदै आएकाले आगामी दिनमा बाह्य जिल्लामा पनि विस्तार गर्ने योजना बनाइएको सञ्चालकहरुले बताए । उद्योग सञ्चालनका लागि सोह्र रोपनी जग्गा ६५ लाखमा खरिद गरी १० रोपनी जग्गा व्यक्तिसँग भाडामा लिइएको उनको भनाइ थियो । केही गरौँ र स्वदेशमा रोजगारीे सिर्जना गरौँ भन्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको इन्डष्ट्रिजका अर्का सञ्चालक एवं सचिव बाबुराम उप्रेतीले जानकारी दिए। उप्रेती डिभिजन वन कार्यालयबाट सहायक वन अधिकृत पदबाट अवकाश प्राप्त व्यक्ति हुन भने अन्य तीन व्यवसायी स्थानीय हुन् । करिब दुई सयसम्म जनशक्तिलाई गाउँमै रोजगारी दिन सकिने लक्ष्य रहेको सञ्चालकहरुले बताए । जिल्लामा यस्ता किसिमका उद्योग कलकारखाना सञ्चालन गरेको खण्डमा युवायुवती रोजगारीको सिलसिलामा विदेसिनु पर्ने अवस्थामा न्यूनीकरण गर्न सकिने अर्का सञ्चालक बाबुराम पुरीले बताए । उक्त उद्योगमा बिजुलीको लाइन गएको समयमा समस्या नहोस् भनी हालै मात्र भारतबाट जेनेटर ल्याई जडानसमेत गरिसकिएको छ ।