४९ उद्योगले पाए गुणस्तर चिन्ह
काठमाडौं । नेपाल गुणस्तर परिषद्ले आर्थिक वर्ष २०७८/०७९ मा १५ वटा गुणस्तर पारित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा बसेको परिषद्को बैठकले सोही आवमा १५ गुणस्तर पारित गरेको हो । नयाँ मन्त्री नियुक्ति भएपछि परिषद्को दुईपटक बैठक बस्दा उक्त गुणस्तर पारित भएको हो ।नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ । परिषद्को सदस्य–सचिव विभागका महानिर्देशक हुने प्रावधान रहेको छ । विभागका महानिर्देशक दिनानाथ मिश्रले विभागको प्राविधिक समितिले ९२ गुणस्तर पारित गरिसकेको बताए । ‘विभागको प्राविधिक समितिबाट पारित भएको गुणस्तर क्रमशः नेपाल गुणस्तर परिषद्मा लगेर पारित गछौँ’, उनले भने । परिषद्ले आव २०७७/०७८ मा भने ३१ नेपाल गुणस्तर पारित गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्तिमा ढिलाई हुँदा आव २०७७/०७८ भन्दा गत आवमा नेपाल गुणस्तर पारित कम भएको विभागले जनाएको छ । विभागले आव २०७८/०७९ मा ५४ वटा उत्पादित वस्तुलाई इजाजतपत्र प्रदान गरेको छ भने १२ वटालाई प्रमाणपत्र प्रदान गरेको छ । सोही आवमा ४९ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान गरेको छ । सो विभागले गत आवमा दुई सय १३ पटक उद्योगको निरीक्षण अनुगमन, सात सय ५६ वस्तुको नमूना सङ्कलन र नौ वटाको प्रणाली प्रमाणिकरण प्रदान गरेको छ । तीन हजार दुई सय १४ वस्तुको प्रयोगशालामा रासायनिक, भौतिक, टेक्सटायल, छाला र कागजको परिक्षण सम्पन्न गरेको छ । एक हजार आठ सय ५९ वटालाई क्यालिब्रेसन सेवा प्रदान गरेको जनाएको छ । विभागले उक्त कार्य गरेवापत गत आवमा चार करोड ९२ लाख आठ सय रुपैयाँ पाँच राजश्व सङ्ककलन गरेको छ । रासस
नेपाल गुणस्तर चिह्न पाएपछि हुवासिन सिमेन्टको व्यावसायिक उत्पादन सुरु
काठमाडौं । लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । सरकारले नेपाल गुणस्तर चिह्नसमेत प्रदान गरिसकेकाले अब व्यावसायिक उत्पादन सुरु भएको उद्योगले जनाएको छ । उद्योगले गत पुसदेखि नै परीक्षण उत्पादन गर्दै आएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नापतौल तथा गुणस्तर विभागका प्रवक्ता ज्योति भट्टले हुवासिन सिमेन्ट उद्योगले उत्पादन गर्ने सिमेन्टले नेपाल गुणस्तर चिह्न (एनएस) दिइएको जानकारी दिए । उनले उक्त सिमेन्टलाई आइतबार गुणस्तर चिह्न दिइएको र उद्योगका प्रतिनिधिले आज उक्त प्रमाणपत्र लिएर जानुभएको बताए । गुणस्तर चिह्न प्राप्त गरेसँगै नेपालमा विदेशी लगानीको ठूलो सिमेन्ट उद्योगको उत्पादन नेपाली बजारमा उपलब्ध हुनेछ । ‘हामीले झण्डै आठ महिनादेखि परीक्षण उत्पादन गरिहेका थियौँ, सरकारको अनुमति पनि प्राप्त भएको छ, अब पूर्णरुपमा व्यावसायिक उत्पादन सुरु भएको छ’, हवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले भने । नेपाली र चिनियाँ व्यवसायीको संयुक्त लगानी रहेको उद्योगमा गत कात्तिकको अन्तिम सातादेखि विद्युत् उपलब्ध भएको थियो । उद्योगमा ड्राइ प्रोसेस प्रविधिबाट उत्पादन हुने र विश्वमा हाल अत्यन्त प्रचलित फिल्टरलगायत इलेक्ट्रो स्ट्याटिक प्रिसिपिटेटर (इएसपी) जडान भएकाले न्यून प्रदूषण हुने दाबी गरिएको छ । उद्योग आफैँले धुलो तथा पानीको बाफ प्रयोग गरेर आन्तरिकरुपमा नै ‘वेस्ट हिट रिकभरी’ मार्फत पाँच मेगावाट बिजुली आफैँ उत्पादन गरेको छ । आफ्नै उच्च गुणस्तरको चुनढुङ्गा खानीबाट उत्पादित चुनढुङ्गाबाट क्लिन्कर र सिमेन्ट उत्पादन गर्ने उद्योगले दाबी गरेको छ । अत्याधुनिक कम्प्युटर प्रविधि (सिसिआर) बाट सम्पूर्ण उत्पादन प्रक्रियाको निरन्तर निगरानी हुने भएकाले गुणस्तरमा कुनै पनि सम्झौता नगरिने उद्योगको भनाइ छ । आफ्नै अत्याधुनिक प्रयोगशालाबाट निरन्तर क्लिन्कर तथा सिमेन्टको गुणस्तर परीक्षण भइरहने एवं भर्टिकल रोलर मिल (भिआरएम) प्लान्टबाट सिमेन्ट उत्पादन हुने भएकाले गुणस्तर अधिक हुने उपमहाप्रबन्धक पोखरेलले जानकारी दिए । अत्याधुनिक प्याकेजिङ प्लान्टबाट सिमेन्ट बोरा प्याकिङ हुने भएकाले लिकेज प्रुफ र ओस नलाग्ने उद्योगको भनाइ छ । मस्र्याङ्दी काठमाडौं एक सय ३२ केभी प्रसारण लाइनबाट उद्योग परिसरसम्म बिजुली उपलब्ध गराइएको छ । सरकारले प्राथमिकता प्राप्त उद्योगलाई विद्युत् उपलब्ध गराउने गरेको छ । धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण भएको स्वीचिङ स्टेशनलाई गत कात्तिकमा नै चार्ज गरिएको भए पनि गत मङ्सिरको दोस्रो सातादेखि उद्योगमा नियमितरुपमा बिजुली उपलब्ध गराइएको थियो । प्रसारण लाइन निर्माण उद्योग आफैँले गरेको हो । त्यसका लागि मात्रै करिब रु एक अर्ब बराबरको खर्च भएको बताइएको छ । तनहुँको तल्लो मस्र्याङ्दी विद्युत्गृहबाट आएको प्रसारण लाइन स्विचिङ स्टेशनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) निर्माण गरिएको छ । प्रसारणलाइनलाई स्विचिङ स्टेसनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत् उपलब्ध गराइएको छ । सो स्विचिङबाट सिमेन्ट उद्योगले कूल २० मेगावाट विद्युत् लिनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगले मागेजति विद्युत् उपलब्ध गराउने नीतिअनुसार नै हुवासिन सिमेन्टले पनि बिजुली पाएको यसअघि नै बताइसकेका छन् । बेनिघाट रोराङ गाउँपालिकाको ताल्दीमा रहेको उद्योगले करिब १४ किलोमिटर प्रसारण लाइन र एक सय ३२ केभी क्षमताको सबस्टेशन निर्माण गरेको छ । प्राधिकरणको प्राविधिक सहयोग एवं सुपरीवेक्षणमा स्विचिङ स्टेशन र सवस्टेशन निर्माण गरिएको हो । प्राधिकरणका अनुसार स्विचिङ स्टेशन निर्माण भएपछि धादिङको विद्युत् आपूर्तिमा सुधार भएको छ । सामान्य हावाहुरी आउँदा प्रभावित हुने धादिङको विद्युत् आपूर्तिमा गुणात्मक सुधार भएको छ । त्यसका लागि ३३ र ११ केभी क्षमताका वितरण लाइन निकालिएका छन् । स्विचिङ स्टेशन सञ्चालनसँगै धादिङको गल्छी, नौबिसे क्षेत्रमा खुल्न लागेका अन्य उद्योगलाई सहजरुपमा बिजुली उपलब्ध गराउन सकिएको छ । राजधानी काठमाडौं नजिक भएकाले पनि राजमार्ग क्षेत्रमा दर्जनौँ नयाँ उद्योग खुल्न लागेका छन् । ती उद्योगमा सहजरुपमा बिजुली उपलब्ध गराउन प्राधिकरणको पूर्वाधारसमेत तयार भएको छ । राजमार्ग क्षेत्रमा गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति हुँदा प्राधिकरणको आम्दानीमा वृद्धि हुनेछ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग परिससम्म प्रसारण लाइन बनाउने नीति लिए पनि समयमा काम नहुने भएपछि हुवासिनले आफैँ सो संरचना तयार पारेको हो । कोरोना कहर, प्राकृतिक विपत्तिलगायत कारणले उद्योगको लागत बढ्न गएको उपमहाप्रबन्धक पोखरेलको भनाइ छ । लगानी बोर्डसँग सुरुआती सम्झौता गर्दा करिब १४ अर्ब ४० करोड बराबरको लागत रहने भनिए पनि विभिन्न कारणले थप तीन अर्ब लागत बढ्न गएको बताइएको छ । नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ बोर्डले प्रख्यात चिनियाँ कम्पनी हुवासिनसँग सम्झौता गरी काम अगाडि बढाइएको थियो । अर्को चिनियाँ लगानीको सिमेन्ट उद्योग होङ्सीले पछिल्लो चार वर्षदेखि नियमितरुपमा उत्पादन गरिरहेको छ । सो उद्योग सञ्चालनमा आएपछि सस्तो मूल्यमा नेपाली बजारमा सिमेन्ट उपलब्ध हुन थालेको हो । हुवासिन बजारमा आएसँगै गुणस्तरीय सिमेन्टसमेत उपलब्ध हुने बताइएको छ । आर्थिक विकासको गतिमा अगाडि बढिरहेको मुलुकका लागि गुणस्तरीय सिमेन्ट उपलब्ध गराउनु नै आफूहरुको प्रमुख कर्तव्य रहेको उपमहाप्रबन्धक पोखरेलको भनाइ छ । हुवासिन सिमेन्ट उद्योगले दैनिक तीन हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्नेछ । बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङबीच २०७५ असार ६ मा उद्योग स्थापनाका लागि चीनको राजधानी बेइजिङमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार छ महिनाभित्र कारखाना स्थापना गर्ने भनिए पनि विभिन्न कारणले लामो समय लागेको हो । संसारका प्रख्यात सिमेन्ट उद्योगमध्ये शीर्ष १० भित्र हुवासिन पनि पर्छ । उद्योगमा तीन सय ५० जनाले प्रत्यक्ष र एक हजार जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । विसं २०७४ मङ्सिर १२ मा हुवासिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन् गर्न अनुमति दिएको थियो । खानीका लागि चिनियाँ प्रवद्र्धकले ६० करोड बराबरको लगानी गरेको थियो । खानीका लागि हालसम्मकै बढी खर्च गरिएको यो नै पहिलो हो । खानी विभागले बोलपत्रका आधारमा बढी मूल्य भुक्तानी गर्ने कम्पनीलाई उक्त खानी दिइएको हो । बोर्डका अनुसार २०७२ पुस ५ गते वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले स्वीकृति दिएको थियो । नेपालमा हाल झण्डै ३५ लाख मेट्रिकटन सिमेन्टको माग छ । नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको कूल जडित क्षमता ५५ लाख मेट्रिकटन पुगिसकेको छ । विकास निर्माणका काममा बढोत्तरी हुँदै गएको तथा भौतिक पूर्वाधारमा लगानी बढिरहेका सन्दर्भमा आगामी दिनमा थप सिमेन्ट उद्योग स्थापना हुनेछन् । उद्योगले धादिङको ताल्दी पुग्ने सडक निर्माण, स्थानीयरुपमा निःशुल्क बिजुली उपलब्ध गराउनेदेखि अन्य सामाजिक कामसमेत गर्दै आएको छ । रासस
सामसङ टिभी नेपालमै उत्पादन हुने, नवलपरासीमा कारखानाको शिल्यनास
काठमाडौं । विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्टफोनहरुको ब्राण्ड सामसङले नेपाली कम्पनी हिम इलेक्ट्रोनिक्ससंगको सहकार्यमा नवलपरासीमा टिभी कारखाना स्थापना गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सीईओ एचके पाकले संयुक्त रुपमा कारखानाको सिलन्यास गरेका छन् । कारखानाले सन् २०२३ देखि उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ । सन् १९९७ देखि कोरियाली ब्राण्डको रुपमा परिचित सामसङका उत्पादन २०२३ पछि नेपालको घरेलु ब्राण्डको रुपमा उभिने भएको छ । हाल सामसङले आफ्नो साझेदार मार्फत् नेपालमा उपभोक्तामुखी इलेक्ट्रोनिक्स उत्पादनहरु टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माइक्रोवेव र स्मार्ट फोनहरु बिक्री वितरण गर्दै आइरहेको छ । नेपालमा ५०० भन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोरहरु र ग्राहक सेवा केन्द्रहरुको बलियो सञ्जालमार्फत् सामसङले सेवा प्रदान गर्दै आइरहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले स्थानीय उत्पादन क्षमताहरु वृद्धिमा जोड दिने सरकारको नीति रहेका बताउँदै यस्तो उद्योगले बैदेशिक व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताए । उनले सामसङ जस्तो बहुराष्ट्रिय उद्योगले नेपालीसँगको साझेदारीमा नेपालमा उद्योग खोल्नेले नेपालको बारेमा अन्तराष्ट्रिय बजारमा पनि राम्रो सन्देश जाने बताए । सोही समारोहलाई सम्बोधन गर्दै गोल्छा अर्गनाइजेसनका अध्यक्ष एवं हिम इलेकट्रोनिक्स प्रबन्ध निर्देशक शेखर गोल्छाले नयाँ टिभी कारखाना नेपालको लागि एउटा कोसेढुङ्गा साबित हुनेछ । कारखानाको स्थापनाले देशमा उद्योगधन्दाको विकाससंगै दक्षता र उत्पादकत्वमा वृद्धि भई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे । उनले हिम इलेकट्रोनिक्स र सामसङबीच २२ वर्ष लामो सहकार्यको सुखद भएको र यसैको परिणाम दुई कम्पनीबीचको साझेदारीमा उद्योग स्थापना गर्न सफल भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका शेखर गोल्छाले यो कारखाना स्थापनासँगै नेपालको उत्पादन यात्रामा एक महत्वपूर्ण अध्यायको शुरुवात गर्ने, स्थानीय उद्यम, नवीन सीप र दक्षता, आविष्कारहरु तथा रोजगारीका साथ देशमा इलेक्ट्रोनिक्सको क्षेत्रलाई रुपान्तरण गर्ने सम्भावनाहरु व्यापक बनाएको बताए । समारोहलाई सम्बोधन गर्दै सामसङ दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङले लामो समयदेखिको साझेदार हिम इलेकट्रोनिक्ससंग मिलेर हामीले नवलपरासीमा स्थापना गर्न लागेको यो नयाँ एलइडि टिभी कारखाना नेपाली जनता प्रतिको हाम्रो निरन्तर प्रतिबद्धताका साथै सामसङका उत्पादनहरु प्रति उपभोक्ताहरुले देखाएको बढ्दो विश्वास एवं मायाको प्रतिक रुपमा व्याख्या गरे । उक्त समारोहमा लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही, गोल्छा समूहका अध्यक्ष तथा हिम इलेक्ट्रोनिक्स प्रबन्ध निर्देशक शेखर गोल्छा, सामसङ्ग दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङ, दक्षिण कोरीयाका राजदूत पार्क चोँग सुक, नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल लगायतको उपस्थिति रहेको थियो ।