बिजुली निर्यात गरेर प्राधिकरणले कमायो साढे ३ अर्ब, घिसिङ प्रफुल्ल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दुई महिनामा बिजुली निर्यात गरेर साढे ३ अर्ब रूपैयाँ कमाएको छ । प्राधिकरणका अनुसार दुई महिनाको अवधिमा भारतमा बिजुली निर्यात गरेबापत साढे तीन अर्ब रुपैयाँ कमाएको हो । जुन सबै खर्च कटाएर हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले दुई महिनाको अवधिमा बिजुली निर्यात गरेर साढे ३ अर्ब रुपैयाँ कमाएको जानकारी दिएका हुन् । ‘शुभ समाचार भन्दै’ घिसिङले सामािजक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘नेपाल विद्युत् प्राधिकरणले दुई महिनाको बीचमा सबै खर्च कटाएर भारतमा निर्यात गरेको विद्युतबाट साढे तीन अर्बभन्दा बढी रुपैयाँ कमाएको छ ।’ नेपालले १९ जेठदेखि भारतमा प्रतिस्पर्धी दरमा विद्युत् निर्यात सुरु गरेको थियो । नेपालबाट भारतमा बिजुली निर्यात हुन थालेपछि बिजुलीले नेपालको ब्यापार घाटा कम गर्न सहयोग पुग्ने अनुमान धेरैको छ । पछिल्लो समय व्यापार घाटा चुलिदै गएको र बैदेशिक मुद्रा संचिति घट्दै गएको अवस्थामा बिजुली निर्यात बढ्दा धेरैले यसलाई व्यापारको टर्निङ प्वाइन्टको रूपमा लिएका छन् । यसले एकातिर नेपालभित्रको बढ्दो खपत धान्न मद्दत गरेको छ भने अर्कोतिर निर्यातको नयाँ ढोका खुला गरेको छ । विद्युत उत्पादन र निर्यात नेपालको आन्तरिक प्राकृतिक स्रोतमा आधारित भएकोले यसबाट नेपालले राम्रो लाभ लिन सक्ने धारणा धेरैको छ । अहिले नेपालले बङ्गलादेशमा पनि बिजुली निर्यातका लागि पहल गरिरहेको छ । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि उच्च क्षमताका अन्तरदेशीय प्रसारण लाइनको निर्माण गरेर बंगलादेशमा पनि बिजुली निर्यात गर्दैछ । प्राधिकरणका अनुसार नेपालले हाल ९.६७ रुपैयाँ हाराहारीमा प्रति युनिट बिक्री गरिएको छ । यो प्राधिकरणको खातामा कर कटाएर आएको रकम हो । नेपालले भारतलाई ३६४ मेगावाट विद्युत् निर्यात गर्न पाउने व्यवस्था छ । त्यसमा कहिलेकाहीँ फ्रिक्वेन्सी हेरेर कुनै इभेन्टका बेला ४८ मेगावाट अतिरिक्त पठाउन सक्छ ।

कच्चा पदार्थको अभावले फस्टाउन सकेनन् घरेलु उद्योग

बाँके । थोरै पूँजी लगानीबाट सञ्चालन हुने घरेलु तथा लघु उद्योग यहाँ फस्टाउन सकेका छैनन् । कच्चा पदार्थको अभाव, खुला सिमाना, सरकारी निकायको कम चासो, प्रशिक्षणको कमीलगायत कारण उद्योगको अवस्था दिन प्रतिदिन प्रतिकूल हुँदै गएको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अनुसार नेपाल–भारत खुला सिमानाका कारण भारतबाट आयात हुने सामग्रीसँग प्रतिस्पर्धा गर्न नसक्नु, उपभोक्ता भारतीय बजारप्रति आकर्षित हुनु र उत्पादित सामग्री भारतलगायत तेस्रो मुलुकमा निर्यात गर्न नसक्नुले पनि उद्योग क्रमशः बन्द हुने अवस्थामा पुगेको हो । जिल्लामा सञ्चालित करिव ३०० भन्दा बढी साना तथा मझौला एवं लघुउद्योग सङ्कटमा पर्दै गएको महासङ्घले जनाएको छ । करिब एकदेखि तीन लाखसम्म लगानी रहेको साना उद्योगबाट उत्पादित वस्तुले बजार सङ्कटको अवस्था झेल्दै आएको महासङ्घका पूर्वअध्यक्ष जीवनाथ सापकोटाले बताए । उनले भने,’जिल्लामा सञ्चालित सर्वत, दालमोठ, मैनबत्ती, ढकिया, सजावटका सामग्री, हस्तकला र निर्माण सामग्रीलगायत उद्योग जेनतेन सञ्चालन हुँदै आएका छन् ।’

उद्योग संगठन मोरङले स्टार्टअप व्यवसायको लागि खोल्यो आवेदन, एक वर्ष तालिम दिने

काठमाडौं । उद्योग संगठन मोरङले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तरगत पहिलो व्याचलाई बिदाइ गरी दोस्रो ब्याचको लागि आवेदन खुलाएको छ । संगठनले दोस्रो ब्याचको लागि पनि २० वटा स्टार्टअपकाे लागि आवेदन खुलाएको हाे । यस कार्यक्रम अन्तर्गत संगठनले नविन व्यवसायिक सोच विचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्न आवश्यक प्राविधिक एवं व्यवसायिक विकास सेवा र वित्तिय एवं अन्य लगानीको पहुँचका लागि सहजिकरण तथा समन्वय गर्दछ । संगठनले यस कार्यक्रमको पहिलो चरणमा २० वटा स्टार्टअप व्यवसायहरुलाई निःशुल्क रुपमा आवश्यक पर्ने प्राविधिक विषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना गरेको थियो । संगठनको अनुसार १२ महिना अवधी रहने दोश्रो चरणको कार्यक्रममा प्रदेश नं १ भित्रका नविन व्यवसायीक अवधारणा भएका तथा स्तरोन्नतीको सम्भावना भएका ९२ वर्ष अघिदेखि सञ्चालनमा रहेका) शुरुवाती अवस्थाका नविन उद्यमहरु सहभागि हुन सक्नेछन । भदौ १० गतेसम्म इच्छुकले यसमा आवेदन दिन सक्ने संगठनले जानकारी दिएको छ । कार्यक्रम कार्यान्वयनका लागि संगठनले प्रदेश सरकार उद्योग श्रम तथा रोजगार मन्त्रालय, बिराटनगर महानगरपालिका, स्विस कन्ट्याक्ट, आसामान नेपाल, पूर्वाञ्चल विश्वविद्यालय, अन्तरप्रेरणा प्रा।ली, नबिल बैंक लिमिटेड, नेपाल युवा उद्यमी मञ्च लगायतका संस्थाहरुसंगको सहकार्य गरेको छ ।