नवलपुरमा पोल्ट्री उद्योग खोल्दै चार उद्यमी, स्थानीय उत्पादन मात्रै प्रयोग गर्ने, लागत आठ करोड रुपैयाँ
नवलपुर । पोल्ट्री उद्योगका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री उत्पादन गर्न नवलपुरमै उद्योग स्थापना गरिएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकास्थित दलदलेमा चार उद्यमीको आठ करोड रुपैयाँको लागतमा उद्योग स्थापना गरिएको हो । पोल्ट्री क्षेत्रमा बढ्दो लगानी र पोल्ट्री उद्योगका लागि आवश्यक पर्ने सामग्रीको अत्यधिक मागलाई मध्यनजर गर्दै दलदलेमा कम्पास एग्रो इन्डष्ट्रिज प्रालि स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत सङ्गम घिमिरेले जानकारी दिए । पोल्ट्रीजन्य उद्योगलाई चाहिने सबै सामग्रीसहित कृषिसँग सम्बन्धित सामग्री उत्पादन गर्ने उद्देश्यका साथ उद्योग स्थापना गरिएको उनले बताए । कम्पनीले पोल्ट्री फार्ममा आवश्यक पर्ने सम्पूर्ण प्लाष्टिकका सामग्री, कृषि उत्पादनमा थोपा सिँचाइका लागि आवश्यक पर्ने सामग्री तथा अन्य प्लाष्टिकका सामग्रीसमेत उत्पादन सुरु गरेको जनाइएको छ । ‘पोल्ट्री फार्मका लागि आवश्यक पर्ने ९० प्रतिशतभन्दा बढी सामग्री हामीले यहाँ नै उत्पादन सुरु गरेका छौं,’ उनले भने, ‘यसका साथै व्यवसायी र किसानले चाहेअनुसारका सबै प्रकारका प्लाष्टिकजन्य सामग्री उत्पादन गर्ने क्षमता राख्दछौं ।’ कम्पनीले पोल्ट्रीको ड्रिङकर्स, पोल्ट्रीको फिडर्स (केजहरू ठूला, मिडियम र साना आकारमा) उत्पादन सुरु गरेको छ । त्यसैगरी प्यारेन्ट्स, ब्रोइलर र लेयर्स जातका कुखुराहरूका लागि अटोमेटिक ड्रिङकर्स, निप्पल ड्रिङकिङ सिस्टम उत्पादन भइरहेको जनाइएको छ । कम्पनीमा उत्पादन भएका निप्पल तथा ड्रिङकिङ सिस्टमहरू ठूला ह्याचरी, इनहाउस, मध्यम र साना ह्याचरीहरूमा जडान गर्ने गरिएको कार्यकारी घिमिरेले जानकारी दिए । कम्पास एग्रो इन्डष्ट्रिज प्रालिबाट उत्पादित सामग्रीको प्रयोग गरेपछि कुखुराले कहिल्यै पनि फोहरपानी नखाने र चल्ला पनि छिटो हुर्कने तथा कुखुरामा रोग कम लाग्न उनले दाबी गरे । कुनै पनि वितरक, पोल्ट्री व्यवसाय तथा अन्य कम्पनीले आफ्नो लोगो र नामसहित सामान उत्पादन गराउन चाहेमा पनि उद्योगले सोहीअनुसार प्रिन्टसहितको उत्पादन उपलब्ध गराउने उनले बताए । नेपालमा स्थापना भएका पोल्ट्री र ह्याचरी उद्योगसँग सम्बन्धित आवश्यक सम्पूर्ण सामान भारत र चीनबाट आयात हुने गरेकामा अब भने स्थानीय उत्पादन प्रयोग गर्न पाइएको वितरक शिव पौडेलले जानकारी दिए । ‘नेपालमा पहिले केही प्लाष्टिक कम्पनीहरूले एउटा-एउटा प्रोडक्टको मात्र उत्पादन गर्ने गर्दथे । तर, कम्पास एग्रोले सबै सामान एकै ठाउँमा उत्पादन सुरु गरेपछि हामी वितरकहरूलाई समेत सहज भएको छ,’ उनले भने, ‘पोल्ट्री उद्योगसँग सम्बन्धित सानादेखि ठूला सबै सामान यही उत्पादन सुरु भएकाले अब भारत र चीनबाट सामान ल्याउनुपर्ने बाध्यता हटेको छ ।’ कम्पनीले उत्पादन गरेका सामान आफूहरूले देशका विभिन्न सहरमा पठाइरहेको उनको भनाइ छ । यहाँ उत्पादन भएको सामान बाहिरबाट ल्याएको भन्दा रु २०-२५ सस्तो पर्ने गरेको जनाइएको छ । ‘यहाँका सामान प्रयोग गर्दा साना-साना सामान हराउने, फुट्ने समस्या भएको छैन,’ उनले भने, ‘बाहिरबाट ल्याउँदा एउटा फिडरको सानो सामान पाइएन भने पूरै फिडर फेर्नुपर्छ । तर कम्पास एग्रोले सबै फेर्न मिल्ने सामान उपलब्ध गराएको कारण यसले डिलरहरू र ग्राहक दुवैलाई सजिलो भएको हामीले पाएका छौं ।’ कम्पासका सबै उत्पादन गुणस्तरीय भएको उद्योगका प्रमुख कार्यकारी अधिकृत घिमिरेले दाबी गरे । ‘हाम्रो कम्पनीले हरेक उत्पादनको तीनवटा क्वालिटी बनाउने गरेको छ । सानो, मध्यम र उच्च दरको फरक-फरक मूल्य तोकिएको छ,’ उनले भने, ‘थोरै लगानीमा थोरै समय कुखुरा पाल्छु भन्ने किसानले धेरै लगानी गर्ने कुरा भएन । यसलाई पनि मध्यनजर गर्दै कम्पास एग्रोले सामान उत्पादन गरेको छ ।’ कसरी हुन्छ किसानलाई सहज बनाउने भन्ने नै आफूहरूको प्रमुख उद्देश्य रहेको उनले बताए । रासस
तीन दिने महिला नेतृत्व शिखर सम्मेलन गर्दै उद्योग परिसंघ
काठमाडौं । नेपाल उद्योग परिसंघले तीन दिने वोमेन्स् लिडरशीप समीट २३ (महिला नेतृत्व शिखर सम्मेलन) गर्ने भएको छ । परिसंघले आगामी पुस २९ गतेदेखि माघ १ गतेसम्म (जनवरी १३, १४ र १५, २०२३) मा महिला नेतृत्व शिखर सम्मेलन आयोजना गर्न लागेको हो । परिसंघको महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा उक्त सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य यो सम्मेलनको रहेको छ । यसैगरी सम्मेलनलाई लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरुबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरुका सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसरको रुपमा प्रयोग गरिनेछ । नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुनेछ । परिसंघले पहिलो पटक आयोजना गर्न लागेको महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला, नेता, विज्ञहरूलाई एउटै थलोमा ल्याउँछ । यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ, जसले महिलाहरुलाई प्रेरित गर्नेछ । सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका महिलाहरुको सहभागिता हुनेछ ।
साउनमा निर्यात २८.७ प्रतिशत र आयात १२.९ प्रतिशतले घट्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनामा कुल वस्तु निर्यात २८.७ प्रतिशतले कमी आई १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गर्दै साउन महिनामा कुल वस्तु निर्यात घटेको जनाएको हो । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिकोमा कुल वस्तु निर्यात ११५.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३६.५ प्रतिशत र २४.४ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ५.७ प्रतिशतले वद्धि भएको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । वस्तुगत आधारमा पाम तेल, जिंक शिट, तयारी पोशाक, औषधी (आयुर्वेदिक), पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पिना, जुटका सामान, जुस, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ । यस्तै, चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनामा कुल वस्तु आयात घटेर १३१ अर्ब २९ करोडमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु आयात ७५.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.१ प्रतिशत, १०.५ प्रतिशत र १५.९ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पंज आइरन, औषधी, रासायनिक मल, कच्चा पाम तेल लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, एम.एस.विलेट, दूरसंचार उपकरण तथा पार्टस्, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm कृष्णनगर, कैलाली, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको हो भने आयाततर्पm तातोपानी, जलेश्वर, सुख्खा बन्दरगाह, कैलाली, रसुवा बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको हो । यस्तै, आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा १०.४ प्रतिशत घटेर ११६ अर्ब ४८ करोड रुपैयाँ सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७०.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १३ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षकोसोही अवधिमा यस्तो आयात १८ अर्ब ८६ करोड रुपैयाँ बराबरको भएको थियो