खण्डहर बन्दै भृकुटी कागज कारखाना, कर्मचारीलाई ३५ करोड तिर्न बाँकी

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-२ मा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ। नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले चार दशकअघि स्थापना गरिएको नेपालकै ठूलो कागज कारखानाको अवस्था अहिले भेन्टिलेटरमा राखिएको बिरामीजस्तै भएको स्थानीय बताउँछन् । भृकुटी कागज कारखाना नजिकैका ७० वर्षीय रामेश्वर कँडेलले उद्योग सञ्चालनमा हुने बेलासम्म यहाँ निकै चहलपहल हुने गरेको स्मरण गरे । ‘विसं २०६५/६६ सम्म यो भृकुटीचोकमा अहिलेको नारायणगढ बजारकोभन्दा कम चहलपहल हुँदैनथ्यो’, उनले भने, ‘उद्योगमा काम गर्ने सात र आठ सय मजदुर काममा जाने र निस्कने गर्दा त्यो दृश्य निकै नै रोचक लाग्थ्यो ।’ विसं २०६७ मा व्यवस्थापनले उद्योग बन्द गरेपछि यहाँको चहपहल घटेसँगै उद्योग खण्डहर बन्दै गएको कँडेलले बताए । ‘उद्योग चल्ने बेलासम्म त उद्योग रहेको ठाउँ आकर्षक देखिन्थ्यो’, उनले भने, ‘उद्योग बन्द भएपछि उद्योगको छानो तथा बारेका टिनका पाता खसेका छन्, पर्खाल भत्किएका छन्, उद्योगभित्र झाडी बढेको छ, हेर्दै डरलाग्दो ठाउँ बनेको छ ।’ भृकुटी कागज कारखाना रहेको ठाउँ अहिले अपराध गरेर मान्छे लुक्ने ठाउँका रूपमा परिणत भएको कँडेलको भनाइ छ। उद्योग पूर्णरूपमा बन्द भएको ११ वर्षभन्दा बढी भइसकेकाले उद्योगका सबै सामान कबाडी बनेको उनको भनाइ छ। भृकुटी कागज कारखानाका तत्कालीन पल्प प्लान्ट इन्चार्ज ललित श्रेष्ठले अब उद्योग चल्ने र चलाउने सम्भावना नभएको भन्दै यसको उचित व्यवस्थापन गर्नुपर्ने बताए । ‘अब चाहेर पनि यो उद्योग सञ्चालन हुन सक्दैन, यहाँ बजार धेरै बढिसक्यो’, उनले भने । यो खण्डहरमा परिणत भएको उद्योगका सामान हटाएर यहाँ प्राविधिक शिक्षालय, अस्पताल, आइटी पार्क, होटलजस्ता सेवामूलक उद्योग सञ्चालन गर्नुपर्ने उनको सुझाव छ। भृकुटी कागज कारखानाले ओगटेको ठाउँमा अहिले पूरै झाडी भरिएको भन्दै उनले यो ठाउँ फोहर फाल्ने डम्पिङसाइट बनेको बताए । यो उद्योग सञ्चालनमा हुने बेलासम्म यहाँबाट दैनिक ४२ मेट्रिकटन कागज उत्पादन हुँदै आएको श्रेष्ठको भनाइ छ । ‘नेपालमा आवश्यकपर्ने सबै खालका कागजको मागको ३५ प्रतिशत हिस्सा यही उद्योगले पूर्ति गर्ने गरेको थियो’, उनले भने, ‘हाम्रो उद्योगले उत्पादन गरेको पल्प (पैसा बनाउन प्रयोग हुने कागज) जापानमा समेत निर्यात हुँदै आएको थियो ।’ श्रेष्ठका अनुसार भृकुटी कागज कारखानाले वार्षिक पाँच सय टन पल्प जापान निर्यात गर्दै आएको थियो । कारखाना सञ्चालन भइरहेको अवस्थामा विभिन्न कारण देखाउँदै व्यवस्थापन पक्षले विसं २०६७ फागुनदेखि उत्पादन बन्द गरेको श्रेष्ठले बताए। ‘उद्योगको व्यवस्थापन र कर्मचारीबीच सम्झौता भएर विसं २०६९ पुस २१ देखि उद्योग पूर्णरूपमा बन्द भयो’, उनले भने, ‘उद्योग पूर्णरूपमा बन्द भएपछि विभिन्न राजनीतिक दल, अर्थमन्त्री, उद्योगमन्त्रीलगायतका व्यक्तिले उद्योग सञ्चालन गर्ने आश्वासन दिए पनि आजसम्म पूरा हुन सकेनन्।’ नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यसहित चीन सरकारले विसं २०३९ मा भृकुटी कागज कारखाना स्थापनाको काम थालेको थियो। विसं २०४३ मा उद्योगले उत्पादन गर्न सुरु गरेपछि चीनले विसं २०४४ मा यस उद्योग नेपाल सरकारलाई हस्तान्तरण गरेको श्रेष्ठले बताए । सरकारले केही वर्ष कारखाना सञ्चालन गर्दा निरन्तर घाटामा गएको भन्दै विसं २०४९ मा निजीकरण गरिएको थियो । सरकारले विसं २०४९ पुस २० गते भृकुटी कागज कारखाना गोल्छा अर्गनाइजेसनलाई बिक्री गरेको थियो । सरकारले उद्योग बिक्री गर्दा उद्योग, आवाससहित भृकुटीको नाममा करिब ६० बिघा जमिन रहेको उनले बताए । भृकुटी कागज कारखाना ३० बिघा क्षेत्रफल तथा आवास २२ बिघा क्षेत्रफलमा फैलिएको भन्दै उनले बाँकी आठ बिघा जमिन गोल्छाले टेक्सटायल कम्पनीलाई बिक्री गरेको बताए । उद्योग पूर्णरूपमा बन्द भएको समय विसं २०६९ मा उद्योगमा करिब सात सय कर्मचारी कार्यरत रहेको श्रेष्ठको भनाइ छ । ‘उद्योग बन्द भएपछि करार र ज्यालादारी कर्मचारीको हिसाबकिताब मिलान गरियो, उद्योगमा रहेको तीन सय ३३ जना स्थायी कर्मचारीको पारिश्रमिक लिन बाँकी छु, उनले भने, ‘एक जना कर्मचारीले कम्तीमा पाँच लाखदेखि बढीमा ४० लाखसम्म पाश्रिमिक लिन बाँकी छ।’ उद्योगले कर्मचारीलाई मात्रै तिर्नका लागि ३५ करोड हाराहारीमा बाँकी रहेको श्रेष्ठले बताए। उद्योगको सुरक्षामा खटिएका कर्मचारीले उद्योग सञ्चालकहरू कहिलेकाहीँमात्रै गैँडाकोट आउने गरेका बताए। उनका अनुसार उद्योग र आवासको सुरक्षामा अहिले पनि १५ जना कर्मचारी कार्यरत छन् । ‘उद्योगमा ताला लगाएर राखिएको छु, उनले भने,’उद्योगका सबै सामान खिया लागेर काम नलाग्ने भएका छन् । भवन पनि जीर्ण भएको छ।’ ती सुरक्षा कर्मचारीका अनुसार उद्योग छाएका जस्तापाता तथा फलामका छड खसेपछि घाम र पानीका कारण उद्योगका औजार कामै नलाग्ने भएका छन् । ‘उद्योगको छानो छैन, उद्योगको पर्खालसमेत भत्किएका छन्, उद्योग तथा आवास परिसरमा ठूलो झाडी छ’ उनले भने । भृकुटी पीडित मजदूर सङ्घर्ष समितिका संयोजक दर्शन सापकोटाले उद्योग बन्द भएपछि व्यवस्थापन पक्षसँग पटकपटक वार्ता र छलफल भइरहेको बताए । ‘त्यो बेलामा अस्थायी र करार कर्मचारीलाई सबै रकम दिएर बिदा गरिएको थियो, स्थायी कर्मचारीका विषयमा सम्झौता भएर उद्योग बन्द भयो’, उनले भने, ‘उद्योग बन्द हुने बेलामा कर्मचारीको पाकेको रकमको वार्षिक १० प्रतिशत रकम थप गरेर एकमुष्ठ रकम उपलब्ध गराउनुपर्ने सम्झौता भएको थियो ।’ पीडित कर्मचारीलाई पाश्रिमिक नदिने बेलासम्म उनीहरुको मासिक तलबको आधा हुन आउने तलबसमेत हरेक महिना जोड्दै गएर एकमुष्ट भुक्तानी गर्नेगरी सम्झौता भएको सापकोटाले बताए । उद्योग बन्द हुने बेलामा नै उसको बैंक तथा स्थानीय सप्लायर्सलाई तिर्नुपने रकम धेरै भएको सापकोटाको भनाइ छ । ‘उद्योगका लागि आवश्यकपर्ने कच्चापदार्थ सप्लाइ गर्ने स्थानीय सप्लायरलाई धानको पराल, भुस, बाबियो, खर, काँसको रकम उद्योगले तिर्नै बाँकी छु, उनले भने, ‘उद्योगले नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक, हिमालय बैंक लिमिटेडको कर्जा पनि तिर्न बाँकी रहेको छ।’ व्यवस्थापनले भुक्तानी गर्न जति ढिलाइ गर्‍यो त्यति नै उद्योग दलदलमा फस्दै जाने सापकोटाको भनाइ छ। दिवाकर गोल्छाले सञ्चालन गर्दै आएको भृकुटी कागज कारखाना उनको स्वर्गारोहणपछि अहिले ‘दिवाकर गोल्छा कर्प’ नामको संस्थाको मातहतमा रहेको छ। दिवाकर गोल्छा कर्पका सञ्चालक एवं दिवाकरका पुत्र हितेश गोल्छाका निकट मानिने कर्पका प्रतिनिधि रमेश दाहालले सो उद्योग ग्लोबल टेन्टरमार्फत गोल्छा समूहले १७ करोडमा खरिद गरेको बताए । गोल्छा समूहले भृकुटी कागज कारखाना १७ करोडमा खरिद गरेको भनिएको कारखाना बिक्रीबाट तत्कालीन श्री ५ को सरकारले १२ करोड ९८ लाखमात्रै हात पारेको जानकारहरु बताउँछन् । ‘उद्योग बन्द भएको पनि १३ वर्ष पुग्यो, गैँडाकोट अहिले ठूलो सिटीका रुपमा विकास भइरहेको छ, सिटीको बीचमा कागज कारखाना सञ्चालन गर्नसक्ने अवस्था अब छैन’, दाहालले भने, ‘जनचाहनाअनुसार यसको जग्गा भएको ठाउँमा सेवामूलक उद्योग चलाउनुपर्छ, जसका कारण गैँडाकोट नगरपालिकालाई राजस्वमात्रै होइन स्थानीयलाईसमेत रोजगार प्राप्त हुन्छ।’ उद्योग निजीकरण भएपछि विसं २०५१ देखि नै उद्योग सञ्चालनका लागि ऋण लिएर काम गर्दै आएकामा उद्योग बन्द हुने बेला विसं २०६९ सम्म उद्योगको ऋण ८२ करोड जति पुगेको उनले बताए । ‘उद्योग बन्द भएकै १२ वर्ष भइसक्यो, उद्योग बन्द भएपछि हामीले साँवा तथा ब्याज भुक्तानी गर्न सकिएन’, उनले भने, ‘बाहिर हल्ला भएजस्तो तीन महिनामा तिर्छौँ भनेर सहमति भएको होइन, तर बैंकको ऋण कसरी तिर्ने भन्ने विषयमा बैंकसँग हितेशजीको छलफल चलिरहेको छ ।’ रासस

नीतिगत स्थिरता भए मात्र लगानी बढाउन सकिन्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक तथा बाह्य दुवै लगानी वृद्धिका लागि नीतिगत स्थिरता अन्त्यन्त आवश्यक रहने बताएका छन् । बुधबार जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश कार्यालयको भवन उद्घाटन गर्दै अध्यक्ष ढकालले स्वदेशी तथा विदेशी दुवै लगानीका लागि नीतिगत स्थिरता जरुरी रहेको बताएका हुन् । ‘नीतिगत अस्थिरताले गर्दा लगानीमैत्री वातावरण बन्न सक्दैन । कुनै पनि मुलुकको कानुन, नीति अस्थिर भयो भने स्वदेशी होस् वा विदेशी दुवै लगानी भित्र्याउन सकिदैन । त्यसैले हामीले सबै भन्दा पहिले नीतिगत स्थिरता बनाउन जरुरी हुन्छ । तब मात्र लगानी भित्र्याउन सकिन्छ र लगानीले प्रतिफल पाउने अवस्था पनि रहन्छ,’ उनले भने । महासंघमा नयाँ कार्यसमिति आइसकेपछि विभिन्न फोरमबाट लगानीको वातावरण बनाउन पहल गरिरहेको बताउँदै अध्यक्ष ढकालले लगानीमैत्री वातावरण बन्न सकेमा आन्तरिक वा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन समस्या नहुने पनि बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको समयमा नेपाली उद्योगी व्यवसायीहरुको नेतृत्व गर्दै महासंघले भारतीय उद्योगी व्यवसायीहरुसँग दुई देशबीच लगानी तथा व्यवसायिक सम्बन्धमा छलफल भएको बारेमा बताउदै अध्यक्ष ढकालले लगानीको वातावरण बनेमा भारतीय लगानी विस्तार गर्न सकिने पनि बताए । ‘प्रधानमन्त्रीको भ्रमणको समयमा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्तरुपमा आयोजना गरेको विजनेश फोरममा दुई देशका व्यवसायीहरुबीच पनि सौहार्दपूर्ण छलफल भएको थियो । कार्यक्रममा नेपालका प्रधानमन्त्रीज्यू, दुई देशका मन्त्रीज्यूहरु, प्रतिष्ठित उद्यमी व्यवसायीहरुको उपस्थिति र गहल छलफलबाट दुई देशबीच व्यवसायिक सम्बन्ध विस्तार गर्न सहयोग पुग्नेछ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने । उनले त्यसको लगत्तै बंगलादेशमा आयोजना भएको बिम्स्टेक सदस्य राष्ट्रहरुको छलफलबाट बिम्स्टेक बिजनेश फोरम गठन देखि सदस्य राष्ट्रहरुबीच व्यवसायिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको समेत बताए । अहिलेको जटिल आर्थिक परिस्थितिमा निजी क्षेत्रको एउटै आवाज बनाएर राज्य र यसका अन्य निकायसँग पैरवी गर्ने काम भइरहेको बताउँदै उनले निजी क्षेत्रका तीनवटा छाता संगठनहरुले बजेट तथा मौद्रिक नीतिमा साझा धारणा बनाई सरकार तथा नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको बताए । मुलुकमा लगानीमैत्री वातावरण बनाउन पुराना कानूनी जटिलताहरुलाई विस्तारै परिमार्जन गर्न जरुरी रहेको उनको भनाइ छ ।

सूर्य नेपालले गर्याे २७ अर्बभन्दा बढीको कारोबार, लाभांश मात्रै १० अर्ब बाँड्ने

काठमाडौं । बहुर्राष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिको कारोबार १०.२९ प्रतिशत अर्थात् २ अर्ब ५२ करोड २० लाख रुपैयाँ बढेको छ । रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले एक वर्षमा साढे २ अर्ब रुपैयाँ कारोबार बढाएर २७ अर्ब रुपैयाँ बराबरको ब्यापार गरेको हो । कम्पनीले २०२१ मा २४ अर्ब ४९ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । जुन एक वर्ष अर्थात् सन् २०२२ मा साढे २ अर्ब रुपैयाँ बढेर २७ अर्ब १ करोड ४० लाख रुपैयाँ पुगेको हो । त्यसअघि सन् २०२० मा कम्पनीले २४ अर्ब ४७ करोड १० लाख रुपैयाँ बाबरको कारोबार गरेको थियो । साथै, सन् २०२२ मा गरेको नाफाबाट कम्पनीले १० अर्ब ४० करोड ३० लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ । भारतको आईटीसी लिमिटेडको कम्पनीमा ५९ प्रतिशत सेयर स्वामित्व छ । अमेरिकी ८.४५ बिलियन बजार पूँजीकरण भएको कम्पनी भारतीय नीजि कम्पनी हो । यस्तै, ३९ प्रतिशत सेयर नेपालका विभिन्न व्यक्ति तथा संस्थाहरु र २ प्रतिशत सेयर स्वामित्व बेलायतको ब्रिटिस अमेरिकन टोबाको (इन्भेष्टमेन्ट) लिमिटेडको छ । सूर्य नेपालले ३५ वर्षदेखि सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ्स, शिखर फिल्टर किङ्स, शिखर आइस, नौलो, खुकरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी ब्रान्डका चुरोट उत्पादन गरिरहेको छ । कम्पनीले बैंकबाट ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जा लिने भएको छ । जसको लागि केयर रेटिङ नेपालले केयर एनपी ए वान प्लस रेटिङ प्रदान गरेको छ ।