नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियोबीच उद्यमशिलता क्षेत्रमा काम गर्न समझदारी

काठमाडौं । नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियो नेपालबीच उद्यमशिलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ । समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आईडिया स्टुडियोका अध्यक्ष डा. छिरिङ्ग लामाले हस्ताक्षर गरे । दुई संस्थाबीच प्राविधिक, वैज्ञानिक, वित्तिय तथा मानव संसाधनको सहयोगबाट उद्यमशिलता तथा लगानी प्रवद्र्धनका क्षेत्रमा सहकार्य हुनेछ । परिसंघ सचिवालयमा आज आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि देशमा उद्यमशिलता तथा व्यवसायिक प्रबद्र्धन गर्न सरकारसँग प्रभावकारी रुपमा काम गर्नुपर्ने बताए । उनले ‘ब्रेन डे«न’ रोक्न, उद्यमीहरुका लागि उचित वातावरण बनाउन आवश्यक रहेको भन्दै आइडिया स्टुडियोसँगको सहकार्यले नवीन सोंच भएका युवाहरुलाई उद्यम बन्न रचनात्मक सहयोग हुने विश्वास व्यक्त गरे । उनले परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रबद्र्धन सम्बन्धी गतिविधिबारे जानकारी गराउदै दुई संस्थाबीचको सहकार्यले यस क्षेत्रमा नविनतम् काम हुने विश्वास व्यक्त गरे । आईडीया स्टुडीयोका अध्यक्ष लामाले परिसंघसँगको सहकार्यले नेपालमा उद्यमशीलता तथा लगानीका क्षेत्रहरुमा नयाँ सम्भावनाहरु खोजी गर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउन आवश्यक रहेको बताए । देशमा केही गरौं भन्नेहरुका लागि सीप तथा नीतिगत सुधारमा काम गर्नुपर्ने र परिसंघ सँगको सहकार्यले उद्यमशीलता एवं इनोभेसनका क्षेत्रमा थप काम गर्न सकिने विश्वास व्यक्त गरे । परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले उद्यमशीलताको क्षेत्रमा सामुहिक रुपमा नयाँ काम हुने विश्वास व्यक्त गरे । कार्यक्रममा परिसंघका महानिर्देशक दिपकराज जोशी, आईडीया स्टुडियोकी सदीक्षा श्रेष्ठलगायत सहभागी थिए ।

युनिलिभर नेपालको नाफा पौने २ अर्ब रुपैयाँ

काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले गत वर्ष पौने २ अर्ब रुपैयाँ नाफा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको असारसम्म खुद नाफा १८.६८ प्रतिशत बढाएर १ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा गरेको थियो । गत असारसम्म कम्पनीको बिक्री आम्दानी १५.६० प्रतिशत बढेर ८ अर्ब ४८ करोड रुपैयाँ बराबर कारोबार गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ३३ करोड रुपैयाँ बिक्री आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ९ अर्ब २१ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ४ अर्ब २६ करोड ६५ लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीको अन्य आम्दानी पनि ५८.९५ प्रतिशत बढेर १९ करोड ३६ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष अन्य आम्दानी १२ करोड १८ लाख रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो वर्ष १ हजार ६७५ रुपैयाँ रहेकोमा बढेर १ हजार ९८८ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ३ हजार ९६७ रुपैयाँबाट बढेर ४ हजार ७३४ रुपैयाँ कायम छ ।

पर्वतमा उद्योग तथा व्यवसाय खारेज बढ्यो

पर्वत । पर्वतमा सञ्चालित उद्योग तथा व्यवसाय खारेज हुने क्रम बढेको छ । पर्यटन तथा उद्योग कार्यालय पर्वतका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ९२ वटा उद्योग तथा व्यवसाय खारेज भएका छन् । जबकी अघिल्लो आवमा ११ वटा उद्योग र ६० व्यवसाय गरी ७१ वटा खारेज भएका थिए । कार्यालयका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा दर्ता हुने उद्योग व्यवसायको सङ्ख्या पनि घटेको छ । अघिल्लो आवमा पाँच सय ४१ उद्योग तथा व्यवसाय दर्ता भएकोमा गत आवमा दुई सय ७४ वटा मात्रै उद्योग दर्ता भएका छन् । कार्यालयले गत आवमा उद्योग दर्ता तथा नवीकरणबाट रु २७ लाख ५० हजार दुई सय ८७ राजस्व सङ्कलन गरेको छ । जिल्लामा हाल सात हजार ९७ वटा उद्योग तथा वाणिज्य फार्म दर्ता छन् । तीमध्ये गत आवमा एक हजार एक सय ४१ नवीकरण भएको कार्यालय प्रमुख मुना अधिकारीले जानकारी दिए । रासस