सोनापुरको आईपीओ खरिद गर्ने आज अन्तिम मौका, स्थानीयलाई आवेदन दिने समय लम्बियो
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन २९ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज भदौ ११ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई भने आवेदन दिने समय थप गरेको छ । अब स्थानीय लगानीकर्ताहरुले कम्पनीको आईपीओमा भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीयलाई अंकित मूल्य १ सय रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता छुट्याइएको छ । साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० लाख ७६ हजार २६८ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७।५८ रुपैयाँमा बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयले अधिकतम १५ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १० लाख ७६ हजार २६८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानीयले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न परिसंघको आग्रह
काठमाडौं । नेपाल उद्योग परिसंघले विदेशस्थित नेपाली राजदूतावासहरुमार्फत स्वदेशी वस्तुहरुको निर्यात एवं प्रबद्र्धनलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार परराष्ट्र मन्त्री एनपी साउदसँग गरेको छलफलमा वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रबद्र्धन गर्न, पर्यटन प्रबद्र्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको हो । अध्यक्ष अग्रवालले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थायित्व, सहज व्यवसायिक वातावरण र छिटो छरितो निर्णय गर्ने संयन्त्र आवश्यक रहेकोमा जोड दिएका थिए । उनले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यवसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताए । यसका लागि नेपाली दूतावासहरुले व्यवसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गर्न सहजिकरण गर्नुपर्ने उनले बताए । भारतदेखि विराटनगरसम्म सुरु भएको कार्गो रेल्वे सेवा संचालनका लागि निरन्तरता दिनुपर्ने, नेपाल भारतबीच मोटर भइकल एग्रीमेन्ट गरी नेपाली मालबाहक एवं अन्य सवारी साधनहरुको आवतजावतलाई सहज बनाइनुपर्नेमा परिसंघले जोड दिएको बताएको छ । मन्त्री साउदले परिसंघले उठाएका विषयहरुलाई उच्च प्राथमिकतामा राख्ने बताएका छन् । छलफलमा परिसंघका उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, परिसंघका महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।
अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा नीजि क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भए मात्र देशको आर्थिक विकास संभव हुने धारणा व्यक्त गरे । राष्ट्रपति पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् कार्यकारिणी समितिसमितिसंगको भेटमा विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका छन् । उनले भने- ‘यही तथ्यलाई ध्यानमा राखेर सरकार र नीजि क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक छ भन्ने मलाई लाग्छ ।’ नेपालको अर्थ व्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै उनले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको धारणा राखे । राष्ट्रपति पौडेल उद्योगी व्यवसायीहरूले अहिले असजिलो परिस्थितिको सामना गरिरहनुपरेको यथार्थबारे आफु अनभिज्ञ नरहेको स्पष्ट पारे । ‘रोजगारी सृजना हुन नसक्नु, विप्रेषणमा निर्भरता बढ्दै जानु, निर्यात घट्दै जानु, नीतिगत सुधार र सामन्जस्यता नहुँदा आन्तरिक तथा विदेशी लगानी बढ्न नसक्नु, सेवा प्रवाहमा बेला बेलामा विध्न बाधा देखा पर्ने गरेका छन् । यसैले गर्दा मूल्य वृद्धि लगायत साना र मझौला उद्योगहरू समस्याग्रस्त हुँदै जाने यो अवस्थामा नीजि सार्वजानिक साझेदारी बाञ्छनीय छ भन्ने मलाई लाग्छ’, उनले भने । उनले नेपालमा रोजगारी सृजना गर्न र देशको अर्थतन्त्र सुधार्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै केही दिन अगाडि आफुले बोलाएको सर्वदलीय बैठकमा समेत अर्थतन्त्र सुधारका लागि सवैको ध्यानाकर्षण गराएको बताए । ‘धेरै राजनीतिको तानावानामा नअल्झिकन मुलुकको आर्थिक अवस्था सुदृढ गर्नका लागि सबैको ध्यानाकर्षण गराएको छु ।” उनले भने । राष्टपति पौडेलले महासंघसंग पहिले नै भेट्न चाहेकोमा हाल स्वास्थ्य सुधार भएकाले भेट केहि ढिला सम्भव भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रका केही सुचकहरू सकारात्मक रहेपनि आम नागरिक र व्यवसायीहरूको आत्मविश्वास बढाएर अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ सरोकारवालाले ध्यान जानुपर्ने बताए । भेटका अवसरमा अध्यक्ष ढकालले निजी क्षेत्र र सर्वसाधारणको मनोबल घटेका अहिलेको अवस्थामा बजारमा माग सिर्जना गर्न सरकार, केन्द्रिय बैंक र निजी क्षेत्रले एक आपसमा सहकार्य गर्नुपर्ने भनाई राखे । सरकारले पूँजीगत खर्च गर्न नसकेको र बैंक वित्तीय संस्थाहरुबाट पनि कर्जा प्रवाह हुन नसकेको अवस्थामा बजारमा मागको कमी आएको छ । यस्तो अवस्थामा पूँजीको लागत कम गरि लगानी बढाउन निजी क्षेत्रलाई हौसला आवश्यक रहेको धारणा अध्यक्ष ढकालको थियो । व्यवसाय शतप्रतिशत चल्न सक्ने आधारमा राजश्वको लक्ष्य राखिएको हुन्छ । तर व्यवसाय दुइ तिहाइ खुम्चिदा करिब पाँच दशकपछि अघिल्लो बर्षभन्दा कम राजश्व संकलन भएको छ । यससंगै सरकारी लक्ष्यभन्दा ६ प्रतिशत विन्दुले कम आर्थिक वृद्धि हासिल भएको छ । त्यसैले पूँजीको लागत घटाइ बजारमा रकम प्रवाह गर्नुपर्ने धारणा अध्यक्ष ढकालको थियो । यसैगरि अध्यक्ष ढकालले निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण गर्न र पर्यटन प्रवद्र्धनमा विशेष पहल आवश्यक रहेको बताए । महासंघका पदाधिकारी लगायत कार्यकारिणी समितिले राष्टपति समक्ष भेट गरेको हो । सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्रको सुधारका लागि सबै क्षेत्रबाट पहल आवश्यक रहेको बताए । उपाध्यक्ष हेमराज ढकालले यसपटक आर्थिक मन्दीका कारण सबै क्षेत्र प्रभावित रहेकोले तत्काल सुधार आवश्यक रहेको बताए ।