सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालको आयोजनामा स्टार्टअप ह्याकाथन हुँदै

काठमाडौं । नेपालमा स्टार्टअप उद्यमशीलताको विकास र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले २४ घण्टे स्टार्टअप ह्याकाथन आयोजना हुने भएको छ ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र द स्टार्टअप नेटवर्क नेपालको संयुक्त आयोजनामा आगामी नोभेम्बर ५ र ६ (कात्तिक १९ र २०) मा ह्याकाथन आयोजना हुन लागेको हो । कार्यक्रम काठमाडौं वर्ल्ड स्कुलमा हुनेछ ।

ह्याकाथनमार्फत नवीन व्यावसायिक अवधारणा, प्रविधिमा आधारित समाधान तथा बजारमा विस्तार गर्न सकिने सम्भावना भएका स्टार्टअप पहिचान गरिने आयोजकले जनाएका छन् ।

कार्यक्रममा सहभागी टोलीले २४ घण्टाभित्र आफ्ना व्यावसायिक अवधारणालाई परिष्कृत गरी निर्णायकमण्डलसमक्ष प्रस्तुत गर्नुपर्नेछ । त्यसक्रममा व्यवसायको सम्भाव्यता, व्यावसायिक मोडेल, बजारको आवश्यकता र विस्तारको योजनालाई मुख्य आधार बनाइनेछ ।

कार्यक्रमबाट उत्कृष्ट तीन स्टार्टअप टोली छनोट गरिनेछ । छनोट भएका टोलीले लगानीकर्ता, मार्गदर्शक तथा उद्यमशीलता क्षेत्रका सरोकारवालासमक्ष आफ्ना व्यावसायिक अवधारणा प्रस्तुत गर्ने अवसर पाउनेछन् ।

ह्याकाथनको उद्देश्य उत्कृष्ट व्यावसायिक विचार पहिचान गर्नुका साथै तिनलाई दिगो व्यवसायमा रूपान्तरण गर्न आवश्यक लगानी, मार्गदर्शन र व्यावसायिक सञ्जालसँग जोड्नु रहेको आयोजकले बताएका छन् ।

नेपालका प्रारम्भिक चरणका स्टार्टअपले लगानीमा पहुँच, बजारमा पहिचान, अनुभवी मार्गदर्शक तथा व्यावसायिक सञ्जालको अभावजस्ता चुनौती सामना गरिरहेका छन् । यस्तो अवस्थामा ह्याकाथनले उद्यमीलाई आफ्ना व्यावसायिक अवधारणा परीक्षण र सुधार गर्ने तथा सम्भावित लगानीकर्तासमक्ष पुग्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यस सहकार्यले युवा उद्यमीलाई प्रोत्साहन गर्नुका साथै नेपालमा नवप्रवर्तनमा आधारित उद्यमशीलताको वातावरण विकास गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।

कार्यक्रममा सहभागी हुन इच्छुक स्टार्टअप तथा नवप्रवर्तकले आयोजकले उपलब्ध गराएको माध्यमबाट आवेदन दिन सक्नेछन् । थप जानकारी तथा दर्ताका लागि ९८४३८७२८७० मा सम्पर्क गर्न सकिनेछ । 

Share News