सर्वाेत्तम सिमेन्टले एकैपटक ६४ वटा सवारी बेच्दै, मूल्य ३५ हजार रुपैयाँ

काठमाडौं । सर्वाेत्तम सिमेन्टले पुराना सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले विभिन्न कम्पनी चालू अवस्थामा रहेका ६४ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने जनाएको छ । कम्पनीले बिक्री गर्न लागेका सवारी जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न कम्पनीले आग्रह गरेको छ । काठमाडौं महानगरपालिका ३२, तिनकुनेस्थित केन्द्रीय कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र प्रस्ताव पेश गर्न कम्पनीले आग्रह गरेको छ । गोप्य शिलबन्दी मार्फत बिक्री हुने प्रत्येक सवारी साधनको न्यूनतम मूल्य ३५ हजार रुपैयाँ तोकिएको छ ।

सिबिफिनले भूकम्प प्रभावितका लागि १० लाख सहयोग गर्ने

काठमाडौं । सिबिफिनले भूकम्प प्रभावितका लागि १० लाख सहयोग गर्ने घोषणा गरेको छ । भूकम्प प्रभावितका लागि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले १० लाख सहयोग गर्ने घोषणा गरेको हो । ‘शुक्रबारको राति ११ः४७ बजेको मध्यरातमा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट विशेषतः जाजरकोट र रुकुम पश्चिम जिल्लामा अपूरणीय जनधनको क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) गहिरो दुःख व्यक्त गर्दछ’, सिबिफिनले विज्ञप्तीमा उल्लेख गरेको छ । भूकम्पका घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुर्नस्थापनाका लागि १० लाख रुपैया आर्थिक सहयोग गर्ने सिबिफिनले विज्ञप्ती मार्फत जनाएको छ । त्यस्तै प्रभावित क्षेत्रमा तत्काल खाद्यान्य, औषधोपचार, न्याना लत्ताकपडासहितको बसोबास अत्यावश्यक रहेको जानकारी आएको भन्दै सिबिफिनले राहत सामाग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पुर्‍याउने मानवीय सेवाको कार्यमा सहयोगी हात अगाडि बढाउन सम्बन्धित प्रदेश/जिल्ला तथा स्थानीय निकायहरुमा संचालित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ । ‘विनाशकारी भूकम्पको चपेटामा परी उपचाररत सम्पूर्ण घाईतेहरुको शिघ्र स्वाथ्यलाभको हार्दिक कामना व्यक्त गर्दछौं । साथै, दिवंगत आत्माहरुको चिर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं’, सिबिफिनले विज्ञप्तीमा उल्लेख गरेको छ ।

भूकम्प प्रभावितका लागि सहयोग गर्न महासंघको अपिल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भूकम्प प्रभावितका लागि सहयोग गर्न अपिल गरेको छ । महासंघका सबै सदस्य उद्योग वाणिज्य संघहरू, उद्यमी–व्यवसायी र व्यावसायिक संघ–संस्थालाई उद्धार र राहतमा सहयोग गर्न आह्वान गरिएको हो । शनिबार विज्ञप्ति जारी गर्दै प्रभावितलाई आर्थिकलगायत लत्ताकपडा, खाद्यान्न, औषधि, पानीजस्ता अत्यावश्यक सामग्री सहयोग गर्न अपिल गरिएको छ । ‘भूकम्प प्रभावित जनताहरूको सहयोगका लागि महासंघले आफ्ना तर्फबाट पहल गरिसकेको छ भने राहत र उद्धारकार्यलाई तीव्रताका साथ अगाडि बढाउन सरकारसमक्ष अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘प्रभावित जनताहरूलाई आर्थिकलगायत लत्ताकपडा, खाद्यान्न, औषधि, पानीजस्ता अत्यावश्यक सामग्रीहरू सहयोग गर्न महासंघ आफ्ना सबै सदस्य संघ, संस्था, उद्योग प्रतिष्ठान, उद्यमी व्यवसायीहरूमा हार्दिक अपिल गर्दछ ।’ यसरी सहयोग गर्न चाहनेले महासंघको स्वास्थ्य तथा विपत् व्यवस्थापन समितिका सभापति भक्तबहादुर हमाल (९८५१०४३५६३) र महासंघ सचिवालयका उपनिर्देशक माधव मुल्मी (९८४१३२९३३५) लाई सम्पर्क गर्न सकिने पनि महासंघले जनाएको छ । महासंघले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । भूकम्पमा परी ज्यान गुमाएका आफन्तजनप्रति महासंघले समवेदना प्रकट गरेको छ ।