कोइलाको अभावमा हेटौँडा सिमेन्टको उत्पादन बन्द
मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले आर्थिक सङ्कटको कारणबाट समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन आजदेखि बन्द गरेको छ । उद्योगमा मासिक तीन हजार छ सय मेट्रिक टन कोइला खपत हुने गर्दछ । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बडादसैँको बिदा हुनुअघिसम्म सो उद्योग सञ्चालनमा रहेको र त्यस अवधिमा तीन लाख बोरा सिमेन्ट उत्पादन भएको जानकारी दिए । उनले आर्थिक सङ्कटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसकिएको हुँदा सिमेन्ट उत्पादन बन्द गरिएको बताए । उनले आर्थिक सङ्कटबारे सङ्घीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराइएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालनमा ल्याइने बताए । कूल तीन लाख बोरा सिमेन्ट काठमाडौँलगायतका विभिन्न सहरमा बिक्री वितरण तयारी गरिएको र यसको आम्दानी कोइला खरिद लगाइने उद्योगले जनाएको छ । चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै सहरमा बिक्री वितरण गर्न समस्या भएको जनाइएको छ । कोइला खरिद गरी ल्याइएपछि मात्रै उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने भएको उनले बताए । विसं २०३३ मा लामसुरेमा स्थापित सो उद्योगले विसं २०४३ साल मङ्सिर २६ गतेबाट व्यावसायिकरुपमा उत्पादन सुरुआत गरेको थियो । सो उद्योगमा करिब तीन सय ९० कर्मचारी कार्यरत रहेका छन् । रासस
पर्यावरणीय दिगोपना सुनिश्चित गर्दै आर्थिक अवसरहरू सिर्जना गर्नुपर्छ : उद्यमी व्यवसायी
काठमाडौं । उद्यमी व्यवसायीहरूले पर्यावरणीय दिगोपना सुनिश्चित गर्दै आर्थिक अवसरहरू सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । यसका लागि उद्योग क्षेत्रमा हरित वृद्धि (ग्रीन ग्रोथ) को अवधारणा महत्वपूर्ण हुने धारणा उनीहरूको छ । वातावरणका इस्यूहरूमा नेपालले गरेको विश्वव्यापी प्रतिवद्धताहरू पूरा गर्न व्यापार र उद्योग क्षेत्रका लागि हरित वृद्धि (ग्रीन ग्रोथ) को अवधारणा महत्वपूर्ण हुने बिहीबार धनगढीमा आयोजित एक कार्यक्रमका सहभागी उद्यमी व्यवसायीहरूले बताए । नेपाल उद्योग वाणिज्य महासंघले आइएलओको सहयोगमा स्ट्रेन्थेन इम्प्वयर्स क्यापासिटी फर इम्प्रुभ्ड डिसेन्ट वर्क थ्रु प्रमोटिङ वर्क वेज्ड लर्निङ स्कील याजवेल याज सेफ्टी एण्ड हेल्थ परियोजना संचालन गरीरहेको छ । सोही परियोजना अन्तर्गत आयोजना गरिएको कार्यस्थलमा आधारित सीप विकास तथा ग्रीन इकोनोमी विषयक कार्यक्रमका सहभागीहरुको हरित बृद्धि अभ्यासहरू अंगाल्दा वातावरण र समाजलाई समेत फाइदा पुग्ने कुरा सबैलाई बुझाउनु पर्ने सुझाव थियो । हरित वृद्धिका अभ्यासहरू अंगाल्दा आर्थिक वृद्धि, बजार प्रतिस्पर्धा र दीर्घकालीन अवसरहरू समेत सृजना हुने धारणा सहभागी विज्ञहरू राखे । कार्यक्रम महासंघको सुदूर पश्चिम प्रदेश च्याप्टरको सहकार्यमा आयोजना गरिएको थियो । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्दा वैज्ञानिक, समावेशी र सामाजिक सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने सुझाव उनीहरूको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका उपाध्यक्ष एवं वस्तुुगत परिषद्का सभापति हेमराज ढकालले महासंघले निजी क्षेत्रलाई वातावरण परिवर्तनका मुद्दामा सचेत गराउंदै दीगो आर्थिक विकासमा काम गर्न सहयोग पुरयाउने अभिप्रायले यो कार्यक्रमको आयोजना गरिएको बताए । उपाध्यक्ष ढकालले पछिल्लो पटक नेपालले अन्तराष्ट्रिय मंचमा जलवायु परिवर्तनका इस्यूमा गरेका प्रतिवद्धताहरुलाई समेत पुरा गर्ने अभिप्रायले महासघले आइएलओको सहयोगमा ग्रीन इकोनोमिको विषयलाई अगाडि बढाएको स्पष्ट पारे । उपाध्यक्ष ढकालले महासंघले तालीमका लागि तालीमभन्दा पनि उद्योगहरुको मागका आधारमा कार्यस्थलमा आधारित तालीमलाई पनि मुख्य प्राथमिकता दिएको बताए । आउँदा दिनमा कार्यस्थलमा आधारित तालीमलाई थप प्रभावकारी बनाउन यस सम्बन्धी निर्देशिका बनाइएको स्पष्ट पारे । यसले महासंघको सिंगो इको सिष्टम नै लाभान्वित हुने विश्वास उनले व्यक्त गरे । महासंघको प्रदेश च्याप्टरका अध्यक्ष शंकर बोगटीले कार्यक्रमबाट कार्यस्थलमा आधारित तालीम र दीगो आर्थिक विकासमा पर्यावरणको महत्व विषयमा सहभागीहरुबीच बुझ्न सहयोग पुगेको बताए । महासंघका वरिष्ठ परामर्शदाता हंसराम पाण्डेले कार्यस्थलमा आधारित सीप विकास तालीम निर्देशिका र वातावरण विज्ञ तथा परामर्शदाता डा. विजय थापाले ग्रीन इकोनोमिका पछिल्ला अभ्यास र नेपालले अवलम्वन गर्नुपर्ने उपायहरुका वारेमा आफनो प्रस्तुती दिए । कार्यक्रममा आइएलकोका परामर्शदाता महेन्द्र प्रसाई र महासंघका उपनिर्देशक विदुरचन्द्र लामिछानेले आइएलओले महासंघसंग अगाडी बढाएका कार्यक्रम वारे जानकारी गराए । परियोजना अन्तरगत सदस्य वस्तुुगत संघका लागि कार्यसंचालन विधि, कार्यस्थलमा आधारित सिप विकास निर्देशिका र ग्रीन इकोनोमी एवं न्यायोचित परिवर्तन, नेपालमा लगानीका अवसर तथा चुनौती विषयमा अध्ययन प्रतिवेदन प्रकाशन गरिने कार्यक्रम छन् । करिब ७५ जना उद्यमी व्यवसायीहरूको सहभागिता रहेको सो कार्यक्रममा महासंघ प्रदेश च्याप्टर तथा संघका पदाधिकारीहरू, उद्यमी व्यवसायी, निर्माण, सीप विकास, संचारकर्मी, महिला उद्यमी लगायतको सहभागिता थियो ।
नेपाल फिनल्याण्ड चेम्बरको अध्यक्षमा मुकुन्द तिमिल्सिना निर्वाचित
काठमाडौं । नेपाल फिनल्याण्ड उद्योग वाणिज्य संघको अध्यक्षमा उद्योगी मुकुन्द तिमिल्सिना निर्वाचित भएका छन् । संघको हालै सम्पन्न प्रथम वार्षिक साधारणसभाले तिमिल्सिनाको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । संघले नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलाई संरक्षक चयन गरेको छ भने संघको तीन उपाध्यक्षमा प्रज्वलजंग पाण्डे, सुनिल केसी र शक्तिकुमार बेगानी रहेका छन् । यस्तै, महासचिवमा विश्वेश श्रेष्ठ र कोषाध्यक्षमा दीपेन्द्र सिग्देल निर्वाचित भएको संघले जनाएको छ । संघको दुई सचिवमा सीताराम थापा र उरुषा चापागाई निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा अर्जुन पौडेल, विजय पौडेल, भरत श्रेष्ठ, चेतन भण्डारी, डीमप्रसाद पौडेल, गोर्मे दोर्जी शेर्पा, निलकृष्ण ताम्राकार र प्रदीक्षा शर्मा निर्वाचित भएको संघले जनाएको छ । यस्तै, प्रकाशबहादुर खत्री, प्रकाश पाण्डे, राजेन्द्र ढकाल, राजेन्द्र सापकोटा, राजेश लामा, राकेशकुमार अडुकिया, सञ्जीवकुमार पाण्डे, शिव ढकाल र उत्तम सिलवाल पनि संघको कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । संघका अध्यक्ष तिमिल्सिनाले नेपाल र फिनल्याण्डबीचको सम्बन्ध विस्तारसँगै लगानी, पर्यटन तथा व्यापारिक क्षेत्रमा संघले घनिभूत ढंगले सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाली वस्तुको फिनल्याण्डमा निकासीको राम्रो सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले आउँदा दिनमा निकासी प्रवर्द्धनसम्बन्धी कार्यलाई प्राथमिकतामा राखिने बताए । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले फिनल्याण्डबाट ३० करोड ४७ लाख १४ हजार रुपैयाँ बराबरका वस्तु आयात गरी ८ करोड ५७ लाख ६१ हजार मूल्य बराबरको निकासी गरेको थियो ।