शिवम् सन्देश : घर बनाउनेदेखि जग्गा छान्नेसम्मको आइडिया

काठमाडौं । शिवम् सिमेन्टले उपभोक्ताका लागि घर बनाउनेदेखि जग्गा छान्नेसममको टिप्ससहित सन्देशमुलक अभियान सुरु गरेको छ । ‘शिवम् सन्देश’ नामक टिप्स घर बनाउने ग्राहकका लागि निकै उपयोगी हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वर्षौंको मेहेनत र पसिनाले बनाएको घर योजना अनुरूपकै होस् र घर बनाउँदा कुनै गल्ती कमजोरी नहोस् भन्ने चाहना बमोजिम सूचनाका लागि यस्तो सन्देश लिएर आएको बताएको छ । ‘सही विशेषज्ञ र प्राविधिकको सल्लाह अत्यावश्यक र लाभप्रद हुन्छ । त्यसैले नेपाल गुणस्तर अवार्ड २०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले ’शिवम् सन्देश’लिएर आएको छ । शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित टिकाउ घर निर्माणका लागि जनचेतनामूलक सन्देशहरूको संग्रह हो । यसमा घर निर्माण पूर्व निर्माणका योजना बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यानदिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारीहरू समावेश गरिएको छ,’  कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा छ । घर बनाउने जग्गाको छनोट गर्नेबारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने ? विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पुर्‍याउने ? जस्ता थुप्रै उपयोगी जानकारीहरू समेटिएको छ ।भूकम्प र बाढी–पहिरा जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने ? इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्वकति हुन्छ ? साथै, घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने जस्ता जटिल लाग्ने प्रश्नहरूको सरल जनबोलीमा दिइएका सल्लाह र सुझाव शिवम् सन्देशमा समेटिएका छन् । साधारण लाग्ने तर घर निर्माणको योजनाबनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरू पनि शिवम् सन्देशमा समेटिएको कम्पनीले जनाएको छ । शिवम् सन्देश’ उपभोक्ताहरूले शिवम् सिमेन्टको आधिकारिक वेबपेज, फेसबुक, युट्युब र इन्स्टाग्राममा गएर पनि हेर्न सकिने कम्पनीको भनाइ छ ।

‘कर्णालीकै कच्चापदार्थमा आधारित उद्योग सञ्चालन गरौँ’

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा अझै पनि कर्णालीकै कच्चा पदार्थमा आधारित उद्योगहरू नभएको बताएका छन् । उनले अब कर्णालीकै कच्चापदार्थमा आधारित उद्योग सञ्चालन गर्नतर्फ अग्रसर हुन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री शर्माले विगतदेखि नै कर्णालीमा नुनदेखि सुन फलाउने सामन्तवादी सोच कृषि क्षेत्रमा हाबी हुँदै गइरहेको हुँदा कर्णालीमा कृषिजन्य उद्योग नफस्टाएको बताए । ‘अब कर्णालीका नागरिकले नुनदेखि सुन एक्लैले फलाउने नभई कसैले कोदोको, कसैले मकैको अर्थात् हरेकले अलगअलग खेती गरेर कृषिमा व्यावसायिकीकरण गर्न आवश्यक छ । कृषि मात्रै होइन, अब सबै व्यवसाय गर्दा अलगअलग व्यवसाय गर्न जरुरी छ नभए व्यवसाय नै डुब्ने, असफल हुने सम्भावना हुन्छ,’ मुख्यमन्त्री शर्माले भने, ‘त्यसका लागि उत्पादनको वर्गीकरण गर्न भौगोलिक कलष्टर छुट्याउने योजना सरकारको छ । उच्च हिमाली, हिमाली, पहाडी, खोँच आदि कलष्टर छुट्याएर अघि बढ्ने र सोही आधारमा कृषि उत्पादन गर्न सकेको खण्डमा हामी आत्मनिर्भरतातर्फ अग्रसर हुन्छौँ ।’ मुख्यमन्त्री शर्माले अहिले कर्णालीमा सञ्चालनमा रहेका अधिकांश उद्योगहरुले बाहिरबाट कच्चापदार्थ ल्याई उद्योग सञ्चालन गरिरहेको बताए । उनले कसरी औद्योगिक क्षेत्र सञ्चालन गर्ने बारेमा खाका कोर्न व्यवसायीलाई सुझाव दिँदै कर्णालीमा औद्योगिक विकासका लागि कोही पनि एक्लाएक्लै अगाडि बढेर सम्भव नभएको र त्यसका लागि सरकारले के गर्नुपर्छ हातेमालो गर्न तयार रहेको बताए । ‘हामी गुणस्तरको सामान उत्पादन गर्न सक्छौँ, निरन्तर बजारमा आफ्नो उत्पादनलाई अब्बल साबित गर्न सक्छौँ कि सक्दैनौँ त्यो बुझे बिना नै जब काम गर्छौँ, तब हामीलाई समस्या आइपर्छ । तसर्थ सबै कुराको अध्ययन नगरी काम थाल्दा नोक्सान बाहेक केही हुँदैन,’ मुख्यमन्त्री शर्माले भने । उनले उद्योगीलाई गुणस्तरीय सामान उत्पादन गर्न सुझावसमेत दिए ।

उद्योग दिवसका अवसरमा उद्यमी पुरस्कृत

म्याग्दी । नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज म्याग्दीमा उद्यामीलाई पुरस्कृत गरिएको छ । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयले बुटिक व्यवसायी चन्द्रा घले र बाख्रापालक कृषक धनबहादुर श्रीसलाई नगद ५र५ हजार रुपैयाँसहित पुरस्कृत गरेको हो । सोही अवसरमा चालु आर्थिक वर्षको प्रविधि हस्तान्तरण कार्यक्रममार्फत ९ लाख ७१ हजार मूल्य बराबरको सामग्री खरिदका लागि छनोट भएका १२ उद्यमीको नाम सार्वजनिक गरिएको थियो । उनीहरूले उपकरण खरिदमा कुल लागतको ५० प्रतिशत अनुदान पाउने कार्यालयले जनाएको छ । बेनी नगरपालिका–३ भकिम्ली डाँडाखानीका श्रीसले वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिकरूपमा बोयर जातको बाख्राको स्रोत केन्द्र सञ्चालन गरेका छन् । बेनी–४ की घलेले बेनीको गणेश टोलमा बुटिक सेन्टर सञ्चालन गरेका छन् । कराँते, भलिबलको रेफ्रि तथा खेलाडीसमेत रहेकी घलेले विद्यालयका छात्रालाई आत्मरक्षा तालिम र खानाको परिकार बनाउने तालिम पनि दिन्छन् । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी खत्री, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, प्रहरी नायव उपरीक्षक मदन कुँवर, जिल्ला समन्वय अधिकारी राजेन्द्र पोख्रेल, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषानाथ शर्मालगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बेनी नगर प्रमुख केसीले चालु आवदेखि पशुपालक कृषकलाई उत्पादनका आधारमा अनुदान दिने तयारी गरेको जानकारी दिँदै विभिन्न निकायले अनुदानमा नगरवासीलाई वितरण गरेका उपकरण, औजार र सामग्रीको प्रयोगको अवस्थाका विषयमा अध्ययन थालिएको बताए । जिल्ला समन्वय समितिका प्रमुख थापाले उद्योग दिवस मनाउने बजेट प्राप्त नभए पनि अन्य स्रोतमार्फत उद्यमीलाई प्रोत्साहन गरेर पुरस्कृत गरिएको बताए । प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत बेनी–८ को सिर्जना मःम रेष्टुरेन्ट एण्ड होटल, मालिका–७ को विषम कृषि तथा पशुपक्षी फार्म, मालिका–३ को विशाल टेलरिङ सेन्टर, बेनपा–७ को समतारा फर्निचर उद्योग, बेनपा–६ को विनय फर्निचर उद्योग, बेनपा–५ को संस्कार एण्ड एसीका कुखुरापालन फार्म, बेनपा–८ को मगर टेलरिङ सेन्टर, बेनपा–८ को रेनु टेलरिङ सेन्टर, बेनपा–८ को अस्मिता टेलरिङ सेन्टर, बेनपा–७ को रोशन टेलरिङ र अर्विन टेलरिङ सेन्टर अनुदानका लागि छनोट गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषानाथ शर्माले जानकारी दिए । रासस