बुटवल उद्योग वाणिज्य सङ्घमा अर्याल

लुम्बिनी । बुटवल उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । सङ्घको सोमबार सम्पन्न निर्वाचनमा उनले सात सय ७६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठले छ सय ८९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । यस्तै उद्योगतर्फको उपाध्यक्षमा सुरज भट्टराई विजयी भए । सङ्घको वरिष्ठ उपाध्यक्षमा यसअघि नै टङ्कप्रसाद गैरे र वाणिज्यतर्फको उपाध्यक्षमा विमलराज भट्टराई निर्विरोध निर्वाचित भए । निर्वाचन समितिका अनुसार महासचिवमा मुक्तिप्रसाद अधिकारी, कोषध्यक्षमा वसन्तप्रसाद ढकाल, सचिवमा प्रतीक पोखरेल चयन भएका छन् । यस्तै सहकोषध्यक्षमा धनकुमारी खनाल, एकमात्र पद एशोसिएट सदस्यमा बालकृष्ण पौडेल विजयी भए । मतगणना परिणामअनुसार उद्योगतर्फ सदस्यमा दीपकप्रसाद चापागाईँ, कृष्णप्रसाद पाण्डे, निर्मित कसजु र सुनिता शर्मा बन्जाडे विजयी भएका छ भने वाणिज्यतर्फ सदस्यमा गणेशप्रसाद भट्टराई, काशीराम शर्मा, रामबहादुर भण्डारी र टीकाराम बन्जाडे विजयी भए । खुलातर्फ सदस्यमा विष्णु घिमिरे (पन्त), विष्णुप्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, उमेश अमात्य, जमुना पौडेल र रेनु श्रेष्ठ विजयी भए । सङ्घको यही असोज १९ गते ७०औँ साधारणसभा तथा २५औँ अधिवेशन भएको थियो । अधिवेशनअन्तर्गत सोमबार मतदान हुँदा एक हजार पाँच सय पाँच मत खसेको थियो । सङ्घमा करिब एक हजार सात सय सदस्य मतदाता छन् । रासस

सरकारसँगको सहकार्यमा अन्तर्राष्ट्रिय व्यापार मेला गर्दै एफएनसीसीआई

फाइल फोटो काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले नेपाल सरकारको सहकार्यमा आगामी मंसिर १४ देखि १८ गतेसम्म नेपाल अन्तराष्ट्रिय व्यापार मेला गर्ने भएको छ । सोमबार टेकुस्थित महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै महासंघले यस्तो जानकारी दिएको हो । महासंघले नेपाल सरकारको सहयोगमा आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गत वर्ष कोभिडको कारण निरन्तरता पाउन नसकेको मेला यो वर्ष आयोजना गर्न लागेको बताए । उक्त मेलाको लागि ५० प्रतिशतभन्दा बढी स्टलहरु बुकिङ भइसकेको बताउँदै उनले मेलामा करिब ३ सय स्टलहरु रहने बताए । उनले मेलामा ७० भन्दा बढी चीनबाट र ८० भन्दा बढी स्टल बुकिङ भारतबाट भएको उल्लेख गरे । साथै, मेलामा बंलादेशबाट पनि ४० भन्दा बढी स्टल बुकिङ गरेको बताउँदै अध्यक्ष ढकालले लामो समयपछि अन्तर्राष्ट्रिय व्यापार मेला हुन लागेकाले अन्तर्राष्ट्रिय व्यापार महत्वपूर्ण योगदान पुग्ने विश्वास रहेको बताए । मेला नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्न एक सशक्त माध्यम बन्दै आएको छ । मेलामा नेपालको औद्योगिक व्यावसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास लिइएको छ । तीन सयभन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापान, इन्डोनेसिया, मलेसियालगायतका देशका क्रेतालाई आमन्त्रण गरिने आयोजकले जनाएको छ । मेलामा भारत चेम्बर अफ कमर्स र नेपालको नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघको संयुक्त आयोजनामा आयुर्वेदसम्बन्धी उत्पादनको प्रदर्शनी एवं प्रवचन कार्यक्रमसमेत हुनेछ । मेलाको मुख्य आकर्षणमा मेड इन नेपाल सो हस्तकला उत्पादनहरु, एनटीआईएस प्रोडक्ट, कमोडिटी पेभिलियन रहनेछन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तर्क्रिया गराउने लक्ष्यसमेत राखिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्धन तथा लगानीबारे छलफल हुनेछ । मेलाको स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ । विभिन्न जिल्लामा आयोजना भएका मेलामा उत्कृष्ट स्टल तथा उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराइनेछ । मेलामा जेष्ठ नागरिक तथा फरक रुपले सक्षम नागरिकलाई निःशुल्क तथा विद्यार्थीलाई उनीहरुको प्रवेशपत्रका आधारमा ५० प्रतिशत प्रवेश छुटको व्यवस्था गरिएको छ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय व्यापार मेला अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी हुने विश्वास व्यक्त गरे । त्यस्तै उपाध्यक्ष सुरकृष्ण वैद्यले एउटा छुट्टै ब्रान्ड बनाउन सफल मेला निजी क्षेत्रका लागि बलियो प्ल्याटफर्म भएको बताए । उपाध्यक्ष हेमराज ढकालले वस्तुगत संघको छुट्टै पेभिलियनले मेलालाई थप आकर्षक बनाउने बताए ।

व्यवसायीहरु राष्ट्र बैंकले ल्याउने नीतिको त्रासमा छन् : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायीहरु नेपाल राष्ट्र बैंकले ल्याउने नीतिको त्रासमा रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘रियल इस्टेट व्यवसायी वृहत भेला २०८०’ मा बोल्दै उनले यस्तो बताएका हुन् । ‘राष्ट्र बैंकमा आज एउटा नीति आउँछ भोलि अर्को आउँछ, अब के आउँछ भन्ने त्रास पनि व्यवसायी छन्,’ उनले भने । त्यस्तै, उनले राष्ट्र बैंकले निजी क्षेत्रको सुझावलाई नस्वीकार्दा अथर्तन्त्र सिथिल हुँदै गएको बताएका छन् । ‘निजी क्षेत्रले आफ्नो स्वार्थको लागि मात्र काम गर्छ भनेर हामीले दिएको सुझाव नस्वीकार्दा आज यो अवस्था आएको हो,’ अध्यक्ष ढकालले भने । पछिल्लो समय भने सरकारले निजी क्षेत्रका कुरालाई मनन् गर्दै गएको बताउँदै उनले निजी क्षेत्रको मागको सुनुवाइ क्रमिक रुपमा हुँदै जाने बताएका छन् । यद्पि अर्थतन्त्र क्रमिक रुपमा सुधार हुँदै जाने र व्यवसाय पनि आउने दिनमा पुरानै लयमा फर्किने विश्वासमा ढकाल छन् । साथै, पछिल्लो समय रेमिट्यान्स बढ्दै जानु, पर्यटनको आवागमन हुनुले अर्थतन्त्रमा सुधारको संकेत देखिँदै गएको अध्यक्ष ढकाल बताउँछन् ।