बाँकेमा २ सय ६५ घरेलु उद्योग बन्द
राँझा ।बाँकेमा चालु आर्थिक वर्षको ९ महिनामा २ सय ६५ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिकरूपमा बन्द गराउनेको संख्या कम रहे पनि नवीकरण हुन नसकेका १ सय ६५ उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी काशीलाल अधिकारीले जानकारी दिए । उनका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढी रहेका छन् । १ सय ५ उद्योगतर्फ र १ सय ६० वाणिज्यतर्फका फर्म बन्द भएका हुन् । उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी÷व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेका छन् । बाँकेमा गत आर्थिक वर्ष २०७९÷८० मा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका थिए । यस वर्ष गत वर्षको तुलनामा धेरै उद्योग व्यवसाय बन्द भएका छन् । यस वर्ष चालु आर्थिक वर्षको चैतसम्म ९ महिनाको अवधिमा उद्योगतर्फ ४ सय ३४ र वाणिज्यतर्फ ३ सय ७३ गरी ८ सय ७ घरेलु तथा साना उद्योग दर्ता भएको सूचना अधिकारीले जानकारी दिए । बाँकेमा चैत मसान्तसम्म उद्योगतर्फका ६ सय ३१ र वाणिज्य फार्म १ हजार १ सय ५० गरी १ हजार ७ सय ८१ घरेलु तथा साना उद्योग नविकरण भएका छन् । कोभिड–१९ को असर, बैंकको ब्याज वृद्धि हुनु, आर्थिक तरलतालगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुनेक्रम बढेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अध्यक्ष मधु खड्काले बताए । उनका अनुसार यसरी व्यवसाय बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली भएका छन् । कैयौँ उद्योगी व्यवसायी नेपालगञ्जबाट विस्थापित हुन पुगेका छन् ।
महासंघमा संयोजकको जिम्मा सापकोटालाई, प्राथमिकतामा व्यवसायीका समस्या समाधान
काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको संयोजकमा भागिरथ सापकोटा चयन भएका छन् । संघीय सांसद एलपी साँवा लिम्बु अध्यक्ष रहेको उक्त महासंघले महाधिवेशन आयोजक कमिटि घोषणा गर्दै संयोजकको जिम्मा सापकोटालाई दिएको हो । व्यवसायी सापकोटा पार्टी संगठन विस्तारमा काविलका साथै उद्योगी व्यवसायीका समस्या बुझेर सरकारसँग लविङ गर्न सक्ने व्यक्ति हुन् । नेकपा एमालेको उद्योगी व्यवसायीहरुको भातृ संगठनको रुपमा रहेको उक्त महासंघमा सापकोटा यसअघि महासचिव रहेका थिए । यसैगरी महासंघको महासचिवमा बालकृष्ण सिवाकोटी चयन भएका छन् । उनी यसअघि सोही महासंघको उपाध्यक्ष रहेका थिए । यस्तै कोषाध्यक्षमा डीमप्रकाश पौडेल चयन भएका छन् । उनी यसअघि महासंघका लेखा आयोग संयोजक रहेका थिए । देशको विग्रदो अर्थतन्त्र सुधारका साथै उद्योगी व्यवसायीक समस्या समाधानका लागि पहल गर्न एमालले सापकोटाको संयोजकत्वमा उक्त आयोजक कमिटि गठन गरेको हो । उनको संयोजकत्वमा २१ सदस्यीय सचिवलाय समेत गठन भएको छ भने महासंघको पाँचौं केन्द्रिय कमिटि बैंठकमा उपस्थित केन्द्रिय सदस्यहरुलाई आयोजक समितिमा राखिएको छ । साथै लगातार ३ पटक केन्द्रिय कमिटि बैंठकमा नआउने केन्द्रिय सदस्यहरुलाई संस्थाको विधान अनुसार पदबाट हटाइएको छ । यसैगरी महासंघको केन्द्रिय कार्यसमिति बैंठकले विधान मस्यौदा समिति समेत चयन गरेको छ । महासंघका तत्कालिन उपाध्यक्ष डेकनाथ गौतमको संयोजकत्वमा ९ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको हो । कार्यक्रममा एमाले जनसंगठन इन्चार्ज एवं पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालले नयाँ बनेको आयोजक समितिले उद्योगी व्यवसायीको समस्या समाधानमा पलह गर्नुका साथै पार्टीको नीति निर्देशन भित्र रहेर समयमै संस्थाको महाधिवेशन गराउनुपर्ने बताए । यसैगरी संयोजक भएसँगै सापकोटाले अहिलेको विषम परिस्थितमा व्यवसायीका समस्या समाधान गर्न पार्टीदेखि सरकारसँग लविङ गर्नुपर्ने जिम्मेवारी आफुकहाँ आएको बताए । ‘मैले अहिलेपनि पनि महासंघमा रहेर संगठन विस्तारदेखि उद्योगी व्यवसायीका समस्या समाधान गर्न अग्रसर भएर काम गर्दै आएको छु,’ उनले भने, ‘अब यो आयोजक कमिटिले अहिले देखिएको उद्योगी व्यवसायीका समस्या समाधान गर्दै तोकिएको समयभित्र महासंघको अधिवेशन गर्नेछ ।’
बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी
नारायणगढ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ, चितवनले भरतपुर महानगरपालिका–१० मा आयोजना गरेको पाँच दिने औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको उद्घाटन कार्यक्रममा उनले विभिन्न समयमा बन्द भएका र रुग्ण उद्योग सञ्चालन कसरी गर्न सकिन्छ भने मिहीन ढङ्गले छलफल गरी नीति ल्याइने बताए । मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट प्रत्येक प्रदेशमा कम्तीमा पनि एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने जानकारी गराए । उनले भने, ‘उद्योगी व्यवसायीले निराश हुनुपर्ने स्थिती आउन नदिन सरकार लागिपरेको छ, हामी अहिले देखिएको निराशालाई आशामा बदल्छौँ ।’ अहिले सरकार मुख्यतः लगानी सम्मेलनमा केन्द्रित रहेको उल्लेख गर्दै भण्डारीले उद्योगी व्यवसायीले महसुस गर्ने गरी आगामी नीति तथा कार्यक्रम र बजेट ल्याइने बताए । उनले भने, ‘मन्त्रालयले स्वदेशी वस्तु उपभोगसम्बन्धी नीति र ‘स्टार्टअप’ कार्यक्रम चाँडै ल्याउँदैछ, आन्तरिक उत्पादन बढाउन उद्योग नीति पनि समयसापेक्ष परिवर्तन गर्नुपर्ने छ ।’ तीन तहका सरकारबीच नीतिगत समस्याले पनि आर्थिक गतिविधि बढ्न नसकेको उल्लेख गर्दै उनले सरकार सबै यस्ता समस्या अन्त्य गरेर अगाडि बढ्ने बताए । मन्त्री भण्डारीले विगतका दुई लगानी सम्मेलनको अनुभवलाई आत्मसात गर्दै सरकार अहिलेको सम्मेलनलाई अझ सफल बनाउन लागिपरेको जानकारी गराए । रासस