म्याद नाघेका वस्तु बेचेपछि खाद्य उद्योगमा सिल
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका-८ मा रहेको मिनाक्षी खाद्य उद्योगमा सिल गरिएको छ । विभिन्न म्याद गुज्रिएका खाद्यसामग्रीमा नयाँ मिति राखेर आफूखुसी बजारमा बिक्रीवितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य गरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त उद्योगमा सिल गरेको हो । गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुसन्धान टोलीले सोमबार उक्त उद्योगमा अनुगमन गरेको थियो । अनुसन्धानका क्रममा मिति मेट्न प्रयोग गरिने स्प्रिट, मिति पुनर्लेखन गर्ने मेसिन र म्यादगुज्रेका फार्म सिटी ब्राण्डका कर्नफ्लेक्स, ओट्सलगायत खाद्यवस्तु राख्नाका साथै बादसाह ब्राण्डको मिति सकिएका र नसकिएका मसाला एकै ठाउँमा राखिएको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । कैफियत गरेकाले उक्त उद्योगमा स्थानीय जनप्रतिनिधिको रोहबरमा र विभागको अनुसन्धान टोलीले सिल गरेको हो । उद्योगका सञ्चालकलाई विभागमा आवश्यक कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको पनि उनले बताए । रासस
सम्झौता बहुउद्देश्यीय सहकारीद्वारा तोरी पेल्ने उद्योग सञ्चालन
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्राण्डिङ’ , ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा ल्याएको छ । नगरपालिकाको रु १५ लाख, सङ्घीय सरकारको सर्शत अनुदान रु १० लाख र सहकारीको रु पाँच लाख गरी रु ३० लाखमा उद्योग सञ्चालनमा ल्याइएको हो । ‘दुई किलो ५० ग्राम तोरीबाट एक लिटर तेल उत्पादान हुन्छ, यसमा तोरीको मूल्य रु दुई सय ८०, बोतलसँगै बिर्को र ढुवानी रु १३, स्टिकर रु १२, श्रम लागत रु १३ गरी रु तीन सय २३ मा तेल बिक्री मूल्य राखेका छौँ’, उनले भनिन्, ‘उद्योगलाई मुनाफाका रूपमा खली पिना रहेको छ, यसको मूल्य प्रतिकिलो लगभग रु ३४ छ ।’ सहकारीका लेखा संयोजक मनराज उपाध्यायले उद्योग सञ्चालनमा आइसकेकाले तत्कालै तेलको ब्राण्डिङ, प्याकेजिङ गरी बजारमा ल्याउन लागेको जानकारी दिए । उनका अनुसार उद्योगको दैनिक पाँच सय लिटर प्रशोधित तेल उत्पादन गर्ने क्षमता छ । सहकारीले उपसमिति बनाएर उद्योग सञ्चालन र व्यवस्थापनको कार्य अगाडि बढाउने उनले बताए। स्थानीय किसान धर्मराज चौधरीले नगरपालिका क्षेत्र तोरी उत्पादनका लागि अग्रणी भए पनि बजार खोज्न निकै अप्ठेरो रहेको अवस्थामा उद्योग सञ्चालनमा आएपछि सहजरूपमा तोरी बिक्री हुने बताए । ‘विगतमा बाहिरबाट व्यापारी आएर तोरी खरिद गर्थे’, उनले भने, ‘व्यापारीले तोकेकै मूल्यमा तोरी बेच्नुपर्ने अवस्था थियो, उद्योगमा तोरी बेच्दा मूल्य पनि बढी पाउने र बजार खोज्दै हिँडनुपर्ने अवस्थाको अन्त्य भएको छ ।’ नगरप्रमुख पोतिलाल चौधरीले नगर क्षेत्रमा तोरी पेल्ने उद्योग भए पनि प्रशोधन गरी शुद्ध तोरीको तेल उत्पादन गर्ने उद्योग पहिलोपटक सञ्चालनमा आएको बताए । ‘उद्योग खुलेपछि रोजगारीका अवसर सिर्जना हुन्छन्’, उनले भने, ‘किसानको तोरी बिक्री हुन्छ, मिसावट भएको तेलको प्रयोगमा कमी आउँछ ।’ उद्योग सञ्चालक सहकारीसँग बजारभाउभन्दा बढी मूल्यमा किसानको तोरी खरिद गर्ने सहमति भएको उनले उल्लेख गरे । किसानलाई उन्नत तोरीको खेती गर्न नगरपालिकाका तर्फबाट अनुदानका कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । उद्योग सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन गर्न चार महिना समय लाग्ने, खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयबाट ब्याच नम्बर लिन वातावरणीय प्रभाव मूल्याङ्कन हुनुपर्ने, बोतलका लागि आफ्नै डाइसाँचो हुनुपर्नेलगायतका यावत समस्या भए पनि तोरी उत्पादनको सिजन भएकाले उद्योग उद्घाटन गरी सुरु गर्ने लक्ष्य लिइएको नगरपालिका कृषि विकास शाखाका प्रमुख सुमनराज जोशीले बताए । नगरपालिका क्षेत्रको खुला सीमानाकाबाट अखाद्य खानेतेल दैनिक भित्रिने गरेकाले यस क्षेत्रका नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरेको उनको भनाइ छ । यस विषयमा नगरपालिकाले विश्लेषण गरी नगरवासीलाई शुद्ध तोरीको तेल उपभोग गर्न भारतबाट आयात हुने अखाद्य तेललाई विस्थापित गर्नका लागि सहकारीसँग सम्झौता गरी शुद्ध तोरीको तेल उत्पादन गरी नगरवासीको घरघरका भान्सामा आपूर्ति गर्ने लक्ष्य लिइएको उनले उल्लेख गरे । रासस
प्रधानमन्त्री दाहालले गरे उदयपुर सिमेन्ट उद्योगको अवलोकन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उद्योग रहेको स्थान उदयपुरको जलजले पुगी उनले आज उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गरेका हुन् । प्रधानमन्त्री दाहाललाई महाप्रबन्धक खगेन्द्र बस्नेतलगायतका उच्चपदस्थ अधिकारीले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए । त्यसक्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर सञ्चालन गर्नुपर्ने बताए । आफूले उद्योगको समस्यालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले उद्योगलाई दीर्घकालीनरूपमा सञ्चालन गर्न सरकार तयार रहेको बताए । अहिले उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । उदयपुर सिमेन्टर नेपाल सरकारद्वारा सञ्चालित सिमेन्ट उद्योग हो । नेपाल र जापान सरकारको संयुक्त लगानीमा विसं २०४४ जेठ ३१ गते सो उद्योगको स्थापना भएको थियो । उक्त उद्योगले उत्पादन गरेको ‘गैँडा छाप’ ब्राण्डको सिमेन्ट नेपाली उपभोक्तामाझ लोकप्रिय छ ।