आर्थिक सुधारका लागि महासंघले पहल गरेको छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि महासंघले पहल गरिरहेको बताएका छन् । यसमा सरकारको नेतृत्व र बिकास साझेदारहरुसंगको सहकार्य आवश्यक रहेको अध्यक्ष ढकालले नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेश, भुटान र नेपालका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का दशीय प्रबन्धक मार्टिन होल्टम्यानसँग बिहीबार भएको भेटमा बताएका छन् । भेटमा महासंघका अध्यक्ष ढकालले नेपाल प्राकृतिक स्रोतसाधनमा धनी भएको, युवा र गतिशील जनशक्ति भएको र रणनीतिक भौगोलिक अवस्थिति रहेको पनि बताए । यद्यपि, यी फाइदाहरूलाई पूर्ण रूपमा सदुपयोग गर्न र आर्थिक बृद्धिलाई अगाडि बढाउन व्यापारिक वातावरणमा सुधार, लगानी आकर्षित गर्ने नीति उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने बताए । ढकालले नवप्रवर्तन, उद्यमशीलता बिकास र दिगो आर्थिक बृद्धिलाई प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्न अन्तर्राष्ट्रिय वित्त निगमसंगको सहकार्य आवश्यक रहेको बताए । यसैबीच, होल्टम्यानले आइएफसी सधैं निजी क्षेत्रको विकासको साझेदार र विश्वभरको आर्थिक वृद्धि र दिगोपनलाई प्रवर्द्धन गर्न पनि साझेदार भएको उल्लेख गरे । उनले नेपालको विकास कार्यमा आइएफसी निरन्तर सहयोग र सहकार्य गर्ने बताए । होल्टम्यानले नेपालमा दिगो आर्थिक विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघसँग साझेदारी गर्न पाउँदा आफू खुसी भएको बताए । गत वर्ष आइएफसी र महासंघले संयुक्त रुपमा पहिलोपटक नेपालको अर्थतन्त्र र रोजगारीमा निजी क्षेत्रको भूमिका विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो ।
आर्थिक मन्दीले ९१ साना उद्योग बन्द
पर्वत । कोरोना महामारीसँगै आर्थिक मन्दीमा परेका पर्वतका ९१ साना उद्योग अन्ततः बन्द भएका छन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक सय ६२ वटा उद्योग, व्यवसाय फर्म दर्ता भएकामा ९१ वटा बन्द भएका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अशोककुमार नेपालीले जानकारी दिए । चालु आवको चैत मसान्तसम्म ८० वटा नयाँ उद्योग दर्ता भएका छन् । ८० वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएका हुन् । आर्थिकमन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातित बस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग विस्थापित हुने क्रम बढेको कार्यालय प्रमुख नेपालीले बताए । कोरोना महामारीपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुनेको सङ्ख्या बढेको छ । पर्वतमा अघिल्लो आवमा ९२ वटा उद्योग खारेज भएका थिएभने दुई सय ७४ वटा व्यवसाय दर्ता भएका थिए । कार्यालय प्रमुख नेपालीका अनुसार कृषि, पशुपन्छी फार्म, फलफूल खेती, गाईपालन, भैँसीपालन, व्यावसायिक बाख्रापालनलगायत अन्य घरेलु उत्पादनका उद्योग दर्ता गर्ने बढ्दै गएको छ । यसैबीच, उक्त कार्यालयले उद्योगको दिगोपनाका लागि २३ उद्योगीलाई प्रविधि र उपकरण सहयोग गर्ने भएको छ । पर्यटन पूर्वाधार विकास कार्यक्रमतर्फ यस वर्ष ५६ वटा योजना रहेकामा १९ वटा योजना सम्पन्न भएको र बाँकी योजना कार्यान्वयनको चरणमा रहेका कार्यालय प्रमुख नेपालीले बताए । रासस
नेपालमा काेकाकाेलाकाे व्यापार ४ अर्ब ५९ कराेड
काठमाडौं । नेपालमा कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालले चालु आर्थिक वर्षको ६ महिनामा ४ अर्ब ५९ करोड ९९ लाख रुपैयाँको काराेबार गरेको छ । कम्पनीले सन् २०२३ मा १२ अर्ब ६४ करोड १० लाख रुपैयाँको काराेबार गरेको थियो जुन सन् २०२२ को तुलनामा ०.९३ प्रतिशतले बढी हो । यस्तै कम्पनीले सन् २०२२ मा १२ अर्ब ५२ करोड ४० लाख रुपैयाँको काराेबार गरेको थियो भने २०२१ मा ८ अर्ब २९ करोड ४० लाख रुपैयाँको काराेबार गरेको थियो । बोटलर्स नेपाल लिमिटेडको सहायक कम्पनी बोटलर्स नेपाल तराई कम्पनी कोकाकोलाको नेपालका लागि आधिकारिक बिक्रेता हो । कम्पनीले साउथवेस्ट एसिया होल्डिङ लिमिटेडसँग सहकार्य गरेर नेपालमा सन् १९७९ देखि बिक्री गर्दै आएको छ । कम्पनीमा ७६ प्रतिशत हिस्सा बोटलर्स नेपालको छ भने गोर्खा ब्रुअरी लिमिटेडको २२ प्रतिशत छ । बाँकी हिस्सा सर्वसाधारणको छ । नेपालमा कोकाकोला उत्पादक बोटलर्स नेपालको दोस्रो तथा सबैभन्दा ठूलो कारखाना भरतपुरको गोन्द्राङमा छ । नेपाली पेय पदार्थ बजारमा ठूलो हिस्सा ओगटेको कम्पनीले अल्पकालीन कर्जाका लागि ३ अर्ब ३७ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको क्रेडिट रेटिङ एजेन्सी इक्राले जनाएको छ ।