वीरगञ्ज चिनी उद्योग पुनःसञ्चालन हुने आशामा पर्साका स्थानीय

पर्सा । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी उद्योग शीघ्र सञ्चालन हुने आशामा स्थानीयवासी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै चिनी कारखाना शीघ्र सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताएपछि स्थानीयवासी हर्षित हुँदै त्यसको व्यग्र प्रतीक्षा गरेका हुन् । केही दिनअघि चिनी कारखानाको स्थलगत अवलोकन गर्न आएको सङ्घीय संसदीय टोलीले पनि कारखाना पुनःसञ्चालन गर्न सकिने निष्कर्ष निकालेको थियो । प्रधानमन्त्रीबाट भएको उत्साहजनक घोषणा र संसदीय टोलीको निष्कर्षपछि स्थानीयमा रुग्ण उद्योग पुनःसञ्चालन हुने आशा जाग्नु सामान्य भएको वीरगञ्जका व्यापारी कृष्णकुमार कानु बताए । ‘लामो समयदेखि बन्द कारखाना पुनःसञ्चालन हुन्छ भन्ने लागेको थिएन तर सरकार प्रमुखको पछिल्लो घोषणा र संसदीय टोलीको निष्कर्षबाट चिनी कारखाना सञ्चालन हुनसक्छ भन्ने आशा हामीमा पलाएको छ’, उनले भने । चिनी कारखाना सञ्चालनपछि स्वदेशी चिनीको आपूर्तिमा सहजता र रोजगारी सिर्जनामा मद्दत पुग्ने उनले बताए । तत्कालीन सोभियत सङ्घको आर्थिक एवं प्राविधिक सहयोगमा २०२१ साल माघदेखि सञ्चालनमा आएको वीरगञ्ज चिनी कारखानाले कुनै बेला देशभर चिनीको मागलाई धान्ने गरेको थियो । राज्यको पनि लगानी रहेको उक्त चिनी उद्योग पुनःसञ्चालनमा ल्याउन सकिए मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले बताए । ‘चिनी कारखानालाई पूर्ण क्षमतामा चलाउन सकेमा देशलाई आवश्यक पर्ने चिनी उत्पादन गर्न सकिने अवस्था छ’, अध्यक्ष अग्रवालले भने, ‘अहिले जति किसानले उखु उत्पादन गरिरहेका छन्, त्यसैमा उहाँहरूको क्षमता अभिवृद्धि गरेर उद्योगलाई पूर्ण क्षमतामा चलाउन सकिए पनि चिनीको उत्पादन बढाउन सकिन्छ ।’ ‘हाम्रो देशका लागि चिनी उद्योगभन्दा उपयुक्त उद्योग कुनै छैन, यसले सहरको पैसा गाउँमा लैजान्छ, गाउँका किसानलाई नगद पैसा दिन्छ’ वीरगञ्ज चिनी उद्योग सञ्चालक समितिका पूर्वअध्यक्ष हरि गौतमले भने, ‘यस्तो उद्योग बन्द हुनु मुलुकका लागि दुर्भाग्य हो, त्यसैले यसको पुनःसञ्चालन आवश्यक छ ।’ हालै वीरगञ्ज चिनी कारखानाको स्थलगत अवलोकन गरेको प्रतिनिधिसभा,उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमितिले कारखाना पुनःसञ्चालन गर्न सकिने जनाएको थियो । ‘वीरगञ्ज चिनी कारखानाका विषयमा बाहिर जसरी प्रचार भएको छ, त्यो सबै प्रचार गलत रहेको पाइयो’, उपसमितिका संयोजक तथा बारा–४ का प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठले भने ‘विसं २०५९ देखि बन्द चिनी उद्योगको अवस्था हेर्दा फ्याक्ट्रीभित्र मेसिन छैन, चलाउनै सकिँदैन भनेर फैलाइएको प्रचार असत्य भएको हामीले पायौँ ।’ चिनी कारखानासँग जोडिएका प्राविधिक विज्ञ, अनुभवी साथीहरूसँग सल्लाह गरेर यो कारखानालाई कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारेमा छलफल गरेर अगाडि बढ्ने उनले बताए । चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमितिले रुग्ण चिनी उद्योग पुनःसञ्चालन गर्न सरकारलाई सुझाएको सांसद श्रेष्ठले बताए । करिब २० वर्षदेखि चिनी कारखाना बन्द भएपछि कारखानाका नाममा रहेको अधिकांश जग्गा अतिक्रमणको चपेटमा छ भने गोदामघर जीर्ण र मेसिनमा खिया लागेको छ । कारखाना परिसर घारीमा परिणत भएको छ । सुरुमा वार्षिक ९० हजार क्विन्टल चिनी उत्पादन गरेको सो उद्योगले पर्सा, बारा र रौतहटका किसान उखुखेतीमा जोडिएपछि आधुनिक मेसिन जडान गरेर वार्षिक एक लाख ३५ हजार क्विन्टल चिनी उत्पादन गर्दै आएको थियो । रासस

६ महिनाभित्र औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालनमा ल्याउन निर्देशन

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धनकुटास्थित औद्योगिक ग्राम सञ्चालनमा ल्याउने  तयारी गरिएको जानकारी दिए । औद्योगिक ग्रामको आज निरीक्षण एवं अवलोकन गर्दै मुख्यमन्त्री कार्कीले आगामी ६ महिनाभित्र औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालनमा आउने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । मुख्यमन्त्री कार्कीले ग्रामलाई पूर्णरुपमा सञ्चालन गरेमा पूर्वी पहाडी क्षेत्रको जनजीविकामा सहजता हुने जनाउँदै उनले भने, “यस क्षेत्रको स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना भएपछि मात्रै यो क्षेत्रका बासिन्दा लाभान्वित हुन सक्छन् ।” उनले सो अवसरमा औद्योगिक ग्रामका अध्यक्ष तिलक महतलाई औद्योगिक ग्रामभित्र उद्योग सञ्चालनको खाका १५ दिनभित्र तयार पारेर प्रस्तुत गर्न निर्देशन समेत दिनुभएको थियो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले औद्योगिक ग्राम परिसरमा निर्मित २७ मध्ये नौ वटा भवनमा लघु उद्योग सञ्चालनमा रहेको जानकारी दिए । सञ्चालित उद्योगमा ‘स्यानिटरी प्याड’ र खाद्यान्न सामग्री रहेका छन् ।औद्योगिक ग्राम स्थापनाको पाँच वर्ष बितिसक्दासमेत पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । बाउन्न रोपनी क्षेत्रफलमा फैलिएको सो ग्राम सञ्चालनमा आएपछि पूर्वी पहाडको घरेलु तथा साना उद्योगको प्रवद्र्धनमा टेवा पुग्ने बताइएको छ  ।

एआईआईबीलाई नेपालमा लगानी गर्न महासंघका अध्यक्ष ढकालको आग्रह

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को सञ्चालक समितिका पदाधिकारीहरु र नेपालको निजि छेत्रका प्रतिनिधिहरूसँग मंगलबार चन्द्रागिरीमा भएको भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एआईआईबीलाइ नेपालमा लगानी गर्न आग्रह गरे । सो भेटमा नेपालमा विभिन्न क्षेत्रमा लगानीका सम्भावित अवसरहरुको खोजीमा विशेष छलफल भएको थियो । एआईआईबीले यातायात, उर्जा र शहरी विकास लगायतका क्षेत्रमा कसरी बढी योगदान दिन सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो । नेपालको दिगो विकासमा निजी क्षेत्रले कसरी योगदान गर्न सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो । आफ्नो धारणा राख्दै महासंघका अध्यक्ष ढकालले नेपाल विकासको अपार सम्भावना भएको देश भएको बताए । उनले एआईआईबी बोर्डका पदाधिकारीहरूलाई निजी क्षेत्र एआईआईबी जस्ता संस्थाहरूसँग रणनीतिक साझेदारीमार्फत यस सम्भावनाको फाइदा लिन उत्सुक रहेको जानकारी दिए । ढकालले नेपाल रणनीतिक रूपमा दुई ठूला अर्थतन्त्र भारत र चीनको बीचमा रहेकोले नेपालमा उत्पादित वस्तुलाई विश्वका दुई ठूला बजारमा सहज पहुँच पुर्याउन सक्ने बताए । ढकालले नेपालमा पूर्वाधार, ऊर्जा, पर्यटन र कृषिमा लगानीको सम्भावना रहेको बताए । उनले नेपालले हासिल गरेको बाह्य क्षेत्रको स्थायित्वबारे पनि एआईआईबी अधिकारीहरुलाई जानकारी गराए । उनले मुलुक अहिले आन्तरिक उपभोग सुधारमा केन्द्रित भएको बताए । ढकालले एआईआईबी नेपालमा धेरै महत्त्वपूर्ण परियोजनाहरूमा प्रमुख साझेदार भएको छ, र हामी सहकार्यका लागि नयाँ मार्गहरू खोज्न उत्सुक छौं भनी जानकारी गराउनुभयो । महासंघका अध्यक्ष ढकालले नेपाल सरकारले देशको लगानीको वातावरण सुधार गर्न १२ वटा ऐन परिमार्जन गर्ने प्रक्रियामा रहेको ब्क्ष्क्ष्द्य बोर्ड पदाधिकारीहरुलाई जानकारी गराए । वहाँले राम्रो ‘डुइङ बिजनेस’ वातावरण बनाउन सरकार प्रक्रिया र नियमलाई सहज बनाउन गम्भीर रहेको बताए । वहाँले सम्भावित देशहरूसँग द्विपक्षीय लगानी सम्झौता गर्ने सरकारको योजनाबारे पनि अधिकारीहरूलाई जानकारी गराए । ढकालले द्विपक्षीय लगानी सम्झौताको ढाँचा छिट्टै टुंगो लाग्ने बताए । लगानीका बारेमा थप जानकारी दिँदै ढकालले आगामी अप्रिल २८ देखि २९ गतेसम्म आयोजना हुने नेपाल लगानी सम्मेलनबारे अधिकारीहरुलाई जानकारी गराए । उनले एआईआईबी प्रतिनिधिमण्डललाई यो जानकारी सबै सदस्य राष्ट्रहरूमा फैलाउन अनुरोध गरे । यसपटकको लगानी सम्मेलनको राम्रो पक्ष भनेको निजी क्षेत्रलाई पनि सहआयोजकका रूपमा समावेश गरिएको उनले बताए । ढकालले नेपालको आर्थिक विकासमा निजी क्षेत्रले अगुवाइ गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए । सो भेटवार्तामा एआईआईबीका पदाधिकारीहरु, सरकारी प्रतिनिधिहरु र निजि छेत्र का प्रतिनिधिहरु सामेल थिए ।