नेपाल वेयरहाउजिङ कम्पनीको कारोबार सञ्चालनमा
काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको कारोबार सञ्चालनमा आएको छ । कम्पनीले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी र सुनसरी जिल्ला, गढि गाँउपालिका-२, औरावनी स्थित वेयरहाउजिङ सञ्चालनमा ल्याएको हाे । उक्त वेयरहाउजिङको सुरक्षित तथा वैज्ञानिक साइलो भण्डारमा कृषक, अन्न संकलक र खाद्य व्यवसायीमा उत्साह देखिएको कम्पनीले जनाएको छ । नेपाल वेयरहाउजिङ कम्पनीको पर्सा र सुनसरी स्थित ईकाइहरूमा अन्न भण्डारणको कार्य सुचारू भइ तराईका भेगहरूवाट मकै वाली कृषकहरूले हार्भेष्ट गरेर बजार पठाउन थालेपछि मकैका संकलक, दाना कम्पनी आदिले लामो समयसम्म सुरक्षित तथा वैज्ञानिक भण्डारणको लागि नेपाल वेयरहाउसको साईलोमा मौज्दात गर्न थालेका छन् । यसबाट उपयुक्त समयमा बिक्री गरि किसान तथा व्यापारीहरुले आफ्नो कृषि उपजको अधिकतम मूल्य प्राप्त गर्न सफल हुनेछन् । कम्पनीका महाप्रबन्धक समिर राज सत्याल भन्छन्, ‘मकै, गँहु, र भटमास पूर्ण रूपले स्वचालीत मेशिनद्वारा सफाई, तथा केलाई गरी साईलोमा सुरक्षित तवरले भण्डारण गरिन्छ साथै यसरी साईलोमा राखिएको अनाजको तापक्रम, आद्रदता, कम्प्युटरको माध्यमबाट सुक्ष्म रूपले वैज्ञानिक व्यवस्थापन गरिन्छ ।’ यस प्रकारले भण्डारीकरण गरिएको अनाजको इन्स्योरेन्सको व्यवस्था पनि कम्पनी स्वंयले गरेको निज बताउँछन् । अबको दुई महिना मकै र गँहु को कटानी भई बजारमा आउने भएकोले दिनको २५–३० गाडी दिनहुँ आइरहेको सत्याल बताउँछन् । यसका लागि उनले अहिले २४ सै घण्टा कम्पनी सञ्चालनको व्यवस्था मिलाएको निजले बताउँछन् ।
‘बजेट उद्यमशीलतालाई प्रवर्द्धन गर्नेतर्फ केन्द्रित हुनुपर्छ’
काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षमा ल्याउन लागेको बजेट उद्यमशीलतालाई प्रवर्द्धन गर्ने तर्फ केन्द्रित हुनुपर्ने राजनीतिज्ञ तथा विज्ञहरूले बताएका छन् । उद्यमशील कांग्रेसले शनिबार राजधानीमा आयोजना गरेको ‘उद्यमशीलता, उद्यमी र बजेट’ शीर्षकको प्यालन छलफलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनेन्द्र रिजालले उद्यम र उद्यमशीलताको प्रवर्द्धन गर्न सके मात्र देश समृद्ध हुने बताए । नेता रिजालले सरकार र नेतृत्वको तीव्र इच्छाशत्तिले मात्र यो सम्भव हुने धारणा राखे । स-साना पूँजीबाट मात्र क्रमशस् ठूलो सफलता हासिल हुने भन्दै उनले त्यसलाई प्रबर्द्धन गर्नुपर्ने धारणा राखे । ‘स्थानीय उत्पादनहरुलाई बजारसम्मको बाटो राज्यस्तरबाटै निर्माण हुनुपर्छ र बजेटमार्फत नै कार्यक्रमहरु ल्याउनुपर्छ’ नेता रिजालले भने,’कसैले डोहोर्याएर मात्र सफल उद्यमी बन्न सकिन्न स्वयं व्यक्तिको पनि दृढ इच्छाशक्ति आवश्यक हुन्छ ।’ उनले शिक्षा पद्दती नै परिवर्तन गर्नुपर्ने भन्दै सीपमुलक दक्षता प्रदान गर्ने किसिमको शिक्षा आवश्यक रहेको बताए । कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले उद्यमी जन्माउने प्रमुख भूमिका राज्यकै हुने भन्दै आवश्यक प्रक्रिया सहज बनाउन सरकारलाई आग्रह गरे । नवउद्यमशीलतालाई प्रवर्द्धन गर्दै आएका प्रशिक्षक तथा लगानीकर्ता निरज खनालले नवउद्यमीहरु पटक पटक असफल हुनसक्ने सम्भावना रहेपनि हतास हुन भने नहुने बताए । ‘असफलतासँग डराउने मानिस उद्यमी बन्न सक्दैन’ उनले भने, ‘राज्यले पनि सफल व्यक्तिलाई मात्र प्रोत्साहन गर्न हुन्न । राज्य दरिलो अभिभावक बन्न सके उद्यमशीलता फस्टाउँछ ।’ कार्यक्रममा युवा उद्यमी निकिता आचार्यले सम्पूर्ण जोखिम आफैंले व्यहोर्नुपर्ने भएकाले उद्यमशीलता गर्न युवा वर्ग डराएको हुनसक्ने बताइन् । राज्य पक्ष दरिलो भए देशमा धेरै सफल नवउद्यमी जन्मनसक्ने उनको भनाइ थियो । युवा उद्यमी एवं ब्राण्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले सहजीकरण गरेको प्यानल छलफलमा उद्यमशील कांग्रेसका अध्यक्ष अश्विन सिटौलाले भएका नीति तथा कार्यक्रमको कार्यान्यवयन पक्ष फितलो हुँदा उद्यमशील क्षेत्रले फड्को मार्न नसकेको बताए । कार्यक्रममा उद्यमशील कांग्रेसका सदस्य वृतान्त खनालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपाल उद्योग परिसंघ र विश्वविद्यालयका उपकुलपतिबीच छलफल
काठमाडौं । नेपाल उद्योग परिसंघले शैक्षिक क्षेत्रका विषयमा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुसँग छलफल गरेको छ । परिसंघको शिक्षा परिषद्को संयोजनमा आज शुक्रबार पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा बिजु कुमार थपलिया, लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्ण बज्राचार्य र मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुव कुमार गौतमसँग अबको शिक्षाको प्रणाली तथा संयन्त्र कस्ता हुनुपर्ने, विश्वविद्यालय र उद्योगबीच सहकार्यको सम्भावना र बजार केन्द्रित शैक्षिक कार्यक्रमलगायतका विषयमा छलफल भएको हो । छलफलमा परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले उद्योगको आवश्यकता अनुरुप प्रयोगात्मक शिक्षा प्रणाली आवश्यक रहेको भन्दै यसका लागि परिसंघ विश्वविद्यालयहरुसँग समन्वय, सहकार्य गर्न तयार रहेको बताए । लुम्विनि विश्वविद्यालयका उपकुलपति बज्राचार्यले नेपालमा शिक्षाको गुणस्तर बृद्धी गर्न आवश्यक रहेको भन्दै पाठ्यक्रम बजार आवश्यकता अनुसारको बनाउन जरुरी रहेको बताए । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति थपलियाले नेपालले सञ्चालन गरिरहेका प्रोग्राममा पुर्नविचार गर्नुपर्ने बताए । शिक्षामा नयाँपनको आवश्यकता रहेको भन्दै पूर्वाञ्चल विश्वविद्यालयमा आर्टिफिसियल इन्टलिजेन्समा स्नातकतहको पाठ्यक्रम सञ्चालनमा ल्याईएको जानकारी गराए । मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति गौतमले विदेशी विद्यार्थीहरुलाई नेपालमा आर्कषित गर्न विश्वविद्यालयहरु र्याङकिङमा केन्द्रित हुनुपर्ने बताए । विद्यार्थिहरुले र्याङकिङमा हेरेर विश्वविद्यालय छनौट गर्ने भएकाले विश्वविद्यालयको र्याङकिङ बृद्धी गर्नुपर्ने आवश्यकता रहेको बताए । छलफलमा नेपाल उद्योग परिसंघ शिक्षा परिषद्का सभापति द्धिराज शर्मालगायत सहभागी थिए ।