अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाले गर्यो साढे ७ करोडको कारोबार
काठमाडौं । सात करोड ६५ लाख रुपियाँ बराबरको कारोबार गर्दै नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबारदेखि पाँच दिन चलेको घरेलु उद्योग महोत्सवमा दुई लाख ५३ हजार अवलोकनकर्ताहरुले अवलोकन गरेका छन् । महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मेलामा प्रत्यक्ष/अप्रत्यक्ष, अर्डर, बुकिङ गरिएका समेत गरी समग्रमा सात करोड ६५ रुपियाँ बराबरको कारोबार भएको जानकारी दिए । अर्थतन्त्र असहज भएको तथा अन्य चुनौतिहरुका बीच पनि उपभोक्ताहरुको स्वदेशी उत्पादन प्रति अपार माया देखिएको बताए । प्रदर्शनीका सहभागीहरुको चापबाट स्वदेशी वस्तु प्रयोग गर्नुपर्छ भन्ने चेतना बढ्दो क्रममा रहेको देखिएको उनले बताए । भुकम्प, कोरोना र आर्थिक मन्दीबाट अहिले लघु, घरेलु तथा साना उद्यमीहरु सताइएको भन्दै उनले साना उद्योगहरुको अर्थतन्त्रमा योगदान बढाउन सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताए । समापन समारोहमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपालको उत्पादन ‘ब्राण्डिङ’ गरेर विश्व बजारमा पु¥याउन सक्नुपर्ने र त्यसका लागि सरकारले पनि नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने बताए । पछिल्लो समय स्वदेशी उत्पादनप्रति उपभोक्ताको चासो बढिरहेको भन्दै अर्थसचिव मरासिनीले आन्तरिक उत्पादन र पुँजी सिर्जनामा बृद्धि नगरेसम्म मुलुकको अर्थतन्त्र सुधार नहुने बताए । अर्थतन्त्रमा देखिएको असजतालाई सहज बनाउने भनेको स्वदेशी उत्पादन बढाएर आत्मनिर्भर हुने र निर्यात बढाएर मात्रै सम्भव भएको उनको भनाई थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादन उपभोग गर्नका लागि उपभोक्तालाई उत्प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याउँदै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा कसरी लैजान सकिन्छ भनेर सरकारले योजना बनाइरहेको बताए । आगामी आर्थिक वर्षको बजेटमा स्वदेशी कच्चा पदार्थ उत्पादन हुने र त्यसको प्रयोग गरेर उत्पादन गर्ने उद्योगलाई प्रवद्र्धन गर्नेगरी केही कार्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । तयारी मालवस्तु र कच्चापदार्थमा कम्तीमा दुई तहको भन्सार दर फरक हुने गरी कर निर्धारण गर्न सकिने बारे छलफल भइरहेको उनले बताए । नेपाल मौरी पालक महासंघका अध्यक्ष सुवास चन्द्र घिमिरेले प्रदर्शनीकै दौरानमा स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह बिक्रेता र उपभोक्ताहरूबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएको महमेला प्रभावकारी भएको बताए । उनले मौरी पाल्ने किसान विस्थापनको संघारमा पुगेको भन्दै यो व्यवसायलाई सरकारले सुक्ष्म ढंगले सम्बोधन गर्नुपर्ने बताए । कार्यक्रममा प्रा. लोककृष्ण भट्टराई, कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत मिनबहादुर कुँवर, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडकी अध्यक्ष जानुकादेवी थापा, नेपाल घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष श्याम गिरी, वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, उपाध्यक्ष शोभा गुरुङलगायतले बोलेका थिए । लघु, घरेलु, साना तथा महिला उद्यमीद्धारा उत्पादित स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको यो पटक १७औं श्रृंखला हो । मुलुकभरका झण्डै छ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रतिविम्वित गर्ने प्रदर्शनीको मुख्य नारा ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने रहेको थियो । यसैगरी नेपाल मौरी पालक महासंघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडसँगको सहकार्यमा विविध अर्गानिक महका छुट्टै प्याभिलियन मार्फत प्रदर्शनी गरिएको थियो । नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहेको प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था रहेको थियो । मेलामा काठ/ढुङ्गा/धातु कला, सेरामिक्स, भाँडाकुँडाहरु बाँस, वेतबाँस आदिबाट निर्मित सजावटका सामानहरु, गलैंचा, राडीपाखी पश्मिनाका वस्तुहरु तथा अन्य ऊनी कपडाहरु, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरु, नवीनतम प्रविधिहरु, नेपाली हाते कागजका वस्तुहरु, परम्परागत हस्तकलाका सामानहरु, अर्गानिक मह, कृषि तथा वनमा आधारित उत्पादनहरु, शिक्षा, पर्यटन लगायतका सेवा प्रदायक संघसंस्थाहरु, वैकल्पिक/नविकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरणहरु र अन्य औद्योगिक वस्तुहरु प्रदर्शन गरिएको थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने मेलाको सह-आयोजकको रुपमा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, काठमाडौं महानगरपालिका, चन्द्रागिरी नगरपालिका, नेपाल मौरी पालक महासंघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेड र व्यवसायिक किट विकास निर्देशनालय छन् । यस्तै प्रवद्र्धकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगपालिका रहेका छन् । अफिसियल बैंक कृषि विकास बैंक रहेको थियो भने राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरिएको यस मेलाको व्यवस्थापन इन्ट्रोडक्सन ट्रेड सोजले गरेको थियो ।
काठमाडौं उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छ : उद्योगमन्त्री
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौं उपत्यकामा सञ्चालित उद्योगलाई अन्यत्र सार्नुपर्ने धारणा व्यक्त गरृका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका विभिन्न मागसहितको आज मन्त्रालयमा ज्ञापनपत्र बुझ्दै उनले भने, ‘विकसित मुलुकमा सहरी क्षेत्रभन्दा टाढा छुट्टै स्थानमा उद्योग निर्माण गरिएका छन्, हामी कहाँ पनि सुरक्षित ठाउँमा औद्योगिक क्षेत्र निर्धारण गरेर त्यहाँ उद्योग निर्माण गर्नुपर्छ ।’ उनले क्षेत्र निर्धारण गरेर उद्योगका लागि आवश्यक पूर्वाधार निर्माण सरकारको जिम्मेवारी भएको बताए । मन्त्री भण्डारीले ग्रील तथा स्टील व्यवसायीका मागका सन्दर्भमा उद्योग मन्त्रालयबाट अधिकत्तम माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै व्यवसायीलाई नयाँ प्रविधिको प्रयोग गर्न आग्रह गरे । अन्य मुलुकबाट कच्चा पदार्थ ल्याएर प्रतिस्पर्धा गर्न नसकिने उल्लेख गर्दै उनले यहाँ उत्पादन हुने वस्तुको बजार माग बढाउन विदेशी सामग्री प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए । महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठको नेतृत्वको टोलीसित मन्त्री भण्डारीले नेपालमा उत्पादन हुने सामग्री विदेशबाट आयात गर्दा भन्सार महसुल बढाउनुपर्ने धारणा राखे । उद्योग मन्त्रालयले भन्सार महसुल बढाउने विषयमा अर्थ मन्त्रालयसित समन्वय गर्ने प्रतिबद्धता जनाउँदै उनले व्यवसायीलाई अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन आग्रह गरे । साथै, मन्त्री भण्डारीले ग्रील व्यवसायीलाई नयाँ प्रविधिमा आधारित विभिन्न सीप तथा तालिमका लागि मन्त्रालयबाट सहयोग रहने प्रतिबद्धता जनाए । महासंघले ग्रील तथा स्टील व्यवसायलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्ने वातावरण बनाइदिनुपर्ने लगायतका विभिन्न सात बुँदासहितको ज्ञापनपत्र बुझाएको छ ।
पुष्टकारीदेखि कार उत्पादनसम्म, हजारदेखि अर्बौंको यात्रा
काठमाडौं । ‘पुष्टकारीदेखि कार उत्पादनसम्म, हजारदेखि अर्बौंको यात्रा। यो समाचारको हेडलाइन पढ्दा र सुन्दा धेरैलाई विदेशी सञ्चार माध्यममा पढेको जस्तो महसुस हुन सक्छ । किनकि परिश्रम र सफलताका कथाहरू विदेशमा मात्रै हुन्छन् भन्ने बुझाइ र मानसिकता हाम्रो मानसपटलमा बसिसकेको छ । तर, यो स्वदेशकै सफलताको कथा हो । देशको एउटा क्षेत्रबाट उदाएर राजधानी काठमाडौंसँगै देशभरि धुम मच्चाइरहेको व्यावसायिक घरानाको कथा हो यो । कुनै पनि क्षेत्रको उच्च तहमा पुग्दाको सकस र संघर्ष आफैंमा गज्जबको हुन्छ । त्यो सकस र संघर्षसँगै उसको चर्चा र परिचर्चा पनि उत्तिकै हुन्छ । तर, पोखराबाट व्यावसायिक उडान भरेको लक्ष्मी ग्रुप शालिन, शान्त र आक्रामक रूपमा देशभरि आफ्नो व्यावसायिक साम्राज्य बिस्तारको रणनीतिमा छ । अहिले देशको एउटा महत्वपूर्ण र सफल व्यावसायिक घरानाको रूपमा परिचित लक्ष्मी ग्रुपको सफलताभित्रको संघर्ष भने जोकोहीका लागि पनि मननयोग्य र अनुसरणयोग्य छ । जुन व्यवसायको नेतृत्व गरिरहेका छन् गणेश बहादुर श्रेष्ठ । श्रेष्ठकै लगनशीलता, संघर्ष र व्यवसायप्रतिको इमान्दारिताले अहिले उनको सम्पूर्ण परिवार व्यवसायमा छ । २००३ सालमा जन्मिएका श्रेष्ठ ७८ वर्षको पुगिसक्दा पनि व्यवसायमै सक्रिय छन् । उनका छोराहरू अन्जन, निरञ्जन र निराकर पनि बुबाकै पथमा छन् । सुरुमा श्रेष्ठको परिवारको किराना पसल थियो । उनले जिविकोपार्जनका लागि फोटोग्राफीको पनि काम गरे । तर, त्यसबाट सन्तुष्टि मिल्ने किसिमको आम्दानी नभएपछि उनले बाटो मोडे । वि.स. २०२१ सालमा पोखराकै पीएन क्याम्पसमा टाइपिस्टका रूपमा काम गरे । त्यसबाट पनि काम छोडेर वि.सं २०२३ सालमा तत्कालीन भूमि सुधारमा खरदारको रूपमा तीन वर्ष काम गरे । उनको चाहना थियो व्यवसाय । सरकारी जागिरबाट बाहिरिए । अब उनले गाई पाल्ने सोच बनाएर नेपालगञ्ज पुगे । आफ्नो व्यावसायिक उडानको पहिलो चरण सुरु गर्दै उनले भने, ‘केही गर्नुपर्छ भनेर नेपालगञ्ज गएँ, त्यहाँ गाई पाल्छु, एक/दुई गाई दिनु पर्यो भनेर आफन्तलाई सहयोग मागेँ तर आफन्तले गाई पाल्नेभन्दा पनि पुष्टकारी बनाउन सल्लाह दिनुभयो, केही उपकरण पनि दिनुभयो, त्यहीँबाट सुरु भएको हाे मेरो व्यावसायिक जीवन ।’ उनले २०३० सालदेखि सुरु गरे पुष्टकारी उत्पादन । उसो त उनका पुर्खाले पनि त्यही व्यवसाय गर्थे । तर, उनले त्यसलाई आधुनिक ढंगबाट सुरु गरे । २०३० सालमा बुटवलमा ‘लक्ष्मी मिठाइ भण्डार’ नामाकरण गरी पुष्टकारी र चकलेटहरूको उत्पादन सुरु गरे । आफन्तहरूले दिएको चकलेट बनाउने उपकरणबाट उनी सफल बने । त्यसलाई उनले उद्योगका रूपमा विकास गरे । अहिले अधिकांशको रोजाइमा पुष्टकारी पर्छ । नेपाली चकलेटको बजारमा ६० प्रतिशत हिस्सा लक्ष्मीले ओगट्दै आएको छ । सुरुवातमा लक्ष्मी मिठाइ भण्डार पनि आफूसँग भएको केही रकम र आफन्तसँग लिएको ऋणसहित कुल २ हजारले स्थापना गरेको उनीले बताउँदै आएका छन् । विस्तारै राम्रो हुँदै गएपछि उनी पोखरा औद्योगिक क्षेत्रमा सरे । पछि लक्ष्मी मिठाइ भण्डारबाट नाम परिवर्तन गरेर जय माँ लक्ष्मी कन्फेक्शनरी उद्योग राखे । त्योसँगै तीन नयाँ कम्पनी शुभलक्ष्मी, महालक्ष्मी र महाशक्ति स्थापना भए । यी कम्पनीले विभिन्न चकलेट तथा मिठाइहरू उत्पादन गर्न थाले । यो समूहले विस्तारै थप कम्पनी खोल्दै गयो । जय माँ र जया कन्फेक्शनरिज स्थापना गरेर थप उत्पादन बढाउनतर्फ यो समूह लाग्यो । यिनै कम्पनीहरूबाट ओरेञ्ज बल, लक्ष्मी स्वीट्स, रिमझिम बलजस्ता लोकप्रिय चकलेट उत्पादन भए । २०५२ मा यो समूहले सबै कम्पनीलाई मर्ज गरेर सुजल फुड्सको स्थापना गर्यो । सुजल फुड्सका लोकप्रिय उत्पादनमा ‘चोको फन’ र ‘सुजल गम’ चुइगम रहेका छन् । लक्ष्मी ग्रुपअन्तर्गतको सुजल डेरीले सुजल ब्राण्डका दुग्धपदार्थ उत्पादन गर्दै आएको छ । कम्पनीले उक्त दूधबाट स्ट्याण्डर्ड दूध, होल दूध, गोल्ड दूध, दही, घिउ, नौनी, पनिर, क्रीम, चेदार, चिज, बटर, आइसक्रिम र स्मार्ट फ्लेबर मिल्क उत्पादन तथा बिक्री गर्दै आएको छ । यो कारखाना आईएसओ प्राप्त देशको पहिलो कम्पनी हो । डेरी क्षेत्रमा एउटा पायोनियर व्यावसायिक समूह लक्ष्मी हो । हाल यस कम्पनीको फ्याक्ट्री पोखरामा छ । कम्पनीका काठमाडौंमा पनि डिलर छन् । योसँगै यस व्यावसायिक समूहले व्यवसाय विस्तार गरिरहेको छ । अहिले दर्जनौं क्षेत्रमा लगानी गरेर आफ्नो व्यावसायिक साम्राज्य विस्तार यो समूहले गरिरहेको छ । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इण्टरकण्टिनेण्टलले वि.सं २०६६ सालबाट हुण्डाई कम्पनीका गाडी लोकल डिलरको रूपमा बिक्री गर्न थालेको हो । यो समूह हुण्डाईका गाडी बिक्री गर्न थालेको छोटो समयमै हुण्डाई कम्पनीको आधिकारिक डिलर बन्न सफल बन्यो । अहिले नेपालमै हुण्डाईका गाडी एसेम्बल गर्ने अवस्थामा यो व्यावसायिक घराना आइपुगेको छ । आज (बिहीबार) लक्ष्मी समूहले हुण्डाई कम्पनीसँगको सहकार्यमा नेपालमै हुण्डाईका गाडी उत्पादन गर्न नवलपरासीको रामग्राम–६ मा एसेम्ब्लिङ प्लान्ट उद्घाटन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सो प्लान्टको उद्घाटन गरेका छन् । अब हुण्डाईका नेपालमै बन्नेछन् । यो सो व्यावसायिक समूहको मात्रै गर्वको विषय होइन समग्र देशका लागि सुखद समाचार हो । यो समूहले कमर्सियल भइकलको पनि बिक्री वितरण गर्दै आएको छ । योसँगै सो समूहले स्टील, इलेक्ट्रोनिक्स, ट्रेडिङ, स्वास्थ्य र प्लाष्टिक र कृषि क्षेत्रमा पनि व्यवासय गर्दै आएको छ । आगामी दिनमा थप व्यवसाय बिस्तार गर्ने रणनीति बनाएको यो समूहले करिब दुई हजारलाई रोजगारी दिएको छ । नेपालको औद्योगिक विकासमा महत्वपूर्ण योगदान दिएका सफल व्यवसायी गणेश श्रेष्ठले अहिले आफ्नो व्यवसायको जिम्मेवारी छोराहरूमाथि सुम्पेका छन् । उनका छोरा अञ्जन श्रेष्ठ उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका रूपमा काम गरिरहेका छन् । जिल्लाबाट उदाएर केन्द्रसम्म यति ठूलो प्रभाव पार्न सकेको व्यावसायिक समूह नेपालमा लक्ष्मी ग्रुप मात्रै छभन्दा अतिशयोक्ति नहोला ।