निजी क्षेत्रको भन्दा पनि सरकारको मनोबल उठाउनुपर्ने देखियो : शेखर गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान शेखर गोल्छाले सरकारको मनोबल उठाउनुपर्ने स्थिति देखिएको बताएका छन् । आर्थिक वर्ष २०८१/८२ को पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा उनले निजी क्षेत्रको मनोबल कसरी उठाउने भनेर आवाज र चर्चा चलेका बेला सरकारकै मनोबल उठाउनुपर्ने देखिएको बताएका हुन् । उनले अहिलेको कमजोर अर्थतन्त्र समाधान गर्ने बजेट नल्याए समस्या झनै बल्झिन सक्ने बताए । नेपाल लगानीका लागि उच्च लागत भएको मुलुक भएको पनि उनको भनाइ छ । उनले सम्पत्ति अभिलेखिकरण गर्न सकियो भने अर्थतन्त्रले ठूलो फड्को मार्ने धारण राखे ।
युरोपीयन कमिसनका उपनिर्देशक फेरानले नेपाली वस्तुको बजार विस्तारमा सघाउने
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युरोपीयन कमिसनका उपनिर्देशक मिरियाम फेरानसँग बुधबार विविध विषयमा कुराकानी भएको छ । काठमाडौंको सोल्टी होटलमा भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपालको आर्थिक–सामाजिक विकासका लागि युरोपियन युनियनले प्रदान गर्दै आएको निरन्तर सहयोग र सहायताको उच्च प्रसंशा गरे । उनले भने, ‘नेपाल र युरोपियन युनियन बीच सम्बन्धको पृष्ठभूमी, नेपाल र युरोपियन युनियनबीच विगत सन् १९७४ देखि घनिष्ठ सम्बन्ध रहिआएको छ, युरोपियन युनियनसँगको साथ र सहकार्यलाई नेपाल सरकारले उच्च प्राथमिकता दिने गरेको छ ।’ मन्त्री भण्डारीले लोकतन्त्र, स्वतन्त्रता र बहुपक्षीयताको आवश्यकता एवं औचित्यका विषयका बारे नेपाल र युरोपियन युनियनको साझा धारणा रहेको बताए । उनले साझा लक्ष्यका रुपमा रहेका दिगो विकासका लक्ष्य प्राप्त गर्न र विश्वव्यापी रहेका महामारी एवं जलवायु परिवर्तन जस्ता विभिन्न सङ्कटलाई सम्बोधन गर्नका निम्ति बहुक्षेत्रीय सहायताको बढ्दो आवश्यकता रहेको उल्लेख गरे । ‘नेपाल अल्पविकसित राष्ट्रको स्तरबाट विकासशील राष्ट्रको स्तरमा सन् २०२६ सम्ममा स्तरोन्नती हुने जमर्को गरिरहेको छ, यस ऐतिहासिक रुपान्तरणलाई दिगो बनाउन नेपाल सरकारलाई विभिन्न विकास साझेदारहरुका साथै युरोपियन युनियनबाट प्राविधिक र आर्थिक सहयोग आवश्यकता रहेको छ’, मन्त्री भण्डारीले भने । नेपाल र युरोपियन युनियनले सहयोग तथा पारस्परिक सम्मानमा आधारित सम्बन्ध र सहकार्य गर्दै आएको उनको भनाइ थियो । उनले भने, ‘यस दीर्घकालीन साझेदारीको क्रममा युरोपियन युनियन नेपाली वस्तु तथा सेवा निर्यातका लागि एक प्रमुख गन्तव्यका रूपमा विकसित भएको छ, हाम्रा निर्यातयोग्य वस्तुलाई सहज बजार पहुँच सुनिश्चित हुने व्यवस्थाका लागि गराउन हामी अनुरोध गर्न चाहन्छौं, व्यापार क्षमता अभिवृद्धि र मूल्य शृङ्खला विकासमा युरोपियन युनियनको महत्वपूर्ण योगदानले नेपालको आर्थिक उन्नतिलाई बढावा दिन महत्वपूर्ण भूमिका खेलेको छ ।’ मन्त्री भण्डारीले आगामी दिनमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्ध अझै प्रगाढ हुँदै जाने उल्लेख गर्दै सहकार्यलाई अझै गहिरो बनाउँदै पारस्पारिक सम्बन्धलाई अगाडि बढाउने बताए । ‘हामी कोरोनापछिको आर्थिक पुनरूत्थान र विकासशील राष्ट्रको स्तरोन्नतीको प्रयासमा रहेको हुनाले विभिन्न विकास निर्माणका कार्यमा थप लगानीको आवश्यकता रहेको छ’, उनले भने । सो क्रममा उपनिर्देशक फेरानले नेपाली वस्तुको बजार विस्तारमा सघाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले उद्योगमन्त्री भण्डारीलाई नेपाली वस्तु युरेपियन मुलुकमा निर्यातको वातावरण बनाउन आग्रह गरिन् । उनले भनिन्, ‘हामी नेपाली वस्तुको युरोपमा व्यापार विस्तार होस् भन्ने चाहन्छौँ, त्यसका लागि हामीबाट गर्नुपर्ने पहलमा कमी हुने छैन ।’
१३ प्रतिशत भ्याटलाई १० प्रतिशतमा झार्नुपर्छ : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई सम्बोधन गरेको बताएका छन् । आर्थिक वर्ष २०८१/८२ को पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम निजी क्षेत्रलाई प्रत्साहन दिने भएकाले अब आउने बजेट हतोत्साहित हुने गरी आउन नहुने बताए । ‘नयाँ चरणको आर्थिक सुधार कार्यक्रम सञ्चालन गर्नुपर्ने छ, निजी क्षेत्रलाई हतोत्साहित हुने गरी बजेट आउनु हुँदैन,’ उनले भने । १४ निकाय एकल बिन्दु सेवामा बसेर मुलुकभरि व्यावसायिक वातावरण बनाउनुपर्ने उनको भनाइ छ । यस्तै उनले राजनीतिक स्थिरता नहुदा कर्माचा सरुवा हुने प्रचलन बढेको पनि बताए । उनले भने, ‘अब कम्तीमा २ वर्ष कर्मचारी सरुवा नहुने व्यवस्था गर्नुपर्छ, लगानीकर्ताको मनोबल बढाउन १ सयभन्दा बढी रोजगारी दिने गरी स्थापना भएका उद्योग व्यवसायलाई प्राथमिकता राख्नुपर्छ ।’ आयात प्रतिस्थापन र उत्पादनमुलुक उद्योगलाई ५ वर्ससम्म ५० प्रतिशत विद्युत महसुल छुट दिनुपर्ने उनको भनाइ छ । अध्यक्ष ढकालले मौद्रिक र वित्त नीतिबीच तालमेल हुनुपर्ने बताए । तिनै तहमा लाग्ने कर फरक भए पनि बुझाउनुपर्ने ठाउँ एउटै हुनुपर्ने उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा धेरै कर्जा गएको बताउँदै उनले बैंक र निजी क्षेत्रले व्यवसायीको मनोबल बढाउने काममा बढी जोड दिनुपर्ने बताए । सबै भन्सारमा एक्सरे मेसिन जडान गर्नुपर्ने उनको माग छ । यस्तै उनले जलविद्युत आयोजनामा ५० प्रतिशत छुटको व्यवस्थालाई निरन्तरता दिनुपर्ने, खनिज र नदिजन्य पदार्थ निर्यातको व्यवस्थालाई बजेटमा स्पष्ट पार्नुपर्ने, नेपाली सिमेन्ट उद्योगले सिमेन्ट निर्यात गर्न थालेकाले सडक बाटो पनि ढलान गर्ने व्यवस्था गर्नुपर्ने बताए । १३ प्रतिशत भ्याटलाई ३ वर्षमा क्रमशः घटाएर १० प्रतिशतमा झार्नुपर्ने उनको भनाइ छ । यस्ता छन् बजेटका लागि ढकालले दिएका सुझाव [pdf id=483798]