प्रिमियममा सेयर निष्कासन गरेका ४ सिमेन्ट कम्पनी : दुई नोक्सानमा, दुईको नाफा घट्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म ४ वटा कम्पनीलाई प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेकै कारण पनि यी कम्पनीहरू निकै चर्चामा थिए । तर, गत आर्थिक वर्षको चौथो त्रैमासिक विवरण हेर्दा यी ४ कम्पनीकाे वित्तीय अवस्था भने कमजोर बन्दै गएको देखिन्छ । नेप्सेमा सूचीकृत शिवम् सिमेन्ट, घोराही सिमेन्ट,  सर्वोत्तम सिमेन्ट र सोनापुर मिनरल्स आयल कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका छन् । वित्तीय विवरणअनुसार घोराही सिमेन्ट र सोनापुर मिनरल्स नोक्सानमा छन् भने सर्वोत्तम र शिवम्‌काे अघिल्लो आवको सोही अवधिको तुलनामा नाफा घटेकाे छ । सरकारले बजेटमार्फत करिब आधा दशकदेखि गरेको प्रयास स्वरूप ४ उत्पादनमूलक कम्पनी पब्लिक कम्पनी बनेका थिए । नेपाली सेयर बजारमा उत्पादनमूलक कम्पनीलाई प्रवेश गराउन भन्दै सरकारले उक्त निर्णय गरेको थियो । नोक्सानमा घोराही र सोनापुर मिनरल्स  गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म घोराही सिमेन्ट १ अर्ब २१ करोड ८८ लाख ८४ हजार रुपैयाँ नोक्सानीमा रहेको वित्तीय विवरणले देखाउँछ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा ६ करोड ३१ लाख ५३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । घोराही सिमेन्टको प्रतिसेयर आम्दानी २६.६८ रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ २०७.९३ रुपैयाँ रहेको छ । कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता ४३५ रुपैयाँमा सेयर निष्कासन गरेको थियो । त्यस्तै, सोनापुर मिनरल्स एण्ड आयल चौथो त्रैमाससम्ममा ४६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ करोड ६२ लाख रुपैयाँ नाफा गरेको थियो । सोनापुरको प्रतिसेयर आम्दानी १५.२६ रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६३.२४ रुपैयाँ रहेको छ । कम्पनीले प्रिमियम जोडेर प्रतिकित्ता २२५ रुपैयाँमा सेयर निष्कासन गरेको थियो । शिवम् र सर्वोत्तम सिमेन्टको नाफा घट्यो गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा शिवम् सिमेन्टको नाफा अघिल्लो आवको तुलानामा घटेको छ । कम्पनीको नाफा घटेर २५ करोड २ लाख २२ हजार रुपैयाँ छ । शिवम्‌ले अघिल्लो आवको सोही अवधिमा ५९ करोड ४७ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ रहेको छ भने नेटवर्थ १८९.०२ रुपैयाँ रहेको छ । कम्पनीले प्रिमियम जोडेर ३०० रुपैयाँमा सेयर निष्कासन गरेको थियो । त्यस्तै, असार मसान्तसम्म सर्वोत्तम सिमेन्टले १७ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २१ करोड ३८ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३.७५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९८.८३ रुपैयाँ रहेको छ । कम्पनीले प्रिमियम जोडेर प्रतिकित्ता ३६१.९१ रुपैयाँमा सेयर निष्कासन गरेको थियो ।  

जुम्लामा ४ हजार बढी साना तथा घरेलु उद्योग दर्ता, २४ लाख राजस्व संकलन

फाइल फोटो जुम्ला । जिल्लामा साना तथा घरेलु उद्योग दर्ताको क्रम बढेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा हालसम्म विभिन्न प्रकृतिका ४ हजार २ सय १६ उद्योग दर्ता भएका हुन् । गत आवमा २ सय ४ नयाँ साना उद्योग दर्ता भएका उक्त कार्यालय निमित्तप्रमुख विनोदकुमार बानियाँले बताए । दर्ता भएका उद्योगमध्ये उत्पादनमुलकतर्फ १०, कृषि तथा वनजन्य १ सय २२, सेवामूलक ६८ छन् । गत आवमा २४ लाख राजस्व संकलन भएको छ । यसैबीच, उक्त कार्यालयले गत आवमा आठवटै स्थानीय तहका दुई सय चार जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको जनाएको छ ।

नेपालगञ्ज औद्योगिक क्षेत्र : ३४ उद्योगमा ८ सयलाई रोजगारी, अधिकांश कामदार भारतीय

राँझा । नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका उद्योग र प्रतिष्ठानमा ८ सय जनाले रोजगारी पाएका छन् । औद्योगिक क्षेत्रमा सञ्चालित ३४ उद्योगमा उनीहरूले रोजगारी पाएका हुन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख इञ्जिनियर प्रकाश केसीका अनुसार रोजगारी पाउनेमा ९५ प्रतिशत पुरुष छन् । विगतको तुलनामा हाल उत्पादनमा कमी भए पनि यहाँका सबै उद्योग सञ्चालनमा छन् । ती उद्योगमा विगतमा एक हजारभन्दा बढीले रोजगारी पाएका थिए । औद्योगिक क्षेत्रमा अधिकांश कामदार भारतीय नागरिक छन् । नेपालीलाई रोजगारीमा प्राथमिकता दिन माग गर्दै आए पनि आफूहरू सफल हुन नसकेको नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य पूर्ण केसीले बताए । विसं २०३० मा २ सय ३३ रोपनीमा स्थापना भएको औद्योगिक क्षेत्रमा हाल एउटा उद्योग बन्द छ । पूर्ण क्षमतामा सञ्चालित औद्योगिक क्षेत्रमा तामा, पित्तल, काँस, आल्मुनियमका भाँडा, खाद्य सामग्री, विद्युतीय सामग्री, प्लाइउड, ढोका, ट्रान्सफर्मर र प्लास्टिकका भाँडाकुँडा उत्पादन हुने गरेका छन् । औद्योगिक क्षेत्रभित्र दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित भेरी प्राविधिक शिक्षालय पनि सञ्चालनमा छ ।