जनतामा देखिएको निराशा हटाउन सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान समयमा देखिएको आर्थिक मन्दी, व्यापार घाटा, उद्योग तथा व्यावसायिक क्षेत्रका समस्या सहजीकरण गरी जनतामा देखिएको निराशा हटाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौंमा आज आयोजना गरिएको सुदूरपश्चिम समाजको १५औं साधारणसभामा मन्त्री भण्डारीले वर्तमान सरकार जनताको निराशा अन्त्य गरी आशा जगाउने बाटोमा अग्रसर रहेको बताए । उनले भने, ‘नेपालको उद्यमसिलता र औधोगिक क्षेत्रको विकास गर्न मैले ध्यान केन्द्रीत गरेको छु ।’ मन्त्री भण्डारीले विशिष्ट परिस्थितिमा बनेको वर्तमान सरकारले राष्ट्रिय चुनौतीलाई अन्त्य गर्ने जिम्मेवारी वहन गरिरहेको बताए । उनले सुदूरपश्चिमेलीको मौलिक पर्व गौरालाई अन्तराष्ट्रियस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘विगतमा सुदूरपश्चिममा मात्रै मनाइने गौरा पर्व अहिले देशभर तथा भारत, अमेरिकालगायतका देशमा समेत मनाउन थालिएको छ, यसको मौलिक स्वरुपको विस्तार गर्नुपर्छ ।’ गौरा पर्व विगतमा थौरै व्यक्तिले मनाउँदा साँघुरो बाटोमा सीमित भएको र अहिले राजमार्गका रुपमा परिणत भएको उनको भनाइ थियो । गौरा पर्वको विशेषतालाई पाठ्यक्रममा समेत समावेश गर्नु जुरुरी रहेको तथा यस पर्वको महत्व, गरिमा र सान्दर्भीकता देखाउन सके मात्रै राज्यको संरक्षण र सहुलियत प्राप्त गर्न सकिने मन्त्री भण्डारीको भनाइ थियो । सो अवसरमा मन्त्री भण्डारीले ‘सुदूरकि सोराई गोःरा विशेष’ पुस्तकसमेत विमोचन गरेका थिए । उक्त पुस्तकमा सुदूरपश्चिमका विभिन्न जिल्ला तथा ठाउँ विशेषका गौरा पर्वका विषयमा व्याख्या गरिएको पुस्तकका प्रधान सम्पादक डा. हरिदत्त पाण्डेयले जानकारी दिए ।
चितवनमा ८ सय बढी उद्योग तथा व्यावसाय बन्द
चितवन । जिल्लामा दर्ता भएर सञ्चालमा रहेका ८५६ वटा उद्योग तथा व्यावसायिक फर्महरू बन्द भएका छन् । गत आर्थिक वर्षमा उद्योगतर्फ ३७६ र व्यावसायिक फर्मतर्फ ४८० बन्द भएका हुन् । उद्योग तथा वाणिज्य कार्यालय चितवनका अनुसार जिल्लामा दर्ता हुने उद्योग तथा व्यावसायीक फर्मभन्दा खारेज हुनेको संख्या बढेको हो । गत आर्थिक वर्षमा यहाँ उद्योगतर्फ ४३९ वटा दर्ता भएका छन् भने व्यावसायिक फर्मतर्फ ४५१ वटा दर्ता भएका छन् । कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार उद्योगतर्फ खारेज हुनेमा १ सय ७७ वटा कृषि तथा वनजन्य उद्योग छन् । यस्तै, उत्पादनमूलक उद्योग ८३ वटा, पर्यटनमूलक उद्योग ४२ वटा र सेवामूलक उद्योग ७४ वटा बन्द भएको खानालले जानकारी दिए । गत आर्थिक वर्षमा २ हजार १ सय ९ वटा उद्योगहरू नवीकरण गरिएको छ । वाणिज्यतर्फ २ हजार ६ सय ८९ वटा व्यवसाय नवीकरण भएको उनले जानकारी दिए । जिल्लामा हालसम्म १६ हजार तीन सय ५० उद्योगको अभिलेख रहेको र २० हजार १ हजार ४१ वटा व्यावसायिक फर्म रहेका छन् ।
नेपालमा आयात हुने वस्तुको गुणस्तर मापन अनिवार्य लागु गर्नुपर्छ : अध्यक्ष अग्रवाल
काठमडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापन अनिवार्य लागु गर्न सरकारसँग आग्रह गरेका छन् । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले नेपालमा हाल करिब एक हजार १५० वटा वटा वस्तु तथा सेवाहरुमा नेपाल गुणस्तर निर्धारण गरिए पनि सामान्यतया नेपालमा ५ हजार भन्दा बढी वस्तुहरु आयात हुने गरेको बताए । अधिकांश आयातित वस्तुहरु कस्तो गुणस्तरका छन् भन्ने नै यकिन नरहेको जानकारी दिए । उनले यसले उपभोक्ता अधिकार हनन हुनुका साथै स्वदेशमा उत्पादन हुने वस्तुहरुको बजारलाई समेत नकारात्मक असर गरिरहेको उल्लेख गरे । आयातित वस्तुमा निगरानी नहुने गरेको पनि बताए । स्वदेशी उद्योगहरुको संरक्षण र आम मानिससँग प्रत्यक्ष सरोकार राख्ने यस्ता वस्तुहरु गुणस्तरीय हुन आवश्यक भएको बताए । भारतसँग धेरै व्यापार हुने भएकाले भारत गुणस्तर र नेपाल गुणस्तर ऐन एक अर्कालाई मान्य हुनेगरी समझदारीका लागि पहल गर्न अनुरोध गरे । ‘नेपालमा आयात हुने वस्तुहरुको गुणस्तर मापन अनिवार्य लागू गर्न पनि अनुरोध गर्दछु । भारतसँग धेरै व्यापार हुने भएकाले भारत गुणस्तर र नेपाल गुणस्तर ऐन एक अर्कालाई मान्य हुनेगरी समझदारीका लागि पहल गर्न अनुरोध गर्दछु’, उनले भने । अध्यक्ष अग्रवालले आयातित वस्तुमा पनि लेभलिङ अनिवार्य गर्नुपर्ने बताए । आयातित वस्तुमा लेभलिङ लगाइएको तर भन्सार पास भएपछि मात्रै लगाइने गरेको भन्दै आयातित वस्तुमा भन्सार बिन्दुमै लेभलिङ गर्न माग गरे । उपलब्ध भएसम्म स्वदेशी वस्तुलाई खरिद गर्ने कुरा कडाईका साथ लागू गर्न आग्रह गरे ।