एमएडब्लु इन्टरप्राइजेजको अल्पकालीन ऋण रेटिङ स्थगन

काठमाडौं । नेपालको पहिलो क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले मोरङ अटो वर्क्स (एमएडब्लु) इन्टरप्राइजेज प्रालिको अल्पकालीन ऋण रेटिङ स्थगन गरेको छ । एमएडब्लुले आग्रह गरेपछि उसको अल्पकालीन ऋण रेटिङ स्थगन गरिएको इक्राले जनाएको छ । एमएडब्लुले ४ अर्ब २१ करोड रुपैयाँबराबर अल्पकालीन ऋणको रेटिङ गराएको थियो । इक्राले यो अल्पकालीन ऋणलाई ‘ए थ्री प्लस’ रेटिङ दिएको थियो । इक्राका अनुसार एमएडब्लुलाई ऋण उपलब्ध गराउने प्रमुख बैंकहरूले पनि यसमा कुनै आपत्ति जनाएका छैनन् । रेटिङ स्थगन गर्दा मूल्यांकन संवेदनशीलता र वित्तीय सूचक समेटिएका छैनन् । एमएडब्लु सन् १९७५ देखि नेपालका लागि यामाहाको मोटरसाइकल र स्कोडा गाडीको आधिकारिक वितरक हो । यसको आधिकारिक कार्यालय मोरङ विराटनगरमा छ । यामाहा मोटरसाइकल बेच्न यसको देशभरि १ सय ४ वटा डिलर छन् । एमएडब्लु इन्टरप्राइजेज एमएडब्लु ग्रुपअन्तर्गतको कम्पनी हो । यसको प्रबन्ध निर्देशकमा विष्णुकमार अग्रवाल छन् ।

आज पनि थप उद्योगको विद्युत लाइन काट्दै कुलमान, बक्यौता तिराएरै छाड्ने अडान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले थप उद्योगको बिजुलीको लाइन काट्ने तयारी गरेको छ । बाँकी रहेको बक्यौता तिर्नका लागि बारम्बार ताकेता गर्दा समयावधि दिएको अन्तिम समयसम्म पनि उद्योगहरुले बक्यौता नतिरेपछि प्राधिकरणले आज पनि थप उद्योगको लाइन काट्ने तयारी गरेको हो । मंगलबार साँझ मात्रै प्राधिकरण तीन उद्योगको लाइन काटेको थियो । मंगलबार साँझ प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युतको लाइन काटेको थियो । ती उद्योगले क्रमशः सवा ६० करोड, साढे ४० करोड र पौने ३६ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको २५ प्रतिशत जरिवानासहित बक्यौता १५ दिनभित्र भुक्तानी गर्न उद्योगहरुमा बिल पठाएको थियो । उद्योगीहरु भने प्राधिकरणले बिना प्रमाण बिल पठाएको भन्दै बक्यौता नतिर्ने बताउँदै आएका छन् । मंगलबार मात्रै उद्योगीहरुले पत्रकार सम्मेलनको आयोजना गर्दै बक्यौता नतिर्ने बताएका थिए । बिना प्रमाण डेडिकेटेड र ट्रंक लाइन बिजुली बक्यौता भुक्तानी गर्न दबाब दिएको आरोप उद्योगीहरुको छ । प्राधिकरणका अनुसार ६१ वटा उद्योगले बक्यौता तिर्न बाँकी छ । बक्यौता नतिर्ने उद्योगको आजदेखि निरन्तर लाइन काट्ने तयारी प्राधिकरणको छ ।

प्राधिकरणले रिलायन्स, घोराही र अर्घाखाँची उद्योगमा बिजुली काट्यो, साँझसम्म कुरेका थिए कुलमानले

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले फेरि उद्योगको विद्युत लाइन काट्न सुरु गरेको छ । विद्युत बक्यौता बापतको रकम नतिर्ने उद्योगहरूको लाइन प्राधिकरणले फेरि काट्न थालेको हो । प्राधिकरणका अनुसार मंगलबार साँझ रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युतको लाइन काटिएको हो । विद्युत बक्यौता तिर्नुपर्ने समयावधि घर्किएपछि लाइन काटेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले बक्यौता बापतको रकम तिर्न मंगलबारसम्मको अल्टिमेटम दिएको थियो । ‘ हामीले आज साँझसम्मको समय दिएका थियौं । तर, बक्यौता तिर्नु छोडेर उहाँहरु पत्रकार सम्मेलनमा लाग्नुभयो, साँझसम्म कुर्दा पनि बक्यौता नतिरेपछि हामीले लाइन काटेका हौं,’ प्राधिकरण स्रोतले भन्यो । आज विद्युतकाे लाइन काटिएका तीन उद्योगमा रिलायन्सले सवा ६० करोड, घोराहीले साढे ४० करोड र अर्घाखाँचीले पौने ३६ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जानकारी दिएकाे छ । उद्योगीहरु भने बक्याैता नतिर्ने अडान राख्दै आएका छन् । मंगलबार मात्रै उद्योगीले पत्रकार सम्मेलन गरेका थिए । उनीहरुले पत्रकार सम्मेलनमार्फत प्राधिकरणले सरकारको निर्णय नमानेर अनावश्यक दुःख दिएको बताएका थिए । उद्याेगी ध्रुब थापाले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गठित न्यायिक आयोगको सिफारिस कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले निर्देशन दिइसकेको र न्यायिक आयोगको सिफारिस तथा मन्त्रिपरिषद्‌को निर्देशन विपरीत हुने गरी प्राधिकरणले उद्योगीलाई तर्साउने तथा धम्काउने काम गरिरहेको भन्दै आपत्ति जनाएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले आयोगले औंल्याएको बक्यौता तिर्न उद्योगी व्यवसायी तयार रहँदा पनि विनाप्रमाण प्रयोग नै नभएको विद्युत् महसुल मागेर प्राधिकरणले दुःख दिएको बताएका थिए । यस्तै, उद्योग परिसघका अध्यक्ष राजेश अग्रवालले आयोगको प्रतिवेदन कार्यान्वयन गरेर सरकारले औद्योगिक वातावरण सिर्जना गरेर सहजीकरण गरिदिनुपर्ने धारणा राखेका थिए ।