सिमेन्ट उत्पादक संघ र निर्माण व्यवसायी महासंघबीच सहमति

काठमाडौं । सिमेन्ट उत्पादक संघ र नेपाल निर्माण व्यवसायी महासंघबीच सहमति भएकाे छ । आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको उपस्थितिमा संघ र महासंघबीच सहमति भएकाे हाे । छलफलमा नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरू र नेपाल निर्माण व्यवसायी महासंघसहितका विभिन्न ४ वटा निर्माण व्यवसायसँग सम्बन्धित प्रतिनिधिहरूको उपस्थिति थियाे । उद्योगहरूले उत्पादन गरी माग बमोजिम सिमेन्ट सहजै आपूर्ति हुने गरी उत्पादनमा ध्यान दिन तथा उद्योगहरूमा भइरहेको विद्युत आपूर्तिको कटौती र लोडसेडिङलाई अन्त्य गरी निर्वाध रूपमा उद्योग सञ्चालन गर्ने वातावरण मिलाउने सम्बन्धमा सहमति भएको हो । उद्योग मन्त्रालयको तर्फबाट आवश्यक पहल गर्ने तथा सिमेन्ट उद्योगीहरू र निर्माण व्यवसायीहरूले एक-अर्काका समस्यालाई मनन गरी आ-आफ्नो स्थानबाट समन्वय र समझदारी विकास गर्दै औद्योगिक उत्पादन र विकास निर्माणका कार्यमा सँगसँगै अगाडि बढ्ने भन्ने लगायतका विषयमा छलफल भएको नेपाल सिमेन्ट उत्पादक संघका एक पदाधिकारीले जानकारी गराए ।

सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका कार्यान्वयन गर्न उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरूको प्रयोग अनिवार्य गर्न नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा आफ्‌ना सम्पूर्ण सदस्यहरूलाई आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१ मसिर २८ गते बैठकवाट ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित भएको र यो निर्णय स्वागत योग्य रहेको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिएका थिए । सरकारले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी स्थानीयस्तरमा उपलब्ध स्रोत-साधनको अधिकतम प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन तथा उत्पादित वस्तुको बजार प्रवद्र्धन गर्न र सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई थप प्रभावकारी बनाउन सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका- २०८१ जारी गरेको हो । सरकारको यो निर्णयवाट स्वदेशी उत्पादन प्रवर्द्धन गर्न निकै सहयोग पुग्नेमा विश्वास गर्दै नेपाल उद्योग वाणिज्य महासंघले आफ्‌ना सबै सदस्यहरुमा सम्भव भएसम्म नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धन गर्न आग्रह गरेको छ । सरकारको यो निर्णयले स्वदेशी उत्पादन प्रवर्द्धन गर्न निकै सहयोग पुग्ने महासंघको विश्वास रहेको समेत अध्यक्ष ढकालले बताए ।

संकटमा हेटौंडा सिमेन्ट उद्योग, ३ महिनादेखि उत्पादन बन्द

बागमती । हेटौंडा सिमेन्ट उद्योगमा आर्थिक संकट गहिरिँदै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरण मर्मतसम्भार गरी गत मंसिर पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ । ‘उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले पनि उत्पादन रोएिको होइन’, हेटौंडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, ‘आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन सुरु गर्ने भन्ने अन्यौलता बढेको हो ।’ ‘अहिले उत्पादन ठप्प छ, तर नियमित खर्च छ जस्ताको त्यस्तै छ’, हेटौंडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, ‘उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीको तलब भत्ता दिनै परेको छ, केही इन्धन खर्च र समान्य मर्मत खर्च भइरहेकै छ, यसका कारण उद्योगमा आर्थिक समस्या त बढ्दै जाने कुरा त भइै नै हाल्यो’, उनले भने । उत्पादन बन्द हुँदा कर्मचारी त्यतिकै बसेर दिन बिताइरहेका छन् । सो उद्योगमा एक सय ६६ जना स्थायी, दैनिक ज्यालादारीका एक सय र ५२ जना सुरक्षाकर्मी गरी तीन सय १८ जना जनशक्ति कार्यरत रहेको प्रवक्ता आचार्यले बताए । उनका अनुसार तत्काल उद्योग सञ्चालनका लागि उद्योगलाई चाहिने आवश्यक कच्चा पदार्थको समेत समस्या छ । ‘उद्योग दैनिक सञ्चालन भयो भने कम्तीमा दैनिक एक सय २० ट्रन कच्चा पदार्थ कोइलाको आवश्यक पर्छ’, उनले भने, ‘तर त्यो पनि छैन र कोइलाको पुरानो भुक्तानी भइनसकेकाले तत्काल कोइला आउने सम्भावना पनि छैन । यसबाहेक आर्थिक समस्याका कारण कर्मचारीले अतिरिक्त समयमा गरेको कामको भुक्तानी गर्न सकिएको छैन ।’ आर्थिक समस्याकै कारण विद्युत् प्राधिकरणको लामो समयदेखि महसुल बुझाउन नसकिँदा अहिले बक्यौता थुप्रिएको छ । ‘विद्युत् उपभोग त गर्यो तर महसुल बुझाउन सकिएनौँ’, उनले भने, ‘अहिले ठ्याक्कै कति महसुलको बक्यौता बुझाउन बाँकी भने भन्न सकिए पनि करिब ३०/४० करोड जति बक्यौता बाँकी छ होला ।’ त्यसैले पनि विद्युत् प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गरिदिनुस् भन्न सकिने अवस्था नरहेको उनको कथन छ । विसं २०३३ मा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरणहरु पुरानो भइसकेका र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकको भनाइ छ । ‘उपकरण पुरानो र बिग्रिसकेको अवस्थामा छ, त्यस्तो अवस्थामा हामीले अपेक्षाकृत रुपमा सिमेन्ट उत्पादन गर्न सकिरहेका छैनौँ’, उद्योगका प्राविधिक प्रमुख कामेश्वर मण्डलले भने, ‘‘त्यही भएर हामी अहिले पुरानो उपकरणको मर्मत गरिरहेका छौं । त्यसमा मेकानिक लगिरहनुभएको छ, धेरै कामहरु सकिसकेको छ र थोरै बाँकी छ, छिट्टै मर्मत काम सक्छौँ ।’ त्यसपछि सिमेन्ट उत्पादन गर्न सकिने उनको भनाइ छ । एकपछि अर्काे समस्यासँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगले गत २०८१ भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको थियो । सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको छ । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको सो उद्योग आर्थिक समस्याका कारण थलिएको छ । उपकरणको मर्मत कार्य सम्पन्न भएर यही पुस महिनाको दोस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरिए पनि उपकरण मर्मत गर्न अझ समय लाग्ने भएकाले उत्पादनमा ढिलाइ भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए । ‘उद्योगको क्लिनिकलर मेसिनलगायतका उपकरणको मर्मत कार्य अझै भइरहेकै छ’, अध्यक्ष भण्डारीले भने, ‘हामीले पुसको दोस्रो सातासम्ममा मर्मत सकिन्छ र त्यसलगतै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौँ ।’ तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योगको उत्पादन सुचारु हुन अझै केही दिन लाग्न सक्ने उनको भनाइ छ । उद्योगसँग आर्थिक समस्याका बाबजुत पनि उपकरणको मर्मत कार्यसम्पन्न हुने बित्तिकै सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भइरहेको उनले बताए  । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मतसम्भारमा समय लागेको बताउँदै अध्यक्ष भण्डारीले मर्मतसम्भारको काम तीव्ररुपमा भइरहेकाले छिट्टै सकिने र त्यसलगत्तैबाट उत्पादन सुरु गर्ने तयारी भएको बताए ।  रासस