८ करोडको लगानीमा च्याउ उद्योग सञ्चालनमा, मासिक २० टन उत्पादन गर्ने

काठमाडौं । पश्चिम नवलपरासीको परासीमा संयुक्त लगानीमा च्याउ उद्योग सञ्चालनमा आएको छ । कूल ८ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको सो उद्योगले मासिक २० टन डल्ले च्याउ उत्पादन गर्ने जनाइएको छ । रामग्राम नगरपालिका–६ पोखरापालीमा स्थापित सो उद्योगलाई युवा व्यवसायी कमल कसौधन, लवकुश वर्मा र सुनिल बर्माको टिमले उद्योग सञ्चालनमा ल्याएका हुन् । रामग्राम नगरपालिका–६ जौरहीमाई पार्कको उत्तर पट्टि करिव १६ कठ्ठा क्षेत्रफलमा उद्योग सञ्चालन गरिएको सञ्चालक कसौधनले बताए । बाह्रै महिना नै उत्पादन गर्न सकिने कुल २० टनसम्म मासिक उत्पादन हुने डल्ले च्याउको स्वदेश र विदेशसमेतमा उच्च माग रहेको सञ्चालकले बताएका छन् । पछिल्लो समय परासी आसपासको क्षेत्र औद्योगिक करिडोर पनि बन्दै हो । नवलपरासीको सदरमुकाम परासीमा साना, मझौला र ठूला उद्योग खुल्ने क्रम जारी रहेका छन् ।

मोरङ उद्योग व्यापार संघद्वारा विद्युत सुरक्षा विषयक तालिम सञ्चालन

काठमाडौं । मोरङ उद्योग व्यापार संघले उद्योग-व्यवसाय प्रतिष्ठानमा विद्युतको प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षा, गुणस्तरको मापन लगायत ध्यान दिनुपर्ने विषयहरूलाई समेटी एक दिने निःशुल्क तालिम आयोजना गरेको छ । संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा कार्यकारिणी सदस्य एवं ऊर्जा समितिका संयोजक सुशील सुरानाले ‘इमर्जिङ ट्रेन्ड्स इन इलेक्ट्रिकल सेफ्टी, प्रडक्ट क्वालिटी एन्ड एप्लिकेसन’ विषयक तालिम कार्यक्रम सञ्चालन गरे । विभिन्न औद्योगिक/व्यवसायिक प्रतिष्ठानका इलेक्ट्रीसियन तथा विद्यूत प्राविधिकहरुलाई प्रशिक्षण दिने उद्देश्यले सञ्चालित उक्त तालिममा भारतबाट आएका विद्युतीय उपकरणका विषेशज्ञ इन्जिनियर भरत अशोक उग्ले, काठमाडौंबाट आएका विशेषज्ञहरू, इन्जिनियर मनिष श्रेष्ठ र उज्जवल श्रेष्ठले सहजीकरण गरे । कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, महिला र युवा उद्यम समिति सदस्यहरू, विभिन्न औद्योगिक/व्यवसायिक प्रतिष्ठानका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

युनिलिभर नेपालको नाफा १३.४९ प्रतिशत बढ्यो, सञ्चिति नाफा ४ अर्ब १७ करोड रुपैयाँ

काठमाडौं । युनिलिभर नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा १३.४९ प्रतिशत बढेर ४७ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत पुस मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ४.९० प्रतिशत बढेर १ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८५ करोड ४७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३.०१ प्रतिशत बढेर १ अर्ब ९८ करोड रुपैयाँ र कुल खर्च १.०९ प्रतिशत घटेर १ अर्ब ३९ करोड ९४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९२ करोड २१ लाख रुपैयाँ कुल आम्दानी गरेर १ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ कुल खर्च गरेको थियो । ९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सञ्चिति नाफा ४ अर्ब १७ करोड ७८ लाख रुपैयाँ छ । यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२३.३४ रुपैयाँ बढेर १ हजार ३७.५७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ४ हजार ६४१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.२७ गुणा रहेको छ ।