औद्योगिक विकासका लागि नास्ट र महासंघले वैज्ञानिक सहकार्य गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)बीच मुलुकको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्य गर्ने विषयमा छलफल भएको छ । नाष्टकातर्फबाट महासङ्घसँग सहकार्यका लागि विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधि शोधवृत्ति र छात्रवृत्ति, अनुसन्धान अनुदानमा सहकार्य गर्ने प्रस्ताव पेस भएको छ । नास्टका उपकुलपति प्राध्यापक डा दिलीप सुब्बा र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच सहकार्यका विविध क्षेत्रबारे छलफल भएको हो ।नास्टले महासङ्घसँग गरेको प्रस्तावमा नवप्रवर्तन वृत्ति, युवा वैज्ञानिकलाई अनुसन्धान सहयोग, ब्रेन पुलिङ, स्नातकोत्तर शोध अनुदान, वैज्ञानिक सङ्घसंस्था आर्थिक सहयोग, वैज्ञानिक यात्रा अनुदान, विद्धतवृत्तिजस्ता कार्यक्रम सञ्चालनमा औद्योगिक क्षेत्रले आर्थिक योगदानमार्फत साझेदारको भूमिका गर्न सक्ने विषय छन् । यस्तै उद्योग क्षेत्रबाट इच्छा गरिएका विषयमा उद्योगको प्रायोजनमा नास्टबाट अनुसन्धान तथा विकास परियोजना सञ्चालन गर्न सकिने, अनुसन्धान तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टरको स्थापना र सञ्चालनमा साझेदारी तथा नवप्रर्वतनलगायत विषयमा नास्टले महासङ्घसँग सहकार्यका लागि प्रस्ताव गरेको छ । छलफलमा महासङ्घका अध्यक्ष ढकालले नास्टले महासङ्घसँग गर्न खोजेको सहकार्यका विषय स्वागतयोग्य भएको बताउँँदै प्रस्तावित विषयमा अध्ययन गरेर अघि बढ्न सकिने बताए । यस्तै नास्टका उपकुलपति प्रा डा सुब्बाले नास्टले प्रस्तावित गरेका विषयमा सहकार्य गर्नसके देशको औद्योगिक विकासमा सकारात्मक योगदान गर्न सकिने बताए । ‘हामीसँग वैज्ञानिकहरुको टोली छ । देश विदेशमा रहेका अन्य वैज्ञानिकहरु पनि सम्पर्कमा हुनुहुन्छ । उहाँहरु सबैको ज्ञानलाई अनुसन्धान तथा विकासमा लगाउन सकिन्छ । यसका लागि महासङ्घ नै उपयुक्त संस्था हो भन्ने हामीलाई लागेको छ,’ उनले भने ।

सिमेन्टको मूल्य बढाएको भन्दै सरकारले पुनः उत्पादकलाई बोलायो, उद्योगी भन्छन् : मूल्य ८५० पुगेको हल्ला मात्रै हो

काठमाडौं । उद्योगीहरूले सिमेन्टको मूल्य हाललाई बढाएको भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् । पछिल्लो समय सिमेन्ट प्रतिबोरा ५ सयदेखि ६ सय रुपैयाँसम्ममा बिक्री भइरहेको नेपाल सिमेन्ट उत्पादक संघले जानकारी दिएको छ । बजारमा ६ सयमा पाइने ओपीसी सेमिन्टको मूल्य हाल ८५० परिरहेको कुरा हल्ला भएको संघका पूर्वमहासचिव केशव उप्रेतीले बताए । उनले सिमेन्टको मूल्य ५ सयदेखि ६ सयसम्ममा बिक्री भइरहेको छ । उनले भने, ‘हामीले सिमेन्टको मूल्य बढाएका छैनौं । बजारमा जुन हल्ला छ । त्यो सबै ठेकेदारले चलाएको हावा कुरा हो । अहिले सिमेन्ट ५ देखि ६ सयमा बिक्री गरिरहेका छौं । गत वर्षको मूल्य हेर्नुहुन्छ भने यहीं समयमा त्यति बढाएका छैनौं । बढीमा ५ प्रतिशत मात्रै बढाएका छौं । जुन यो स्वाभाविक हो । यसमा बजारमा हल्ला फैलाउनु गतल हो ।’ पूर्वमहासचिव उप्रेतीले ठाउँअनुसार मूल्य फरक भएको बताए । उनले भने, ‘ओपीसी सिमेन्ट ७ सय पीपीसीको ६ सयमा बिक्री गरिरहेका छौं । काठमाडौंमा कम पर्छ भने अन्य ठाउँमा बढी पर्न सक्छ ।’ उनले वर्षातको सिजनमा निर्माण कार्य कम हुने र बिक्री पनि कम हुने भएर सिमेन्टको मूल्यमा ह्रास भएको बताए । त्यही बेला घटाएको मूल्यलाई हाल बढाएको उनको दाबी छ । सिमेन्टको मूल्य बढीमा ७ सय भन्दामाथि नलिएको पूर्वमहासचिव उप्रेतीको भनाइ छ । बजारमा फैलिएको हल्लाप्रति गम्भीर आपत्ति रहेको उनले जनाए । उनले सरकारले यसबारे बैठक बोलाएको जानकारी दिए । उनले भने, ‘यसबारे बृहत मिटिङ बस्नेछ । हामीलाई उद्योग वाणिज्य मन्त्रालयले छिट्टै मिटिङ बस्ने भनेको छ । मन्त्रालयले मूल्यबारे सबै विवरण मागेको छ । यसको खर्च सबै हिसाब गरेर निर्णयमा पुग्नेछौं । त्यसपछि मिटिङबाट सिमेन्टको मूल्य तोकिनेछ ।’ यस्तै, हाल सिमेन्ट उद्योगहरू मारमा रहेको बताउँदै उनले जुन अवस्था हाललाई छ, त्यही अवस्था रहने हो भने दर्जनाैं उद्योग नै बन्द हुने दु:खेसो व्यक्त गरे । उता सिमेन्टको मूल्य बढ्दै गइरहेको भन्दै निर्माण व्यवसायीहरू आन्दोलन गर्ने तयारीमा छन् । सम्बन्धित सामग्री : निर्माण व्यवसायी र सिमेन्ट उद्योगीबीच तनाव बढ्दै सरकारले ४० अर्ब नतिरेपछि निर्माण व्यवसायीहरू सरकारविरुद्ध खनिए सिमेन्टको मूल्यमा सरकार तटस्थ, निर्माण व्यवसायी र उत्पादक संघबीच नै सहमतिको खाका

सरकारले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने नीति अनुरूप काम गर्नुपर्छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि ठोस कदम चाल्नुपर्ने बताएका छन् । नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नु पर्ने धारणा राखे । ‘सरकारले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने नीति अनुरूप काम गर्नुपर्छ । आयात प्रतिस्थापनका लागि घरेलु उद्योग प्रतिष्ठानलाई कसरी बलियो बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्‍यो । निर्यातका लागि पनि सोही अनुरूप नीति बनाउन र कार्यान्वयन गर्नु पर्छ । यसो गर्न सकेमा सरकार र निजी क्षेत्र दुवैले चाहेको उद्देश्य पूर्ति हुन्छ,’ उनले भने । अध्यक्ष ढकालले निजी क्षेत्रका व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले प्रतिवद्धता व्यक्त गरे अनुसार समयमा निर्यातमा अनुदान दिन पनि आग्रह गरे । उनले सरकारलाई व्यवसायीलाई प्रदान गरिने सम्मानबाट समेत प्रोत्साहन गर्न सकिने धारणा राखे । यसका लागि सरकारले सीआइपी दिने दिन घोषणा गर्न र व्यवसायीलाई दिने मर्यादामा ध्यान दिनसमेत अनुरोध गरे । यस्तै, अध्यक्ष ढकालले निर्यात प्रवर्द्धन र विदेशी लगानीका लागि विदेशस्थित नेपाली नियोगहरुलाई पनि नेपालको निर्यात व्यापारको लागि देश अनुरूप तार्गेट दिन र सो अनुरूपको मूल्याङ्कन गर्नसमेत आग्रह गरे । उनले नेपाल सन् २०२६ मा अल्पविकसित मुलुकको अवस्थाबाट विकासोन्मुखमा स्तरोन्नति हुने हुँदा या त नेपाल त्यसको लागि तयार रहनु पर्ने या निश्चित समय थप गर्नका लागि सरकारले पहल गर्नु पर्ने धारणा राखे । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रले उठाएको चासो प्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई समेत आफ्नो प्रतिष्पर्धात्मक क्षमता बढाउन आग्रह गरे । कार्यक्रममा निजी क्षेत्रका अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले दिगो आर्थिक विकासका लागि निर्यात प्रवर्द्धन आवश्यक भएको भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका थिए ।