सिंहदरबारमा सबै मन्त्री तथा कर्मचारीले नेपाली जुत्ता लगाऊन् : अध्यक्ष न्यौपाने
काठमाडौं । फुटवेयर म्यानुफ्याक्वरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रुद्र न्यौपानेले सिंहदरबारभित्रका सबै मन्त्री तथा कर्मचारीहरूले नेपाली जुत्ता लगाउनुपर्छ भन्ने नारालाई उद्योगमन्त्री दामोदर भण्डारीले सम्बोधन गरेका बताएका छन् । फुटवेयर म्यानुफ्याक्वरर्स एसोसिएसन अफ नेपालको २३ औं वार्षिक साधारण सभा तथा २५ औं स्थापना दिवस कार्यक्रममा अध्यक्ष न्यौपानेले सबै मन्त्री तथा कर्मचारीले नेपाली जुत्ता लगाउनुपर्छ भन्ने उद्देश्य रहेको बताए । उनले भने, ‘यो अभियान सडक, गल्ली अनि चोकमा गरिनुपर्छ । यस अभियानमा सबैको साथ सहयोग आवश्यक रहेको छ । नेपाली जुत्ता चप्पल नेपाली ब्रान्डलाई स्वदेशीमै लगाइनुपर्छ ।’ ‘हाल हामीसँग जनशक्ति कम छ । यसलाई बढाएर ७५ प्रतिशत पुर्याउँछाैं । यसका लागि मन्त्रीज्यूले आवश्यक पहल गर्नु जरुरी छ,’ उनले थपे । अध्यक्ष न्याैपानेले नेपालीहरूले विदेशी जुत्ताचप्पल लगाउने गरेको गुनासाे गरे । उनले विदेशी जुत्ताचप्पल लाखाैं करोडौंका हिसाबमा नेपालमा खपत भइरहेको र यो चाेरीपैठारी काराेबारलाई रोक्नुपर्ने उनले आग्रह गरे । कार्यक्रमको उद्घाटन उद्योगमन्त्री दामोदर भण्डारीले गरेका छन् । कार्यक्रममा महामन्त्री गगन थापा, एमाले महासचिव प्रदिप ज्ञवाली, श्रम विभागका सचिव लगायतको सहभागी रहेको छ । एसोसिएसनका अनुसार २०८०/८१ मा नेपालमा साढे ११ लाख जुत्ता नेपाल खपत भएको छ । फुटवेयर म्यानुफ्याक्वरर्स एसोसिएसन अफ नेपाल २०५७ सालमा स्थापना भएको थियो । यसले ७५ प्रतिशत बजार ओगटेको दावी छ ।
निगमले तेल बेचेर रमाइरहने दिन धेरै छैनन् : उद्योगमन्त्री भण्डारी
काठमाडौं । उद्योगमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम नयाँ ढंगले नसोच्ने निगम टिकिरहन नसक्ने बताएका छन् । शुक्रबार निगमको ५५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले निगमले तेल बेचेर रमाइरहने दिन धेरै नरहेको बताएका हुन् । ‘तेलमात्रै बेचेर मुनाफामा रहेको भन्दै रमाउने अब धेरै दिन छैन,’ उनले भने, ‘तेलमात्रै बेचेर नाफा कमायौं भनेर रमाइरहने आगामी दिनका हाम्रा यात्रा सहज छ या जोखिमपूर्ण छ भनेर हामीले सोच्नुपर्ने बेला आएको छ । आयल निगमले जे जति व्यवसाय गर्छ, त्यसका विकल्पहरू आइसकेका छन् । निगमको व्यवसाय घटिरहेको छ । नयाँ विकल्प नखोज्ने हो भने यसको व्यवसाय घटी नै रहन्छ ।’ आयल निगमको व्यवसाय घटिरहेको र यसको विकल्प बढ्दो रहेकाले निगमको व्यापार घट्दो अवस्थामा रहेको मन्त्री भण्डारीले बताए । आयल निगमले विकल्प खोज्दै नयाँ योजना अघि सार्नुपर्ने मन्त्रीको सुझाव छ । आयल निगमले नयाँनयाँ चिजको खोजी गरेर गुणस्तरीय सेवा दिन सोच्नुपर्ने उनले बताए । निगमले हाल गरिरहेको कामप्रति मन्त्री भण्डारीले असन्तुष्ट जनाए । जनशक्ति धेरै भए पनि सोहीअनुसार काम भने नभएको तर मागमात्रै बढेको उनले गुनासो गरे । उनले दैलेख पेट्रोलियम अन्वेषणको कामलाई सरकारले प्राथमिकतामा राखेको र त्यही अनुसार काम भइरहेको उनले बताए । ४ हजार मिटर गहिराइभन्दा तल पुगेको र यो ऐतिहासिक उपलब्धि हासिल भएको दाबी उनको छ । यस्तै, उनले यसबारे मन्त्रालयले आवश्यक समन्वय गरेर अगाडि कामा बढाउने सुनाए । त्यस्तै, उनले दाङ झापामा लगायत पेट्रोलियम पदार्थ भएका अन्य ठाउँहरूमा सम्भाव्यता अध्ययनको काम चाँडै अगाडि बढाइने बताए । उनले भने, ‘नयाँनयाँ कुराहरूको हामीले खोजी गर्नु आवश्यक छ । स्वचालित प्रणालीबाट अगाडि बढ्नुपर्छ । आयल निगमलाई सबैले सहयोग गर्नुपर्छ । यसलाई कसरी राम्रो बनाउन सकिन्छ । यससम्बन्धीका सबै प्रस्ताव ल्याएर आउनुस् । सरकार निर्णय गर्न आतुर छ ।’
आठौ संस्करणको ‘विराट एक्स्पो’ माघ ११ देखि, उद्यमीका लागि विराटनगर इन्कुवेशन सेन्टरको स्थापना हुने
काठमाडौं । उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म विराटनगरको डिग्री क्याम्पस मैदानमा आठौ संस्करणको विराट एक्स्पो आयोजना गर्ने भएको छ । आर्थिक एवम् औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले एक्स्पो आयोजना हुने संगठनले जनाएको छ । ‘डिजिटल कोशी ब्रिजिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट’ थिममा एक्स्पो २०२५ सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । औद्योगिक एक्स्पोको माध्यमबाट उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदानप्रदान गर्ने, उद्यमी/व्यवसायीबीच व्यवसायिक सम्बन्ध विकास र नयाँ प्रविधि पहिचान स्थापित तथा नवीनतम व्यवसायिक आइडिया भएका युवाहरूलाई उद्यमशीलतामा रूपान्तरण गर्न मद्दत पुग्ने विश्वास आयोजकको छ । संगठनले २०५३ मा पहिलो एक्स्पोको रूपमा कोशी महोत्सव आयोजना गरेको थियो । २०८१ मा विराट एक्स्पोको आठौं संस्करणसम्म आइपुग्दा यो एक्स्पो मुलुकमा आयोजना हुने अन्तरािष्ट्रय स्तरका औद्योगिक एक्स्पोमध्ये छुट्टै पहिचान र ब्राण्डका रूपमा स्थापित भएको संगठनको दाबी छ । आठौ संस्करणको विराट एक्स्पोले नवीनतम व्यवसायिक आइडिया भएका युवाहरूलाई उद्यमशीलतामा रूपान्तरण गर्न मद्दत पुग्ने अपेक्षामा विराटनगर इन्कुवेशन सेन्टरको स्थापना गर्दैछ । संगठनले विगत तीन वर्षदेखि सेन्टर सञ्चालन गरिरहेको छ ।