आइडिया भएका युवालाई अवसर नै अवसर

आजभन्दा ४० वर्षअघि स्टाटअर्प व्यवसाय सुरु गर्दा परिस्थिति अर्कै थियो । त्यतिबेला व्यवसाय गर्नेहरूले थुप्रै चुनौतीको सामना गर्नुपर्ने अवस्था थियो । अहिले स्टार्टअप व्यवसाय गर्न चाहनेलाई निकै सहज वातावरण बन्दै गएको छ । म आफै व्यावसायिक घरानाभन्दा बाहिरको मान्छे । व्यवसाय सुरु गर्नुभन्दा अघि थुप्रै चुनौती थिए । सानैमा अभिभावक गुमाएपछि परिवारको जिम्मेवारी मेरै काँधमा आइपर्यो । साह्रै दुःख पाएको हुँदा आधारभूत आवश्यकता पूरा गर्नका लागि त्यो परिस्थितिबाट माथि उठ्ने मात्रै एउटै उद्देश्य थियो । मेरो त्यतिबेलाको सबैभन्दा ठूलो लक्ष्य भनेकै जागिर गरेर आमा र भाइबहिनीलाई हेर्ने नै थियो । त्यतिबेलादेखि नै इमान्दार हिसाबले काम गर्नुपर्छ, इमान्दारितापूर्वक काम गर्दा त्यसको नतिजा स्वचालित रूपमै आउँछ भन्ने विश्वासले दुख गरें । त्यतिबेला कुनै स्टार्टअपको लागि आइडिया छ भने त्यो आइडियालाई आर्थिक सर्पोट गर्ने फोरम नभएका हैनन् । वाणिज्य बैंकमा जागिर गर्दैगर्दा आफै नयाँ स्टार्टअप व्यवसाय सुरु गर्ने भन्ने सोंच भयो । तर ठूलो महत्वाकांक्षाले सुरु गरेको जागिर नछोड्ने कि भन्ने पनि भयो । मसँग त्यतिबेला दुईवटा विकल्प थियो, जागिर छाड्ने कि व्यवसाय सुरु गर्ने । अन्तिममा जागिरबाट राजीनामा दिएर व्यवसाय सुरु गरें । मैले व्यवसाय सुरु गर्दा अहिलेजस्तो बैंक तथा वित्तीय संस्थाहरू प्रशस्त मात्रामा थिएनन् । लगानी गर्छु भन्ने लगानीकर्ता त्यति उपलब्ध हुँदैन थिए । स्टार्टअप बिजनेससम्बन्धी सरकारबाट नीति पनि बनिसकेको थिएन । त्यो अवस्थामा पनि स्टार्टअप व्यवसाय सुरु गरेर सफल भएं, धेरै सफल भएका छन् । इमान्दारीपूर्वक काम गर्ने हो भने सफल भइँदो रहेछ भन्ने प्रमाणित भइसकेको छ । नेपालमा अहिले स्टार्टअप व्यवसायको सम्भावना बढेर गएको छ । विशेषगरी नयाँ आइडिया भएको केही गर्छु भन्ने युवाहरूलाई अवसर नै अवसर देख्छु । तर कतिपय अवस्थामा नकारात्मक भाष्यसमेत विकसित हुँदै गएको छ । म आफै विदेशका विभिन्न ठाउँमा जाँदा वैदेशिक रोजगारीको रूपमा रहनुभएका साथीहरूले नेपालमा व्यवसाय गर्ने सम्भावना छैन, कुनै सेक्टरमा राम्रा मान्छे छैनन् भन्ने गर्नुहुन्छ । त्यो कुरालाई मैले धेरै ठाउँमा प्रतिवाद गरेको छु । हामीले वास्तवमा नेपालका विभिन्न वस्तुहरूलाई प्रचारप्रसार गर्न नसकेर मात्रै हो, नभए यहाँ अथाह सम्भावना छ । हामीले पूर्वाधार, पर्यटन या कुनै पनि सेक्टरको प्रचारप्रसार गर्न सकेको छैनौं । हामी कुनै पनि विदेशी इन्टरप्रेनरले गरेको व्यवसाय र उसले गरेका प्रगतिको खुलेर प्रशंसा गर्छौ तर कोही नेपाली इन्टरप्रेनरले गरेको व्यवसायलाई नकारात्मक हिसाबले हेर्ने भाष्य बनेको हो । जुन कुरा नेपालको आर्थिक विकासको लागि सबैभन्दा वाधक हो भन्ने लाग्छ। व्यावसायिक अनुभवमा इमान्दारिता र केही गरेर देखाउँछु भन्ने इच्छाशक्ति छ भने सफल उद्यमी बन्न असम्भव छैन । झन् अहिले स्टार्टअपको लागि सरकारले नीतिसमेत ल्याएको अवस्था छ । आर्थिक रूपमा लगानी गर्ने र सहजै कर्जा उपलब्ध हुने भइसकेको छ । स्टार्टअप व्यवसाय सुरु गर्न चाहने युवालाई सरकारले सहजीकरण गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर एकल अंकमा झरिसकेको हुँदा सहजै कर्जा लिएर व्यवसाय सुरु गर्न सकिन्छ । सरकारले स्टार्टअप व्यवसायको लागि नीति ल्याएको छ, निजी क्षेत्रको लागि अध्यादेश ल्याएको छ । तर नीतिनियम, नियमावली ल्याएर मात्रै हुँदैन, कार्यान्वयनको पाटोमा पनि सरकारले ध्यान दिनुपर्छ । व्यवसायमा लागेको ४० वर्षभन्दा बढीको अनुभवमा नेपालमा स्टार्टअप व्यवसायमा सम्भावना नै सम्भावना छ । अहिलेको आवश्यकता ‘पब्लिक कन्फिडेन्ट डेपलपमेन्ट’ को हो । नेपालमा व्यवसाय गर्ने वातावरण छ । विस्तारै लगानीको क्षेत्र विस्तार हुँदै गएको छ । नेपाल हिन्दु धर्मालम्बीको लागि पशुपति, मुक्तिनाथ, बुद्र्ध धर्म मान्नेको लागि लुम्बिनीजस्ता धार्मिक स्थल छन् । विश्वका अग्लो सगरमाथादेखि विभिन्न चुचुरा नेपालमै छन् । पर्यटनको हिसाबले भारत र चीनको बीचमा छौं । हामीसँग आईटीमा युवा जनशक्ति छ । व्यवसाय गर्नका लागि सरकारका नीतिहरू स्थिर हुनु आवश्यक छ तर नीतिहरू स्थिर छैनन् । त्यसलाई स्थिर बनाउनु जरुरी छ । (नेपाली कांग्रेसको ‘स्टार्टअप तथा एसएमई सम्मेलन’ मा नेपाल उद्योग तथा वाणिज्य महासंघका अध्यक्ष ढकालले राखेको मन्तव्य)

स्टार्टअपका लागि लगानीको सहज वातावरण र एकद्वार प्रणाली आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपालका उद्योगी-व्यवसायीहरूले नेपालमा स्टार्टअप र साना तथा मझौला उद्योग स्थापना र प्रवर्द्धनका लागि लगानीको सहज वातावरणका साथै कानुनी जटिलताहरू हटाएर एकद्वार प्रणाली लागु गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा बुधबारदेखि सुरु गरेको स्टार्टअप तथा एसएमई सम्मेलनको दोस्रो सेसनमा बोल्ने वक्ताहरूले सरकारले लगानीका लागि भइरहेका कानुनी जटिलता हटाउनुपर्ने बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको अध्यादेशले उद्योगी व्यवसायीहरुलाई सहज भएको बताएका हुन् । उनले भने, ‘सरकारले ल्याएको अध्यादेश महत्त्वपूर्ण छ । यसले धेरै आर्थिक ‘रिफर्म’का कामका लागि उद्योगीलाई उत्प्रेरित गरेको छ । यसलाई छिट्टै कार्यान्वयनमा ल्याएर सहयोग गर्न पनि पनि आग्रह गर्दछु ।’ उनले उद्योग वाणिज्य महासंघले सबैलाई समेट्न नसक्ने भएकोले राजनीतिक दलहरुले गर्ने यस्ता नवप्रवर्तनका कामहरुलाई प्रोत्साहन गर्न सकेकोमा युवाहरुलाई लगानी र स्टार्टतर्फ आकर्षित गर्न सकिने बताएका छन् । उनले कांग्रेसले आयोजना गरेको यस कार्यक्रमले धेरै युवाहरूलाई उद्यम क्षेत्रमा प्रबेश गर्न महत्त्वपूर्ण भूमिका खेल्नेसमेत बताएका छन् । काम गर्ने इमानदारीता र इच्छाशक्ति भएमा सफल उद्यमी बन्न असम्भव नभएको उल्लेख गर्दै अध्यक्ष ढकालले भने, ‘यो श्रेणीमा आउन मलाइ ४० वर्ष लाग्यो । पहिला चुनौती थियो अहिले धेरै सहज छ । अहिले बैंक र वित्तीय संस्थाले सहज रूपमा ऋण लिन सकिने व्यवस्था गरेका छन् । विभिन्न समिटहरू भइरहेका छन । त्यसबाट सहजै अवसर लिन सकिने अवस्था छ ।’ त्यसैगरी नेपाल महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताइन् । नेपाल महिला उद्यमी महासंघमा ५५ सय महिला उद्यमीहरू आवद्ध छन् । देशभर लाखौं उद्यमीहरूलाई यसमा जोड्न भूमिका खेलेको अध्यक्ष ज्ञवालीले बताइन् । बिजनेस अक्सिजनका सीईओ सिद्धान्तराज पान्डेले विदेशीने युवाहरुलाई नेपालमा नै राख्नका लागि सहज लगानीको वातावरण र कानुनी झन्झटहरुबाट मुक्त गरिनुपर्ने बताए । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निवार्ण चौधरीले वित्तिय संस्थाले ठूलो लगानीको वातावरण सिर्जना गरेको उल्लेख बताएका छन् । उनले भने, ‘निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सरकारले नवपवर्तनलाई बढावा दिने कानुनी सहजीकरण गर्न सकेको अवस्थामा मुलुकको अर्थतन्त्र चापमा पर्दैन ।’ उनले सकारात्मक सोचसहित व्यवसाय गर्नको लागि युवा वर्गलाइ जागृत गर्नसके आर्थिक परिवर्तन सम्भव भएकोसमेत बताएका छन् ।

आठौं चेम्बर एक्स्पो माघ १७ देखि सुरु, १२५ वटा स्टल रहने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं ‘चेम्बर एक्स्पो २०२५’ काठमाडौंको भृकुटीमण्डपमा आगामी बिहीबारदेखि सुरु हुने भएको छ । अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर र एआई प्रोजेक्टसहित आठौं नेपाल चेम्बर एक्स्पो २१ गतेसम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । चेम्बर मेलामा स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला गर्न लागेको हो । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालको भनाइ छ । सूचना प्रविधिको विकाससंगै चेम्बर एक्स्पोको आर्कषणका रूपमा यो वर्ष सफ्टवेयर र एआई प्रोजेक्ट स्टलका रूपमा रहनु सवैभन्दा महत्वपूर्ण रहेको अध्यक्ष अग्रवालले बताए । चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको सूचना प्रविधि उद्योगहरूलाई अन्तर्राष्ट्रिय आईटी कम्पनीको व्याकअपका रूपमा विकास गरिनुपर्नेमा जोड दिए । व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी प्रमुख शरद विक्रम राणाले देश भित्र खपत हुने सफ्टवेयरहरुको प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा चयन गरिनुपर्नेमा जोड दिए । क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक गतिविधी, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले बताए । विगतमा झैं यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तुहरू, हस्तकला, लत्ताकपडाका सामानहरू, अटोमोबाइल, इलेक्ट्रोनिक्स, होमअप्लियन्स, लोगिस्टिा, टेक्टायल, फर्निचर, गार्मेन्ट्स, लेदर गुड्स, ज्वेलरी आदि सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ । चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाईल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायतका देशहरुमा उत्पादित बस्तुहरुको प्रर्दशनी र व्यवसायीहरुले सहभागिता जनाउनेछन् । स्वदेशी र विदेशी गरी १ सय २५ भन्दा बढी स्टलहरू एक्स्पोमा राखिने आयोजकले जनाएको छ । एक्स्पोमा कम्तिमा ५० हजार दर्शकले अवलोकन गर्ने जनाइएको छ ।