खाना पकाउने ग्यासको अभाव, निगम भन्छ- पर्याप्त छ, चिन्ता नलिनू
काठमाडौं । उपभोक्ताहरुले पछिल्लो समय खाना पकाउने ग्यास विगतको तुलनामा सहजै पाउन छोडिएको गुनासो गर्न थालेका छन् । विगतका दिनहरूमा डिलरमा सहजै पाइने एलपीजी ग्यास पछिल्लो केही दिनयता सहजै पाउन छोडिएको गुनासो गर्न थालेका हुन् । पछिल्लो समय बजारमा हिमाल, सूर्य, सगर नेपाल, एचपी, त्रिवेणी, राजधानी, ओम, आरती, सगरमाथा, एभरेष्ट, तारा, त्रिशुल, मारुतीलगायत विभिन्न ग्यासको अभाव रहेको छ । ग्यासका उपभोक्ता राजेन्द्र गौतमले आफूले दुई सातादेखि ग्यास नपाएको गुनासो गरे । ‘कुनै पनि ग्यास पसलमा तुरुन्तै ग्यास पाइने अवस्था छैन । पसलमा ग्यास ल्याउन जाँदा पाइँदैन,’ उनले भने, ‘विगतमा सहजै पाइन्थ्यो, पछिल्लो समय डिलरवालाहरुले ग्यास नै छैन भनेर फर्काउने गरेका छन् ।’ काठमाडौंको मैतीदेवीमा ग्यासको डिलर सञ्चालन गरिरहेको एक व्यापारीले पनि केही दिनयता ग्यासको अभाव रहेको जानकारी दिए । उनका अनुसार डिपोले नै अहिले गयास पठाउन छोडेको छ । ग्यास बिक्रेताहरूको छाता संस्था नेपाल ग्यास बिक्रेता महासंघले व्यवसायीसँग पँुजीको अभाव भएकाले ग्यास आपूर्तिमै समस्या भएको धारणा राखेको छ । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालकाअनुसार जाडोयाममा भारतीय रिफाइनरीहरू सटडाउन हुने र सटडाउन भएपछि बनाउन १ महिना लाग्ने भएकोले आपुर्तिमा नै समस्या भएको जानकारी दिए । हिउँदको सिजनमा ग्यासको माग बढ्ने गरेकोले आयल निगमले सिलिण्डरको कोटा निर्धारण नगरिदिँदा समस्या उत्पन्न हुने उनको भनाइ छ । ‘उद्योगीहरूको आफ्नो आन्तरिक पुँजीको समस्याले पनि यस्तो अवस्था आएको हुन सक्छ, उद्योगीहरूले आफ्नो क्षमताभन्दा बढी ग्यास खरिद गरिदिए, पछि स्रोत जुटाउन सकेनन् अनि यो समस्या आएको हो,’ उनले भने । उनले ग्यास उद्योगीहरूको विगत ६ वर्षदेखि खर्च समायोजन नभएको गुनासो गरे । ‘उद्योगीहरूको विगत ६ वर्षदेखि खर्च समायोजन भएको छैन, सम्झौता बढेको बढ्यै छ । कतिपय कम्पनीहरूले त ब्याज नै तिर्न नसकेर ग्यास किन्नै नसक्ने अवस्थामा छन् । यसबारे एउटा सिस्टम बनाएर के-के शीर्षकमा खर्च बढ्यो । सिस्टमकै आधारमा गर्ने हो भने कुनै समस्या नै हुँदैन । यो समस्या सरकारले समाधान गरिदिनुपर्छ,’ उनले भने । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे पछिल्लो ३ दशकयता सिलिन्डरको बेसमा कोटा कायम गर्नुपर्ने भएता पनि नेपाल आयल निगमले यो नगरिदिँदा समस्या उत्पन्न भएको बताउँछन् । चिसोको सिजनमा अन्य सिजनमा भन्दा ग्यासको माग बढेका कारण पनि समस्या आएको उनको भनाइ छ । यस्तै, भारतका विभिन्न रिफाइनरीहरूमा विभिन्न समस्याका कारण यस्तो अवस्था आएको बताउँदै उनले ५ वटा रिफाइनरी र ६ वटा नाका भएर नेपाल आयात हुने उनले जानकारी दिए । गत बिहीबार ग्यास व्यवसायीले राज्यको तर्फबाट लगानी संरक्षणको साटो निरुत्साहित गर्ने काम भएको भन्दै आन्दोलन गर्ने घोषणा गरेका थिए । विगत ६ वर्षदेखि डिलर कमिसन, ढुवानी, आभेरहेड खर्च वृद्धि नभएकाले तत्कालै वृद्धि हुनुपर्ने र हरेक वर्ष मुद्रास्फीति दर अनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने संघको माग छ । व्यवसायीले १९ बुँदे माग प्रस्तुत गर्दै ती माग पूरा नभए बुधबारदेखि देशभरका ५९ वटै ग्यास उद्योगले आयल निगमबाट डेलिभरी अर्डर खरिद नगर्ने र नगराउने घोषणा गरेका छन् । बजारमा ग्यासको अभाव भइरहेको गुनासो आएपछि यस विषयमा नेपाल आयल निगमको पनि ध्यानआकर्षण भएको बुझिएको छ । तर, नेपाल आयल निगमका प्रवक्ता प्रवक्ता मनोज ठाकुरले बजारमा ग्यासको अभाव नरहेको बताए । उनका अनुसार जाडोको समयमा नेपालमा पनि ग्यासको आवश्यकता बढी हुने भएकाले केही समय बजारमा ग्यास अभाव देखिएको जस्तो भएपनि समस्या नै सिर्जना हुने किसिमको छैन । उनले भने, ‘जति हाम्रो कोटा छ । त्यहीअनुसार ग्यास बजारमा खपत भइरहेको छ । तत्काल ग्यासको अभाव हुँदैन, उपभोक्ता ढुक्क हुँदा हुन्छ ।’ उनले नेपालमा सदर खपत ४६ हजार मेट्रिक टन भएपनि डिसेम्बर महिनामा ४८ हजार मेट्रिक टन ग्यास खपत भएको उनको भनाइ छ । हाल नेपालमा कोटाभन्दा बढी नै ग्यास खपत भइरहेको उनले दाबी गरे । आर्थिक वर्ष सुरु भएयता प्रत्येक महिना सरदरमा ४५ हजार ८ सय मेट्रिक टन ग्यास खपत भइरहेको उनको भनाइ छ । यस्तो छ चार वर्षको खपत पछिल्लो समय एलपीजी ग्यासको खपत बढेसँगै आयात पनि बढेको निगमको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार देशभर विगत १० वर्षको अवधिमा ग्यासको खपत र आयात साढे २ लाखले बढेको देखिन्छ । आर्थिक वर्ष २०७१/०७१ मा वार्षिक २ लाख ५८ हजार २९९ मेट्रिक टन ग्यास आयात भएकोमा गत वर्ष देशभर ५ लाख २४ हजार २७४ मेट्रिक टन ग्यास खपत भएको निगमको तथ्याङ्क छ । त्यस्तै, पछिल्लो चार वर्षको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७६/०७७ मा ४ लाख ४९ हजार ६३, आर्थिक वर्ष २०७७/७८ मा ४ लाख ७७ हजार ७५२, आव २०७८/०७९ मा ५ लाख ३६ हजार २८, २०७९/०८० मा ५ लाख १४ हजार ७१७ र आव २०८०/०८१ मा ५ लाख २४ हजार २ सय २४ मेट्रिक टन ग्यास आयात भएको छ । आयल निगमले २०७८ सालमा गरेको ग्यास सिलिण्डर प्रमाणीकरणअनुसार देशभर एक करोड ४४ लाख सिलिण्डर छन् । पछिल्लो समय सिलिण्डर थपिँदै गएका छन् । हाल देशभर ५९ वटा ग्यास उद्योग छन् । ती उद्योगका लागि निगमले मासिक ४५ हजार मेट्रिक टन ग्यासको पीडीओ जारी गर्दै आएको छ ।
सिमेन्ट उद्योगीले आफूखुशी सिमेन्टको मूल्य बढाएका होइनन् : उद्योगमन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्ट उद्योगीले आफूखुशी सिमेन्टको मूल्य नबढाएको दाबी गरेका छन् । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै उद्योग मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उत्पादन लागतमा वृद्धिको साथै लोडसेडिङको कारण सिमेन्ट उद्योगीहरुले मूल्यवृद्धि गरेको उल्लेख गरे । उनले सांसदहरुले लोडसेडिङ छैन भने पनि प्राधिकरणले तालिका बनाएर उद्योगहरुलाई दिएको दाबी गरे । उद्योगमन्त्री भण्डारीले विद्युत प्राधिकरण सरकार भन्दा बाहिरको निकाय नभएको बताए । उनले उद्योगको लागत मूल्याङ्कन गर्नेगरी समिति बनाएको उल्लेख गरे । सरकारले सिमेन्टको मूल्यवृद्धि रोक्ने प्रयासले मूल्य वृद्धि घटेको बताए । सरकारले उद्योग जोगाउने र मूल्य वृद्धि पनि नियन्त्रण गरी जनतालाई पनि राहत प्रदान गर्ने गरी काम गरिरहेको बताए । घाटा खाएर कुनै पनि उद्योगले सिमेन्ट उत्पादन गरेर व्यापार नगर्ने जानकारी दिए । सरकारले पटक–पटक उद्योगी, व्यवसायी र निर्माण व्यवसायीहरुसँग छलफल गरेको उल्लेख गरे । ‘सिमेन्टको मूल्य वृद्धिको विषयमा मन्त्रालय गम्भिर छ । मन्त्रालयले पटक–पटक सिमेन्ट उत्पादक संघसँग बसेर छलफल गरेका छौं । बाहिर बजारमा सतप्रतिशत बढ्यो भन्ने पनि छ । विभिन्न उत्पादकका फरक मूल्य छन्, ’ उनले भने । समितिमा उद्योगमन्त्री र सांसदहरुबीच दोहोरो संवाद समेत भएको छ । मन्त्रीले समेन्टको मूल्यवृद्धि लोडसेडिङको कारणले भएको भनेर समितिमा जानकारी दिएसँगै दोहोरो संवाद भएको हो । सांसदहरुले समितिले सिमेन्ट उद्योगीहरुले गरेको मूल्यवृद्धिलाई सघाउन नसक्ने मन्त्रीलाई जानकारी गएका थिए ।
कोदोको ब्राण्डिङमा आर्क्स ग्रुप, निर्यात गरेर विश्वव्यापी बनाउने रणनीति
काठमाडौं । आर्क्स ग्रुपले नेपालको ग्रामीण भेगमा फल्ने कोदोलाई अन्तर्राष्ट्रियकरण गर्ने योजनाअनुरुप कोदोको विभिन्न उत्पादनहरु बजारमा ल्याएको छ । होटल, मोटर्स, हेल्थकेयरलगायत क्षेत्रमा लगानी गरिरहेको यस ग्रुपले अहिले कोदोको प्रडक्टहरु पनि बजारमा ल्याएको हो । ग्रुपले आर्क्स फुड अन्तर्गत कोदोका प्रडक्टहरु बनाएर अहिले बिक्री गरिरहेको छ । आक्र्स फुड यो ग्रुप अन्तर्गतको एउटा कम्पनी हो । जसले सिङ्गापुरकै कफी ब्रान्ड म्याग कफी, चाइनाबाट डीडीएन ब्रान्डको सोडा क्र्याकर बिस्कुट र भारतबाट चकलेट लगायतका फुड आइटम आयात गरेर बिक्री गर्दै आएको छ । लामो समयदेखि विदेशी फुडलाई आयात गर्दै नेपालमा बजारीकरण गरिरहेको आर्क्स फुडले अहिले स्वदेशी फुड उत्पादन गरेर नेपाली बजारमा ल्याएको बताएको छ । आयातलाई जोड दिइरहेको आर्क्स फुडले कोभिड १९ पछि भने स्वदेशी उत्पादनलाई जोड दिएको बजार निर्देशक गोपालकृष्ण श्रेष्ठले बताए । ‘ल्याउन पनि सजिलो, बिक्री गर्न पनि सजिलो, बजारमा पनि सहजै बिक्री हुँदा कुनै टाउको दुखाइ थिएन । तर, कोभिडपछि बजारमा आर्थिक समस्या देखियो त्यसपश्चात् नेपालमै उत्पादन भएको प्रयोग गरौं भन्ने कुरा आयो अनि यतातिर लाग्यौं,’ उनले भने । नेपाली कुन प्रडक्टलाई कसरी बजारमा ल्याउने, त्यसको मार्केट कस्तो गरी बजारमा ल्याउने भन्ने विषयमा ग्रुपभित्र विविध छलफल भयो । त्यसपछि कोदोलाई बजारीकरण गर्ने उद्देश्यका साथ अहिले कोदोको विभिन्न परिकार बनाएर बिक्री गरिरहेको उनले बताए । विगत २ वर्षदेखि आफ्नै उद्योग स्थापना गरी आर्क्स ग्रुपले आर्क्स फुड बजारमा ल्याएको छ । आर्क्स फुडले अहिले बजारमा आफैले उत्पादन गरेको बिस्कुट, कुकिज, पफ ल्याइरहेको छ । ‘हामीले नेपाली बजारलाई मात्र टार्गेट गरेर हुँदैन, यसलाई विदेशी बजारसम्म पुर्याउन सक्नुपर्छ,’ बजार निर्देशक श्रेष्ठ भन्छन्, ‘अहिले हामीले निर्यातमा विशेष जोड दिइरहेका छौं ।’ कोदोमा जोड नेपालमा प्राचीनकालदेखि फल्ने महत्वपूर्ण अन्नबाली हो कोदो । जसलाई नेपालीहरूले गरिबको खानाको रूपमा चिन्ने गरेका थिए । नेपाली बजारमा मैदा, चामल आएसँगै धेरै नेपालीले कोदो खान छोडिसकेका थिए । यतिसम्मकि यो अन्नलाई हेला गरी धेरैले खेती लगाउन समेत छोडे । तर, विस्तारै नेपालीहरूले रैथाने खानालाई बुझ्न थालेका छन् । श्रेष्ठ यही मौकामा कोदोको फुड बजारमा ल्याएको बताउँछन् । उनका अनुसार कोदोको फुड बजारमा ल्याउनुको अर्को कारण पनि छ । आर्क्स फुडले उद्योग सञ्चालनमा ल्याइसकेपछि सुरुमा ‘दामी पफ’ बजारमा ल्यायो । दामी पफ बजारमा आउँदा उपभोक्ता स्वास्थ्यप्रति निकै सचेत भइसकेको पाइयो । धेरैले मैदा खान हुँदैन भन्ने बुझिसकेका थिए । दामी पफ वितरण गर्दैगर्दा धेरै उपभोक्ताले आर्क्स फुडलाई सल्लाह नै दिन थाले । उपभोक्ता नै मैदाबाट टाढा हुन थालिसकेपछि आर्क्स फुडलाई फेरि सोच्न बाध्य बनायो । नेपालमै उत्पादन गर्न उद्योग पनि स्थापना भइसक्यो तर, उपभोक्ता यो खान तयार भएन,’ श्रेष्ठ भन्छन्, ‘यो कुराले हामीलाई नेपालमै उत्पादन भएको नेपाली अन्नबाटै बनाउनुपर्छ भन्ने भयो । यो कुरामा धेरै वर्कआउट गर्यौ- कोदोलाई सुपर फुड पनि भनिँदो रहेछ, यो स्वस्थकर पनि रहेछ र कोदो मैदाको उत्कृष्ट विकल्पको रूपमा कोदोलाई पायौं ।’ उपभोक्ताको रुचि र स्वास्थ्यलाई रोज्दै कोदोको फुड बजारमा ल्याएको उनको भनाइ छ । सहजै रूपमा कोदो उपलब्ध धेरैजसो नेपालीले कोदोको महत्व बुझेपनि उत्पादन गर्नेहरूको संख्या भने थोरैमात्र छ । अहिलेको युवापुस्ता धेरैजसो विदेश र नेपालमा भएका युवाहरू पनि कृषिमा आकर्षण छैन । जसकारण कोदोको उत्पादन पर्याप्त नभएपनि अपर्याप्त भने अहिले छैन । गोपालकृष्ण श्रेष्ठ । पश्चिमी पहाडमा अहिले पनि कोदोको उत्पादन राम्रै हुन्छ । बजार निर्देशक श्रेष्ठ सहजै रूपमा कोदो पाइरहेको बताउँछन् । आर्क्स फुडले बनाइरहेको सामग्री अहिले त्रिशुली क्षेत्रको कोदोको हो । बिस्कुट, कुकिज, पफको उत्पादन भक्तपुरको च्यामासिंहमा फ्याक्ट्री बनाइएको छ । श्रेष्ठले फुडको लागि नेपालमै उत्पादन गरिएको कोदो प्रयोग गरिएको बताए । बजारमा रुचाइयो आर्क्स फुडले कोदोको सामाग्री उत्पादन गरेर बजारीकरण सुरु गरिएको ६ महिना भयो । ६ महिनामै यसले उपभोक्ताको मन जितेको श्रेष्ठको दाबी छ । अहिले बजारमा जताततै खोजी हुने खाद्यान्नमा कोदोको पिठो पर्छ । ‘छोटो समयमै हाम्रो उपभोक्ताले फुड मन पराएका छन्,’ उनी भन्छन्, ‘अहिले हाम्रो उत्पादन पूर्वको बिर्तामोडदेखि पश्चिम महेन्द्रनगरसम्म पुगेको छ, विदेशमा पनि यसको माग बढिरहेको छ ।’ ‘सुरुमा हामीलाई डर लागेको थियो, कोदो स्वस्थकर मात्र भएर भएन, यसमा बिस्कुटको टेस्ट पनि मिलाउनुपर्ने थियो, बजारमा सामग्री ल्याउँदो कस्तो प्रभाव पर्छ भन्ने थियो तर, पहिलोे ट्रायलमा राम्रो प्रतिक्रिया आयो,’ उनले थपे । श्रेष्ठ उत्पादन गरेको टेस्ट सबैले मन पराउँदा निकै खुसी लागेको बताउँछन् । पहिले काठमाडौंलगायतका केही मार्केटमा सुरु गरेको फुडको राम्रा प्रतिक्रिया आएपछि पोखरा, वुटवल, नारायणगढ, लगायत विभिन्न सहरमा सामग्री पुगेको छ । निर्यातकाे लक्ष्य आर्क्स फुडले लक्ष्य गरेको बजार विदेशी हो । स्वदेशसँगै विदेशलाई प्राथमिकतामा राखेर उद्योग सञ्चालनमा ल्याइएको हो । श्रेष्ठ नेपालको बजार पर्याप्त नभएको बताउँदै यसले मात्र व्यवसाय धान्न मुस्किल पर्ने बताउँछन् । आर्क्स फुडले उत्पादन गरेको ‘दामी पफ’ अहिले अस्टे«लिया, न्यूजिल्याण्ड निर्यात सुरु गरिएको छ भने कोदो विस्कुट र कुकिजको लागि पनि यी दुई देशबाट माग आइसकेको श्रेष्ठले बताए । आर्क्स ग्रुपले करिब ५ करोडको लगानीमा यो उद्योग सुरु गरेको हो । यो उद्योगले ५५ देखि ६० जनालाई उत्पादनतर्फ प्रत्यक्ष रोजगारी दिएको छ भने मार्केटिङमा २२ जनाले रोजगारी पाएका छन् । यो ग्रुपको अध्यक्ष राजेश काजी श्रेष्ठ हुन् । आगामी योजना कोदोको फुडले राम्रो बजार लिएपछि आर्क्स फुडले बजार बढाउने योजना बनाएको छ । जसका लागि निरन्तरता आवश्यक हुने श्रेष्ठको भनाइ छ । यसले चाँडै कोदोको पफ बजारमा ल्याउने योजना बनाउको छ भने निकट भविष्यमै फापर मकैको बिस्कुट तथा कुकिज सार्वजनिक गर्ने योजना बनाएको छ । ‘युके, डेनमार्क लगायतका देशमा पनि यसको माग छ,’ उनी भन्छन्, ‘गर्न सक्यो भने राम्रै हुँदो रहेछ, अब हामी कोदोको नयाँ आइटम पनि ल्याउँछौं । लोकल उत्पादनलाई जोड दिन्छौं ।’ यसका लागि प्रत्यक्ष किसानसँग पुग्ने योजना यो ग्रुपले बनाएको छ । अहिले पनि नेपालमा कोदो बाहिरबाट आयात हुन्छ । नेपाली कोदोको पीठोको बजार मूल्य १ सय २० देखि ४० हुँदा आयातित पिठो निकै सस्तो छ । श्रेष्ठ भन्छन्, ‘हामीले आयातित् पिठो प्रयोग गर्दैनौं, सकेसम्म नेपालमा नेपालीले उत्पादन गरेको अन्न प्रयोग गर्छौं, यसले राम्रो मूल्य किसानले पाउन्, हामीले पनि राम्रो सामग्री पाऊँ भन्ने अपेक्षा हो ।’ आर्क्स फुडले उत्पादन गरी बजारमा ल्याएको कोदोको बिस्कुट र कुकिजको मूल्य कच्चा पदार्थ प्रयोग गर्दा मूल्य धेरै पर्छ तर अहिले बजारको अन्य बिस्कुट, पफ, कुकिजको मूल्य सरह बेचिएको उनले बताए । ‘हामीलाई अहिले फाइदाभन्दा पनि मार्केट राम्रो बनाउनु छ । अहिले यसको टेस्ट र बजारको लागि अरू मैदावाला सरह नै मूल्य राखिएको छ, मार्केट बनिसक्छ त्यसपछि मूल्य हेरफेर गर्न सकिन्छ,’ उनले भने ।