५० स्टोर पुर्याउने भाटभटेनीको लक्ष्य, ५० हजारलाई रोजगारी
काठमाडौं । करिब एक वर्षअघिको कुरा हो । गत वर्ष भदौको अन्तिम साता काठमाडौं अशान्त थियो । जेन्जी आन्दोलनको रापले देशभरका व्यवसायहरू त्रसित थिए । त्यही उत्तेजित भीडको निसानामा नेपालको व्यावसायिक सफलताको पर्यायवाची बनेको भाटभटेनी सुपरमार्केट पर्यो । जेन्जी आन्दोलनमा बौद्ध शाखा मात्र होइन, देशभरका झन्डै २० वटा शाखाहरूमा क्षति पुग्यो । १२ वटा स्टोर त हेर्दाहेर्दै खरानीको थुप्रोमा परिणत भए । अन्ततः झन्डै १० महिनापश्चात बौद्धको भाटभटेनी पुनः सञ्चालनमा आएको छ । भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले उक्त दिनको क्षति सामान्य नभएको बताउँछन् । ‘हामीले १० अर्ब ८६ करोड रुपैयाँको भौतिक क्षति बेहोर्यौं,’ उनी भन्छन्, ‘भवनमात्र होइन, भित्रका अर्बौंका सामानहरू पनि जलेर सखाप भए ।’ बुधबारदेखि सञ्चालनमा आएकाे बाैद्धस्थित भाटभटेनी । तर भाटभटेनी व्यवस्थापनले हार मानेन । विगतमा जे– भयो सबै बिर्सिएर अगाडि बढ्ने भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङको दृढ इच्छाशक्तिले अहिले धमाधम स्टोरहरू पुनः सञ्चालनमा आउन थालेका छन् । बौद्ध शाखा पुनः सञ्चालनमा आउनु भाटभटेनीको मात्र जित नभई नेपाली व्यवसायीहरूको आत्मविश्वासको पुनः उदय पनि हो । अहिलेको नयाँ भवन पहिलेभन्दा आधुनिक, सुरक्षित र प्रविधियुक्त बनाइएको छ । ‘क्षतिपश्चात हामीले २५ प्रतिशतसम्म थप लगानी गरेर स्टोरहरूलाई अपग्रेड गरेका छौं,’ पौडेलले भने । किनमेल गर्दै सर्वसाधारण । बौद्ध शाखाको पुनःनिर्माणमा मात्रै १०० करोड रुपैयाँभन्दा बढी लगानी भएको उनले जानकारी दिए । स्टोरभित्रको सामग्रीमा करिब ६० करोड रुपैयाँ र भवन पुनःनिर्माणमा थप ५०/५५ करोड रुपैयाँ खर्च भएको छ । उनका अनुसारस्टोरहरूमा नयाँ प्रविधि, आधुनिक प्रणाली र ग्राहकमैत्री सुविधाहरू थपिएका छन् । त्यसैले पुनःनिर्माण लागत क्षतिको मूल्यभन्दा २०/२५ प्रतिशत बढी पुगेको छ । कसैको रोजगारी गुमेन भाटभटेनीले देशभर १० हजारभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिएको छ । पौडेलले कम्पनीले अब विगतलाई पछाडि छाडेर अगाडि बढ्ने बाटो रोजेको बताए । ‘हाम्रो जित भनेकै जलेका स्टोर पुनः सञ्चालनमा ल्याउनु हो । त्यही हाम्रो चेयरम्यानको निर्देशन पनि थियो,’ उनले भने, ‘राज्यलाई कर तिर्ने, रोजगारी जोगाउने र ग्राहकलाई सेवा दिने हाम्रो प्राथमिकता हो ।’ स्टोर जल्दा हजारौं रोजगारीहरूको भविष्यमाथि संकट मडारिँदा पनि भाटभटेनीले आफ्ना कर्मचारीलाई एक्लो छाडेन । १८ वर्षदेखि कम्पनीमा आबद्ध रेडिमेड विभागकी इन्चार्ज पूजा निरौला त्यो दिन सम्झिँदा अहिले पनि भावुक बन्छिन् । ‘त्यो दिन सम्झिँदा अहिले पनि आँखाबाट आँसु झर्छ । धेरै नै पीडादायी थियो,’ पूजाले गला अवरुद्ध पार्दै भनिन् । उनीजस्ता १० हजार बढी कर्मचारीका लागि कम्पनीले अभिभावकको भूमिका निभायो । स्टोरहरू बन्द हुँदा पनि कुनै पनि कर्मचारीलाई भाटभटेनीले जागिरबाट निकालेन । अन्य शाखाहरूमा व्यवस्थापन गरेर सबैलाई रोजगारीको ग्यारेन्टी गरियो । १५ वर्षदेखि कार्यरत सुपरभाइजर सरिता व्यञ्जनकार भन्छिन्, ‘कम्पनीले हामीलाई सेवा–सुविधामा कहिल्यै तलमाथि गरेन, त्यसैले हामी झन् बढी उत्साहका साथ काममा फर्किएका छौं ।’ खुसी छन् स्थानीय बौद्ध शाखा पुनः सञ्चालनमा आएपछि ग्राहकहरू उत्साहित देखिएका छन् । उद्घाटनकै दिन किनमेल गर्न पुगेका ग्राहकहरूले भाटभटेनी बन्द हुँदा दैनिक उपभोगका सामग्री किन्न असहज भएको अनुभव सुनाए । गोकर्णकी जमुना तामाङले भाटभटेनी बन्द हुँदा एउटै सामानका लागि धेरै पसल धाउनुपर्ने अवस्था आएको बताइन् । ‘हामी त खुल्ने दिन कुरेर बसेका थियौं, एउटै छानामुनि सबै सामान पाइने भएकाले निकै सजिलो हुन्छ,’ उनले भनिन् । अन्य ग्राहकहरूले पनि भाटभटेनीमा खोजेका अधिकांश सामान सहज रूपमा उपलब्ध हुने भएकाले पुनः सञ्चालनले राहत मिलेको प्रतिक्रिया दिएका छन् । नारायणटारकी मञ्जु कुमारी र बौद्धकी सुमिना तामाङको अनुभव पनि उस्तै छ । सामानको गुणस्तर र छनोटका लागि धेरै विकल्प पाइने हुनाले उनीहरू यो स्टोर खुल्ने पर्खाइमा थिए । नयाँ ब्राण्डका इलेक्ट्रोनिक आइटम, किचनवेयर र फेसनका सामग्रीहरूले स्टोर सजिएको छ । भाटभटेनीले हाल उपत्यकाका मुख्य शाखाहरू पुनः सञ्चालनमा ल्याइसकेको छ । विराटनगर, बिर्तामोड र धरानका स्टोरहरू पनि दशैं अगाडि नै खुल्ने तरखरमा छन् । भाटभटेनीको यात्रा रोकिएको छैन । अहिले २७ वटा स्टोर सञ्चालनमा छन् भने आगामी वर्ष थप ४ वटा थपिनेछन् । ‘हाम्रो लक्ष्य देशको कुना–काप्चामा पुग्नु हो । पहिलो चरणमा ५० वटा स्टोर पुर्याउने र ५० हजार नेपालीलाई रोजगारी दिने हाम्रो लक्ष्य छ,’ सीओओ पौडेलले भने । खरानीबाट बौरिएको भाटभटेनी नेपाली कर्पोरेट क्षेत्रका लागि एउटा बलियो उदाहरण बनेको छ ।
बजार माग बढाउने नीति ल्याउन उद्योग परिसंघको आग्रह
काठमाडौं । नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएको छ । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले गभर्नर विश्वनाथ पौडेललाई उक्त सुझाव हस्तान्तरण गरेका हुन् । परिसंघले बाह्य क्षेत्रका समष्टिगत सूचकहरू सन्तोषजनक रहे पनि आन्तरिक आर्थिक गतिविधि लामो समयदेखि सुस्त रहेको अवस्थालाई ध्यानमा राख्दै त्यसलाई चलायमान बनाउने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । आगामी मौद्रिक नीतिलाई बजार माग वृद्धि, नीतिगत सुधार र केन्द्रीय बैंकको संरचनागत सुधारमा केन्द्रित गर्न परिसंघले सुझाव दिएको छ । साथै, निर्देशित कर्जाको सीमा चरणबद्ध रूपमा घटाउने, कार्यशील पूँजीसम्बन्धी मार्गदर्शन क्षेत्रगत आधारमा लागू गर्ने, ब्याजदर निर्धारण प्रणालीलाई आधुनिकीकरण गर्ने तथा धितोयुक्त कर्जाको वर्गीकरण र कालोसूचीकरणको समयसीमा पुनरावलोकन गर्नुपर्ने सुझाव दिएको छ । यस्तै, सरकारको इन्टरप्राइज फ्यासिलिटीसँग आबद्ध स्टार्टअपहरूका लागि विशेष कर्जा सुविधा स्थापना गर्न र राष्ट्र बैंकभित्र अधिकारसम्पन्न मौद्रिक नीति समिति गठन गर्नुपर्ने विषय पनि परिसंघले उठाएको छ । अध्यक्ष पाण्डेले बजार माग तथा लगानीकर्ताको आत्मविश्वास उकास्ने खालको मौद्रिक नीतिको अपेक्षा गरिएको बताए । सुझाव ग्रहण गर्दै गभर्नर पौडेलले आगामी मौद्रिक नीति ब्याजदर स्थिरता र वित्तीय प्रणालीको सुदृढीकरणमा केन्द्रित हुने उल्लेख गरे। निजी क्षेत्र अर्थतन्त्रको प्रमुख चालक भएको भन्दै लगानी र आर्थिक गतिविधि प्रवर्द्धनका लागि नियामक निकाय र उद्योग क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताए । कार्यक्रममा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, गभर्निङ काउन्सिल सदस्य शशिकान्त अग्रवाल तथा बैंक तथा वित्तीय समिति सभापति वरुण कुमार तोदीलगायतको उपस्थिति रहेको थियो ।
हेटौंडा कपडा उद्योग ब्यूँताउँदै सरकार, बुटवल धागो र कपास खेती पनि पुनः सञ्चालन गर्ने
काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमनसँगै सक्रियता बढाइएको छ । हेटौंडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेटौंडा कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो । त्यसयता उक्त कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन पटकपटक प्रयास भए पनि प्रयासले सार्थकता पाउन सकेको थिएन । यस वर्ष यसको सञ्चालनका लागि सरकारले चासो बढाएसँगै सरकारी तवरबाट स्थलगत अनुगमनसँगै सक्रियता बढाइएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौंडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए । ‘कपडा उद्योगसँगै तत्कालीन समयमा नै यससँग सम्बन्धित बुटवलमा धागो कारखाना र बाँकेको नेपालगन्जमा कपास उत्पादन कारखाना पनि सँगसँगै सञ्चालनमा ल्याइएको थियो,’ सूचना अधिकारी भण्डारीले भने, ‘हेटौंडा कपडा उद्योग बन्द भएपछि यी दुई उद्योग पनि बन्द भएका थिए ।’ त्यसयता समय-समयमा यसको पुनः सञ्चालनको प्रयास भने भइरहेको उनले जानकारी दिए । कपडा उद्योग पुनः तत्कालै सञ्चालन गर्न सकिने अवस्थामा रहेको बताउँदै सूचना अधिकारी भण्डारीले त्यहाँ रहेका उपकरण सामान्य मर्मतपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको बताए । हेटौंडा कपडा उद्योगको पुनः सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अग्रसरता लिएको बताउँदै उनले यसबीचमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले उद्योगको स्थलगत अनुगमन गरेको बताए । त्यस्तै उद्योगको हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पनि स्थलगत निरीक्षणसँगै जानकारी लिएको उनको भनाइ छ । मन्त्री यादवले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा सरकारले हेटौंडा कपडा उद्योग यसै वर्षबाट सञ्चालनमा ल्याउने तयारी गरेको बताइन् । रूग्ण उद्योगहरूमध्ये हेटौंडा कपडा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउने बताउँदै उनले कपडा उद्योगका लागि बुटवल धागो र कपास खेती पनि यसै वर्ष सञ्चालनमा ल्याउने जानकारी गराइन् । कपडा उद्योग बन्द भएसँगै उक्त उद्योग परिसरमा २०७५ सालदेखि सशस्त्र प्रहरी सुरक्षा बल १४ नम्बर गण बस्दै आएको छ । सशस्त्र प्रहरी बस्नुअघि त्यहाँको सुरक्षाका लागि दुई कर्मचारीमात्र थिए । सशस्त्र बस्नुअघि लागूऔषध प्रयोग गर्ने दुर्व्यसनको अखडा बनेकामा अहिले भने उद्योग पूर्ण सुरक्षित रहेको छ । सरकारी चासोसँगै उद्योग परिसरमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा सरसफाइ गरिएको छ ।