नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव

गोरखा । गोरखामा झण्डै २० वर्षदेखि सञ्चालन हुँदै आएको नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव हुन थालेको छ । गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा सञ्चालन हुँदै आएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगले आवश्यकता अनुसार कच्चा पर्दाथको नपाउँदा समस्या हुँदै आएको उद्योगका सञ्चालक पासाङ निमा शेर्पाले बताए । उद्योगले कच्चा पर्दाथको अभावमा माग अनुसार उत्पादन गर्नसक्ने अवस्था नरहेको उनको भनाई छ । ‘नेपाली हाते कागज उत्पादनका लागि हिमाली भेगका जंगलबाट लोक्ता खोजेर ल्याउनुपर्छ’, शेर्पाले भने, ‘जंगलमा बाह्रै महिना लोक्ता पाउन पनि गाह्रो छ।’ उद्योगले उत्तरी गोरखाको धार्चे, चुमनुब्री र अजिरकोट गाउँपालिका क्षेत्रका जंगलबाट कच्चा पर्दाथ ल्याएर नेपाली कागज उत्पादन गर्दै आएको छ । ‘वर्षभरी तीन महिना फागुन चैत र बैशाख महिनामा जंगलमा अरु बेला भन्दा धेरै कच्चा पर्दाथ पाइन्छ ‘, उनले भने, ‘तर जङ्गलमा गएर झिक्ने, सुकाउने र यहाँसम्म ल्याउने मान्छे नै पाउन गाह्रो छ ।’  जङ्गलबाट  झिकेर ल्याएको कच्चा पर्दाथ उद्योगसम्म ल्याउन सडक समस्याका कारण थप कठिनाइ हुने गरेको छ । शेर्पाको उद्योगमा उत्पादित नेपाली कागज बिक्रीका लागि बजारको भने कुनै समस्या नरहेको शेर्पाले बताए । ‘उद्योगले जति उत्पादन गरेपनि बजारमा बिक्रीका लागि भने कुनै समस्या छैन’ उनले भने, ‘बरु सधैँ कच्चा पदार्थको अभाव हुने गरेको छ ।’ मजदुरहरुले जङ्गलबाट झिकेर ल्याएको लोक्ता प्रतिक्विन्टल १५ हजार रुपैयाँमा उद्योगले खरिद गदै आएको छ । ‘रोजगारीका हिसावले त कच्चा पर्दाथ संकलन गर्ने मजदुरहरुको पनि आम्दानी राम्रो हुन्छ’, उनले भने, ‘जंगलमा गएर खोज्नुपर्ने हुनाले अलि दुःख हुने भएकाले जो कोही तयार हुँदैनन् ।’ उद्योगमा एक ‘क्विन्टल‘ कच्चा पदार्थबाट दुईहजार थान (२०/३० साइज) को कागज उत्पादन हुने शेर्पाले जानकारी दिए । शेर्पाको उद्योगमा उत्पादित ४० ग्राम तौलका कागज भने नेपाल बाहिरसमेत निर्यात हुँदै आएको छ ।

डल्फिन पोलिप्लास्टलाई नेपाल गुणस्तर प्रमाण पत्र प्रदान

काठमाडौं । डल्फिन पोलिप्लास्ट इन्डस्ट्रीज प्रालिले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । पीभीसी पाइप उत्पादनमा विशेषज्ञता हासिल गरेको प्रमाणका आधारमा डल्फिनलाई सो प्रमाणपत्र प्रदान गरिएको हो । डल्फिन पोलिप्लास्टले गुणस्तर, नवीनता, र ग्राहक सन्तुष्टिलाई आफ्नो प्रमुख लक्ष्य मानेर काम गर्दै आएको कम्पनीले जानकारी दिएको छ । कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार, डल्फिनलाई दिइएको नेपाल गुणस्तर प्रमाणपत्रले कम्पनीको उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना भएको पुष्टि गर्दछ । कम्पनीका प्रमुख उत्पादनहरूमा सी पीभीसी पाइप, सी पीभीसी फिटिङ, यू पीभीसी पाइप, यू पीभीसी फिटिङ, भूमिगत पाइप, र बोरवेल पाइपहरू समावेश रहेका छन् । यी उत्पादनहरू आवासीय, व्यावसायिक, अस्पताल, होटल, र सिँचाइ लगायत विभिन्न क्षेत्रमा प्रयोग हुँदै आइरहेका छन् । डल्फिन पोलिप्लास्ट, स्थापनाकाल देखि नै आफ्ना आदर्णिय ग्राहकहरूको विश्वास र सन्तुष्टिलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहेको छ । नेपाल गुणस्तर प्रमाणपत्र प्राप्तिले कम्पनीलाई गुणस्तरलाई थप सुदृढ गर्दै अघि बढ्न प्रेरित गरेको कम्पनीको भनाइ छ ।

निजी क्षेत्रमा पहिलो सिमेन्ट उद्योग खोलेका राठी, ८० करोडबाट १० अर्बको पोर्टफोलियो

काठमाडौं । कुनैबेला नेपाली बजारमा विदेशी सिमेन्टको दबदबा थियो । व्यवसायीले भारतबाट सिमेन्ट आयात गरेर नेपाली उपभोक्ताको मागपुर्ति गर्थे । तर, अहिले अवस्था त्यस्तो छैन । बरु, नेपाली उद्योगी व्यवसायीहरुले सिमेन्ट निर्यात गरेर डलर कमाइरहेका छन् । विदेशी सिमेन्ट उद्योगीको भरमा पर्ने नेपाली उद्योगीहरु अहिले विदेशी ब्राण्डका सिमेन्टसँग प्रतिस्पर्धा गर्ने तहमा पुगेका छन् । सुरुवाती दिनहरुमा नेपाल सरकारले नै सिमेन्ट उद्योग खोलेर नेपाली उपभोक्तालाई स्वदेशी सिमेन्टको स्वाद दिलाए पनि त्यो पर्याप्त थिएन । परिणामस्वरुप २०५१ सालमा निजी क्षेत्रको पहिलो ग्रिनफिल्ड सिमेन्ट उद्योगका रुपमा मारुती सिमेन्ट उद्योग स्थापना भयो । जसको सुरुवात उद्योगी नन्द किशोर राठीले गरे । तीन दशकको अवधिमा मारुती सिमेन्टले विभिन्न आरोह–अवरोह तथा अनुभव प्राप्त गरेको छ । पुरानो सिमेन्ट उद्योग भएपनि यसले समायानुकुल आफूलाई परिमार्जित र परिस्कृत गर्दै विदेशी लगानी समेत भएका उच्चस्तरीय सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गरिरहेको छ । यो सिमेन्ट उद्योग सिराहाको गोलबजार नगरपालिकाको मिर्चैया छ । ५० टनको पछि ७ सय भर्टिकल सफ्ट क्लिन (भिएसके) प्लान्ट हुँदै अहिले तीन हजार टन क्षमताको छ । भिएसके भनेको एउटा प्रविधि हो, जुन साना स्तरका सिमेन्ट उद्योगहरूमा प्रयोग गरिन्छ । नन्द किशोरले मारुती सिमेन्ट सञ्चालनमा ल्याउँदा उदयपुर र हेटौंडा सिमेन्ट सञ्चालनमा थिए । यी सिमेन्टले रोटरी क्लिन प्लान्ट प्रयोग गरेका थिए । त्यो बाहेक निजी क्षेत्रको रोटरी क्लिन प्लान्ट राख्ने मारुती पहिलो सिमेन्ट उद्योग थियो । रोटरी क्लिन प्लान्ट भनेको सिमेन्ट उत्पादनमा प्रयोग गरिने एक अत्यधुनिक प्रविधि हो । जसमा ठूलो घुम्ने सिलिन्डर प्रयोग गरिन्छ । जुन नेपालमा निजी क्षेत्रको पहिलो प्लान्ट थियो । उसो त राठी सिमेन्ट उद्योगमा नयाँ अनुहार थिए । हजुरबुबा र बुबाले कपडाको व्यापार गर्थे । मोरङमा बसेर गाउँ–गाउँ पुग्दै कपडा बिक्री गर्ने उनको परिवारको व्यवसाय थियो । तर, नन्दकिशोरले व्यवसायमा पृथक किसिमको स्वाद लिने चेष्टा गरे । ‘मेरो परिवारको सिमेन्टमा कुनै विज्ञता थिएन । तर, सिमेन्ट उद्योगको सम्भावना देखेपछि मारुती सञ्चालन गर्यौं,’ उनले सुरुवाती दिनहरु स्मरण गर्दै भने, ‘सुरुमा मागअनुसारको आपुर्ति गर्न सक्थेनौं, व्यवसाय अनपेक्षित ढंगबाट फष्टायोे ।’ नन्दकिशोरसँगै मारुती सिमेन्टमा गोयल परिवार पनि समावेश भयो । योगल परिवार राठीको ग्रुपको हरेक व्यवसायमा सामेल हुने गरेको छ । उद्योगमा अनुभव पनि चाहिन्छ भन्ने किसिमले एकजना भारतीय व्यवसायीलाई पनि स्टेक होल्डर बनाइयो । उद्योगको व्यापार राम्रै हुन थाल्यो । अहिले पनि सुरुवाती दिनकै सेयरधनीहरु कम्पनीमा छन् । ‘भारतीय लगानीकर्ता (सुहिलकुमार खेन्का)जीको पहिलेदेखि नै सिमेन्ट कम्पनी थियो, हामीले तपाईं पनि आउनुहोस् भनेर आग्रह गरेपछि उहाँ पनि हामीसँग जोडिनुभयो,’ विकासन्युजसँग कुरा गर्दै उनले भने, ‘भारतीय लगानीकर्ता सामेल भइसकेपछि हामीलाई टेक्निकल पाटोमा सहयोग पुग्यो, काम गर्न सहज भयो ।’ राउत कन्स्ट्रक्सनलाई उत्खनन्को जिम्मा सिमेन्ट उद्योगका लागि चाहिने आवश्यक समाग्री हो ढुंगा गिट्टी । मारुती सिमेन्टले यसको सबै जिम्मवारी राजेन्द्र प्रसाद राउतको राउत कन्स्ट्रक्सनलाई दियो । त्यो बेला अहिलेजस्तो काम गर्न सहज अवस्था थिएन । देशभर माओवादीको आन्दोलन चर्किरहेको थियो । बाहिर निर्धक्क भएर हिँड्न सक्ने अवस्था थिएन । तर, माइनिङका लागि राउत कन्ट्रक्सनलाई जिम्मेवारी दिएपछि उद्योगलाई सहज भएको उद्योगी राठीले सुनाए । द्धन्द्धकालमा सुरु गरेको यो उद्योग अहिले नेपालकै उत्कृष्ट बन्न सफल भएको उनी दाबी गर्छन् । नन्द किशोरले विभिन्न व्यक्ति समूहसँग सहकार्य गरी सिमेन्ट उद्योग सञ्चालनमा त ल्याए । तर, सुरुवाती तीन महिनामा केही सकसपूर्ण बने । ‘एकातिर नयाँ व्यवसाय, अर्कोतिर द्धन्द्धकाल, बजार पनि बनाउनुपर्ने उत्पादन पनि गुणस्तर बनाउनु पर्ने काम धेरै थियो, बजार राम्रो थिएन,’ विगत स्मरण गर्दै उनी भन्छन्, ‘उदयपुर र हेटौंडा सिमेन्टले बजार तताइरहेको बेला हामी जन्मिनु आफैैंमा ठूलो साहस थियो ।’ विस्तारै मारुती पनि हेटौंडा र उदयपुरजस्तै राम्रो चल्न थल्यो । तर, त्यो बेला मारुतीको क्षमता सानो थियो । त्यो बेला मारुतीले प्रतिदिन ७ सय टन सिमेन्ट उत्पादन गथ्र्याे । ‘विस्तारै बजार बढ्दै गयो, माग बढ्न थाल्यो,’ उनी भन्छन्, ‘त्यो बेला माग अनुसार उत्पादन धान्न कठीन नै हुन्थ्यो, क्षमता सानो थियो त्यसपछि हामीले सिमेन्ट उत्पादनको क्षमता बढाउनुपर्यो, सुरुमा ७ सय टन उत्पादनको क्षमतालाई बढाएर १५ सय टनमा पुर्यायौं, माग बढ्दै गएपछि क्षमता बढाउँदै गयौं अहिले तीन हजार पाँच सय टन क्षमता छ ।’ ८० करोडबाट १० अर्बको यात्रा उद्योगी नन्द किशोर राठीले ८० करोड रुपैयाँ लगानी गरेर सिमेन्ट उद्योगमा प्रवेश गरेको थिए । सिमेन्टको उत्पादन र बजार विस्तारै विस्तार हुँदै गयो । अहिले यो उद्योगको पोर्टफोलियो १० अर्बको हाराहारीमा पुगेको उनी दाबी गर्छन् । यस सिमेन्ट उद्योले सन् २०२२ मा ५ अर्ब ४ करोड ४० लाख रुपैयाँको आम्दानी गरेकोमा सन् २०२३ मा ४ अर्ब ३३ करोड ९० लाख र सन् २०२४ मा पनि ४ अर्बको हाराहारीमा आम्दानी गरेको छ । सन् २०१९ ताका यस कम्पनीले ७ अर्ब बढी आम्दानी गर्ने गरेको थियो । ‘हामीले उद्योगको आम्दानी पनि रिइन्भेष्ट गर्यौं, त्यसले उद्योगको गुडविल पनि बढ्यो, सुरुवातमा बजार पनि राम्रै थियो, पछिल्लो समय प्रतिस्पर्धा बढ्दा केही समस्या सिर्जना भएको छ । तर, सस्टेन हुने अवस्था भने अझै पनि छ,’ उनले भने । अहिले क्षमताअनुसारको माग बजारमा छैन । सिमेन्ट उद्योगको संख्यासँगै माग केही घटेको छ । उनी व्यसाय सुस्ताउनुको कारण प्रतिस्पर्धा नै रहेको सुनाउँछन् । ‘आजभोलि धेरै प्लान्ट सञ्चालनमा आए, ठूलो क्षमताका प्लान्टसँग प्रतिस्पर्धा गर्न गाह्रो नै छ, त्यसमाथि विदेशी लगानीका उद्योगहरु पनि छन्, यस्तो अवस्थामा पनि पुरानो उद्योग मारुतीले प्रतिस्पर्धा गरिरहेको छ ।’ उद्योगी राठीका अनुसार अहिले १६ वटा क्लिन्कर प्लान्ट छन् । प्रायः मिसेन्ट उद्योगहरु पूर्वमा पुग्ने गर्छन् । सौर्य र होङ्सी सिमेन्टको पनि पूर्वमा राम्रै बजार छ । तर, मारुती भने पूर्वमा मात्रै सीमित छ । उनी मारुतीलाई पश्चिममा पुगाउन नसकेको सुनाउँछन् । अहिले मारुतीको ५३ ग्रेडको ओपीसी सिमेन्ट बजारमा लोकप्रिय छ । यो सिमेन्टले नेपालमा ठूल्ठूला परियोजनाहरु निर्माण भइसकेका छन् । एक समय नेपालमा निर्माण हुने कतिपय ठूला परियोजना अर्थात् विदेशी लगानीका परियोजनामा विदेशी सिमेन्ट नै प्रयोग गर्ने अभ्यास थियो । तर, त्यो अभ्यास तोड्न मारुती सिमेन्ट सफल बनेको राठी सुनाउँछन् । अहिले निर्माण हुने अधिकांश जलविद्युत परियोजनामा मारुती सिमेन्टको प्रयोग नै बढी हुने गरेको उनी बताउँछन् । सरकारले सिमेन्ट निर्यातमा अनुदान दिए पनि निर्यात गर्न भने अझै कठीन रहेको उनले सुनाए । निर्यातका लागि अनुमति पाइसके पनि निर्यात गर्न समस्या नै रहेको उनले बताए । ‘भारत सरकारबाट ब्यूरो अफ इण्डियन स्ट्याण्डर्ड (बीआईएस) पाइसक्छौं । तर, भारत सरकारले आयातका लागि अनुमति दिँदैन, यो ठूलो समस्याका रुपमा देखा परेको छ, यसमा नेपाल सरकारले सहजीकरण गरिदिनुपर्छ,’ उनले गुनासो गर्दै भने । उनले मारुती सिमेन्ट उद्योगले सर्वसाधारणका लागि सेयर निष्काशनका लागि पनि तयारी गरिरहेको जानकारी दिए । यसका लागि कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पुगेको छ । राठी ग्रुपका उद्योगले हाल तीन हजार भन्दाबढीलाई रोजगारी दिएको छ । एउटा कपडा व्यापारबाट सुरु भएको यस व्यावसायिक घरानाको व्यवसाय तेल, साबुन, अक्सिजन, प्लाष्टिक, कार्पेट, स्टील, बैंक र सिमेन्ट उद्योगसम्म फैलिएको छ । यो परिवारले व्यवसायका विभिन्न पुस्ताको नेतृत्व पार गर्दै अहिले नन्दकिशोर र उनको छोरा अनुपमले यी व्यवसायको नेतृत्व गरिरहेका छन् । नेपालको पूर्वी क्षेत्रमा पृथक किसिमको पहिचान बनाएको यस व्यावसायिक समूहले उद्योग व्यापार संघ मोरङको पनि नेतृत्व गर्दै आएको छ । नन्दकिशोरका बुबा आशकरण राठी, नन्दकिशोर र अहिले उनको छ अनुपमले पनि सो संघको नेतृत्व गर्ने अवसर पाएका छन् । यो व्यावसायिक समूह जति व्यवसायमा सफल छ, व्यावसायिक संघ संस्थामा पनि नेतृत्व गरेर त्यतिकै अब्बलता देखाइरहेको छ । अहिले मारुती सिमेन्टको नेतृत्व पनि नन्दकिशोरकै छोराले गरिरहेका छन् ।