आइएमई ग्रुपको कागज उद्योग प्रधानमन्त्री ओलीले गरे उद्घाटन, नयाँ उद्योगले आयात प्रतिस्थापन गर्ने

 काठमाडौं । आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन लगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रकृया र उद्योगमै रहेको वातावरण मैत्री क्यालसियम कार्वोनेट उत्पादनको समेत अवलोकन गरे । २ अर्ब रुपैयाँ लगानी रहेको यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको हो । शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नेछ । विद्यालयको पाठ्यपुस्तक छपाई गर्दै आएको जनक शिक्षा सामग्री केन्द्र लगायतलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ । उद्योग उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइएमई ग्रूपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिजको सञ्चालन आइएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश मात्र होइन, यो नेपालको औद्योगिक यात्रामै नव जागरणको रुपमा लिएको बताए । अध्यक्ष ढकालले नयाँ उद्योगको सञ्चालन मुुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दीगो औद्योगिक विकासप्रतिको प्रतिवद्धताको रुपमा लिन र विकासको राष्ट्रिय आकांक्षामा निजी क्षेत्रले गरेको ‘होस्टेमा हैंसे’को उदाहरण बनेको पनि उल्लेख गरे । उद्योगहरु बन्द हुने, लगानीकर्ताहरु पलायन हुने र अरबका खाडीको ५० डिग्री सेन्टिग्रेटको तातोमा काम गर्न हाम्रा युवाहरु जानु पर्ने वाध्यतालाई कम गर्दै गरेर नयाँ उद्योगहरु खोल्दै आयात प्रतिस्थापन गर्ने र कर्ममुखी औद्योगिक विकासको नवजागरण सृजना गर्न आइएमई ग्रुपको यस्तै उत्पादनमुलक उद्योगमा भएको प्रवेश महत्वपूर्ण पाइला सावित हुने पनि अध्यक्ष ढकालले उल्लेख गरे । औद्योगिक विकास रोजगारीको प्रमुख कारक रहेको प्रस्ट्याउदै अध्यक्ष ढकालले नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रीले प्रत्यक्षरुपमा ३०० बढी र अप्रत्यक्षरुपमा हजारौंका लागि रोजगारीका अवसर सिर्जना गरेको जानकारी समेत गराए । जसमा इन्जिनियर, प्राविधिक र कारखाना श्रमिकदेखि आपूर्ति व्यवस्थापक, खुद्रा विक्रेता र किसानहरु समेत समावेश छन् । उद्योगले ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलाहरुलाई अवसर दिन थालेको छ । अध्यक्ष ढकालले यो प्रयासलाई स्वदेशी उद्योग प्रवद्र्धन गर्ने र प्रमुख क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने सरकार र आम नेपाली जनताको सोँच तथा सपनासँगको हातेमालोको रुपमा लिन पनि आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको रुपमा अध्यक्ष ढकालले पछिल्लो समय नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ल्याएका कतिपय कानुनहरु निकै सहयोगी सिद्ध हुने विश्वास लिएको उल्लेख गरे । उनले मुलुकको अर्थतन्त्रको सुधार र विकासका लागि आवश्यक नीति तथा कानुनहरु निर्माणमा सरकारले निजी क्षेत्रका सुझावहरु सुन्न थालेको र आपसी समन्वयमा रहेर काम गरिरहेको निजी क्षेत्रले महसुस गरेको पनि उल्लेख गरे । स्वदेशी होस या विदेशी होस्, लगानीकर्ताले फिल्डमा काम भए नभएको हेर्ने गर्दछ । त्यसैले यस्तै नयाँ नयाँ ठूला आयोजनाहरु वर्षमै सञ्चालनमा आए भने त्यसले मुलुकमा लगानीको वातावरण छ भन्ने अर्थ आफैँ लाग्नेछ । त्यसैले आज सञ्चालनमा आएको यो उद्योगले पनि नेपालमा लगानीको वातावरणको सकारात्मक सन्देश यथेष्ट मात्रामा दिने पनि अध्यक्ष ढकालले बताए । सो अवसरमा अध्यक्ष ढकालले पाथिभरामा बन्न लागेको केबलकारको विषयमा सतहमा आएका केही विषयले मुलुकमा लगानी र व्यवसायिक वातावरणप्रति नकारात्मक सन्देश प्रवाह हुने आशंका रहेको समेत उल्लेख गरे । ताप्लेजुगका स्थानीय जनता, स्थानीय सरकार र प्रदेश सरकारले बारम्बार गरेको आग्रहमा पाथिभरामा केबलकारको निर्माण परियोजना सुर गरेको स्मरण गराउदै अध्यक्ष ढकालले उक्त प्रसिद्ध देवस्थलको सांस्कृतिक मूल्यमान्यता र पर्यावरणीय सन्तुलन जस्ता आयोजना निर्माणका सबै पक्षलाई ध्यानमा राखेर र जिल्लाबासी सबैको सहमति र सहभागितामा परियोजनाको निर्माण कार्यको थालनी भएको बताए । काम सुरु भए लगत्तै जिल्ला भन्दा बाहिरबाट गएर अवरोधको प्रयास भएको र यस्तो प्रवृतिले भोलिका दिनमा लगानीको अवस्था के हुन्छ र लगानीकर्ता यस्तो अवस्थामा थप लगानीका लागि तयार हुन्छन् कि हुँदैनन भन्ने कुरा निजी क्षेत्र र राज्यले सोच्नुपर्ने अवस्था आएको तर्फ पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराए । पूर्वाधार निर्माणजस्तो काममा देखिएको अवरोध सूचना प्रविधिको विकासले साँघुरो बनिरहेको संसार भरि पुग्दा त्यसले विश्वका लगानीकर्ताहरुमा कस्तो सन्देश सञ्चार गर्ला भन्ने चिन्ता निजी क्षेत्रमा बढाएको पनि अध्यक्ष ढकालले बताए । बदलिदै गरेको विश्व परिवेशमा विदेशी अनुदान तथा सहायता घट्दै गएको यथार्थ मनन गरेर स्वदेशी उद्यमी, रोजगारी र राजश्व सृजना गर्ने कर्मशिलहरुलाई प्रोत्साहन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले प्रकृतिले दिएका अपार सम्भावनाहरुलाई उपयोग गर्दै समृद्धि तर्फको यात्रामा सँगसँगै अगाडि बढ्न आह्वान समेत गरे । सबै राजनितिक दलका नेताहरु, सबै संघ संस्थाका नेतृत्व वर्गलाई पूर्वाधार विकास, रोजगारी सृजना, आम नागरिकले पाउने सेवा र राज्यले प्राप्त गर्ने राजश्वको मुख्य श्रोत सृजना गर्न सबै पक्ष एकै ठाउँमा उभिनु पर्ने आवस्यकता पनि अध्यक्ष ढकालले औल्याए । पूर्वाधार निर्माण, आर्थिक विकास र आम नागरिकले प्राप्त गर्ने सेवा, सुविधा र आवश्यकताका विषयमा नकारात्मक राजनिति नगर्न र पूर्वाधार विकास भयो भने मात्र नागरिकको जीवनस्तर सुधार हुने रोजगारी सृजना हुने, राजश्व वृद्धि हुने हो र मुलुक सम्मृद्ध हुनेमा कसैको दुईमत नरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । आज उद्घाटन भएको उद्योगको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले विगत कैयौं वर्षदेखि नेपाल कागज तथा कागजजन्य उत्पादनका लागि आयातमा निर्भर रहँदै आएकोमा अव त्यो अवस्था नरहने बताए । मुलुकै ठूलो उद्योगमध्येको एक भृकुटी कागज कारखाना बन्द भएसँगै हामीसँग औद्योगिकस्तरमा कागजको आन्तरिक उत्पादन छैन । साना तथा हाते कागज उद्योगहरुले भने हस्तकला तथा नेपाली कागजको आपूर्तिमा योगदान गरे पनि प्रयाप्त छैन् । सो अवसरमा अध्यक्ष ढकालले आइएमई समुहको व्यावसायिक अभियानका प्राथमिकताका बारेमा पनि उल्लेख गरे । पहिलो,राष्ट्रले प्राथमिकतामा राखेको क्षेत्रमा लगानी गर्ने, दोस्रो, बढीभन्दा बढी नागरिकलाई प्रत्यक्ष रुपमा लाभ पुग्ने क्षेत्रमा लगानी गर्ने र, तेस्रो मुलुकको दीर्घकालीन र सबैको खाँचोको व्यवसाय बन्न सक्ने क्षेत्रमा लगानी गर्ने बताए । रेमिटेन्स, बैंक, बिमा, सूचना प्रबिधि जलविद्युत र पर्यटन पूर्वाधार सबै व्यवसाय यसै प्राथमिकतामा आधारित छन् । यस कारखानाले प्राथमिकता पूरा गर्न सक्दछ ।

चन्द्र ढकालले खोले देशकै ठूलो कागज उद्योग, २ अर्ब लगानी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको लगानीमा रहेको नेपालकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा आएको छ । अध्यक्ष ढकालको लगानीमा महोत्तरीमा नेपालकै सबैभन्दा ठूलो कागज उद्योग आज (बिहीवार) बाट पूर्णरूपमा सञ्चालनमा गर्न लागिएको हो । विशेष गरी वित्तीय, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि र उर्जा क्षेत्रमा संलग्न रहेको आईएमई ग्रुपले आजबाट कागज कारखाना सञ्चालन गरेको छ । ‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रालि’ ले सञ्चालनमा ल्याएको कागज कारखानामा आईएमई ग्रुपको २ अर्ब बढी लगानी रहेको छ । महोत्तरीको गौशाला नगरपालिका १ स्थित रामनगरमा रहेको यस उद्योगमा सबै नेपाली लगानीकर्ताहरुको लगानी छ । २०७८ मा शिलान्यास भएको यो उद्योगले निर्माण प्रक्रिया सकिएर २०८१ पुसदेखि उत्पादन सुरु गरिसकेको छ । अध्यक्ष ढकालले उद्योगले आयात प्रतिस्थापन गर्दै स्वदेशमै ठूलो रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको बताए । नेपालमा वार्षिक झन्डै डेढ लाख मेट्रिक टन कागज खपत भइरहेको छ । नेपालमा कागज उद्योग नहुँदा अहिले सबै कामका लागि आवश्यक कागज आयात गर्नुपर्ने अवस्था रहेकाले निजी क्षेत्रले लगानी गरेर अगाडि बढाउन लागिएको उनले जानकारी दिए । उनले सरकारले अध्यादेशमार्फत निजी क्षेत्रको लगानी प्रवर्धन गर्नेगरी कानुनमा सुधार गरेकाले पनि अहिले लगानीको वातावरण बनेको जिकिर गरे । उनले नेपालमा लगानीको वातावरण नरहेको भन्ने भाष्य चिर्न पनि कागज उद्योग महत्त्वपूर्ण हुने बताए । विद्यालय,क्याम्पसमा लेख्ने-पढ्ने कापीदेखि फोटोकपी, ट्वाइलेट र टिस्यु पेपरसम्ममा समेत नेपाल परनिर्भर अवस्थामा छ । तर अब उद्योग सञ्चालनमा आएसँगै पहिलो वर्षमै नेपालका लागि आवश्यकमध्ये करिव ४० प्रतिशत कागज नेपालमै उत्पादन हुनेछ । उद्योगले स्वदेशी कच्चापदार्थ र जनशक्ति परिचालन गरी स्वदेशमै उच्च गुणस्तरीय कागज उत्पादन गर्ने दाबी गरेको छ ।

एनसीसी र एनबीआईको सहकार्यमा नेपाल बिजनेस समिटको दोस्रो संस्करण आगामी बैशाखमा हुने

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करण आगामी २०८२ साल बैशाख महिनाको ७ गते ( अप्रिल २० ) काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेत आयोजक रहने सम्मेलन आयोजनाबारे चेम्वर भवन जमलमा नेपाल चेम्वर अर्फ कमर्स ( एनसीसी) र नेपाल बिजनेश इन्स्टिच्युट ( एनबीआई) बीच सम्झौता भयो ऽ ‘दिगो र लचिलो भविष्यका लागि अर्थतन्त्र’ भन्ने मुल नाराका साथ आयोजना हुने यो वर्षको सम्मेलनमा आर्थिक, बैंकिङ, उद्योग÷व्यवसायीक तथा अधिक संभावना बोकेका क्षेत्रहरुमा देखिएका जल्दाबल्दा विषयहरूमा केन्द्रित रहेर सम्बन्धित विषय÷क्षेत्रका स्वदेशी तथा विदेशी प्राज्ञ÷विज्ञ, उदीयमान युवा तथा महिला उद्यमीहरुकोवीचमा सघन छलफल, बहस तथा अन्तरक्रिया गरिने जनाइएको छ । बहस सत्रहरूबाट प्राप्त हुने दुरगामी महत्वका बहुपयोगी सुझावहरु समावेश भएको निष्कर्ष प्रतिवेदन बनाई उचित कार्यान्वयनका लागि तीनै तहका सरकारहरुलाई हस्तान्तरण गर्ने पनि जनाइएको छ । समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै नेपाल चेम्वर अफ कमर्षका अध्यक्ष कमलेश अग्रवालले समग्र निजी क्षेत्र उत्साहित बन्न नसकिरहेको सन्र्दभमा आयोजना हुन लागेको यो सम्मेलनले तीनै तहका सरकार र समग्र निजी क्षेत्रकोवीचमा विश्वास कायम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि एकाकार भई अगाडि बढ्ने वातावरण सृजना गर्ने विश्वास व्यक्त गरे । त्यसैगरी, नेपाल बिजनेश इन्स्टिच्युट ( एनबीआई ) का कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटिका संयोजक विशाल गैरेले दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक चीन र भारतवीचको गतिशील साँघु बनाई आन्तरिक लगानीलाई प्रोत्साहन र बाह्य लगानीलाई आकर्षित गर्दै दिगो बैंकिङ विकासमार्फत औद्योगिकरण, कृषि, पर्यटन, जलविद्युत, वनपैदावार, प्रविधि, साना तथा मझौला उद्योगको स्तरोन्नति, स्वउद्यमशीलता तथा स्टार्टअप व्यवसायहरु, भेन्चर क्यापिटल, इक्यूवेशनलगायतका क्षेत्रमा व्यापक लगानी विस्तार गर्दै दिगो र फराकिलो आर्थिक विकासका लागि समिट प्रस्थान बिन्दु बन्ने बताए । समिटमा संघीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, बैंकिङविद्, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रका अग्रणी संस्थाका नेतृत्वगण, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष÷संचालक तथा उच्च अधिकारी, लब्धप्रतिष्ठित उद्योगी एवं व्यवसायी, उदयीमान युवा तथा महिला, नवप्रवर्तनीय क्षेत्रमा कार्यरत युवा तथा महिला, आईटी तथा डिजिटल प्रविधिमा संलग्न युवा, वैदेशिक रोजगारबाट फर्केको जनशक्ति तथा उच्च शिक्षाका विद्यार्थीहरुसहित करिब ५ सयभन्दा बढीको सघन सहभागिता रहने एनसीसीले जनाएकाे छ ।