स्वदेशी सामग्रीको प्रयोग गरी उद्यमी बन्दै महिला

काठमाडौं । काठमाडौंकी लक्ष्मी पोखरेललाई आफूले उत्पादन भइरहेका अन्नलाई कसरी बजारमा लैजान सकिन्छ होला भन्ने लाग्थ्यो । नेपालमा उत्पादन भएका खाद्यान्न नेपालीहरूले महँगो भए पनि किन्दै आएका छन् । नेपालमै नेपालीले उत्पादन गरेका खाद्यान्न प्रयोग गर्नुपर्छ भन्ने सोंचले उनी उद्यमी भएकी छन् । लक्ष्मीले आफूजस्तै केही काम गर्न इच्छुक साथीहरू खोजिन् । उनीहरू सबैजना मिलेर नेपालमै उत्पादन भएको अन्नलाई बजारीकरण गर्ने उद्देश्य राखेर अध्ययन सुरु गरे । सबैजनाले आफ्नो-आफ्नो योजनाअनुसार खोज अनुसन्धान गरे । डेढ वर्षको अनुसन्धानपश्चात उनीहरूले नेपालमा उत्पादन भएको कागुनो, कोदो, फापर जौंलगायतका खाद्यान्नलाई समेटेर सामाग्रीहरू उत्पादन गर्ने योजना बनाए । त्यसपछि उद्योगको नाम रह्यो ‘कोदाली भेन्चर्स’ । ‘नेपालमा पाइने अन्न बजारमा ल्याउनु नयाँ कुरा थिएन,’ लक्ष्मी भन्छिन्, ‘स्वास्थ्यलाई पनि ध्यान दिनुपर्ने थियो । अर्को कुरा मीठो कसरी बनाउने भन्ने पनि चुनौती थियो । यी अवसर र चुनौतीसँग जुध्दै स्थापना भएको कोदाली भेन्चर्सका सामग्रीहरू अहिले नागरिकहरूले मन पराइरहेका छन् ।’ डेढ वर्ष अध्ययन अनुसन्धान गरी गएको मङ्सिरदेखि बजारमा आएको कोदाली भेन्चर्सले अहिले चारवटा सामग्री– भेगन प्रो, फापर फ्लेग्स, पान केक र वेलनेस ड्रिंक पाउडरमात्र बजारमा ल्याएको छ । कोदो, फापर, सनफ्लावर सीड मिक्स गरेर बनाएको वेलनेस ड्रिंक पाउडर, कागुनोबाट बनाएको पान केक जसमा आलस, जौं फापर पनि राखिएको छ । यसैगरी फापरको टुसा उमारेर फापर फ्लेग्स तयार पारिएको छ । यसैगरी, भेगन प्रो तील र मुग दालको टुसा उमारेर बनाएको छ । यसको फ्याक्ट्री काठमाडौंको गोठाटार हाइटमा छ । यी सामग्रीको अनलाइन डेलिभरी पनि भइरहेको छ भने विभिन्न बजारमा पनि उपलब्ध छन् । ६ जना साथीहरू मिलेर खुलेको सम्सरा क्रिएसन ललितपुरको ढोलाहिटी चाँदनी महत मास्टर्स पढ्दै थिइन् । अध्ययनकै सिलसिलामा उद्यमशीलता विषयमा एउटा बिजनेस डेभलप गर्नुपर्ने भयो । चाँदनीसहित अरू साथीहरू मिलेर कस्तो बिजनेस प्रोजेक्ट तयार पार्ने होला भन्नेबारे छलफल भयो । ६ जना साथीहरू मिलेर नेपाली सामग्रीहरूको प्रयोग गरी नयाँ काम कसरी गर्न सकिन्छ भन्ने विषय अनुसन्धान सुरु गरे । उनीहरूले बनाएको प्रोजेक्टमा ढाका, लोक्ता, बाँसबाट विभिन्न सामग्री बनाउने एउटा प्रोजेक्ट तयार गरे । प्रोजेक्ट राम्रो थियो । शिक्षक, अन्य विद्यार्थीहरूलाई पनि उनीहरूको आइडिया मन पर्यो । सबैलाई मन परेपछि साथीहरूले अब यो आइडिया बजारमा किन नल्याउने भन्ने विषयमा छलफल गरे । कलेजको क्यान्टिनमा बसेर साथीहरूले गरेको छलफलले सुरु भएको व्यवसाय हो सम्सरा । ६ जना साथीहरूले सुरुमा प्रतिव्यक्ति पाँच–पाँच हजार जम्मा गरे । विस्तारै बढाउँदै ६ जनाबाट ५०, ५० हजार गरी चार लाखको लगानीमा गरेको व्यवसाय नेपाली बजारमा स्थापित हुन सफल भएको छ । सम्सराले अहिले बाम्बो, टेक्सटायल र पेपर काम गरिरहेको छ । सम्सारले झोला, ढाका, डायरी, ढाका फोल्डरलगायतका थरिथरि सामग्री उत्पादन गर्दै आइरहेको छ । नेपाली कागजको लागि लोक्ता सिन्धुलीबाट आउँछ । चाँदनी काम गर्ने इच्छा, उपाय भयो भने नेपालमै व्यवसाय गर्दा पनि बजार राम्रो रहेको बताउँछिन् । चाँदनीलाई प्लस टु पास गर्ने वित्तिकै परिवारबाट विशेषगरी आमाले विदेश जान कर गरिरहन्थिन् । तर उनलाई विदेश जाने रहर थिएन । बरु उनलाई बुवाको व्यवसायलाई नयाँ रूप दिने योजना थियो । उनको बुवाको मिनी मार्केट छ । तर चाँदनीले अहिले आफ्नै व्यवसाय सम्हालिरहेकी छिन् । २०२० सालदेखि सञ्चालनमा ल्याएको समसाराले छोटो समयमा राम्रो काम गर्न सफल भएको छ । फुर्सदले बनेकी व्यवसायी ललितपुरकी आरती नेपाल पढेलेखेकी थिइन् । बिहे गरेर आइसकेपछि छोराछोरी जन्मिए । उनको दैनिकी छोराछोरी हेर्दै बित्यो । बिस्तारै छोराछोरी पनि हुर्कदै गए । श्रीमान आफ्नै काममा जान्थे, छोराछोरी स्कुल जान्थे । उनलाई दिनभर एक्दै घर बस्दा बस्दा बोर लाग्थ्यो । उनलाई अब यत्तिकै बस्नुभन्दा केही गर्नुपर्छ भन्ने लाग्यो । उनीजस्तै उनकै टोलमा बस्ने अरु दुईजनासँग उनको भेट भयो । उनीहरू थिए ऋचा भण्डारी सरोजनी शेरचन । उनीहरू तीनै जनाको मनमा थियो– अब घरमै बसेर हुँदैन, कुनै व्यवसाय गर्नुपर्छ । उनीहरूले योजना बनाए । त्यो बेला नेपाली कागजको माग विदेशमा तीव्र रूपमा थियो । उनीहरूले नेपाली कागज उद्योग स्थापना गर्ने योजना बनाए । यसका लागि प्रतिव्यक्ति पाँच–पाँच लाख पैसा उठाए । त्यसपछि सुरु भयो नेपाल पेपर क्राफ्ट । जहाँ नेपाली कागज उत्पादन सुरु भयो । यो व्यसाय यति राम्रो चल्यो कि ३० जना कामदार राख्दा पनि भ्याइनभ्याइ भयो । एकजना मेसिन चलाउने र अर्को सघाउने तीनजना पुरुष बाहेक अरू सबै कामदार महिलामात्र थिए । एकताका राम्रो चलेको यो व्यवसाय एउटै उत्पादनमा केन्द्रित हुँदा बिस्तारै सेलाउँदै गयो । ३० जना कामदारलाई समेत तलब दिन नसकिने अवस्था आउँदा अब अन्य उत्पादनलाई पनि जोडेर लैजानुपर्ने योजना उनीहरूले बनाए । उनीहरूले जुम्ला, हुम्लाका महिलाहरूले उत्पादन गर्दै आएका कागुनो, चिनो, फापरलगायतका अन्न काठमाडौं ल्याउन थाले । व्यवसायको शैली फेरिएसँगै उद्योगको नाम पनि फेरियो । नयाँ नाम रह्यो माई इन्टरप्राजेज प्राइभेट लिमिटेड । यो कम्पनी सञ्चालनमा आएको अहिले १५ वर्ष भयो । २०६८ सालदेखि उद्योग व्यवसायमा लागेकी आरती भन्छिन्, ‘काम गर्ने इच्छाशक्ति हुँदा जे काम पनि गर्न सकिँदो रहेछ । आज म नेपाली महिलाहरूलाई उद्यम गर्नुपर्छ भन्दै विभिन्न ठाउँमा कार्यक्रम लिएर पुग्ने गरेकी छु ।’ उद्यममा सफल हुँदै महिला आजभोलि महिलाको सहभागीता र प्रतिनिधित्व हरेक क्षेत्रमा बढ्दै गएको छ । कुनै पनि क्षेत्रमा सहभागितामात्र जनाउने नभइ नेतृत्व लिने तहमा महिला पुगेका छन् । उनीहरूले स्थापना गरेका उद्योगमा सयौं पुरुषहरूले रोजगारी पाइरहेका छन् । सीएनआई महिला नेतृत्व फोरमकी सभापति छाया शर्माले महिलाले नेतृत्व गरेका हरेक उद्योगले उदाहरणीय काम गरिरहेका बताइन् । कुनै समय कामको लागि पनि योग्य हुने नठानिएका महिलाहरू आज आफै उद्यमी बन्नु निकै खुसीको कुरा रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘महिलाहरू सक्षम हुँदै गएका छन्, आफ्नै लगानी क्षमतामा उद्यमी बन्नु र सयौंलाई रोजगार दिनु सानोतिनो कुरा होइन ।’ उनी यस्ता महिलाहरूलाई सरकारले पनि सहयोग गर्नुपर्ने बताउँछिन् । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले उद्योग क्षेत्रमा महिला सहभागीता बढ्दै गएको तर समस्या अझै धेरै रहेको बताउँछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुष दुवै सँगसँगै अगाडि बढेमात्र देश विकास सम्भव हुने बताउँछन् । पछिल्लो समय नेपाली महिलाको नेतृत्व हरेक तहमा पुग्दै गएको भन्दै ओलीले सिँगो समाज अगाडि बढाई देशलाई सम्बृद्ध बनाउन सँगसँगै हाहातेमालो गरे अगाडि बढ्नु पर्नेमा जोड दिए ।

नेपालको औद्योगिक तथा आर्थिक क्षेत्रको समृद्धिमा महिलाको भूमिका महत्वपूर्ण, थप बढाउनुपर्ने आवश्यकता

काठमाडौं । नेपाल उद्योग परिसंघले उत्पादनमूलक तथा सेवामूलक उद्योगहरूको छाता संगठनको रूपमा मुलुकमा औद्योगिक वातावरण निर्माण, लगानी प्रबद्र्धन, रोजगारी सिर्जना गर्दै देशको समग्र आर्थिक, सामाजिक विकासमा बलियो साझेदारको रुपमा महत्वपूर्ण योगदान गर्दै आएको छ । परिसंघले समग्र आर्थिक विकासलाई केन्द्रमा राखी सोही अनुरूपका नीतिगत सुझावसँगै नेपाल सरकारले अगाडि सारेका योजनालाई सफल बनाउन सहकार्य, समन्वय गर्दै आइरहेको छ । परिसंघले उद्योग, राजश्व, रोजगारदाता, पर्यटन, महिला नेतृत्व फोरम, युवा उद्यमी मञ्चलगायत विभिन्न समिति, परिषद् एवं मञ्च गठन गरी तत्तत् क्षेत्रका लागि नीतिगत सुझाव सँगै विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेका छौं । त्यसैको फलस्वरूप महिला नेतृत्व सम्मेलनको संयोजनमा हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय स्तरको महिला नेतृत्व सम्मेलन राष्ट्रिय स्तरमा विषय केन्द्रित सम्मेलन गर्र्दै आईरहेका छौं । सन् २०२३ मा अन्तर्राष्ट्रिय स्तरको पहिलो सम्मेलन सम्पन्न गरेका थियौं भने सन् २०२४ मा प्रादेशिक तहमा बागमती प्रदेशको चितवनमा महिला नेतृत्व कृषि सम्मेलन सम्पन्न गरेका थियौं । महिला नेतृत्व सम्मेलन केवल सम्मेलन मात्रै होइन । महिलाहरुलाई आर्थिक, सामाजिक, राजनीतिक एवं समावेशिताका साथ अगाडि बढाउने, प्रोत्साहन गर्ने एउटा अभियान पनि हो । यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ, जसले महिलाहरुलाई प्रेरित गर्नेछ, प्रोत्साहित गर्नेछ । नीति निर्माताहरुलाई महिला मैत्री नीति बनाउन, उद्यमी बन्न प्रोत्साहित गर्न, भएका नीति, व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न समेत ध्यानाकर्षण गराउनेछ । सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त महिलाहरुबाट देश विदेशमा भएका अभ्यास, प्रयास, पारेको सकारात्मक प्रभावका विषयमा गहन रुपमा छलफल हुने भएकाले नीतिगत व्यवस्थाका लागि निष्कर्षसहितको सुझाव समेत तयार पार्नेछौं । संस्थागत रुपमा नेपाल उद्योग परिसंघले महिलाहरुलाई उच्च प्राथमिकतामा राख्दै उहाँहरुको भूमिकालाई गहन रुपमा बुझेका छौं । परिसंघ सचिवालयमा ५० प्रतिशत भन्दा बढी महिला कर्मचारीहरु नै हुनुहुन्छ । नेपाल सरकारले पनि राजनीतिक, आर्थिक रुपमा महिलाहरुको सहभागिता बढाउन, महिला सशक्तिकरणका लागि कानुनी एवं नीतिगत रुपमा प्रोत्साहन नै गरेको देखिन्छ । सरकारले आयकरमा महिलाहरुलाई १० प्रतिशत छुट दिएको छ । सम्पत्तिमा महिलाहरुको सहभागिता बढाउँदै आर्थिक रुपमा समेत बलियो बनाउन जग्गा पास गर्दा २५ प्रतिशतसम्म छुट दिइएको छ । यसैगरी महिला उद्यमशीलता कर्जाको व्यवस्था गरिएको छ । यद्यपि यो व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औल्याइएको छ । महिला उद्यमशीलता कर्जा नपाएको गुनासो उद्यमी महिलाहरुबाट आएका छन् । यसतर्फ सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छु । त्यसैले राज्यले महिलाहरुलाई प्रोत्साहन गर्दै नगरेको होइन, गरिरहेको छ । थप प्रोत्साहन गर्नुपर्छ भन्नेमा परिसंघ स्पष्ट छ । सार्वजनिक निकायमा महिलाहरुको सहभागिता बढाउनुपर्ने हो कि भन्ने हामीलाई लागेको छ । महिलाले नेतृत्व गरेको संस्थामा गुड गभर्नेन्स हुन्छ भन्ने मान्यता विश्वव्यापी रुपमा नै रहेको पाइन्छ । त्यसैले नेपालको औद्योगिक तथा आर्थिक क्षेत्रको समृद्धिमा महिलाहरूको भूमिका महत्वपूर्ण छ, महिलाहरुको भूमिका थप बढाउनुपर्ने आवश्यकता पनि छ । नेपालमा महिला उद्यमशीलताको विकास सकरात्मक रुपमा बढिरहेको पाउन सकिन्छ । नेपालका महिला उद्यमीहरूले कृषि, पर्यटन, सूचना प्रविधि, हस्तकलालगायतका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेका छन् । साना साना व्यवसायमार्फत भएपनि मुलुकको अर्थतन्त्रमा महिलाहरुको योगदान बढ्दै गईरहेको छ । महिलालाई आर्थिक सशक्तिकरणको महत्वपूर्ण आधारको रुपमा विकास गर्दै लैजानु आजको आवश्यकता हो । देशले अवलम्बन गरेको नीतिगत व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै आर्थिक विकासको महत्वपूर्ण आधार महिला पनि हुन भन्ने मान्यतालाई अगाडि बढाउन आवश्यक छ । यसका लागि नेपाल उद्योग परिसंघ नेपाल सरकारसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराउन चाहन्छु । राजनीतिक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता न्यूनतम सीमा हो, अधिकतम होइन । त्यसैले राजनीतिक क्षेत्रमा लैंगिक समानता हासिल गर्न महिलाको प्रतिनिधित्वलाई बढाउन आवश्यक छ । महिलाको आवाज र कथाहरू समान रूपमा प्रतिनिधित्व हुने र कार्यान्वयनमा आउन सक्ने गरी नीति निर्माणमा महिलाहरूको सहभागिता बढाउन आवश्यक छ । महिलाको आत्मनिर्भरता उनीहरूको वित्तीय पहुँचसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ । महिला उद्यमीहरूले आफ्नो ज्ञान र सीपको अधिकतम उपयोग गर्न ऋण पहुँचको सीमा वृद्धि गर्न आवश्यक छ । लघु, घरेलु, साना र मझौला उद्यमीहरुलाई प्रोत्साहन गर्न महिला लक्षित ऋण संरचनामा सुधार गर्न आवश्यक छ । महिलाहरू समान रूपमा शक्ति र स्रोतको पहुँचबाट वञ्चित छन् भन्ने बुझ्नुपर्छ । पुरुषहरूले महिलाहरूलाई नेतृत्वको स्थान दिन, आफ्नो शक्ति र स्थान साझा गर्न, र आवश्यक परेमा त्यस्ता स्थानहरू छोडेर महिलाहरूलाई सुरक्षित र आत्मविश्वासका साथ अगाडि बढ्न सहयोग गर्नुपर्छ । लैंगिक समानता भनेको पुरुष र महिलाको अनुपात मिलाउने विषय मात्र नभई सुरक्षित वातावरण सिर्जना गर्नु, नेतृत्व तहमा जान सहज बनाउनु पनि हो । महिलाहरू विश्व अर्थतन्त्रमा एक ठूलो, तर पूर्ण रुपमा प्रयोग गर्न नसकिएका स्रोत हुन् । लैङ्गिक असमानता हटाउँदै शिक्षा, रोजगार, उद्यमशीलता, र नेतृत्वका अवसरहरू बढाउन सकिए समाजले महिलाको पूर्ण आर्थिक सम्भावनालाई उपयोग गर्न सक्छ । महिला सशक्तिकरणमा लगानी गर्दा यसको प्रत्यक्ष प्रभाव पारिवारिक आम्दानी, सामुदायिक समृद्धिसँगै अर्थतन्त्रको विकाससँग समेत पर्दछ । लैङ्गिक समानता सुनिश्चित गर्नु मात्र नैतिक आवश्यकता होइन, यो असाधारण आर्थिक प्रगति र दिगो विकासतर्फको रणनीतिक मार्ग पनि हो भन्ने मान्यताका साथ महिलामा लगानी शीर्षकमा सत्र सञ्चालन हुँदैछ । यस प्यानल छलफलले व्यापारिक परिदृश्यमा परिवर्तनकारी रणनीति अन्वेषण गर्ने हाम्रो विश्वास छ । लैङ्गिक पारिश्रमिक असमानतालाई हटाउने, महिलाको उद्यमशीलता प्रवद्र्धन गर्ने, र वित्तीय स्रोत तथा अवसरहरूमा महिलाको पहुँच बढाउने उपायहरूबारे यस सत्रमा बहस हुनेछ भन्ने विश्वास लिएको छु । दिगो कृषिमा महिलाहरु विषयमा अर्को सत्र सञ्चालन हुनेछ । यस सत्रमा सफल परियोजनाहरूका उदाहरणहरू प्रस्तुत गरिनेछ, जसले प्राविधिक, आर्थिक, सामाजिक, तथा नीतिगत अवरोधहरू कसरी पार गर्न सकिन्छ भन्ने विषयमा सफल गरिनेछ । महिला उद्यमीहरूका लागि प्रविधि एउटा शक्तिशाली उपकरण हो, जसले परम्परागत अवरोधहरू पार गर्दै दिगो व्यवसाय अभ्यासलाई सक्षम बनाउन सहयोग गर्छ । महिला उद्यमीहरूले उद्योगहरू रूपान्तरण गरिरहेका छन् र दिगोपनतर्फको परिवर्तनलाई नेतृत्व गरिरहेका छन् । प्रविधिले महिलाहरूलाई आफ्नो व्यवसायलाई विश्वव्यापी बजारसम्म विस्तार गर्न मद्दत गर्छ, जसले परम्परागत व्यापार मोडेलमा प्रायः नजरअन्दाज गरिएका समुदायहरूलाई पनि लाभान्वित गर्छ । आर्थिक सशक्तिकरणमा प्रविधिको भूमिका विषयमा प्रविधि र नवप्रवर्तनमा अर्को बहस हुनेछ । सीमाभन्दा पर शीर्षकमा महिलाहरूका सफलतामा चर्चा हुनेछ । विभिन्न क्षेत्रका महिलाहरूका प्रेरणादायी कथाहरू, जसले सफलता पुनः परिभाषित गरेका छन् । व्यावसायिक वृद्धिको सन्तुलन र व्यक्तिगत जीवन व्यवस्थापन सम्बन्धी अनुभवहरू साटिनेछन् । आजको सम्मेलनले नीति निर्माता, विज्ञ, नेतृत्व सबैलाई एकै ठाउँमा राखेर महिला सशक्तिकरणका लागि, देशका लागि, अर्थतन्त्रका लागि गहन रुपमा छलफल गर्नेछौं । यसले नेपाल सरकारलाई नीतिगत रुपमा स्पष्ट सुझाव दिने मात्रै नभई भए गरेका सकारात्मक प्रयासलाई समेत हेर्ने छौं, सुन्ने छौं, बुझ्ने छौं । (उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलनमा परिसङ्घका अध्यक्ष राजेश अग्रवालले राखेको मन्तव्य)

उपभोक्ता अदालत गठन, ठगिएमा उपभोक्ता अदालतले हेर्ने

काठमाडौं । सरकारले उपभोक्ता संरक्षण ऐन जारी भएको ६ वर्षपछि उपभोक्ता अदालत गठन गरेको छ । उपभोक्ता अदालतको आज शनिबार गरिएको छ भने आइतबारदेखि आफ्नो काम सुरु हुनेछ । सरकारले संविधानको धारा ४४ को मौलिक हक कार्यान्वयन गर्न २०७५ सालमा उपभोक्ता संरक्षण ऐन जारी गरेको थियो । तर, ऐन जारी भएको लामो समयसम्म अदालत गठन हुन नसक्दा संविधानको उक्त व्यवस्था कार्यान्वयनमा आउन सकेको थिएन । साथै उपभोक्ताले पनि आफू ठगिएको गुनासो लिएर जाने ठाउँ पाएका थिएनन् । तर, अब भने त्यो संविधानको धारा ४४ कार्यान्वयन हुनुका साथै उपभोक्ताहरु आफू ठगिएमा उपभोक्ता अदालतमा जान सक्ने बाटो पनि खुलेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बजार उपभोक्ता अदालत गठन भएपछि उपभोक्ताको हकहितका लागि काम गर्न सहयोग पुग्नुका साथै संविधानको कार्यान्यन पनि हुने विश्वास व्यक्त गरे । अहिले बजार अनुगमन भइरहेको भए पनि त्यसका लागि जनशक्ति अभाव रहेको उनको भनाइ छ । ‘बजार अनुगमनका लागि जनशक्ति अभाव भएका कारणले सोचेजस्तो काम हुन सकेको छैन,’ उनले भने, ‘उपभोक्ता संरक्षण ऐनले बजार अनुगमनको व्यवस्था गरेको छ । तर कार्यान्वयनका लागि जनशक्ति अभाव छ ।’ उपभोक्ता अदालत गठन पछि यस्ता कामहरुलाई थप प्रभावकारी बनाउने सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । मन्त्री भण्डारीले आफूले खरिद गरेको सामानको बिल माग्ने बानि बसाल्न पनि उपभोक्ताहरुलाई अग्रह गरे । बिल नलिएर सामान खरिद गर्दा उपभोक्ताहरु ठगिने र त्यसमा सरकारले पनि केही गर्न नसकेको उनको भनाइ छ । उपभोक्ता अदालतबाट हुने एउटा फैसलाले पनि उपभोक्ता ठगिने क्रमलाई रोक्नका लागि सहयोग गर्ने भएकाले अदालत खुलेसँगै आम उपभोक्ता र बिक्रेताहरु सचेत हुनु पर्ने मन्त्री भण्डारीले बताए । सुरुवातमा अन्य देशमा भएका फैसला र नजिरका आधारमा अघि बढ्नु पर्ने उनको भनाइ छ ।