आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलतामा जोड दिनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आत्मनिर्भर अर्थतन्त्रका लागी उद्यमशीलताको विकास गर्नु पर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सौन्दर्यविद् कमला श्रेष्ठको सौन्दर्य-क्रान्ति आत्मकथाको मंगलवार काठमाडौंमा विमोचन गर्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् । उनले समानता र सामाजिक न्यायसहितको समाज निर्माणका लागि महिला श्रमको निःशर्त सम्मान हुने वातावरण आवश्यक रहेको समेत बताए । उद्यमशीलताले मानिसमा आत्मसम्मान र आत्मनिर्भता बढाउनुका साथै देश विकासमा लागि पनि योगदान दिने उल्लेख गर्दैै व्यवसायी श्रेष्ठले उद्यमशीलता विकासका लागि अनुकरणीय काम गरेको उनको भनाइ छ । ‘हाम्रो समाज शृंगार र सौन्दर्यका कुरा उठाउँदा अपहेलित हुने तथा सौन्दर्य हुनेखानेहरुको लागि हो भन्ने दृष्टिकोण राख्ने समाज हो । सौन्दर्यकलालाई पेशा व्यवसाय मात्र नभई, स्वास्थ्यको अभिन्न अंगमा रुपमा विकास गर्दै शैक्षिक पाठ्यक्रममा समेत समावेश गर्न कमला श्रेष्ठका ठूलो योगदान रहेको छ,’ उनले भने । अठोट सहितको निरन्तरताले सफलता दिन्छ भन्ने एउटा उदाहरणका रुपमा व्यवसायी कमला श्रेष्ठलाई लिन सकिने बताउँदै अध्यक्ष ढकालले आफ्‌नो व्यवसायको माध्यमबाट हजारौंलाई सीप हस्तान्तरण गर्दै रोजगारी सिर्जना गर्नु आफैमा चुनौतीपूर्ण र महत्वपूर्ण कार्य भएको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले महिला उद्द्मशीलता तथा महिला शसक्तिकरणका लागि श्रेष्ठको ठूलो योगदान रहेको बताए । महासंघ उपाध्यक्षद्वय हेमराज ढकाल ,ज्योत्स्ना श्रेष्ठ र महासंघका पूर्व उपाध्यक्ष भास्कर राज राजकर्णिकारले उनको पुस्तक नयाँ केही गर्नेहरुका लागि प्रेरणाको स्रोत भएको बताए । पद्मकन्या विद्याश्रमका प्राचार्य रीता तिवारीले उनीसँगको सहकार्यबाट विद्यालयमा सौन्दर्य कला विषय अध्यापन भैरहेको जानकारी दिइन् । पुस्तक विमोचन कार्यक्रममा बोल्दै पुस्तक लेखिका कमला श्रेष्ठले यो पुस्तकबाट उद्यम गर्न चाहने तथा स्वरोजगार बन्न चाहनेका लागि पनि मार्गशर्दश गर्ने अपेक्षा राखेको बताइन् । यो आफ्नो आत्मकथा भन्दा पनि उद्दमशीलताको कथा भएको उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा महिला उद्द्म समितिका सभापति समेत रहेकी सौन्दर्यविद् श्रेष्ठका आत्मकथामा ६ वटा खण्ड र ६५ वटा विभिन्न शीर्षकमा लेखहरु समावेश रहेको लेखन कुन्जका संचालक कमल ढकालले जानकारी दिए ।

नीति निर्माताले निजी क्षेत्रलाई निरुत्साहित गर्नुहुँदैन : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसायीलाई र, वा, कमा जस्ता नीतिगत कारणले निरुत्साहित गर्न नहुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले अधिकांश रोजगारीको सिर्जना गर्ने निजी क्षेत्र भएको बताए । अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनले ८६ प्रतिशत रोजगारको सिर्जना निजी क्षेत्रले गरेको जिकिर गरे ।  सरकारले उद्योग व्यवसायीहरुले निर्धक्कसँग उद्यम गर्ने वातावरण निर्माण गर्नसके उद्यमशीलता बढ्ने र रोजगारी सिर्जना हुने उनको भनाइ छ । ‘रियल रोजगारी सिर्जना गर्ने प्राइभेट सेक्टर नै हो । आएलओका अनुसार करिव ८६ प्रतिशत रोजगारीको सिर्जना निजी क्षेत्रले दिएको छ । हामीले पहिलो प्राथमिकता उद्योग व्यवसाय बढाउने किसिमको वातावरण बनाउनु पर्‍यो,’ उनले भने, ‘जब निजी क्षेत्रले निर्धक्कसँग काम गर्न सक्छ निर्धक्क रुपले उद्यमशीलता बढाउन सक्छ तब मात्रै रोजगारीको अवसर प्राप्त हुने भएको हुनाले त्यो वातावरण सिर्जना गर्नका लागि म आग्रह गर्न चाहन्छु ।’ अध्यक्ष ढकालले उद्योग व्यवसाय बढाउन सकिने वातावरण निर्माण गर्नसके रोजगारी वढाउन सकिने र सोचे जस्तै पारिश्रमिक र सुविधा व्यवस्था गर्न सकिने बताए ।

कागज उद्योगमा रमाउँदै पासाङ, १० देखि २० टन कागज उत्पादन गर्दै

काठमाडौं । भोजपुरको सिलिचोङबाट रोजगारीका लागि ३५ वर्षअघि भौतारिएर हिँडेका पासाङ निमा शेर्पाले ताप्लेजुङको एक नेपाली हाते कागज उद्योगमा काम पाए । घरमा चौंरी पाल्न दुःख भएपछि गाउँ छोडेर जागिरको खोजीमा निस्केका उनलाई के काम पाइन्छ र के गर्ने भन्ने टुङ्गो थिएन । हाते कागज उद्योगमा काम छाडेर फेरि कामकै खोजीमा उनी बाजुरा पुगे । पासाङले बाजुरामा काम त पाए तर त्यहाँ पनि हाते कागज उद्योगमै । केही समयमा बाजुरा छोडेर सुर्खेत गएका उनी फेरी कागज उद्योगमै पुगे । ‘त्यो उद्योगमा काम जानेको मान्छे अरु रहेनछ, उद्योगले मान्छे खोजी रहेका बेला म पुगेँ, बसौँ भन्यो त्यहाँ पनि डेढवर्ष जति काम गरेँ,’ विगत सम्झँदै उनले भने । २२ वर्षअघि गोरखा र लम्जुङको सिमानामा रहेको चेपेखोलामा आफ्न्तले चलाएको उद्योगमा आएर ६ वर्ष जति काम गरेपछि आफैलाई उद्योग आफै चलाउने हिम्मत आयो । करिब ५ लाख रूपैयाँ ऋण खोजेर हाते कागज उद्योग चलाउन सुरु गरे । ‘अहिले वार्षिक १५ देखि २० लाखसम्म कारोवार हुन्छ । नियमित पाँच जनालाई रोजगारी दिएको छु, सिजनमा कच्चा पदार्थ ९लोक्ता० काढ्ने थुप्रै हुन्छन्,’ उनले भने । चैत–बैशाखमा सयजना जतिले लोक्ता काढ्ने गरेको उनी बताउँछन् । ‘पुर्जी बनाएर पठाइदिएपछि धार्चे, चुमनुब्री, अजिरकोटलगायतका क्षेत्रमा सङ्कलन गरिएको लोक्ता मजुदरले उद्योगमा ल्याउछन्,’ पासाङले भन्नुभयो, ‘उनीहरुले पनि प्रतिकिलो १५० रुपैयाँभन्दा बढी बुझेर फर्कन्छन ।’ गोरखा नगरपालिका-६, स्थित नयाँबस्तीमा पासाङले सञ्चालन गरेको गोरखा मनकामना नेपाली हाते कागज उद्योगबाट उत्पादित नेपाली कागजको बजारमा माग धेरै छ । ‘धेरैजसो त कागज लिन उद्योगमै आइपुग्छन्, कहिले त पहिले पैसा पठाइदिन्छन् अनि मलाई यति सामान चाहियो भन्छन्, त्यसपछि म यहाँबाट कागज पठाइदिने गरेको छु,’ उनले भने । जग्गा भाडामा लिएर उनले उद्योग सञ्चालन गर्दै आएका छन् । पासङको उद्योगमा बार्षिक गर्दछ । उत्पादित नेपाली हाते कागज चार किलोको ३ हजार ५०० रुपैयाँसम्ममा बिक्री हुन्छ । ‘बजारको मागअनुसार पुर्याउन अझै सकेको छैन । कच्चा पदार्थ राम्रो पाइने हुँदा गोरखामा उत्पादित नेपाली कागज अन्य ठाउँको तुलनामा राम्रो र छिटो नगल्ने भएकाले पनि माग बढी भएको हो,’पासाङले भने । पासाङको उद्योगमा अहिले २० देखि ६० ग्राम तौलसम्मका नेपाली कागज उत्पादन हुँदै आएको छ । उद्योग चलाएर उहाँले दुईवटा छोरीलाई पढ्नै लागि विदेश पठाएका छन् । साना तथा घरेलु उद्योगलाई स्थानीय सरकारले पनि सहयोग गरेमा अझै सजिलो हुने उनी बताउँछन् ।