लिखित तथा मौखिक जानकारीबिनै प्राधिकरणका हाकिमले लोडसेडिङ गराउनुभयो : मारु

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले नेपाल विद्युत प्राधिकरणले जानकारी नदिइकन लोडसेडिङ गरिरहेको दाबी गरेका छन् । आइतबार नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल्स उत्पादक संघ र नेपाल धागो उत्पादक संघले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मारुले यस्तो बताएका हुन् । उनले लोडसेडिङ कारण उद्योगहरू मारमा परिरहेको गुनासो गरे । अध्यक्ष मारूले ११–१२ घण्टा लोडसेडिङ हुँदा पनि प्राधिकरणका हाकिमले लोडसेडिङ नभएको भन्दै झुटमाथि झुट फैलाइरहेको बताए । उनले भने, ‘हामीलाई केही जानकारी दिएको छन् । न लिखित न त मौखिक रूपमै । एक्कासि लोडसेडिङ गरियो । अझ आफै लोडसेडिङ गरिएको छैन भन्नुहुन्छ । यो झुट हो । १२-१३ घण्टामात्रै बत्ती बल्छ, त्यो पनि व्यवस्थित छैन ।’ अध्यक्ष मारुले २०७५ सालदेखि उद्योगहरूमा लाइन काट्ने विवाद हुँदै आएको पनि बताए ।

दशौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आगामी बैशाख २५ देखि सुरु, ३ सयभन्दा बढी स्टल रहने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष २०८२ बैशाख २५ देखि २९ गते सम्म काठमाडौंमा हुने भएको छ । यस वर्ष मेलाको लागि चीन, भारत, पाकिस्तान, बङ्गलादेश, र भुटानबाट सहभागिता हुने भएको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ दशौं संस्करण हो। मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरूको पेभेलियन रहने छ । नेपाल सरकार/उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुन लागेको महासंघले जानकारी दिएको छ । कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापान, लगायतका देशका क्रेताहरूलाई आमन्त्रण गरिने छ । महासंघका अनुसार नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा मेड एन नेपाल सो, हस्तकला उत्पादनहरु, वस्तुगत संघहरूका उत्पादनहरूका साथै चार पांग्रे र दुई पांग्रे विद्युतीय गाडी (इभी) गाडीहरूसमेत राखिने छ । मेलाका अवसरमा अन्तराष्ट्रिय खरिदकार्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको छ । मेलामा हस्तकला, पर्यटन सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निमार्ण सम्बन्धी शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरू राखिने छन् । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसगं भेटघाट तथा द्धिपक्षिय व्यापार प्रबद्र्धन तथा लगानीबारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा छ । महासंघकै नेतृत्वमा यस वर्ष अघिल्ला वर्षहरू जस्तै मुलुक भित्र प्रादेशीक, जिल्ला स्तर एवं वस्तुगत गरी विभिन्न भागमा आयोजना हुने क्रममा छ । विभिन्न जिल्लाहरूमा आयोजना भएका मेलाहरूमा उत्कृष्ट स्टल तथा उत्पादनलाई एनआइटीएफमा निःशुल्क स्टल उपलब्ध गराइने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा एउटा विशिष्ट पहिचान बनाईसकेको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तराष्ट्रिय लगानी तथा प्रविधि आर्कषण गर्ने, नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार प्रर्वद्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सघाउ पुर्‍याउने विश्वास महासंघले लिएको छ । मेलामा जेष्ठ नागरिक तथा फरक रूपले समक्ष नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरूलाई उनीहरूको प्रवेशपत्रका आधारमा पचास प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको र २०८१ चैत्र ११ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको महासंघले जानकारी गराएको छ ।

हेटौँडा कपडा उद्योग सञ्चालन हुनेमा स्थानीय आशावादी

बागमती । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने योजना तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले संसद्मा सुनाउँदा हेटौँडाका सरोज बिडारी हर्षित भए । तर घोषणा गरिएको तीन वर्ष बित्न लाग्दा पनि उद्योग सञ्चालनको कुनै तयारी नहुँदा उनी खिन्न भए । ‘अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा २०५६ सालदेखि बन्द हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याइने घोषणा गर्नुभयो’, बिडारीले भने, ‘त्यो सुनेर हामी उत्साहित भयौँ तर त्यो घोषणामा नै सीमित हुँदा हामी निराश छौँ ।’ मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदराज रानाभाटका अनुसार जीर्ण भइसकेको कपडा उद्योग सञ्चालन गर्ने कुरा राम्रो कुरा हो तर लगानी धेरै चाहिन्छ । छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न चुनौतीपूर्ण छ, सरकार आफैँले सञ्चालन गरे सहज नयाँ मेसिन पनि चाहिन्छन् । हेटौँडा औद्योगिक क्षेत्रको एक सय ६६ रोपनीमा फैलिएको उद्योग सञ्चालनमा रहँदा वार्षिक दुई हजार तीन सय टन धाँगो र तीन सिफ्टमा गरी एक करोड १० लाख मिटर कपडा उत्पादन हुने गरेको थियो । चीन सरकारको आर्थिक तथा प्राविधक सहयोगमा २०३२ साल साउन १६ गते स्थापना भएको उक्त उद्योग व्यवस्थापकीय कमजोरी, नियमित विद्युत् आपूर्तिमा कठिनाइ, उत्पादन लागत बढ्नु, अनावश्यक जनशक्ति भर्ना, प्रविधि आधुनिकीकरण नहुनुलगायत कारण २०५६ साल फागुन १ गतेदेखि पूर्ण रूपमा बन्द छ । बन्द उद्योगका मेसिन खियाले खाएका छन् उद्योगका भवनमा सशस्त्र प्रहरीले बलले कार्यालय सञ्चालन गरेको छ । उद्योगका अन्य भवन, आवासगृहको छानाबाट पानी चुहिने, फल्स सिलिङ काम नलाग्ने र भवनको पर्खालसमेत चिरा परेको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपाल बताउँछन् । उनका अनुसार उद्योगको पेरिमिटर पर्खाल मर्मतसम्भार गर्नुपर्ने अवस्थामा छ भने इलेक्ट्रिफिकेसनलगायत प्लम्बिङ तथा स्टिम पाइप लाइन जीर्ण भइसकेको छ । जीर्ण कपडा उद्योग सञ्चालनका लागि धेरैपटक सरकारका तर्फबाट कार्यदल बने पनि सञ्चालनको आधार अझै तयार भएको छैन । विसं २०६५ मा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा नेपाली सेना र निजामती कर्मचारीको पोशाक उत्पादनका लागि उद्योग पुनः सञ्चालन गर्ने निर्णय भएको थियो । त्यसका लागि सरकारले बजेट छुट्याए पनि उद्योग सञ्चालन हुन सकेन । त्यसपछि गठन भएका सरकारले उद्योग सञ्चालनका लागि बजेट छुट्याउँदै आए पनि उद्योगले पुनर्जीवन पाउन नसकेका उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष वासु खतिवडाले बताए । नेपाली सेनाले उद्योग सञ्चालनको चासो देखाएको भए पनि सरकारले निर्णय गरेको छैन । ‘विसं २०७५ असारमा उद्योग सञ्चालनबारे सेनाले अध्ययन गरेको सुनेको थिएँ’, उनले भने, ‘तत्कालीन उद्योग तथा आपूर्तिमन्त्री मातृका यादवको पहलमा कार्यदल गठन गरी उद्योग सञ्चालनको मोडालिटी, कानुनी र भौतिक संरचनालगायत विषयमा अध्ययन पनि भएको थियो, तर त्यो पनि त्यत्तिकै हरायो । पटकपटक बनेका सरकारले उद्योग सञ्चालनको कुरा चलाउँदै आए पनि हालसम्म परिणाम प्राप्त भएको छैन ।’ गत २०८० माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बन्द हेटौँडा कपडा उद्योग सञ्चालनका लागि तयारी भइरहेको घोषणा गरेका थिए । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा उद्योग सञ्चालन गर्ने योजना समावेश गरेपछि प्रधानमन्त्री दाहाललाई नेपाली सेनाले प्रतिवेदन बुझाएको थियो । उनी नेतृत्वको सरकार फेरिएपछि उद्योग पुनः सञ्चालनको योजना कागतमा मात्र सीमित भएको छ । उद्योग सञ्चालन भएमा स्थानीयले रोजगारी पाउने र मुलुकको अर्थतन्त्रमा पनि टेवा पुग्ने उपाध्यक्ष खतिवडा बताउँछन् । रासस