सुनचाँदी आयात तथा बिक्री-वितरणका समस्या सल्टाउन बैंक, व्यवसायी र राष्ट्र बैंक एकै ठाउँमा

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा जारी सुनचाँदीको आयात तथा बिक्री-वितरणसम्बन्धी कार्यविधिको कार्यान्वयनका क्रममा वाणिज्य बैंक तथा व्यवसायीहरूले भोगिरहेका व्यावहारिक कठिनाइ र चुनौतीबारे छलफल गर्न बैंक-व्यवसायी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनासको अध्यक्षतामा मंगलबार महासंघको सचिवालयमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रतिनिधि, नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत, विभिन्न वाणिज्य बैंकका विभागीय प्रमुखहरू तथा महासंघका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

महासंघका सचिव केशरबहादुर विश्वकर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा व्यवसायीहरूले बैंकबाट सुन खरिद गर्दा अपनाउनुपर्ने झन्झटिलो प्रक्रिया, आवश्यक कागजात, भुक्तानी व्यवस्था, भन्सार दर तथा सुनको मूल्यमा हुने उतार-चढावले बजारमा पारेको नकारात्मक प्रभावबारे ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा बैंकका प्रतिनिधिहरूले सुन बिक्री-वितरणसम्बन्धी नियामकीय प्रक्रिया, मूल्य व्यवस्थापन र अभिलेखीकरणबारे स्पष्ट पार्दै व्यवसायीहरूसँगको समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।

नेपाल राष्ट्र बैंकका उपनिर्देशक यज्ञ श्रेष्ठ र नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले व्यवसायीहरूले उठाएका समस्या र प्राप्त सुझावहरूलाई नियामक निकायसमक्ष पुरÞ्याई समाधानका लागि पहल गर्ने आश्वासन दिए । 

महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्माले धन्यवाद ज्ञापन गर्दै समापन गरेको अन्तरक्रियामा पछिल्लो समय सुनचाँदी बजारमा देखिएको सुस्तता अन्त्य गर्न तथा बजारलाई चलायमान बनाउन सुनचाँदीमा लाग्ने भन्सार महसुल र अन्य करका दरहरू छिमेकी राष्ट्रहरूसँग प्रतिस्पर्धी हुने गरी घटाउन सरकारसमक्ष पुनः पहल गर्ने निष्कर्ष निकालिएको छ ।

Share News