वर्षा सुरु भएसँगै म्याग्दीका पर्यटकीयस्थल सुनसान, घटे पर्यटक
म्याग्दी । वर्षा सुरु भएसँगै यहाँका पर्यटकीयस्थल सुनसान हुन थालेका छन् । घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, टोड्के, अन्नपूर्ण आधार शिविर, सिङ्गा र भुरुङ, तातोपानी कुण्ड, रुप्से, नारच्याङ झरनालगायत क्षेत्रमा वर्षा सुरु भएसँगै घुम्न आउने पर्यटक घटेका हुन् । अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीस्थित होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले प्रतिकूल मौसमका कारण पछिल्लो समय पर्यटकको आगमन घटेको बताए । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यका रूपमा रहेको घोडेपानीमा दैनिक एक हजार क्षमताका २५ वटा सुविधायुक्त होटल रहेका जनाउँदै ती होटलहरू आजभोलि सुनसान रहेका उनले उल्लेख गरे । “जेठदेखि भदौसम्म झरी लाग्ने, सडक तथा पदमार्ग अवरुद्ध हुने हुँदा पर्यटन व्यवसायका हिसाबले बेमौसमी मानिन्छ”, पुनले भने, “पहाडी क्षेत्रमा बादल लागेर हिमाल छोपिने हुँदा पर्यटक आगमन नभएको हो ।” बेनी-जोमसोम सडक भएर मुस्ताङ जानेआउने पर्यटकहरूका लागि थकान मेटाउने थलोका रूपमा रहेको अन्नपूर्ण गाउँपालिका-२ स्थित भुरुङ तातोपानी र प्राकृतिक उपचारस्थलका रूपमा बेनी-४ स्थित सिङ्गा तातोपानी कुण्ड पनि सुनसान बनेको छ । सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका पूर्वअध्यक्ष वीरेन्द्रमान शाक्यले पर्यटकीय याममा दैनिक एक हजारको हाराहारीमा स्नान गर्ने धार्मिक पर्यटक तातोपानी कुण्डमा स्नान गर्न आउनेमा अहिले दैनिक ५० जना पनि नपुग्ने गरेको बताए । म्याग्दीमा पदयात्रा, हिमाल आरोहण, हिमशृङ्खला, सूर्योदय, झरना, गल्छी, ग्रामीण जनजीवन र विभिन्न जातजातिको संस्कृतिको अवलोकनका लागि पर्यटक आउने गर्छन् । असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना पर्यटकीय यामका रूपमा मानिन्छ । जेठ, असार, साउन र भदौ महिना पर्यटक आगमन शून्य जस्तै हुने गरेको छ । पर्यटक आगमन बघेसँगै होटल तथा पर्यटन व्यवसायीहरू फुर्सदिला भएका छन्, पदमार्गमा चहलपहल छैन । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार म्याग्दीमा वार्षिक ३० हजारको हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् । रासस
साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने, मिडिया सेन्टर पनि सञ्चालनमा ल्याइने
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी गरेको छ । साउनमा पशुपति क्षेत्रमा भक्तजनको धेरै भीड लाग्ने गर्छ । साउन महिनाको पनि सोमबार र शनिबार धेरै भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजाआराधनाका लागि आउने गर्छन् । यस महिनामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्यलाई पनि अनुगमनमा खटाउने गरी तयारी गर्न लागिएको निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए । धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) का पदाधिकारी एवं कार्य समिति सदस्यहरुसँगको अन्तरक्रियामा उनले साउनदेखि नै पशुपति क्षेत्रमा समाचार सङ्कलनका लागि आउने पत्रकार एवं सञ्चारकर्मीका लागि ‘मिडिया सेन्टर’ को सुरुवात गरिने प्रतिबद्धता जनाए । साउनको सोमबार र शनिबार, हरितालिका (तीज), बाला चतुर्दशी, महाशिवरात्रि, विक्रम संवत्को नयाँ वर्ष वैशाख १ गते, अक्षया तृतीयालगायत पर्वका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजन दर्शन एवं पूजाआराधनाका लागि आउने गर्छन् । त्यसबेला पशुपति क्षेत्रबाट समाचार सङ्कलनमा समस्या हुने गरेको छ । विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र एवं राष्ट्रदेवका रुपमा रहेको पशुपति क्षेत्रलाई थप व्यवस्थित बनाउन यसो गर्न लागिएको हो । कोषको कर्मचारी नियमावली छिटो ल्याउन पहल गर्ने पनि निमित्त सदस्यसचिव जोशीको प्रतिबद्धता छ । नियमावली अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अर्थ मन्त्रालयमा पुगेको जनाइएको छ । लामो समयदेखि बढुवा नहुँदा कर्मचारी निराश भएकाले केही महिनामै विज्ञापन गर्नेगरी तयारी गरिएको जानकारी पनि उनले दिए । पशुपति क्षेत्र विकास कोष ऐनलाई संशोधनका लागि पनि पहल गरिने उनको प्रतिबद्धता छ । कोषले सूचना प्रविधिका विभिन्न माध्यमलाई प्रभावकारी बनाउँदै नागरिक एपमार्फत सेवा दिने तयारी पनि गरेको सदस्यसचिव जोशीले बताए ।
९ महिनामा कैलाश हेलिकप्टरको आम्दानी साढे ५३ करोड रुपैयाँ
काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले ९ महिनामा साढे ५३ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (सन् २०२५) मा ५३ करोड ५० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको आम्दानी समेत वृद्धि भएको छ । कम्पनीले सन् २०२४ मा ७९ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा ७० करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै, सन् २०२२ मा ४० करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा ३२ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । कम्पनीले प्रत्येक वर्ष आम्दानी बढाउँदै लगेको छ । कम्पनीको आम्दानीमा वृद्धि भएसँगै गत आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट लागि चुक्ता पुँजीको करसहित २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सन् २०१७ मा स्थापित कैलाश हेलिकप्टर जुलाई २०२३ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । कम्पनीले ३ वटा एयरबस हेलिकप्टरमा मार्फत चार्टर्ड उडान, उद्धार कार्य, स्लिङ अपरेशन, साहसिक भ्रमण (एभरेस्ट बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्प) जस्ता सेवा दिँदै आएको छ । ३१ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीमा विभिन्न ७ जना लगानीकर्ता रहेका छन् । कम्पनीको अध्यक्ष क्याप्टेन आशिष शेरचन छन् भने प्रबन्ध निर्देशक प्रताप जंग पाण्डेय रहेका छन् । कम्पनीको सञ्चालकमा सुनिल श्रेष्ठ, रमेश पण्डित, श्रीराम केसी र इस्वरी पौडल रहेका छन् । रेटिङ कम्पनी इक्रा नेपालले कम्पनीलाई त्रीपल बी रेटिङ प्रदान गरेको छ । जसले वित्तीय दायित्वमा सन्दर्भमा मध्यम स्तरको सुरक्षा भएको मानिन्छ ।