पर्यटनको आम्दानी १० वर्षमै साढे तीन खर्ब बनाउने लक्ष्य, ६ लाखको पर्यटक संख्या २५ लाख पुग्ने

काठमाडौं १२, मंसिर । सरकारले अबको नौ वर्षमा नै नेपालको पर्यटन आगमन संख्या २५ लाख २२ हजार पुर्याउने अनुमानित लक्ष्य सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना (सन् २०१६—२०२५)मा हाल ६ लाख हजारको हाराहारीमा रहेका पर्यटक आगामी सन् २०२५ मा नै २५ लाख २२ हजार पुराइने भएको छ । नेपालको पर्यटन क्षेत्रमा विदेशी मुद्रा सहटिबाट हुने हालको करीब ४९ अर्बलाई आगामी सन् २०२५ सम्ममा साढे तीन खर्ब (३ खर्ब ४० अर्ब) रुपैयाँ पुर्याइने भएको छ । सरकारले ल्याएको सन् १० वर्षे पर्यटन रणनीतिक योजनामा पर्यटन क्षेत्रबाट हुने आम्दानीलाई तीन अर्ब ४० करोड अमेरिकी डलर पुराउने लक्ष्य सार्वजनिक भएको छ । यो आम्दानी अहिलेकै अमेरिकी डलरको मूल्य एक सय सात रुपैयाँको तुलनामा तीन खर्ब ४० अर्ब रुपैयाँ हुने पनि उल्लेख छ । १० वर्षमा नेपाली मुद्रासँगको अमेरिकी डलरको मूल्य पनि बढ्ने भएकोल यस्तो आम्दानी चार खर्ब रुपैयाँसम्म नै बन्नसक्ने पनि उल्लेख छ । गत असार ३१ गते मन्त्रीपरिषद्को पूर्वाधार विकास समितिबाट स्वीकृत भएको यो रणनीति अनुसार आगामी १० वर्षमा वैदेशिक परिवत्र्य मुद्रा आर्जनबाट मात्रै पर्यटन क्षेत्रले दुई अर्ब ७५ करोड ५० लाख अमेरिकी डलर आम्दानी गर्ने तथ्यांक रणनीतिक योजनामा रहेको छ । विदेशी मुद्राको सटहिमार्फत हुने आम्दानीबाहेक नेपालमा नै हुने पर्यटन क्षेत्रको आम्दानी एक अर्ब १५ करोड हुने रणनीतिक योजनामा रहेको छ । सरकारले ल्याएको यो योजनामा पर्यटनको माध्यमबाट गरिबी निवारण गर्ने तथा स्थानिय स्तरसम्म आर्थिक लाभ लिने प्रमुख उद्देश्य रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता घनश्याम उपाध्यायले बताए । उनका अनुसार पर्यटन नेपालमा संभावना भएको क्षेत्र हो भन्ने निष्कर्षलाई रणनीतिले पुष्टि गर्न खोजिएको छ । पर्यटन क्षेत्रबाट नै मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने भएकोले सरकारले प्राथमिकताका साथ यो १० वर्षे रणनीतिक योजना ल्याएको उपाध्यायको बुझाई छ । सन् २०१५ मा नेपाल आउने पर्यटक ५ लाख ३९ हजार रहेको छन् । यो संख्या सन् २०१९ मा सन् २०१८ को तुलनामा ९ प्रतिशतले वृद्धि हुने उल्लेख छ । सन् २०१८ मा वार्षिक १० लाख पर्यटक आउने सरकारी लक्ष्य रहेको छ । यही दर बढ्दै जाँदा सन् २०२० मा १३ लाख पर्यटक आउने तथ्यांकमा उल्लेख छ । सन् २०२४ मा नेपाल आउने विदेशी पर्यटकको संख्या साढे २२ लाख हुने र २०२५ मा २५ लाख नाघ्ने अनुमानित तथ्यांक पर्यटन रणनीतिले लिएको छ । दुईलाखको रोजगारी ८ लाख पुग्ने मन्त्रालयका अनुसार सन् २०१५ मा पर्यटनमा प्रत्यक्ष रोजगारी दुई लाख रहेको छ । यो संख्या विश्व पर्यटन परिषद्को तथ्यांक भने ६ लाख भन्दा बढि रहेको छ । आगामी सन् २०२५ सम्ममा पर्यटन क्षेत्रको प्रत्यक्ष रोजगारी साढे आठ लाख हुने पनि मन्त्रालयको अनुमान रहेको छ । नेपालको पर्यटन क्षेत्रले प्रत्यक्षको तुलनामा अप्रत्यक्ष रोजगारी सिर्जनालाई भने निकै उत्साहजनक रूपमा बढाउने गरेको छ । नेपालमा एक जना पर्यटक आउँदा नौ जनासम्मले अप्रत्यक्ष रोजगारी पाउने गरेको उल्लेख छ । प्रत्यक्ष रुपमा थोरैले रोजगारी पाएको देखिएपनि यसको अप्रत्यक्ष प्रभाव रहेको पनि मन्त्रालयको औल्याएको छ । रणनीतिक योजना अनुसार हाल नेपालमा प्रत्यक्ष रोजगारी पाउने साढे पाँच लाख भएपनि यस क्षेत्रमा हुने अप्रत्यक्ष रोजगारी भने साढे १२ लाख जना रहेको छ । यो संख्या सन् २०२५ सम्ममा करीब १९ लाख पुग्ने रणनीतिक योजनाको तथ्यांकमा उल्लेख छ । पर्यटन मन्त्रालयको अगुवाइमा तयार भएको यो रणनीतिक योजनामा १० वर्षको दीर्घकालिन र पाँच वर्षको अल्पकालिन विस्तृत योजना तयार पारेको छ । यस्तो योजनामा पहिलो पाँच वर्षमा नै आवश्यक लगानी र पूर्वाधारको काम गर्ने उख्लेख छ । नेपालका प्रमुख पर्यटकीय बजारमा नेपालको पर्यटकीय ब्राण्डको बजारीकरण, पर्यटकीय सम्पदा तथा पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकास पर्यटनको माध्यमबाट कुल गार्हस्थ उत्पादनमा उल्लेख योगदान दिनेसहितका योजना रणनीतिमा रहको छ । रणनीतिले सन् २०१४ को पर्यटकीय अवस्था र त्यसपछिको वर्षमा हुने पर्यटकीय लगानी तथा विकासको विश्लेषण गरेको छ । यो योजनालाई सन् २०१३ देखि २३ सम्मको १० वर्षे योजना बनाउने भनेर तयारी भएको भएपनि आवश्यक प्रक्रिया नपुग्दा सन् २०१६ बाट मात्रै सुरु हुने गरी सार्वजनिक भएको छ । रणनीतिक योजना सार्वजनिक हुँदा सन् २०१६ सकिन लागेकोले पनि छिटोभन्दा छिटो यसलाई कार्यान्वयन गरेर लक्ष्य भेट्टाउन चुनौति थपिएको पर्यटन मन्त्रालयकै बुझाई छ । निजी क्षेत्रसँग सहकार्य नै नभएको गुनासो सरकारले ल्याएको यस्तो रणनीतक योजनामा निजी क्षेत्रका पर्यटन व्यवासायीसँग सहकार्य नभएको टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का महासचिव कर्ण लामाले बताए । उनका अनुसार सरकारले १० वर्षको रणनीति तयार पार्दा पनि व्यवसायीसँग औपचारिक रूपमा कुनै पनि सहकार्य भएको छैन । निजी क्षेत्र र सरकारसँगसँगै अगाडि बढ्नुपर्ने पर्यटनमा सहकार्य नहुँदा सरकारी योजना र तथा कार्यक्रम घोषणामा मात्रै सिमित हुन पुगेको विगतको अनुभवले देखाइसकेको पनि व्यवसायीको बुझाई छ । सरकारले ल्याएको यो रणनीतिको महत्वकांक्षी योजना पूरा हुनेमा कुनै ठोस आधार नदेखिएको भएपनि जति पूरा गर्न सकिन्छ सरकारी तहबाट इमान्दारीपूर्वक लागू हुनुपर्ने बुझाई पनि लामाको छ । सन् २०२५ सम्मको पर्यटकीय अवस्था तथ्यांकमा शीर्षक                                                                      २०१४                                          २०१५                       २०२५ वृद्धि दर (%)                                                              (१)                                              (३३)                        १२.५ पर्यटक आगमन संख्या (०००)                                     ७९०                                            ५३९                        २,५२२ औसत बसाइँ दिन (२.७% वृद्धि)                                  १२                                                १३                           १५ प्रति पर्यटक आय प्रतिदिन (अमेरिकी डलर)                ४८                                                ६९                          ९० कूल विदेशी मुद्रा आय (अमेरिकी डलर १० लाखमा)    ४७२                                              ४९८                        ३,४०१ कूल विदेशी मुद्रा आय (ने.रु. करोडमा)                       ४,७२०                                          ४,९७८                    ३४०१२ जीडीपी वृद्धि रु. मा (अर्बमा)                                       १९७७                                           २०३६                      ३६६३ पर्यटनको आयको जीडीपीमा प्रतिशत                         २.३९                                              २.४४                      ९.२९ पर्यटनमा रोजगारी (संख्या)                                         ६१२.५                                             ६३३.४                  ८९८ पर्यटनबाट जीडीपीमा प्रत्यक्ष योगदान प्रतिशत             ४.४                                                  ४.५                     ५.२ तथ्यांक स्रोत: नेपालको राष्ट्रिय पर्यटन रणनीति सन २०१६-२०२५

७२ सिट क्षमताको एटीआर योजनामा आन्तरिक वायुसेवा, बजार पहुँच बढाउने तयारी

काठमाडौं,मंसिर १२ । निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनी क्षमता विस्तारका लागि साना जहाज विस्थापित गरेर ठूलो क्षमतामा जान थालेका छन्। आन्तरिकमा नियमित उडान गरिरहेका यती, बुद्ध, सिम्रिक, सीता, सौर्यलगायतका वायुसेवा क्षमता विस्तार गर्न ठूला जहाज भित्र्याउन थालेका छन्। आन्तरिक उडानमा नेपालको स्थापित वायुसेवा कम्पनी यती एयरले २९ र ३० सिट क्षमताका जहाज विस्थापन गरेर एटिआर ७२ नामक ठूलो जहाज ल्याउने भएको छ। उसले ४ वटा जहाज ल्याउने अनुमति मागिसकेको छ। बजारक आवश्यकता अनुसार चलेको बुद्ध एयरले अझै थप २ वटा एटिआर जहाज खरिद गर्ने भएको छ। आन्तरिक वायुसेवाले बजार हिस्सा बढाउन यात्रु क्षमता बढी भएको जहाज ल्याउने गरी आक्रामक रणनीति बनाउँन थालेका छन् । पर्यटन बढ्दै गएको, आन्तरिक पर्यटकको घुम्ने संस्कृतिको विकास हुँदै गएको र हवाई यात्रुको चाप नै वर्षेनी बढ्नै गएकोले आन्तरिक वायुसेवा पहँुच विस्तारमा लागेका हुन । अन्नपूर्ण पोस्टबाट ।

नारायणी टुडेको वार्षिकोत्सव थाइल्यान्डमा, नेपालको पर्यटन विकासमा थाइल्यान्डबाट सिक्नुपर्ने

थाइल्यान्ड, १० मंसिर । प्राकृतिक सम्पदाले भरिपूर्ण भएपनि राजनीतिक अस्थिरताका कारण नेपाल पछिपरेको कुरा चितवनको नारायणी टुडे राष्ट्रिय मासिक पत्रिकाले थाइल्यान्डको पत्ताया सिटीमा बिहिबार आयोजना गरेको १७औँ वार्षिकोत्सव समारोहमा बोल्ने वक्ताले बताएका छन् । सँगैसँगै विकासक्रममा रहेका नेपाल र थाइल्यान्ड राजसंस्थाले लामो समय सत्ता सञ्चालन गर्दै गर्दा विकासक्रममा थाइल्यान्डले कायापलट गरेको छ भने नेपाल भने यथास्थितिमा रहेकामा वक्ताहरुले चिन्ता व्यक्त गरेका थिए । थाइल्यान्डमा पर्यटक भित्रिनुको मुख्य कारण समुन्द्र हो भने नेपालमा रहेका हिमशृङ्खला र दुर्लभ वन्यजन्तु तथा प्राकृतिक छटा आकर्षणका केन्द्र हुन् । तर उचित प्रचार, अस्थिर राजनीति र व्यवस्थापनको अभावका कारण नेपाल पछि परेको वक्ताको दाबी थियो । कार्यक्रमको उद्घाटन गर्दै गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् ९एनआरएनए०का थाइल्यान्ड उपाध्यक्ष महेन्द्र श्रेष्ठले नेपालको पर्यटन विकासका लागि थाइल्यान्डबाट धेरै सिक्नुपर्ने बताए । उनले राजनीतिक दलका नेता, विभिन्न पेसाकर्मीसहित पत्रकारको टोलीको यो थाइल्यान्ड भ्रमणले नेपालमा पर्यटक कसरी भित्र्याउन सकिन्छ र बसाइ लम्ब्याउन सकिन्छ भन्ने विषयमा ज्ञान हासिल गर्नसक्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा पत्रकार महासङ्घका उपाध्यक्ष खिलबहादुर भण्डारीले थाइल्यान्डको विकासलाई हेरेर नेपालमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिए । उनले पत्रकारिता पेसामाथि औँला उठाउन नसक्ने गरी काम गर्नुपर्ने भन्दै समाज रुपान्तरणका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने “राजनीतिका कारण देश बिग्रियो मात्रै भन्नुभन्दा सही ट्र्याकमा लान हामी पत्रकारले के गरौँ भन्ने बारेमा सोच्नुपर्छ ।” नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले थाइल्यान्डले छोटो समयमा गरेको प्रगतिबाट ज्ञान लिएर नेपालको विकासमा परिचालन गर्नसके विकास सम्भव भएको जिकिर गरे । “देशको समृद्धिका लागि पत्रकारको कलम चल्नुपर्छ, त्यसका लागि थाइल्यान्ड भ्रमण सार्थक बनोस्,” आचार्यले भने । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले नेपाल र थाइल्यान्डको विकासक्रम उस्तै ढङ्गबाट अघि बढेको भएपनि हामी पछिपर्नाको कारण शासन व्यवस्था मात्रै नभएर हाम्रो इच्छाशक्तिको अभाव प्रमुख कारण रहेको उल्लेख गरेका छन् । गाली र आलोचनाले मुलुक नबन्ने भन्दै उनले भुटान, थाइल्यान्डबाट पाठ सिक्ने गरी लेख्न पत्रकारलाई आग्रह गरेका छन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष इन्द्रजित परियारले नेपालमा विकास भएको नकारात्मक राजनीतिलाई सकारात्मकतामा ढाल्नुपर्ने भन्दै पर्यटनको खानी भएर पनि हामी ओझेलमा पर्नुको कारण खोज्नुपर्ने बताए । राजनीतिक स्थिरता पछि अब देशलाई अन्य क्षेत्रको अनुभव हेरेर समृद्धितर्फ लैजानुपर्नेमा जोड दिएका छन् । नारायणी टुडे राष्ट्रिय मासिकका प्रकाशक/सम्पादक वीरेन्द्रमणि पौडेलले पत्रिकाको वार्षिकोत्सवका लागि मात्रै नभएर थाइल्यान्डको विकासको सिको गरेर नेपालको विकास गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले दलका नेता, पत्रकार र पेसाकर्मीहरुलाई थाइल्यान्ड भित्र्याएको बताए । आगामी वर्षमा क्रमशः विकसित मुलुकमा नेपालीलाई लगेर यस्तै विशेष कार्यक्रम आयोजना गर्ने उनले प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा पत्रकार महासङ्घ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल, वरिष्ठ न्यूरो सर्जन डा बालकृष्ण थापा, डा कृष्ण काफ्ले, प्रेस सेन्टर नेपालका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी र प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष तीर्थ नेपालले मन्तव्य राखेका थिए । सो कार्यक्रममा नेपालबाट आएका राजनीतिक दल, पत्रकार, पेसाकर्मीसहित थाइल्यान्डमा रहेर पेसा–व्यवसाय गर्ने नेपालीको उपस्थिति रहेको थियो । विश्वमा नै थाइल्यान्ड धेरै पर्यटक भित्र्याउने देशका रुपमा परिचित छ । पत्रकारसहित चार सम्मानित नारायणी टुडे राष्ट्रिय मासिक पत्रिकाले थाइल्यान्डको पत्ताया सिटीमा बिहीबार १७औँ वार्षिकोत्सवका क्रममा चितवनका तीन पत्रकार र एक भेट्रिनरी चिकित्सकलाई सम्मान गरेको छ । उनीहरुलाई कदरपत्रसहित एनआरएनए थाइल्यान्डका उपाध्यक्ष महेन्द्र श्रेष्ठले कदरपत्रसहित सम्मान गरेका थिए । सो क्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष हरि पोखरेल, बिबिसी तथा नेपाल टेलिभिजनका चितवन संवाददाता ईश्वर जोशी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक डा कृष्ण काफ्लेलाई सम्मान गरिएको थियो । रासस