मकवानपुरमा आपत्कालीन विमानस्थल बनाइने
हेटौँडा, २० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले देशभित्र रहेका विभिन्न पीठको संरक्षण र प्रवद्र्धन गरेर धार्मिक पर्यटक भित्र्याइने बताएका छन् । नारायणी यातायात व्यवसायी सङ्घ र निर्माण व्यवसायी सङ्घले सोमबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले पशुपतिनाथ र लुम्बिनीलाई मात्र नहेरी ओझेलमा परेका पीठको संरक्षण र विकासमा विशेष भूमिका निर्वाह गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। मकवानपुरमा आपत्कालीन विमानस्थल बनाउन उपयुक्त रहेकाले सम्भाव्यता अध्ययनका लागि छिट्टै प्राविधिक टोली खटाइने जानकारी उनले दिए । रासस
मोरङका पर्यटकीय स्थलमा चहलपहल बढ्यो, दैनिक एक हजार बढी पर्यटक अवलोकन गर्ने
मोरङ, २० मङ्सिर । जाडो मौसम सुरु भएसँगै मोरङका पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ । जिल्लामा रहेका बेतना सिमसार, हसिना सिमसार, राजारानी, रानी वन, जेफाडे डाँडा, बेतेनी सिमसारलगायतका पर्यटकीय क्षेत्रमा दृश्यावलोकन र वनभोज खान जानेको चहलपहल बढेको हो । अहिले यी पर्यटकीय क्षेत्रमा वनभोज खान जानेको भीड बढ्नुका साथै घुमघाम गर्न जानेको सङ्ख्यामा वृद्धि भएको छ । खासगरी शनिबारको दिन यी पर्यटकीय क्षेत्रमा भीड बढी हुने गरेको छ । शनिबार सार्वजनिक बिदा हुने भएकाले विद्यार्थी तथा कर्मचारी परिवारका साथ घुम्न आउने गर्छन् । बेलबारी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बेतना सिमसार क्षेत्र यतिखेर पूर्वाञ्चलमै एउटा नमुना गन्तव्यका रुपमा विकास भइरहेको छ । सो सिमसार क्षेत्रले करिब ६५ बिगाहा क्षेत्रफल ओगटेको छ । साइबेरियादेखि आउने चराका साथै २५ प्रजातिका दुर्लभ चरा, विश्वमै दुर्लभ प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीवजन्तु, वनस्पति यस क्षेत्रमा पाइन्छन् । मोरङ जिल्लामा रहेका पर्यटकीयस्थलमध्ये बेतना सिमसारमा बढी भीड लाग्ने गर्दछ । यहाँ विभिन्न जिल्लाबाट वनभोज खान र दृश्यालोकनका लागि आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । सो सिमसार क्षेत्रमा अहिले दैनिक एक हजार ५०० पर्यटक आउने गछन् । यस्तै मोरङमै रहेको जेफाले डाँडा नयाँ र मनोरम गन्तव्य बनिरहेको छ । जिल्लाको सिंहदेवी गाविसमा रहेको सो पर्यटकीयस्थलमा सञ्चालित होमस्टेमा पर्यटकको आकर्षण बढ्न थालेको छ । त्यहाँ सुरु गरिएको होमस्टे आगन्तुकका लागि आकर्षण बन्दै गएको हो । मङ्सिर लागेसँगै मोरङसहित, झापा, सुनसरी, धनकुटासहित भारतबाट समेत दैनिक सयौँ पर्यटक सो पर्यटकीय क्षेत्र घुमघामका लागि आउने गरेको जेफाले सामुदायिक होमस्टे व्यवस्थापन समितिका सचिव भीम ठकुरीले जानकारी दिए । उनका अनुसार अहिले पर्यटनको मौसम सुरु भएसँगै जेफालेमा दैनिक होमस्टेमा बस्न र जेफाले भ्यू टावरबाट मनोरम दृश्य हेर्नेको भीड बढेको छ । रासस
वायुसेवा निगमको नयाँ जहाजको स्टार्टमै समस्या, म्यानुअल्ली स्टार्ट गर्दा दैनिक उडान ढिले
काठमाडौं १९, मंसिर । नेपाल वायुसेवा निगमको नयाँ जहाज एयरवस स्टार्टमै समस्या आउन थालेको छ । निगमको एयरवस ए ३२०—२०० सिसिजको १५८ सिट क्षमताको जहाजबाट हरेक दिन विहान हुने काठमाडौं दिल्ली उडान दैनिक ढिले हुने गरेको छ । वायुसेवा निगमले जहाज उडान हरेक दिन विहान आठ बजे गर्ने भनेर यात्रुलाई समयमा नै आउन आग्रह गर्ने गरेको छ । यात्रु पनि आउँछन् । तर, जहाज स्टार्ट नहुँदा म्यानुअल्ली स्टार्ट गर्नुपर्छ । जसको कारण उडान समय दैनिक आधा घण्टासम्म ढिलो हुने गरेको छ । यात्रु समयमा नै आइपुगेका हुन्छन, जहाज पनि उडानमा तयारीमा अवस्थामा रहेको हुन्छ तर डोर क्लोज भइसकेको आघा घण्टासम्म पनि स्टार्ट नभएर पुनः म्यानुअल्ली स्टार्ट गर्नुपर्ने समस्या बढ्न थालेको निगमकै अधिकारीले जानकारी दिए । निगले डेड वर्ष अगाडि ल्याएको एयरवसको न्यारोबडि जहाज हाल दुईवटा उडानमा रहेको छ भने थप दुई वटा वाइडवडि ल्याउने तयारी गरिरहेको छ । निगमले संचालन गरिरहेको एयरवसको नयाँ दुई जहाजले नियमित अन्तर्राष्ट्रिय उडान भने गरिरहेका छन् । बोइङ कवाडिमा बेच्दा २० करोड मात्रै आउने एक अगाडि सिंगापुरबाट काठमाडौं ल्याइएको एउटा बोइङ जहाजको मूल्यांकनबाट जम्मा २० करोड रुपैयाँ मात्रै आउने पूर्वअनुमान गरिएको छ । यो जहाज २८ वर्ष अगाडि निगमले २३ लाख डलरमा खरिद गरेको भएपनि अहिले नयाँ खरिद गर्नुपर्दा यही क्षमतको जहाजको मूल्य करीब ५ अर्ब रुपैयाँ पर्छ । बोइङ जहाजको विकल्पमा निगमले एयवसका जहाज प्रयोग गर्न थालेको छ । निगमका अनुसार निगमले विमानस्थलमा थन्काएर राखेको एउटा बोइङ ७५७ जहाजको मूल्यांकनमा निकै ढिलाई भएको छ भने जहाज कवाडिमा बेच्ने त हो नी भनेर व्यवस्थापनको चासो पनि कम भएको निगमकै उच्च अधिकारी बताउँछन् । निगमका सहायक प्रवक्ता शैलेश कंसाकारले भने न्युनतम २० करोड रुपैयाँ आउने अनुमन गरिएको बताएका छन् । उनका अनुसार २० करोड रुपैयाँ न्युनतम हो अधिकतम त त्यो भन्दा जति पनि बढि हुन सक्छ । निगमको एउटा १९० सिट क्षमताको बी ७५७ एसीए नामको बोइङ जहाज कवाडीमा बेच्ने गर्न लागिएको छ । यो जहाज पाँच महिनादेखि ग्राण्उडेड भएको (थन्किएको) बसेको छ । वायुसेवा निगमको इन्जिनियरिङ विभागका एक कर्मचारीका अनुसार यो जहाजको उडान मूल्यांकन जति ढिलो भयो उति नै कम पैसा आउँछ । यो जहाजको इन्जिन आवर सकिएको, जहाज इन्जिन बाहेक सम्पूर्ण मर्मत (सीचेक) गर्ने समय भएको र जहाजका दुबै इन्जिनको आयु सकिएकोले नयाँ राखेर उडान गर्न नसकिने भएकै कारण निगमले विक्री गर्ने निर्णय गरेको हो । जहाजको छिटो मूल्यांकन गरेर विक्री गरेर अलिअली पैसा आउनेमा निगमका उच्च तहका कर्मचारीको रुचि नमिल्दा जहाज टर्किस एयरको कवाडिमा बेचेझै यसलाइृ पनि बेच्नुपर्ने अवस्थामा पुगेको निगमकै कर्मचारी बताउछन् । जहाज उडान गर्ने नमिल्ने भएकोले पुनः उडानमा ल्याउन अब संभव छैन । जहाज थन्काएर राख्दा पनि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई, पार्किङ शुल्क तिरिरहनु पर्ने भएकोले नउडाउँदा र जहाज थन्काउँदा पनि घाटा नै रहेको निगमको भनाइ छ । प्राधिकरणले वायुसेवाको उडान, अवतरण, ल्याण्डिङ, पार्किङमा शुल्क लिने गरेको छ । यो जहाजले मासिक लाखौ शुल्क तिरेर पार्किङ गरिरहेको उल्लेख छ ।