सगरमाथा क्षेत्रबाट एक सिजनमै २ अर्ब भन्दा बढीको कारोबार, २ हजार जना पुग्दैछन सर्वोच्च शिखरमा
काठमाडौं । सगरमाथा क्षेत्रबाट हरेक वर्षको बसन्त ऋतुमा मात्रै २ अर्ब भन्दा बढीको आर्थिक कारोबार हुने गरेको छ । वर्षेनी पर्यटकीय पर्यटनमा जाने र आरोहण गर्ने तथा आर्थिक गतिविधि बढ्ने क्रम बढिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले जानकारी दिएको छ । विभागका अनुसार वार्षिक ३०/३५ करोड रुपैयाँ त सगरमाथा चुम्ने उद्देश्यले गएका आरोहीले तिरेको रोयल्टीबाटै संकलन हुने गरेको छ । शेर्पा भरिया, गाइड, सरकारी सम्पर्क अधिकृत, आरोहण दलले खानपान, आवश्यक सामान, टोलीसँगको सञ्चार, उद्दारसहितका विषयमा हुने खर्चको कारण हरेक सिजनमै २ अर्ब भन्दा बढीको कारोबार हुने गरेको पर्यटन मन्त्रालयबाट सम्पर्क अधिकृतको रुपमा खटिएका ज्ञानेन्द्र श्रेष्ठले बताए । उनका अनुसार कतिपर्य विदेशी पर्यटकले त आरोहण पछि गर्ने आरामको नाममा गर्ने खर्च, आरोहणप्रतिको सन्तोषका कारण गर्ने हेलिकोप्टर चार्टर गर्ने, स्तरीय होटलमा बस्ने, सहयोगी र गाइडलाई दिने खर्चको सीमा १ लाख डलरसम्म हुने गरेको छ । सामान्यतया एउटा विदेशीले कम्तिमा ३५ हजार देखि १ लाख डलरसम्म खर्च गरेर सरमाथाको आरोहणमा जाने गरेका छन् । एकजना विदेशी आउँदा ९ जनाले रोजगारी पाउँछन भन्ने सरकारी तथ्यांकलाई आधार मान्ने हो भने पनि पर्यटक र त्यससँग जोडिएका अन्य निकायले गर्ने खर्चको आधारमा यो तथ्य निकालिएको हो । यसर्थ, समग्र अर्थतन्त्रकै कारोबारमा यो रकम भने हरेक वर्ष २ अर्ब भन्दा बढी हुने दाबी श्रेष्ठको छ । नेपालमा हुने हिमाल आरोहण तथा पर्वतीय गतिविधि साहसिक पर्यटनको लागि रुचाइएको छ । नेपालमा भएको यो साहसिक गतिविधि विश्वमै कहलिएकोले पनि यहाँ हुने खर्च भन्दापनि विदेशीको ड्रीम प्रोजेक्ट पूरा हुनु नै सबैभन्दा ठूलो उपलब्धी हुने पनि श्रेष्ठको बुझाई छ । पर्वतारोहणका क्षेत्रमामा क्रियाशील विभिन्न एजेन्सी तथा सरकारी अधिकारीका अनुसार नेपालले हिमाल आरोहण तथा यससँग सम्बन्धित आर्थिक क्रियाकलापबाट हुने आम्दानी पनि उल्लेख्य हुन्छ । सगरमाथा र आसपासका क्षेत्रका होटलले गर्ने आम्दानी तथा विभिन्न वायुसेवा कम्पनीले गर्ने कारोबारको एकीन तथ्यांक निकाल्न सकिएको अबस्थामा यो क्षेत्रले वास्तविक र अझै ठूलो रकमको कारोबार देखिने पनि पर्यटन व्यवसायीको भनाइ छ । व्यवसायीका अनुसार यो वर्षको बसन्त ऋतुमा मात्रै हुने यो दुई अर्ब भन्दा बढीको कारोबार हरेक वर्ष अप्रीलदेखि मे महिनाभरमा हुने पर्यटकीय गतिविधिकै निरन्तरता हो । नेपालमा सगरमाथा आरोहणको निम्ति अप्रिल र मे हिमाल आरोहणका लागि मुख्य सिजन हो । यो बेला पर्यटक आगमन पनि अन्यसमयको तुलनामा २५ देखि ३० प्रतिशतसम्मले बृद्धि हुने गरेको नेपाल पर्यटन बोर्डको भनाइ छ । पछिल्लो समय हिमालको आरोहणमा भारतीय तथा चिनियाँ पर्यटकको पनि निकै उत्साह बढ्न थालेको छ । केही वर्ष अगाडिसम्म अमेरिका, युरोप तथा मध्यएसियाका पर्यटक बढी आउने गरेका थिए । अहिले यी सँगै छिमेकी मुलुक र अन्य पर्यटक पनि आउन थालेका छन् । एजेन्सी छनोटदेखि गार्भेज डिपोजिट फिर्ता नभएसम्म खर्चेखर्च हिमाल आरोहणमा जाने पर्यटकले एजेन्सी छनोट गर्नेदेखि आरोहणपश्चात लिइने गार्भेज डिपोट फिर्तासम्म खर्चेखर्च हुने गरेको छ । तथा पर्यटन विभागबाट हिमाल आरोहणमा जाँदा लिनुपर्ने आरोहण अनुमतिमा प्रतिव्यक्ति ११ हजार डलर खर्चर्नुपर्छ । यो रकम अघिल्लो वर्षसम्म प्रतिटोली २५ हजार डलर थियो । त्यसपछि एजेन्जीले लिने एकमुष्ट रकम अर्को सबैभन्दा ठूलो खर्च हो । आरोहणमा जाँदा आवश्यक सामग्र, शेर्पा, गाइड, भरीया, सहयोगी, सरकारी अधिकारीसम्मलाई खर्च गर्दै आरोहणमा जानुपर्छ । आरोहणमा पाँच सय, लाभाविन्त २ हजार सगरमाथा आरोहणमा यो वर्ष करिब ५ सय जना हुने पर्यटन मन्त्रालयको अनुमान छ । आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएर गएका टोलीबाहेक थप १५ सय जना पनि सगरमाथा आधारशिविरमा पुगिसकेका छन् । यहाँबाट माथि जाने क्रममा भने भरीया, सरर्दार, शेर्पा, गाइई, सम्पर्क अधिकृत, उद्दार टोलीसहितको टीम हुने भएकोले पनि ५ सयजनाले गर्ने आरोहणमा २ हजार जनासम्म पुग्ने गरेका छन् । पर्यटन विभागका अनुसार अग्ला हिमाल आरोहण गर्दा टेन्ट, डोरी, अक्सिजन सिलिन्डर, खानेकुरा, औषधी तथा बन्दोबस्तीका अन्य सामान पुर्याउने क्रममा नै ठूलो जनशक्ति लाग्नुपर्छ । विभागले यो जनशक्ति सगरमाथाको उचाइमा पुगेको अवस्थामा उचाई कामदारका रुपमा प्रमाणपत्र पनि दिने गरेको छ । सरकारले हिमाललाई व्यवसायीकरण गरी आर्थिक लाभ उठाउने उद्देश्यले हाल चार सय वटा हिमाल आरोहणका लागि खुला गरेको छ । नेपलमा आरोहणयोग्य नै करिब १३ सय हिमाल रहेको भएपनि बाँकी हिमाल भने खुला भएको छैन ।
वाइडबडी खरिदको ऋण सम्झौता ढिलाई, पहिलो किस्ताको ८ अर्ब एक सातापछि पठाउने
काठमाडौ । नेपाल वायुसेवा निगमले दुईवटा ठूला आकारको (वाइडबडी) जहाज खरिद गर्न आवश्यक रकमको पहिलो किस्ता थप आठ दिनपछि पठाउने भएको छ । निगमलाई जहाज वेच्ने लागेको अमेरिकी कम्पनी एएआर कर्पोरेशनले पहिलो किस्तावपतको ८ करोड अमेरिकी डलर (८ अर्ब रुपैयाँ) एक सातापछि पठाउने सुविधा दिएको पनि वायुसेवा निगमले जानकारी दिएको छ । कर्मचारी संचय कोष र नागरिक लगानी कोषसँग ऋण सम्झौता हुन केही दिन लाग्ने भएपछि पहिलो किस्ता पठाउने समय थप आठ दिन थप गरिएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले बताए । उनका अनुसार केही सहजता प्रदान गर्ने गरी एक सातापछिको सयम तय गरिएको हो । निगमले २१ अर्ब ५८ करोडमा २ वटा नयाँ वाइडवडी खरिद गर्दै छ । यसका लागि १० करोड रुपैयाँ बैना पठाइसकेको छ । बाँकी रकम पहिलो किस्ताको पैसा बुझाउँ ऋण नपाएकोले ढिलो भएको उल्लेख छ ।
निर्वाचनको समयमा निकुञ्जमा सुरक्षा सतर्कता उच्च बनाईंदै
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा निर्वाचनको समयलाई मध्यनजर गरी चोरी शिकारीका घटनाहरु हुन नदिन थप सुरक्षा सतर्कता अपनाईएको छ । गैंडा लगायतका वन्यजन्तुको तस्करी बढ्न सक्ने आशंकाले सेनाको विशेष टोलीले सुरक्षा सतर्कता अपनाएको हो । निर्वाचनको समयमा सुरक्षा खतरा बढ्ने र अघिल्लो महिना मात्रै गैंडाको मृत्यु भएको कारणले गर्दा निकुञ्जमा सुरक्षा सतर्कता थप मजबुत बनाईएको छ । अनधिकृत रुपमा जंगल प्रवेशमा कडाई, व्यापक पैदल गस्ती, मोबाइल गस्ती र विभिन्न स्थानहरुमा चेकिङ पोईन्टहरु खडा गरी शंकास्पद व्यक्तिहलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम गरिएको निकुञ्जका सुचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो । निर्वाचनको समयमा चोरी सिकारीहरुले मौका नपाउन भनेर स्थानीय समुदायसँग मिलेर संयुक्त गस्ती सुरु गरिएको नेपाली सेनाले जनाएको छ । समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा जागरण अभियानका सदस्यहरुलाई पनि थप सक्रिय बनाईएको छ । नेपाली सेनाले सुरक्षा बढाएका कारण पछिल्लो समय एक सिंगे गैंडाको चोरी शिकारी लगभग शुन्य अवस्थामा पुगेको छ । कुनै समय वर्षमा करिब २० वटा जति एक सिंगे गैंडालाई तस्करहरुले मार्ने गर्दथे । तर अहिले यो संख्या करिब शुन्य जस्तै भएको छ । गत तीन वर्षको अवधिलाई हेर्ने हो भने चितवन निकुञ्जमा एक वटा मात्रै गैंडा मरेको तथ्यांक छ । त्यो पनि गत चैत २५ गते तस्करहरुले राति असिना पानी परेको बेला मारेका थिए । निकुञ्जको सिंगो सुरक्षाको जिम्मेवारी सेनाले लिने गर्दछ । सेनाले २०६७ देखि २०७० सालसम्म जिरो पोचिङ अर्थात् गैंडाको शुन्य शिकारको अवधारणा ल्याएको थियो । यो दुई वर्षको अवधिमा एक वटा गैंडा म¥यो । २०६७ सालदेखि २०७४ सम्म ७ वर्षको अवधिमा आईपुग्दा ३ वटा मात्रै गैंडाहरु मारिएको निकुञ्ज प्रशासनले जानकारी दिएको छ । त्यस्तै २०७१ वैशाख २० गतेदेखि निकुञ्जको सुरक्षाको जिम्मेवारी सम्हाल्न आईपुगेको नेपाली सेनाको श्रीजंग गणले विशेष अपे्रशन चलाएका कारण यो अवधिमा एक वटा मात्र गैडा मरेको तथ्यांक छ । जब की सात वर्षअघि तस्करहरुले वर्षेनी २० वटा जति गैडाहरु मार्दथे । श्रीजंग जणले निकुञ्जको सुरक्षाको जिम्मेवारी लिएको करिब तीन वर्ष पुग्नै लाग्दा गत चैत २५ गते चितवनको जगतपुरमा तस्करहरुले मौकाको फाइदा उठाई एउटा गैडा मारे । विभिन्न प्रविधिहरुको प्रयोग गरी व्यापक रुपमा जनशक्तिहरुको परिचालन, सुरक्षाफौजको व्यापक अपरेशनका बाबजुद पनि गत चैत्र २५ गते राति करिब १० बजे एक सिंगे गैंडालाई चोरी शिकारीहरुले मारी खाग काटेर लैजान सफल भएका थिए । सुरक्षा अधिकारीका अनुसार यस घटनाबाट के कुरा पुष्टी हुन्छ भने, गैंडा चोरी शिकारीका घटनाहरु निर्मुल भएका छैनन् है भन्ने नै हो । ती अधिकारीले भने, “हामीले सुरक्षा दिंदा दिंदै दाउ कुरेर बसेका शिकारीहरुले झुक्याएर गैंडा मारी भागेका हुन्छन् । यसको मतलब शिकारी बलियो भयो तर सुरक्षाकर्मी कमजोर भयो भन्ने कुरा पटक्कै होईन । कुनै समय यति धेरै गैडा मारिन्थ्यो तर हामी आएपछि लगभग गैडा मारिने संख्या करिब करिब शुन्य जस्तै भएको छ ।” उक्त गणले एक हजार ७१ दिनसम्म विभिन्न अप्रेसन संचालन गरी चोरी सिकारीहरुको प्रयास विफल पारेको थियो । गैंडा मारिने क्रम विस्तारै रोकिंदै गएको भएपनि बेला बेला मौका छोपेर तस्करहरु सल्बलाउने गर्दछन् । विश्व सम्पदा सूचीमा सुचीकृत भएको चितवन राष्ट्रिय निकुञ्ज एक सिंगे गैंडाका कारण प्रख्यात मानिन्छ । २०७१ सालसम्म यस निकुञ्जमा करिब ६ सय ४५ वटा गैंडाहरु रहेको तथ्यांक छ । २०७१ देखि २०७४ सम्म आईपुग्दा यो अवधिमा दुई वटा मात्र गैंडा मरेको निकुञ्ज प्रशासनको भनाई छ । गैंडा बचाउने कार्यमा नेपाली सेना र निकुञ्ज प्रशासनको मुख्य भूमिका रहेको बताईन्छ । “हामीले शुन्य शिकार अवधारणाको कार्यक्रम ल्याएपछि यो बीचमा तस्करहरु त्यति धेरै सल्बलाउन पाएनन्, निकुञ्ज प्रशासनका एक अधिकारीले भने, गैडा बचाउने कार्यमा सेनाले विशेष भूमिका खेल्यो ।” ती अधिकारीका अनुसार हाल चितवन राष्ट्रिय निकुञ्जभित्र ५० भन्दा बढि सुरक्षा पोष्टहरुबाट विशेष फौज समेत तयार गरी सुरक्षा दिने काम भईरहेको छ । माघदेखि जेठसम्मको अवधि भनेको गैंडा बचाउनका लागि निकै चुनौतिपूर्ण मानिन्छ । श्रीजंग गणका एक अधिकारीले भने, “माघदेखि जेठ महिनासम्म जंगलमा हरियो पातहरु सुक्दै जाने, खोलानाला सुक्ने र सुख्खायाम भएकाले जंगलभित्रबाट गैडाहरु बाहिर निस्कन्छन् र तस्करहरुले दाउ हेरेर बस्छन् । त्यसैले यो समयमा सुरक्षा थे्रट निकै हुन्छ तर हामी निकै चनाखो भएर बस्छौं ।” चितवन निकुञ्ज बफर जोन क्षेत्रसहित १६ सय ८२ वर्ग किलोमिटर क्षेत्रफलसम्म फैलिएको छ । यो निकुञ्ज चितवन, मकवानपुर, पर्सा र नवलपरासी गरी चार वटा जिल्लामा फैलिएको छ । एक सिंगे गैंडाका कारण निकुञ्जको महत्व अझ धेरै छ । तर मौका छोपी बेला बेला तस्करहरुबाट हुने थ्रेटका कारण गैंडा जोगाउन निकै चुनौति रहेको सेनाका अधिकारीहरु बताउँछन् । निकुञ्जका सूचना अधिकृतले बताए अनुसार निकुञ्ज, नेपाली सेना र स्थानीय समुदायको सहकार्यले नै गैडाहरु मारिने क्रम रोकिएको हो । उनी भन्छन्, “हाम्रो एकल प्रयासले मात्र नभई सेना, निकुञ्ज प्रशासन र स्थानीय समुदायको ठूलो मेहनतले गैंडाको चोरी शिकारी नियन्त्रण हुन सकेको छ । गैंडा मारिने क्रम रोकिएको भने छैन तर हिजोको तुलनामा निकै कम भएको छ । हाम्रो मुख्य काम गैंडा बचाउनु थियो जुन हामीले तीन वर्षको अवधिमा करिब शुन्य जस्तै बनाएका छौं ।” सुरक्षा व्यवस्था राम्रो भएको कारण निकुञ्ज भन्दा बाहिर गएको गैंडालाई रौतहटबाट उद्दार गरी दुई पटकसम्म निकुञ्जमा लगिएको हो । चोरी सिकारका घटना हुन नदिनको लागि नेपाली सेनाले थप स्पेशल फोर्स परिचालन समेत गर्ने गरेको छ । सुरक्षा अधिकारी भन्छन्, “गैंडा बचाउन र सिंगो निकुञ्जको संरक्षण गर्न हामीले निकुञ्ज प्रशासनसँग मिलेर स्थानीय समुदाय माझ जनचेतना कार्यक्रमहरु गर्यौँ, चोरी शिकारी नियन्त्रण अभियान चलायौं र रातभर गस्ती ग¥यौं । जसका कारण गैंडा मारिने क्रम निकै घटेको छ तर ढुक्क भएर बस्ने स्थिति भने छैन ।” गत चैत २५ गते जगतपुरमा एउटा गैंडा मरेपछि केही व्यक्ति तथा मिडियाले नेपाली सेना र निकुञ्ज प्रशासन भन्दा तस्करहरु बढी बलिया भन्ने समाचारहरु प्रकाशित गरेकोमा सुरक्षा अधिकारीहरु गुनासो गर्छन् । एकाध घटनाका कारण मुलुकको सिंगो सुरक्षा प्रशासन माथि नै चुनौति दिने गरी यसरी मिडियामा समाचारहरु आउनु र चार दशकभन्दा बढी समय प्रकृति संरक्षणमा बिताईसकेको नेपाली सेना जस्तो सशक्त संस्थाले सुरक्षा दिन सकेन भनेर बाहिर नकारात्मक प्रचार गरिनु पक्कै पनि दुखदायी भएको अधिकारीहरुको भनाई छ । नेपाली सेनाले प्रयोग गरिरहेको रियल टाईम पेट्रोल मोनिटरिङ सिस्टम भन्ने सफ्टवेयरका कारण सुरक्षा व्यवस्था मजबुत हुँदै गईरहेको छ । यो प्रविधि भनेको यस्तो ट्रयाकिङ पद्दति हो, जसबाट कुन सुरक्षा टिम कहाँ छ भन्ने कुरा निकुञ्ज प्रशासन र सेनाको अपरेशन रुमबाट लाईभ हेर्न सकिन्छ । यसैका कारण कुनैपनि फौजले डिउटीमा नगईकन डिउटी गरेको थिएँ भनेर झुटो बोल्न सक्दैन ।सेनाले बनाएको यो सफ्टवेयरको मद्दतले समेत वन्यजन्तुको संरक्षणमा सफलता मिलिरहेको सुरक्षा अधिकारीहरु बताउँछन् । अफ्रिकामा हरेक वर्ष १ हजारभन्दा बढी गैंडा तस्करहरुको निशानामा पर्ने गरेको तथ्यांक छ । छिमेकी मुलुक भारतमा यही वर्ष २० वटा भन्दा बढी गैंडाहरु तस्करहरुले मारिसकेको तथ्यांक छ । संकटकालको समयमा नेपालमा एकै वर्ष ३० वटा भन्दा बढी गैंडाहरु मारिएको थियो । तर अहिले नेपाली सेनाले प्रकृत्ति संरक्षण कार्यलाई आफ्नो प्रमुख जिम्मेवारीको रुपमा लिएपछि व्यापक सुराकी परिचालन, रातको समयमा समेत सैनिक गतिविधिहरु सञ्चालन र बफर जोनका स्थानीय समुदायका व्यक्तिहरुसँग नियमित अन्तक्र्रिया गरिएको कारण एक सिंगे गैंडा लगायत अन्य वन्यजन्तुको संरक्षणमा उल्लेख्य सफलता मिलेको सैनिक अधिकारीहरुको दाबी छ ।