वायुसेवा निगमको साझेदारमा लुफ्थान्सा भित्रदैँ, ५ वटा प्रस्ताव माग्दा एउटै मात्र आवेदन

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको रणनीतिक साझेदारमा जर्मनीको लुफ्थान्सा कन्सल्टिङ छनोट हुने भएको छ । लुफ्थान्सालाई निगमको रणनीतिक साझेदार बनाउँन उपयुक्त हुने निष्कर्षसहित मूल्यांकन समितिले प्रक्रिया अगाडि बढाउन सिफारिश गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आह्वान गरेको प्रस्तावमा लुफ्थान्सा कन्सल्टिङ को मात्रै बोलपत्र परेको थियो । प्रस्तावको अध्ययन गर्न गठित समितिले आइतबार मन्त्रालयका सचिव तथा वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष शंकरप्रसाद अधिकारलाई प्रक्रिया अगाडि बढाउन सिफारिश गरेको छ । सचिवस्तरीय निर्णयले एक महिनाअघि मन्त्रालयको हवाई महाशाखा सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा मूल्यांकन तथा सिफारिश समिति गठन गरेको थियो । हामीले लुफ्थान्साको प्रस्तावलमाथि हरेक कोणबाट अध्ययन गर्दा उपयुक्त देखेर थप प्रक्रिया अगाडि बढाउन सिफारिश गरेका छौ, समिति संयोजक लामिछानेले भने । मन्त्रालयले पाँचदेशबाट प्रसताव मागेको भएपनि जर्मनीबाट यो कम्पनीको मात्रै आउको उल्लेख छ । कारोबार दैनिकबाट ।

पर्यटनबाट करिब रु ४२ अर्ब आम्दानी, सबैभन्दा बढी पर्यटक भारतबाट

काठमाडौं । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट गत आर्थिक वर्ष करिब ४२ अर्ब रुपैयाँ आम्दानी भएको छ । सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आव २०७२/७३ मा पर्यटन क्षेत्रबाट ४१ अर्ब ७६ करोड ५० लाख रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको छ । यो आर्जन विदेशी मुद्राको अनुपातमा ५५ लशमलव आठ प्रतिशत, कुल वस्तु निर्यात तथा सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा १९ दशमलव छ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनको अनुपातमा १ दशमलव ९ प्रतिशत हो । चालु आवको प्रथम आठ महिनामा पर्यटन क्षेत्रबाट रु ३६ अर्ब १९ करोड ९० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ । यो आर्जन विदेशी मुद्राको अनुपातमा ६६ दशमलव ८ प्रतिशत र कुल वस्तु निर्यात एवम् सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा २३ दशमलव ३ प्रतिशत रहेको छ । भारतबाट बढी पर्यटक सन् २०१६ मा करिब ४० प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ । उक्त अवधिमा सात लाख ५३ हजार दुई पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१५ मा पाँच लाख ३८ हजार ९७० पर्यटक आएका थिए । कुल पर्यटक आगमनको सङ्ख्यालाई देशगत रुपमा विश्लेषण गर्दा सन् २०१६ मा सबैभन्दा बढी पर्यटक आउने पाँच मुलुकमध्ये भारत (१५ दशमलव ७) प्रतिशतले अगाडि छ । अन्य देशहरु क्रमशः चीन (१३ दशमलव ८), श्रीलङ्का (७ दशमलव ६), अमेरिका (७) र बेलायत (६ दशमलव एक) रहेका छन् । यी देशबाट आएका पर्यटकले कुल पर्यटकको ५० प्रतिशतभन्दा बढी अंश ओगटेको पाइन्छ । सन् २०१५ मा बढी पर्यटक आउने मुलुकमा क्रमशः भारत (१४), चीन (१२), अमेरिका (१०), श्रीलङ्का (८)र थाइल्यान्ड (६) प्रतिशत रहेको छ । रासस

हिमालय एयरलाइन्सले पनि वाइडवडि ल्याउँदै, एक वर्ष भित्रै २ वटा वाइडवडि ल्याएर मध्यपूर्व तथा युरोप जाने

काठमाडौं । निजी क्षेत्रको अन्तर्राष्ट्रिय उडानको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पनि लामो दुरीको उडान क्षमता भएको वाइडवडि जहाज ल्याउने भएको छ । नेपालबाट एक वर्षदेखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको यो वायुसेवा कम्पनीले नेपाल वायुसेवा निगमसँग प्रतिस्पर्धा गर्ने गरी नयाँ जहाज ल्याउने भएको छ । वायुसेवा निगमले आगामी एक वर्ष भित्रै २ वटा वाइडवडि जहाज ल्याउने भएपछि हिमालयले पनि दुइवटै वाइडबडिकै आन्तरिक गृहकार्य थालेको हो । चिनियाँ वायुसेवा कम्पनी तिव्बत एयरलाइन्सको सहकार्यमा नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने यो वायुसेवामा यति एयरलाइन्सको संचालक आङछिरिक शेर्पाको ५१ प्रतिशत र तिब्बत एयरलान्इको ४९ प्रतिशत सेयर रहेको छ । नेपालमा यो वायुसेवालाई यती इन्भेष्टमेन्ट ग्रूपले हिमालय एयरलान्इसको नामबाट संचालन गरेको हो । यसमा चिनियाँ वायुसेवा कम्पनी तिव्वत एयरलान्इनससँग साझेदारी रहेको छ । यो वायुसेवाले कसैसँग प्रतिस्पर्धा नगरी आफ्नो योजना अनुसार नै जहाज थप गर्न लागेको जानकारी दिएको छ । यसले उडान सुरु गरेको एक वर्ष भित्रमा तीन र दोस्रो वर्ष जहाजको संख्या पाँच वटा जहाज पुर्याउने योजना अगाडि सारेको थियो सोही योजना अनुसार काम भइरहेको पनि हिमालय एयरलाइन्सले जानकारी दिएको छ । हिमालय एयरलाइन्सका महाप्रवन्धक राजुबहादुर केसीका अनुसार यो साल कुनै योजना छैन, अर्को साल भने पक्कै हिमालय एयरलाइन्सको वाइडवडि जहाज आउँछ । हिमालयले सन् २०१८ भित्रै वाइडवडिको जहाज ल्याएर उडान गर्ने भएको छ । हिमालयले आफ्नो उडान गन्तव्य विस्तार र बजार रणनीति अनुसार आवश्यकता अनुसारको जहाज थप गर्दै जाने योजना अनुसार ठूलो जहाज थप गर्ने भएको छ । हिमालयले सकेसम्म नेपालको हवाई उड्डयन क्षेत्रको कालोसूची हटेपछि जहाज ल्याएर उडान गर्ने बताएको छ । वाइडवडि चलाउनु भन्दा अगाडि कालोसूची हट्न नसके युरोपेली मुलुकमा जहाज उडाउन पाइदैन । अबको अन्तर्राष्ट्रिय उडानका वायुसेवाका गन्तव्य भनेकै युरोप तथा अमेरिकी मुलुक भएको पनि उल्लेख छ । हिमालयले हाल श्रीलंकाको कोलम्बोको उडान यात्रु नभएर कटौति गरेको छ । यो उडानको विकल्पमा हिमालय एयरलाइन्स छिट्टै युएईको दुबाई र साउदी अरबको दमाम जाने भएको छ । हाल यो वायुसेवाले म्यान्मारको यांगुन, कतारको दोहा, र मलेसियाको क्वाललम्बुरमा नियमित उडान गरिरहेको छ । हिमालय एयरलाइन्सले पनि हाल तीन वटै एयरवसको ए ३१९ नामक जहाजबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । यो वायुसेवाले थप जहाज ल्याँउदै बजार हिस्सा कब्जा गर्दै जाने रणनीति लिएको पनि उल्लेख छ । हिमालयले सन् २०१७ भित्र पूर्ण रुपले गृहकार्य गर्ने र सन् २०१८ को सुरुवातमा नै जहाज ल्याउने गरी योजना बनाइरहेको पनि उल्लेख छ । निगमले भने नयाँ वाइडिको जहाज ल्याएर दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, जर्मनी, चीनलगायतका मुलुकमा उडान गर्ने भएको छ । निगमले गरेकै उडान गन्तव्य नेपालबाट हुने उडानको निम्ति नाफामूलक गन्तव्य भएकोले पनि निगमसँगे प्रतिस्पर्धा गर्न हिमालय एयरलाइन्स अग्रसर भएको हो ।