हिमालयन ट्राभल मार्ट जेठ १८ देखि २१ सम्म हुने
काठमाडौँ । पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो र अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टमा ५४ देशका दुई सय ३० देशका पाहुना सहभागी हुने भएका छन् । जेठ १८ देखि २१ सम्म काठमाडौँमा आयोजना हुने मार्टको सम्पूर्ण तयारी पूरा भएको आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएसन ,पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए। मार्टमा छिमेकीमूलुक भारत, चीन, श्रीलङ्का, सिङ्गापुर, कोरिया, बेलायत, अमेरिका, दक्षिण अमेरिकालगायत मुलुकका पर्यटनसँग सम्बन्धित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ । त्यस्तै ब्लगर, क्रेता, बिक्रेताको पनि सहभागिता हुनेछ । मार्टमा आउने पाहुना अधिकांश नेपाल आइसकेको र उनीहरु नेपालको कला, संस्कृति, प्राकृतिक सुन्दरताको अवलोकन गर्न पनौती, चितवन, पोखरा, लुम्बिनी भ्रमणमा निस्केका छन् । सोल्टी होटलमा आयोजना हुने मार्टमा ९३ जना ब्लगर, ७० जना क्रेता, ४५ जना बिक्रेता र प्रख्यात वक्ताको सहभागिता रहने जनाइएको छ । भूकम्प र नाकाबन्दीले थिलथिलो पारेको पर्यटन उद्योगलाई मार्टमार्फत विश्व बजारमा नेपालको पर्यटनको चर्चा र बहस हुने अध्यक्ष पाण्डेले बताए। नेपालमा अन्तराष्ट्रियस्तरको पर्यटन ‘इभेन्ट’ पहिलो पटक हुन गइरहेकोले नेपाली पर्यटन उद्योगको हिमालयन ट्राभल मार्ट कोसेढङ्गा हुने पर्यटन विज्ञहरुले आशा गरेका छन् । हिमालयन ट्राभल मार्टबाट नेपाली पर्यटनको ‘प्रोडक्ट’ लाई विश्व बजारमा कसरी आधुनिक शैलीमा बेच्न सकिन्छ भन्ने जानकारी मिल्नेछ । नेपाल हिमालयको प्रवेशद्वार हो भन्ने कुरालाई यस मार्टले पुष्टि गर्ने आयोजकले जानाएको छ ।
यति एयरलाइन्सको दिगो विकास लक्ष्य अभियान अन्तर्गत बस सेवा सुचारु
काठमाडौं । यति एयरलाइन्सले नेपालमा जनचेतनाका लागि संयुक्त राष्ट्रसंघको साझेदारीमा दिगो विकास लक्ष्य अभियान बिहिबारदेखि शुभारम्भ गरेको छ । यस अभियान अन्तर्गत एयरलाइन्सले आफ्नो दुईवटा एयरर्पोट सटल बसहरुमा १७ वटा दिगो विकास लक्ष्यहरु सहितका फलाएरस तथा लिफ्लेटहरु उपलब्ध गराएको छ । यी प्रचार सामग्रीको माध्यमबाट यात्रुहरुलाई यात्राका दैरान दिगो विकास लक्ष्यका बारेमा सूचित हुन सहयोग पुग्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको आन्तरिक उडड्यन परिचालन क्षेत्रमा दिगो विकास लक्ष्य अंकित गाडीहरु अनावरण गर्दै यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले यो अभियान संयुक्त राष्ट्र संघसंग यति एयरलाइन्सको साझेदारीको एउटा सुखद सुरुवात भएको उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसंघमा नेपाल सहितका सदस्य राष्ट्रहरुले सेप्टेम्बर २०१५ मा अवलम्बन गरेको दिगो विकास लक्ष्य अभियान अन्र्तगत गरिबीका सम्पूर्ण आयम र स्वरुपलाई सन् २०३० सम्ममा विश्वबाट अन्त्य गर्दै विश्वलाई समता मुलक, सुरक्षित र सम्मुनत समाज बनाउने एउटा अन्तर्राष्ट्रिय समझदारी हो । दिगो विकास लक्ष्यहरु प्राप्ति गर्नका लागि नीजि क्षेत्रको स्रोत, साधन र प्रविधि परिचालन गर्न सक्ने विशिष्ट क्षमतालाई महशुस गर्दै नीजि क्षेत्रलाई दिगो विकास लक्ष्यको कार्यान्वयनकालागि प्रमुख साझेदारीका रुपमा लिइएको छ । संयुक्त राष्ट्र संघका नेपाल निर्देशक रेनाउट मेयरले नेपालमा दिगो विकास लक्ष्य प्राप्तिका लागि आफ्नो नयाँ साझेदार यति एयरलाइन्सले जनचेतना जगाउन गरेको रचनात्मक प्रयोगबाट संयुक्त राष्ट्रसंघले खुशी अनुभुती गरेको कुरा व्यक्त गरे । उनले यस्तो अग्रसरताहरुले आमजनसमुदायमा दिगो विकास लक्ष्यका बारेमा दिगो जनचेतना, साझेदारी र सहकार्य बढाउन मदत गर्ने कुरा उल्लेख गरे । यति एयरलाइन्ससंगको यो साझेदारी बाहेक संयुक्त राष्ट्रसंघ र यति एयरलाइन्सले नागरिक उडड्यन र पर्यटन क्षेत्रमा दिगो व्यापार अभिबृद्धिका लागि संयक्त रुपमा व्यवसायीक नमुनाहरुको अनवेषण प्रयोग र प्रवद्धनका लागि सहकार्य गर्नेछन् जसबाट नेपाललाई दिगो विकास लक्ष्य अभियान अन्र्तगतका जलवायु परिवर्तन, गरिबी न्यूनीकरण, लैङ्किक समानता अन्तर्गतका दिगो विकास लक्ष्यको केहि र्निदष्ट सुचांकहरुमा सफलता मिल्ने छ ।
हिमालय एयरलाइन्सको जहाज भाडामा लिएर दुबई/क्वालालम्पुर उडाउने निगमको तयारी
काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहका राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम र निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्स अर्का अर्काका प्रतिस्पर्धी कम्पनी हुन । वायुसेवा निगमले उडान गरेकै गन्तव्यमा उडान गर्ने र निगम सरह नै जहाज उडानको रणनीति बनाइरहेको भएपनि हिमालय एयरलाइन्सले जहाज निगमलाई भाडामा दिने भएकाे छ । वायुसेवा निगमले पनि प्रतिस्पर्धी वायुसेवाबाट जहाज भाडामा लिन आवश्यक छलफल र प्रकृया अगाडि बढाइरहेको उल्लेख छ । वायुसेवा निगम र हिमालय एयरलाइन्सका कर्पोेरेट निर्देशकसँग पटकपटक जहाज भाडामा लिने विषयमा आवश्यक छलफल पनि भइरहेको निगम स्रोतको दाबी छ । हिमालयले आफ्नो जहाज निगमलाई भाडामा लगाउन सकारात्मक रुपमा नै कुरा अगाडि बढाएकाेले अावश्यक छलफल र प्रकृयाकाे बारेमा गृहकार्य अगाडि बढिएको उल्लेख छ । नेपाल र चीनको संयुक्त लगानीमा स्थापित निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले नेपाल वायुसेवा निगमलाई एयरवसको ए ३२० नामक १५८ सिट क्षमतााके एक थान जहाज भाडामा दिने इच्छा देखाएको छ । निगमलाई जहाज आवश्यक भएको र हिमालयले पनि आफ्नो जहाज खाली उठाउनुभन्दा भाडामा दिएर सो समयमाम नयाँ रणनीति बनाउन खोजेको उल्लेख छ । जहाज भाडामा लिने र दिने विषयमा निकै सकारात्मक रुपमा कुरा अगाडि बढेको हिमालय एयरलाइन्स स्रोतको भनाइ छ । स्रोतले दिएको जानकारी अनुसार एकथान जहाज भाडामा लिन–दिन दुवै कम्पनीबीच अनौपचारिक छलफल भएको छ । निगमले जहाज भाडामा लिन यही बैशाख २७ मा गरेको सार्वजनिक प्रस्ताव आव्हानको समय अझै अगामी मंगरलबारसम्म बाँकी रहेको छ । मंगलबारपछि यो विषयमा टुंगो लगाउने पनि उल्लेख छ । हिमालय एयरलाइन्स स्रोतका अनुसार यो वायुसेवाले श्रीलंकाको कोलम्बो उडान यात्रु नपाएर दुई महिनादेखि बन्द गरको छ । आगामी एक महिनापछि साउदी अरेवियाकाे दमाममा उडान गर्ने तयारी हिमालयले गरेको छ । समयमा नै साउदी अरेवियाको उडान तालिका मिलाउन नसकिने र प्राविधिक कारण ढिलो हुन सक्ने भएकोले एक महिना पछि सारेर निगमलाई २ महिना जहाज भाडामा दिने विषयमा आवश्यक छलफल भएको पनि स्रोतको दाबी छ । निगमले पनि आफ्नो जहाज मर्मतमा हुने र जहाज उडान ठप्प नहोस भनेर दुई महिनाको लागि मात्रै जहाज भाडामा लिन लागेको हो । अहिले हिमालयसँग युरोपको एयरबसमा उत्पादित १ सय ५८ सिट क्षमतायुक्त तीनथान ए३२०–२१४’ सिरिजको जहाज छन् । तीनवटै जहाजमा ८ बिजनेस क्लास र १ सय ५० इकोनोमी क्लास सिट छन् । यो वायुसेवाले हाल श्रीलंकाको कोलम्बो उडान रद्द गरेको छ । यसले कतारको दोहा र म्यानमारको यांगुन र मलेसियाको क्वाललम्पुरमा भने नियमित उडान गरिरहेको छ । यो वायुसेवाले साउदी अरबको दमामा, युएईको दुबई, हङकङ, भारतको नयाँदिल्ली, चेन्नाई, थाइल्यान्डको बैंकक, चीनको बेइजिङलगायत नयाँ गन्तव्यमा उडान गर्ने योजना पनि अगाडि सारिरहेको छ । यो वायुसेवाको यस्तो योजना तत्कालको लागि नभएर दुई चार महिना लाग्ने भएकोले २ महिना निगमलाई जहाज भाडामा दिन कुनै आपत्ति नहुने पनि स्रोतको बुझाई छ ।