मनकामना केबलकारले थप तीन वटा डब्बा थप्दै, दैनिक ६ हजार यात्रुलाई सेवा दिने लक्ष्य
काठमाडौं । नेपालकै पहिलो केबलकार कम्पनी मनकामना दर्शन प्रालिले केबलकारको क्षमता विस्तार गर्न थप तीन वटा डब्बा थप्ने भएको छ । यात्रुको चाप बढ्दै गएपछि कम्पनीले डब्बा (गोन्डला) थप गरेर क्षमता बढाउन लागेको हो । ‘बढ्दो यात्रु चापलाई सम्बोधन गर्न तीनवटा डब्बा थप्ने तयारीमा छौं,’ कम्पनी सञ्चालक राजेशबाबु श्रेष्ठले भने, ‘क्षमता विस्तारपछि दैनिक थप एक हजार यात्रुलाई सेवा दिन सकिन्छ ।’ २० वर्षअघि सन् १९९८ मा सेवा शुरु गरेको मनकामना केबलकारले हाल ३१ वटा डब्बाबाट चितवनको चेरेसदेखि गोरखाको मनकामना मन्दिरसम्म यात्रु ओसार पसार गरिरहेको छ । यसमा सामान ओसार्ने ३० र यात्रु ओसार्ने एउटा डब्बा छ । क्षमता विस्तारपछि कुल डब्बा संख्या ३४ पुग्नेछ । थप गरिने तीनवटै डब्बा यात्रुका लागि हुन् । हालको क्षमतामा मनकामना केबलकारले प्रतिघन्टा ६ सय यात्रु ओसारपसार गर्न सक्छ । अहिले यसको दैनिक यात्रु क्षमता चार हजार आठ सय छ । डब्बा थप गरेपछि दैनिक पाँच हजार आठ सय यात्रुलाई सेवा दिन सकिने सञ्चालक श्रेष्ठले जानकारी दिए । चितवन को–ई समूह अन्तर्गतको मनकामना दर्शन प्रालिले वार्षिक १० लाखभन्दा बढी यात्रुलाई सेवा दिँदै आएको छ । क्षमता विस्तारपछि १३ देखि १४ लाख यात्रुलाई सेवा दिन सकिने कम्पनीको भनाइ छ । कम्पनीले केबलकारमा थप्न लागेको डब्बा कुरिनटारस्थित बटम स्टेसनमा आइसकेको छ । कम्पनीले अस्ट्रियाको डोपलमेयर कम्पनीबाट डब्बा आयात गरेको हो । डोपलमेयर केबलकार प्रविधिमा विश्वकै प्रमुखमध्येको एक कम्पनी मानिन्छ । आगामी दसैंसम्ममा डब्बा जडान भइसक्ने श्रेष्ठले जानकारी दिए । ‘दसैंका बेला मनकामना दर्शन गर्न आउने यात्रुको चाप बढ्छ,’ श्रेष्ठ भन्छन्, ‘त्यस बेलासम्म क्षमता विस्तारको काम पनि सकिन्छ ।’ यसले दसैंमा मनकामना दर्शन गर्न जाने यात्रुलाई सहज हुने श्रेष्ठको भनाइ छ । क्षमता विस्तारका लागि कम्पनीले एक करोडभन्दा बढी लगानी गरेको श्रेष्ठले जानकारी दिए । चितवनको चेरेसस्थित केबलकार बटम स्टेसन र मनकामनास्थित टप स्टेसनबीचको दुरी ३.१३ किलोमिटर छ । केबलकारमा उक्त दुरी पार गर्न ८ देखि १० मिनेट लाग्छ । केबलकार सञ्चालनमा आउनु अघि हिँडेर पनि हजारौं यात्रु बर्सेनि प्रशिद्ध देवीमनकामनाको दर्शन गर्न पुग्थे । केबलकार सञ्चालनसँगै बृद्धबृद्धा, अशक्त र शारीरिक रुपमाकमजोर व्यक्तिहरु पनि सजिलै मनकामनापुग्नथालेको स्थानीय बताउँछन् ।
बंगलादेशका उर्जा राज्यमन्त्रीद्वारा चन्द्रागिरिको भ्रमण
चन्द्रागिरि । बंगलादेशका बिजुलीको लागि राज्य, ऊर्जा र खनिज संसाधनमन्त्री नर्सुल हमिद सहितको टोलिले चन्द्रागिरिको भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हमिदलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । भ्रमणमा हमिदले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण चन्द्रागिरि पर्वतमाअति नै राम्रो परियोजना निर्माण भएको बताएका छन् । भ्रमणका क्रममा हमिदले कम्पनीका अध्यक्ष ढकाललाई परियोजनाको सफलताको शुभकामना व्यक्त गरेका छन् ।
विश्वभरिका होटल स्कुलहरूको सम्मेलन नेपालमा हुँदै, दुई सय पर्यटन प्रतिष्ठान सहभागी हुने
काठमाडौं । विश्वभरिका होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएका होटल म्यानेजमेन्टसम्बन्धी शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरनेशनल एशोसियसन अफ होटल म्यानेजमेन्ट स्कुल्स्को ५९ औ अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । होटल व्यवस्थापन एवं पर्यटनसँग सम्बन्धित शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक एसियामा हुन लागेको हो भने यसको आतिथ्यको अवसर नेपालले पाएको छ । सन् २०१९ को २६ देखि ३० नोभेम्बरमा इयूहोफाको ५९ औं कंग्रेस नेपालका आयोजना हुने लागेको हो । सन् २०१८ को ५८ औं कंग्रेस विश्वकै पहिलो होटल स्कूल स्विजरल्यान्डको लुजानस्थित इएचएल स्थापनाको १२५ औं वर्ष पूरा भएको अवसरमा स्विजरल्यान्डमा आयोजना गर्ने र सन् २०१९को कंग्रेस नेपालमा आयोजना गर्ने निर्णय अनुसार यहाँ आयोजना हुन लागेको हो । यो सम्मेलनमा विश्वभरिका होटल व्यवस्थापन एवं पर्यटन सम्बन्धी शैक्षिक प्रतिष्ठानका २०० भन्दा बढी डिन तथा उच्च तहका सञ्चालक/व्यवस्थापकहरू सहभागी हुने इयूहोफाका बोर्ड सदस्य खेम लकाईंले जानकारी दिए । नेपाल भ्रमणमा रहनु भएकी इयूहोफाका अध्यक्ष डा. मारिया विसिङ्गरले सम्मेलनको पूर्व तयारीबारे नेपालका सदस्य होटल स्कुलहरू ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज), इन्टरनेशनल स्कुल अफ टुरिजम् एन्ड होटल म्यानेजमेन्ट (आईएसटी), एकेडेमी अफ कल्नरी आर्टस् एन्ड हस्पिटालिटी म्यानेजमेन्ट, नेपाल एकेडेमी एन्ड होटल म्यानेजमेन्ट, सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट, गोल्डेन गेटका प्रमुखहरूसँग छलफल गरेका छन् । सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउन लागेको सन्दर्भमा नेपालमा विश्वभरिकै अग्रणी होटल व्यवस्थापन शिक्षा प्रदायकहरू जम्मा हुनु अभूतपूर्व अवसर भएको बैठकका सहभागीहरूको भनाइ थियो । हाल नेपालमा ४० भन्दा बढी शैक्षिक प्रतिष्ठानहरूले होटल व्यवस्थापन एवं पर्यटन शिक्षा सम्बन्धी उच्चस्तरको शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । सम्मेलनका समयसम्म अन्य होटल व्यवस्थापन एवं पर्यटन शैक्षिक प्रतिष्ठानहरू इयूहोफाको सदस्य बन्ने अपेक्षा गरिएको छ । “विश्वका दुई सय होटल व्यवस्थापन स्कुलका सञ्चालकहरूको सहभागितामा नेपालमा यस्तो अन्तर्राष्ट्रिय सम्मेलन गर्न पाउनु हाम्रो लागि ठूलो अवसर हो । यो नेपालको पर्यटन उद्योगकै ठूलो उपलब्धी हुनेछ, किनकी सम्मेलनमा एक साथ आउने दुई सय होटल व्यवस्थापन शिक्षा प्रदायकहरूले प्रवाह गर्ने सन्देशले विश्वभरि नै नेपालको पर्यटन उद्योगको प्रचारप्रसारमा निकै ठूलो योगदान पुग्नेछ,” इयूहोफाका बोर्ड सदस्य एवं गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईले भने । सम्मेलनमा नेपाल पर्यटन बोर्ड, होटल संघ नेपाल (हान), पाटासहित नेपालका पर्यटनसँग सम्बन्धित संस्थाहरूको समेत सहभागिताका लागि पहल भइरहेको उनले बताए । इयूहोफा इन्टरनेशनलमा विश्वभरिका २ सय होटल व्यवस्थापन शिक्षा प्रदायकहरू सदस्य रहेका छन् । उक्त संस्था होटल व्यवस्थापन शिक्षालाई प्रभावकारी तुल्याउने, होटल व्यवस्थापन तथा आतिथ्य सत्कारका क्षेत्रमा विश्वभरिका नवसिर्जना र उत्तम अभ्यासहरूको अनुशरण गर्ने, विद्यार्थी तथा शिक्षकहरूको आदानप्रदान गर्ने उद्देश्यसहित ५६ वर्षअघि युरोपमा स्थापना भएको हो ।