निगममा खरेल आएपछि कंसाकारले भने- ‘काम गर्न नदिए हाजिर गर्छु, जगत गुरुको प्रवचन सुनेर बस्छु’

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमकाे कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त गरेपछि धेरैकाे मनमा प्रश्न उठेकाे छ कि अब महाप्रबन्धक सुगतरत्न कंसाकारले के गर्लान् ? धेरैकाे अनुमान छ उनले राजीनामा दिन सक्छन् । तर महाप्रबन्धक कंसाकारले राजीनामा नगर्ने बताए । ‘अप्ठ्याराे पर्याे भनेर राजीनामा दिएर भाग्ने मान्छे म हाेइन । अप्ठ्याराे अवस्थामा राजीनामा गर्ने शैलीकाे म त घाेर  विराेधी हुँ ।’ यसअघि स्वर्गिय शिवशरण न्यौपानेलाई सरकारले निगमको अध्यक्ष नियुक्त गरेपछि महाप्रबन्धक मदन खरेलले राजीनामा दिएका थिए । खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गरिएपछि विकासन्युजसँग कुरा गर्दै महाप्रबन्धक कंसाकारले भने,‘म राजीनामा दिएर भाग्ने मान्छे होइन, कार्यकाल रहुञ्जेल जिम्मेवारी अनुसार काम गर्छु ।’ तपाई कार्यकारी अधिकारसहितको महाप्रबन्धक भएको ठाउँमा कार्यकारी अध्यक्ष पनि आउँदा कार्यक्षेत्रको विवाद हुन्न र ? भन्ने प्रश्नको जवाफमा उनले भने,‘सरकारले कार्यकारी अध्यक्ष नियुक्त गरेपछि उहाँलार्इ मैले मान्नै पर्छ । म मेराे अधिकार क्षेत्रमा रहेर काम गर्छु । काम गर्न नदिए हाजिर गर्छु, जगतगुरुको प्रवचन सुन्छु, बस्छु ।’ सरकारले  ताेकेकाे अवधिभर निगममा रहेर काम गर्ने उनले बताए । उनकाे कार्यकाल करिब ८ महिना बाँकी छ । २८ वर्षदेखि जहाज विहीन भएकाे नेपाल वायु सेवा निगममा ठूला जहाज भित्र्याएर चर्चामा अाएका कंसाकारलार्इ पर्यटन क्षेत्रमा निकै सम्मान पूर्वक हेरिन्छ । तर जहाज खरिद प्रकिया विवादास्पद भएकाे भन्दै कतिपयले उनकाे अालाेचना गर्दै अाएका छन् । वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त, कार्यकारी प्रमुखको भूमिकामा खरेल र कंसाकारबीच भिडन्त हुँदै

असारभित्र काष्ठमण्डपको पहिलो तल्ला पुनर्निर्माण गरिसक्ने

काठमाडौं । काण्ठमण्डप पुनर्निर्माण निर्देशक समितिको बैठकले काण्ठमण्डप पुनर्निर्माणमा हालसम्म भएका कार्यप्रगतिको समीक्षा गरेको छ । बैठकले २०७६ असार मसान्तभित्र काष्ठमण्डपको पहिलो तल्ला पुनर्निर्माण गरिसक्नेगरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । शुक्रबार समितिका संयोजक एवं तीन नम्बर प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले काष्ठमण्डपको काम योजनाबद्ध ढंगले यथाशीघ्र अघि बढाउन निर्देशन दिए ।  पुनर्निर्माण कार्यको गुणस्तर कायम गर्नका लागि समयसमयमा निर्माण सामग्रीको प्रयोगशाला परीक्षण गराउन पनि सुझाव दिए । समितिका संयोजक शाक्यले पुनर्निर्माणलाई अघि बढाउन पुरानो डीएसपी कार्यालय रहेको स्थानमा काठको वर्कसप संचालन भएको र इन्द्रजात्रालगत्तै अर्को ठूलो वर्कसप स्थापना गरी संचालन गरिने जानकारी दिए । संयोजक शाक्यले काष्ठमण्डप पुनर्निर्माणमा प्रयोग गरिने सामग्रीको परीक्षण गरिएको र आगामी दिनमा पनि युनेस्को र पुरातत्व विभागको मापदण्ड अनुरुप परीक्षण गरिने बताए । समीक्षा बैठकमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायतको पनि उपस्थिति थियो । काण्ठमण्डप पुनर्निर्माणका लागि आवश्यक सबै रकम काठमाडौं महानगरपालिकाले उपलब्ध गराउनेछ भने पुरातत्व विभागले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

काठमाडौं-पटना-बोधगया सिधा यातायात सुचारू, अनलाइनबाटै टिकट काट्न सकिने

काठमाडौं । काठमाडौदेखि भारतको बिहार राज्यका मोतिहारी, मुजफ्फरपुर, पटना, बोधगयाका लागि सिधा यातायात सेवा सुचारू भएको छ । बिहार राज्यपथ परिवहन निगम र स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.को सहकार्यमा काठमाडौंदेखि पटना बोधगयासम्म सेवा सञ्चालन भएको हो । बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीले संयुक्त रूपमा उक्त सेवाको शुभारम्भ गरेका छन् । यसैगरी जनकपुरदेखि पटनाका लागि ३१ गते आइतबारदेखि सिधा बस सेवा शुरू हुनेछ । सोही कार्यक्रमको उद्घाटन प्रदेश नं.२ का मूख्यमन्त्री लालबाबु राउतले गर्ने कार्यक्रम रहेको छ । स्वयम्भू मञ्जुश्री यातायातले भारतका नयाँ क्षेत्रमा यातायात सञ्चालन गरेसँगै अनलाइनबाट बस टिकट काट्न सकिने सेवाको व्यवस्था गरेका छन् । अबदेखि यात्रीहरूले www.manjushreeyatayat.com.np मार्फत् अनलाइन टिकट काट्न सक्नेछन् । यसैगरी बस सेवाको वेबसाइट बससेवा डटकम (www.bussewa.com) तथा बस सेवाको मोबाईल एप्स, इसेवाको वेबसाइट तथा मोबाईल एप्लिकेशनबाट समेत टिकट काट्न सकिनेछ । इसेवा एकाउन्ट नभएका यात्रुले आफ्नो टोल छिमेकमा रहेका इसेवाकाजोन तथा पोइन्टबाट टिकट काट्न सक्नेछन् । साथै भविष्यमा आइएमइ पे, इप्रभु तथा एनआइसी एसिया बैंकमार्फत् समेत टिकट काट्न सकिनेछ । राजधानीमा आयोजित बस उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातयातमन्त्री रघुवीर महासेठले दुई देशका बीचमा यातायात सञ्चालन हुँदा दुई मुलुकका जनतालाई आवतजावतमा सहजता हुने बताए ।